सञ्चारकर्मीको लेखाईमा समृद्ध तुलसीपुर

गोरक्ष समाचारदाता

तुलसीपुर, १५ साउन । तुलसीपुर उपमहानगरपालिकाले नयाँ जनप्रतिनिधि पाएसँगै विगतको ४ बर्षमा गरेका कामहरुलाई पत्रकारहरुको लेखाईमा समीक्षात्मक कोशेली ‘समृद्ध तुलसीपुर’को सोमवार विमोचन गरिएको छ । सो पुस्तकको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमोचन गरेका छन् । पुस्तकमा विभिन्न क्षेत्रका कम्तीमा डेढ दर्जन आलेखहरु समेटिएका छन् ।

पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि पाण्डेले पुस्तकमा पोखिएका धारणाहरु तुलसीपुर उपमहानगरपालिकाका नभएर लेखकहरुका स्वतन्त्र धारणा भएको अभिव्यक्ति दिए । ‘यो पुस्तकलाई तुलसीपुर उपमहानगरपालिकाको प्रगति प्रतिवेदनका रुपमा नलिइदिनुहोला, किनकि यो त लेखकको स्वतन्त्र विचारको संगालो हो, लेखकका हेराईका अभिव्यक्तिहरु हुन्’, प्रमुख अतिथि पाण्डेले भने ।

उपमहानगरपालिकाले आफ्नो प्रगति प्रतिवेदन त अर्को समय मिलाएर सार्वजनिक गर्ने पनि उनको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिका जातीय, लैंगिक, क्षेत्रीय, भेगीयलगायतका कुनै पनि विभेदलाई स्वीकार नगर्ने बताउँदै उनले आफूहरु असल शासनको अभ्यासमा लागेको उल्लेख गरे । ‘हामीहरु जानीजानी गल्ती गर्ने छैनौं, यदि काम गर्ने क्रममा त्रुटि भैहाले त्यसलाई सच्याएर सुशासनको मार्गमा सधै अघि बढ्ने छौं’, नगर प्रमुख पाण्डेले भने– ‘सकारात्मक आलोचनालाई सधै ग्रहण गर्दै सबै नगरबासीहरुको बृहत्तर हितमा तुलसीपुर उपमहानगरपालिका अघि बढ्ने छ ।’

पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले पुस्तकमा धेरै विषयबस्तुहरु गहन अध्ययनका साथ लेखिएको बताउँदै केही आलेखहरु प्रचारात्मक शैलीमा प्रस्तुत भएको बताए । ‘कतै तपाईहरुले गरेका कामहरु मेहन्दी लगाएको कपालजस्तै नहोऊन्, उपमहानगरपालिकाले नगरबासीलाई टिन बाँडेका समाचार उल्लेख्य काममा चर्चा गरिरहन उपयुक्त हुँदैन’, पुस्तकबारे कांग्रेस क्षेत्रीय सभापति खड्काले भने ।

सो कार्यक्रममा नेकपा एमालेका नेता कृष्ण भुसालले पुस्तकमा वडाध्यक्षहरुका अभिव्यक्तिहरुलाई प्राथमिकतामा नराखिएको तथा कृषि क्षेत्रका आलेखलाई पनि आवश्यकता अनुसार प्राथमिकतामा राख्न नसकिएको उल्लेख गर्दै आउँदा दिनहरुमा यसलाई सुधार गर्न सुझाव दिएका थिए ।

त्यसै अवसरमा उनले तुलसीपुर उपमहानगरपालिकामा प्रशासनिक दक्षता नभएको उल्लेख गर्दै प्रशासनिक दक्षताको सुधार गर्न उपमहानगरपालिकालाई सुझाव दिए । अर्का एमाले नेता विनोद शर्माले पुस्तकमा आएका विषयबस्तुहरु गहन र खोजमूलक भए पनि तुलसीपुर उपमहानगरपालिकाले गर्न खोजेका तर नसकेका कामहरुका विषयमा पनि जानकारी दिन पाएको भए थप उपयुक्त हुने सुझाव दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी नेता शेशुराम भण्डारी, जनमोर्चाका नेता शुक्रराज भण्डारी, राप्ती लाइफ केयरका प्रवन्ध निर्देशक जीवन भण्डारीलगायतले पुस्तकका विषयमा चर्चा गरेका थिए । पुस्तकको समीक्षा पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी र महिला अधिकारकर्मी शुषमा गिरीले गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार तथा तुलसीपुर मेट्रो कलेजका प्रिन्सिपल बसन्त विवश आचार्यले पुस्तकका विषयमा परिचय गराएका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष सूर्यबहादुर डाँगी ‘श्याम’ले गरेका थिए ।

समृद्ध तुलसीपुरमा नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको मन्तव्य, स्मार्ट शहर तुलसीपुर, तुलसीपुरको हवाइ जहाज सपना, न्यायिक समितिका गतिविधिहरु, शैक्षिक गतिविधि, स्वास्थ्यका गतिविधिहरु, स्मार्ट छोरी कार्यक्रम, पर्यटन क्षेत्रका आयामहरु, खेलकुदका क्षेत्रमा भएका आयामहरु, उज्यालो तुलसीपुर अभियानअन्तर्गत आँखा स्वास्थ्य कार्यक्रममा उपमहानगरपालिकाको योगदान, तुलसीपुर उपमहानगरपालिकाले जारी गरेका नीति, ऐन–नियम, रोजगारीका माध्यमहरु तथा तुलसीपुर विकास प्राधिकरणको स्थापनाको पृष्ठभूमिलगायतका विषयबस्तुहरु समेटिएका छन् ।