फोनबाटै ‘स्वास्थ्य परामर्श’

अमरराज आचार्य

दाङ, १५ साउन । जिल्लामा टेलिफोनमार्फत स्वास्थ्य परामर्श सेवा दिन थालिएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाको समन्वयमा ४० वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले सूचना प्रविधिमार्फत नागरिकलाई स्वास्थ्य परामर्श दिने गरेका छन् ।

कोभिड–१९ को जोखिमको समयमा पनि नागरिकहरु स्वास्थ्य संस्थामा आउन नसक्ने अवस्थामा उनीहरुलाई टेलिफोनमार्फत सेवा दिनका लागि यस प्रकारको सेवा सुरु गरिएको नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रवन्धक बसन्त खनालले बताए । ‘महामारीलाई लक्षित गरेर यस प्रकारको सेवा सुरु गरिएका हो’, प्रवन्धक खनालले भने– ‘यसले नागरिकलाई धेरै सहयोग पुगेको छ ।’ यसका लागि संघले स्वास्थ्यकर्मीहरुलाई मोबाइलमा पैसा राखिदिने व्यवस्था गरेको छ ।

जिल्लामा टेलिकन्सटेशन मार्फत मंसिर महिनामा ५ सय ५५ जना गर्भवती र १ सय ४ जनालाई सेवा प्रदान गरिएको छ । पुस महिनामा ७ सय ६० जना गर्भवती १ सय ९६ जना सुत्केरीलाई, माघ महिनामा ७ सय ९६ जना गर्भवती २ सय २३ जना सुत्केरीलाई, फागुन महिनामा ४ सय ३१ जना गर्भवती १ सय ३१ जनालाई सेवा प्रदान गरिएको छ ।

त्यसैगरेर चैत महिनामा ४ सय ६७ जना गर्भवती १ सय ९८ जना सुत्केरी, बैशाख महिनामा ४ सय ९२ जना गर्भवती ९१ जना सुत्केरीलाई, जेष्ठ महिनामा ५ सय ६ जना गर्भवती १ सय ९७ जना सुत्केरीलाई र असार महिनामा ३ सय ८० जना गर्भवती ८३ जना सुत्केरीलाई परामर्श सेवा प्रदान गरिएको प्रवन्धक खनालले बताए । संघले ६ महिनामा १ लाख १२ हजार ९ सय ९० वटा सेवा प्रदान गरेको छ । औषधिको प्रयोग गरेर १ सय ६७ जनाले गर्भपतन गराएका छन् ।

त्यसैगरेर १ सय १० जनाले औजारको माध्यमबाट गर्भपतन गराएका छन् । यस अवधिमा इनप्लान्ट सेवा ३ सय ५५ जनाले, पिल्सको सेवा ६ हजार ९ सय ४७ जनाले, डि पो २ हजार ७ सय ६४ जनाले, आयुसिडी २९ जनाले, पुरुष बन्ध्याकरण ३७ जनाले, महिला बन्ध्याकरण १ सय ११ जनाले सेवा लिएका छन् । त्यसैगरेर पाठेघरको मुखको क्यान्सर जाँच ८ सय ५६ जनाले, गर्भपती जाँच १ हजार १ सय ९८ जनाले र खोप सेवा ४ हजार ४ सय ३८ जनाले सेवा लिएको प्रबन्धक खनालले बताए ।

यसैबीच नेपाल परिवार नियोजन संघ दाङ शाखाले विपद्को समयमा प्रजनन् स्वास्थ्यको आवश्यकतासम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीवार घोराहीमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले मानव जीवनमा गास, बास र कपासपछिको आधारभूत आवश्यकता प्रजनन् स्वास्थ्य भएको भन्दै विपद्को समयमा प्रजनन् स्वास्थ्यका सेवालाई प्रदान गरिनुपर्ने बताएका थिए ।

विपद्को समयमा सबैको ध्यान अन्य कुरामा पुग्ने गरेको तर प्रजनन् स्वास्थ्यमा कमै मात्र पुग्ने गरेको बताएका थिए । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले विपद्को समयमा असुरक्षित गर्भ रहने जोखिम धेरै हुने भएकाले यस्तो अवस्थामा प्रजनन् स्वास्थ्य सेवा सबैका लागि निकै महत्वपूर्ण भएको बताए । विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने उनले बताए ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तीले विपद्का समयमा पनि स्वास्थ्य सेवालाई निरन्तरता दिने गरेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी घोराहीका प्रकाश श्रीबिन्द र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतमले विपद्को समयमा प्रजनन् स्वास्थ्यको निरन्तरता सुनिश्चित हुन आवश्यक रहेको बताए ।

कार्यक्रम नेपाल परिवार नियोजन संघ दाङ शाखाका सभापति तीर्थ सन्तोषीको अध्यक्षतामा भएको थियो । संघका शाखा प्रबन्धक खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन् ।