खेमराज रिजाल
दाङ, १५ साउन । साउन महिनाको पहिलो दिनको पिसिआर परीक्षणमा दाङ जिल्लामा ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । त्यो क्रम बढ्दै गएर साउनको ५ गते ३० जनासम्म पुग्यो । साउन महिनाको १० गतेदेखि १४ गतेसम्मको तथ्यांक हेर्दा संक्रमितको संख्या दैनिकरुपमा दशजना भन्दा कम हुन सकेको छैन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेशनल प्याथ ल्यावमा गरिएका परीक्षणहरुमा देखिएको संक्रमितको दर कम्तीमा १५ प्रतिशतभन्दा माथि हो ।
असार महिनामा संक्रमण दर दाङ जिल्लामा कम्तीमा १० प्रतिशतमा झरेको थियो भने अहिले फेरि उकालो लाग्न थालेको छ । दाङ जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पनि साउन १ गते ५ जनामा पिसिआर पोजेटिभ देखिएको थियो । साउन २ मा ७ जना, साउन ३ मा २ जना, ४ मा ९ जना, साउन ५ मा ३० जना, साउन ६ मा १४ जना, साउन ७ मा १० जना, साउन ८ मा १० जना, साउन ९ मा ४ जना, साउन १० मा ११ जना साउन ११ मा १७ जना, साउन १२ मा ७ जना, साउन १३ मा १७ जना र साउन १४ गते १८ जनामा संक्रमण पुष्टि भएको छ ।
तथ्यांकले भन्दा पनि यथार्थमा संक्रमितहरु बढी हुनसक्ने एकजना चिकित्सकले बताएका छन् । ‘यो भाइरल ज्वरो धेरै बढ्ने सिजन यद्यपि होइन तैपनि ज्वरोका बिरामीहरु बढिरहेका छन्’, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. मिनचन्द्र अधिकारी भन्छन्– ‘यसले कोरोना भाइरसको संक्रमण फेरि माथि उक्लिन थालेको पुष्टि हुन्छ ।’ डा. अधिकारी तुलसीपुर प्रादेशिक अस्पताललगायत निजी क्लिनिकहरुमा पनि यस्तो अवस्था देखिएको दावी गर्छन् ।
‘यस्ता शंकास्पद बिरामीहरुलाई पिसिआर परीक्षण गर्न पठाउने गरेका त हुन्छौं नै, तर रिपोर्ट के आयो भनेर बिरामीहरु फ्लोअपमा भने आउने गरेका छैनन्’, डा. अधिकारीको तर्क थियो, यसले पनि शंकास्पद बिरामीहरुमा कोरोना पोजेटिभ देखिएको हुन सक्छ । डा. अधिकारीले कोरोना भाइरसको तेस्रो लहर आउने संकेत जताततै देखिइसकेको भन्दै न्यूनतम स्वास्थ्यका मापदण्ड अपनाउन आम नागरिकहरुलाई आग्रहसमेत गरेका छन् ।
अहिले कोरोनाको संक्रमण बढ्दै गएको हुनसक्ने बालरोग विशेषज्ञ तथा तुलसी अस्पतालका डा. किशोर खत्रीले पनि स्वीकारेका छन् । दोस्रो लहरमा आफ्नो अस्पतालमा कम्तीमा ५ जनामा कोरोना देखिएको बताउँदै उनले हाल पनि भाइरल जरोका बिरामीहरु बढ्न थालेको हुँदा उनीहरुमा कोरोनाको संक्रमणसमेत भएको हुनसक्ने उनको भनाइ थियो । ‘समुदायस्तरमा संक्रमण फैलन थालिसकेको छ, यसलाई सम्बन्धित पालिकाले गम्भीर भएर कन्ट्रयाक्ट ट्रेसिङको व्यवस्थापन मिलाउन अपरिहार्य छ’, डा. खत्रीले भने ।
यदि गाउँबस्तीमा बालबालिकाहरुमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् भने उनीहरुलाई तत्काल परीक्षण गराई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने पनि उनले बताएका छन् । दूधरासस्थित नविन मेडिको फर्माका स्वास्थ्यकर्मी नविन केसीको भनाइमा पछिल्लो एक सातायता क्लिनिकमा रुघाखोकी र ज्वरोका बिरामीहरु अत्यधिकरुपमा बढेका छन् । तीमध्ये धेरैमा कोरोना भाइरसको संक्रमण सँग मिल्दाजुल्दा लक्षणहरु पनि देखिएका छन् ।
