युवा र राजनैतिक आन्दोलन

भुवन पोख्रेल

मुलुकमा राजनैतिक सुदृढीकरणका लागि थुप्रै आन्दोलन भए र राजनेताका अनेकौँ अनुहारहरु फेरिए । राजनीतिमा अनेकौँ रंगहरु बदलिए तर पनि राजनीतिमा शुद्धीकरण हुन सकेन । सधैँ नेपालमा असल राजनीतिज्ञको खडेरी परिरह्यो ।

राजनीतिमा व्यवहार र नैतिकता हराउँदै गइरहेको छ । आज नेपालको राजनीतिमा भएका र देखिएका नेतृत्व वर्ग र कार्यकर्ताको चर्चिकलाबाट जनता दिक्दार भएका छन् । राजनीतिलाई कमाइखाने भाँडो बनाएका कारण मुलुकमा दुर्दशा देखिएको हो । राजनीति योग्यता र क्षमताले भन्दा पनि झोला बोकेर पछि लागेको भरमा बलियो बन्ने परम्पराले पनि होनहार युवाहरु राजनीतिमा आकर्षित हुनुको साटो उनीहरुमा वितृष्णा देखापरेको हो ।

राजनीतिलाई अर्थोपार्जन गरी बाँच्ने व्यवसाय बनाउने गलत परिपाटीको अन्त्य नहुँदासम्म मुलुक समृद्ध र जनता सुखी कहिल्यै बन्न सक्दैनन् । मुलुकमा सुशासन कायम नहुँदा जनतामा निराशा व्याप्त छ । राजनीतिक पार्टीमा लागेर कमिसन र दलालीको भरमा वैभवशाली जीवन बिताउने कैयौँ कार्यकर्ता हामी यत्रतत्र भेट्टाउँछौँ । यस्ता नेता कार्यकर्ताको भरमा मुलुक कसरी समृद्ध बन्न सक्छ ?

राजनीतिक दलहरुको निहीत स्वार्थपूर्तिमा युवाहरुलाई प्रयोग गरेको देखिन्छ । दलहरुले युवाहरुमा राजनैतिक चेतना, बहस गर्ने संस्कार र लोकतान्त्रिक आचरणको विकास गराउनुभन्दा निहीत राजनैतिक स्वार्थका लागि युवाहरुलाई दुरुपयोग गरिरहेका छन् । युवाहरुको मसल र ताकत लगाएर चुनाव जित्न सकिन्छ भन्ने कुसंस्कार नेतृत्व वर्गमा देखियो ।

चुनावका मुखमा युवाहरुलाई अघिपछि लगाएर हिँड्ने, चुनाव जितेर पदमा पुगेपछि युवाहरुका समस्या र मागहरुलाई सम्बोधन नगर्ने गलत प्रवृत्ति नेतृत्व वर्गमा देखिन्छ । यही संस्कारको विकासले युवाहरुमा निराशा, तिक्तता र आक्रोश बढिरहेको छ । राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा युवाहरुको प्रमुख भूमिका हुने गर्छ तर अनेक राजनीति आन्दोलनहरु भए पनि आन्दोलनपश्चात् युवाहरुका विभिन्न समस्याहरुको व्यवस्थापन कसरी गर्ने सवालमा राजनैतिक दलहरु सधै अनुत्तरदायी बनिरहे ।

आन्दोलनको अग्रपंक्तिमा उभिएका असंख्या युवाहरुको भविष्यको रुपरेखा आन्दोलनको नेतृत्व गर्ने वर्गको मस्तिष्कमा कोरिन सकेन । नेपाली समाजमा अहिले युवाहरुको उपस्थिति दिनप्रतिदिन पातलिँदै गएको छ । स्वदेशमा रोजगारीको अवसर नहुँदा युवाहरु वर्षेनी विदेशिने क्रम बाक्लिँदैछ । उत्पादनशील युवा उमेरका आधाभन्दा बढी नेपाली अहिले विदेशमा सीप, ज्ञान, सिर्जनशीलता प्रयोग गरी आफू र परिवारका लागि रोजीरोटीको जोहो गरिरहेका छन् । मुलुक विप्रेषणकै भरमा चलेको छ । विप्रेषणकै कारण केही मात्रामा गरिबी घटेको छ ।

