७ वटा वडामा ७१ हजार बढी जडिबुटीका विरूवा

अमरराज आचार्य

दाङ, १७ साउन । जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ७१ हजार बढी जडिबुटीका विरूवा रोपिएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका ५ वटा वडा तथा घोराही उपमहानगरपालिका २ वटा वडामा गरेर ७१ हजार ३० वटा जडिबुटीका विरूवा रोपिएको हो । सहकारीमार्फत् पकेट क्षेत्रमा जडिबुटी क्षेत्र विस्तार कार्यक्रममार्फत् सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा डिभिजन वन कार्यालय दाङ घोराहीको समन्यमा यो सङ्ख्यामा विरूवा रोपिएको हो ।

सहकारी संस्थाले शनिवार घोराहीमा आयोजना गरेको समीक्षात्मक कार्यक्रममा कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले डिभिजन वन कार्यालय दाङले पकेट क्षेत्र निर्माण गरेका ७ वटा वडामा जडिबुटी रोपिएको जानकारी दिए । डिभिजन कार्यालय दाङको वार्षिक कार्यक्रमअन्तर्गत् पहाडी क्षेत्रमा टिमुर, दालचिनी र मालागिरीका विरूवा रोपिएको शर्माको भनाइ रहेको छ । सहकारीले विरूवा रोप्ने सङ्ख्याको तथ्याङ्क संकलन गरेर कृषकहरूको घरसम्म विरूवा पु¥याइदिएको उनले बताए । कृषकको माग ८९ हजार ८ सय ९० भए पनि ७१ हजार ३० वटा विरूवा मात्र वितरण गर्न सकिएको उनको भनाइ छ ।

विभिन्न समस्याका कारण कृषकहरूको मागअनुसार विरूवा प्रदान गर्न नसकिएको बताइएको छ । ‘कृषकको मागअनुसारका जडिबुटीका विरूवा घरसम्मै पु¥याइदिएका हौँ’–शर्माले भने । यसले कृषकहरूलाई सहज भएको उनी बताउँछन् । यसरी जडिबुटीको विरूवा रोप्ने कृषकलाई प्रतिविरूवा ३ रूपैयाँको दरले रकम समेत प्रदान गरिएको शर्मा बताउँछन् ।

डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले सहकारीमार्फत् जडिबुटीको कार्यक्रम अगाडि बढाउने कार्यक्रमअन्तर्गत यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको बताए । पहाडी क्षेत्रमा कृषि उत्पादन नहुने खाली रहेको जमिनको सदुपयोग गर्नका लागि यस प्रकारको अभियान सञ्चालन गरिएको उनको भनाइ रहेको छ । ‘कृषिको वैकल्पिक खेतीको रूपमा जडिबुटी खेती अगाडि बढाइएको हो’–सूचना अधिकारी केसीले भने ।

जडिबुटीबाट कृषकले राम्रो आम्दानी लिनसक्ने उनी बताउँछन् । ‘जडिबुटी कृषकको वैकल्पिक आम्दानीको स्रोत बन्नसक्छ’ उनले भने । दाङलाई जडिबुटीको हबको रूपमा विकास गर्न सकिने भएकाले कार्यालयले त्यसअनुसार कार्य अगाडि बढाएको उनले बताए । आििर्थक वर्ष २०७५÷०७६ बाट पकेट क्षेत्रको घोषणा गरेर अगाडि बढेको केसी बताउँछन् । अघिल्लो आर्थिक वर्षमा पनि जिल्लाका विभिन्न क्षेत्रमा जडिबुटीका विरूवा रोपिएको थियो । पछिल्लो समय जिल्लाबाट टिमुर निर्यात समेत बढ्दै गएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले कृषकहरूलाई जडिबुटी खेतीमार्फत् आम्दानीमा जोड्न सकिने बताए । त्यसैअनुसार कार्यालयले यस प्रकारको कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । गरेको काम सदुपयोग होस् भनेर सहकारीमार्फत् कार्यक्रम अगाडि बढाइएको उनी बताउँछन् । ‘जडिबुटीको राम्रो सम्भावना रहेको छ, यसको सदुपयोग गरेर अगाडि बढ्नु पर्दछ’–प्रमुख सुवेदीले भने ।

जडिबुटी खेतीलाई विस्तार गरिँदै लगिने समेत उनी बताउँछन् । उत्पादन भएका जडिबुटीले बजारका मूल्य समेत राम्रो पाउने गरेको बताए । उत्पादनसँगै यसको प्रशोधन तथा ग्रेडिङ गरेर पठाउन बाहिर पठाउनसकेमा मूल्य समेत राम्रो पाउने सुवेदी बताउँछन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले सहकारीमार्फत् थालिएको यस प्रकारको कार्यक्रम प्रभावकारी हुने बताए । सहकारीहरू उत्पादनतर्फ जोडिनुपर्ने उनको भनाइ छ । युवाहरूले गरेको यस प्रकारको कार्यले अरूलाई प्रोत्साहन मिल्ने उनको अपेक्षा रहेको छ । सकारात्मक कार्यका लागि सञ्चार क्षेत्रले सधैँ सहयोग गर्ने उनले बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष धु्रवराज पौडेको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।