असार महिनामा बाढी आउने समयमा भन्दा पनि अहिले यस्ता बिरामीहरु धेरै बढेकाले कोरोना भाइरसको संक्रमण फेरि उकालो लाग्न थालेको उनको अनुमान छ । यी सबै कारण पनि पछिल्लो साता कोरोना भाइरसको संक्रमण विस्तारै उकालो लाग्दै छ । चिकित्सकहरुले यो पटकको संक्रमणमा बालबालिकाहरु बढी प्रभावित हुनसक्ने चेतावनी समेत दिइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयले पनि सरकारलाई कोरोना भाइरसको तेस्रो लहर चाँडै फैलने चेतावनी दिइसकेको छ । साथै सचेत रहनका लागि आम नागरिकहरुलाई आग्रह समेत गरिसकेको छ । तर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि सरकार तथा नागरिकका तर्फबाट भने दिनहुँजसो भीडभाड र लापरबाहीका गतिविधिहरु भइरहेका छन् ।
अक्सिजनका लागि अत्तालिनुपर्दैन : प्रजिअ
यसैबीच एक महिनाअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ सुरुदेखि नै जिल्लामा अक्सिजन व्यवस्थापनमा जुटेका छन् । अघिल्लो समय मुलुकमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका क्रममा अक्सिजनको अभावमा सयौं नागरिकले ज्यान गुमाएको अनुभव संगालेका प्रमुख जिल्ला अधिकारीले दाङ आएलगत्तै कोरोनाको तेस्रो लहर फैलन सक्नेमा गम्भीर देखिएका छन् ।
सरुवा भएर आएलगत्तै उनले बेलझुण्डीको कोरोना विशेष अस्पतालको अवस्था, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार व्यवस्थापन, तुलसीपुरस्थित तुलसीपुर मेट्रो हस्पिटललगायत सबै पालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई अक्सिजनको जोहो गर्न सुझाउँदै आएका छन् ।
‘अब अक्सिजन नपाएर कुनै पनि संक्रमितले ज्यान गुमाउनुपर्ने छैन, अघिल्लोपटक भन्दा आउने संक्रमणमा हामी अक्सिजनका लागि धेरै आत्मनिर्भर भैसक्ने छौं’, विहीवार दूधरासस्थित सोनापुर सिमेन्टमा निर्माणाधीन अक्सिजन प्लान्टको स्थलगत निरीक्षण गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले पत्रकारहरुलाई भने ।
कोरोना भाइरसको संक्रमणको दोस्रो लहरमा मात्र दाङ जिल्लामा पहिलोपटक अक्सिजन प्लान्ट सञ्चालनमा आएको थियो । घोराहीको झिङ्नीमा सञ्चालनमा आएको सो उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीलाई पनि पुग्ने अवस्था थिएन । तर अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा पनि अक्सिजन प्लान्ट निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । सोनापुर सिमेन्ट प्रालिले कम्तीमा ४ करोडको लगानीमा अक्सिजन प्लान्ट निर्माण गरिरहेको छ । सोनापुरले दैनिक ४ सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने गरी अक्सिजन प्लान्ट निर्माणको काम थालेको सो प्रालिका सिइओ हरि पाठकले बताएका छन् । सो अक्सिजन सिमेन्ट कारखानाका लागि मात्र नभएर सर्वसाधारण नागरिकहरुका लागि पनि उपलव्ध हुने सो उद्योगले जनाएको छ ।
‘बढीमा एक महिनामा अक्सिजन उत्पादनको काम सञ्चालन भैसक्नेछ’, अक्सिजन प्लान्ट जडान गर्दै गरेका इन्जिनियर सञ्जय सिंहले गोरक्षलाई भने । उनका अनुसार एक सिलिण्डरमा ७ क्युविक मिटर अक्सिजन अटाउने क्षमता हुनेछ । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि थप क्षमताको अर्को अक्सिजन प्लान्ट निर्माण गर्ने जनाएको छ ।
त्यसका लागि संघीय सरकारबाट बजेट समेत प्राप्त भइसकेको प्रतिष्ठानले जनाएको छ । ‘हामी अबको थर्ड वेभमा कम्तीमा एक हजार सिलिण्डर अक्सिजन दाङमै भर्न सकिने गरी अन्तिम तयारीमा छौं’, मलाई लाग्छ, त्यो समयमा दाङमा अक्सिजनको अभाव हुने छैन’, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने । उनले यहाँ उत्पादित अक्सिजनको खपत दाङमा पुगेर अन्य छिमेकी पहाडी जिल्लामा समेत पठाउन सकिने पनि बताएका छन् ।