देशलाई आधुनिक युगमा डोराउने वर्ग हो, युवा । सामाजिक आन्दोलनको अभियन्ता युवा वर्ग हो । प्रवृत्ति र संस्कार बदल्ने युवा हुन् तर नेपालमा युवाहरुको उपस्थिति दिनप्रतिदिन पातलिँदै जानुलाई विडम्बना ठान्नुपर्छ । युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवाहरु नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरु राष्ट्रको अमूल्य निधि एवं उदीयमान शक्ति मानिन्छ । उनीहरुको नशा–नशामा क्रान्तिकारी परिवर्तनको नवीन ऊर्जाहरु सल्बलाइरहेको हुन्छ ।

नेपालको इतिहासका गौरवमय गाथा पल्टाउने हो भने हरेक राजनीतिक आन्दोलनमा युवाहरुको योगदान अतुलनीय देखिन्छ । वि.सं. १९९६ को राणाविरोधी आन्दोलन, २०३६ सालको, २०४६ सालको जनआन्दोलन, वि.सं. २०५२ देखि सञ्चालित जनयुद्ध र मुख्यतः वि.सं. २०६२।०६३ को दोस्रो जनआन्दोलनमा थुप्रै युवाहरु शहीद बन्न पुगे । थुप्रै घाइते र अपांग बन्न पुगे । यी आन्दोलनमा युवाहरुको योगदान अतुलनीय थियो । राष्ट्रनिर्माणको महाअभियानमा युवाहरुका कदम नडगमगाई अघि बढेको इतिहास साक्षी छ ।

इतिहासका कठिन मोडहरुमा विचलित नभई जुट्ने युवा शक्ति र सामथ्र्यको अवमूल्यन भएको छ । नेपाली युवाहरु आज बेरोजारीको समस्याले मुलुकको माटो छोड्न विवश छन् । नेतृत्व वर्गले युवापंक्तिलाई सम्बोधन गर्न सकेन भने मुलुकमा गम्भीर दुर्घटना हुनसक्छ । युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्रनिर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । अब युवाशक्तिलाई निराशामा होइन आशामा बदल्नुपर्छ ।

राजनीति फोहरी खेल हो भन्दै पन्छिने होइन, फोहर पोखरीभित्र पसेर सफा गरेर निस्कने आँट युवावर्गमा हुनुपर्छ । पोखरी बाहिर बसेर फोहर भयो भनी कराएर हुँदैन । मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माणलगायत हरेक क्षेत्रमा युवावर्गको नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका हुनुपर्दछ । युवाहरुलाई भविष्यको कर्णधार भनिन्छ तर युवाहरुको राजनीतिमा चासो नभएको देखिन्छ । देश चलाउन कपाल नै फुल्नुपर्ने उपयुक्त उमेर होइन । अब नेपाली युवाहरुले राजनीतिक संस्कारमा परिवर्तन ल्याउनुपर्छ ।

युवा अवस्थामा एउटा छुट्टै खालको जोश–जाँगर र नयाँ सोचहरुको विकास हुन्छ । सक्षम युवाले राजनीतिमा चासो नलिने र राजनीतिलाई बहसको विषय बनाउँदैनन् तब राजनीतिमा शुद्धीकरण हुँदैन । युवाहरु राजनीतिमा होमिन नचाहनेले आफूभन्दा असक्षमहरुबाट शासित हुने सजाय पाउँछन् । राम्रो युवा मस्तिष्क जब राजनीतिमा प्रवेश गर्न हिच्किचाउँछ तब कसरी राजनीति राम्रो बन्न सक्छ ? नेपाली राजनीतिमा युवाको उपस्थिति विस्तारै पातलिँदै छ ।

पुरानो पुस्ताले नयाँ पिढीलाई नेतृत्व हस्तान्तरण गर्न नचाहने प्रवृत्तिका कारण युवाहरु राजनीतिबाट टाढिने क्रम बढ्दो छ । हरेक नयाँ पुस्तामा पुरानो पुस्तामा भन्दा नयाँ जोश, नयाँ सोच हुन्छ । समाजको सबैभन्दा गतिशील पुस्ता नै युवापुस्ता हो । युवाहरु राजनीतिक मूलधारमा आउनका लागि अनेकौँ चुनौती सामना गर्नुपरेको छ । नेपाली युवालाई राजनीतिक संस्कार, इमान्दारिता र आदर्शवान् हुन सिकाउनुपर्छ । राजनीतिमा लागेर व्यक्तिको विकास हुने परिपाटी अन्त्य गरी देशको विकासतर्फ केन्द्रित बन्नुपर्छ ।

राजनीतिलाई कमाउधन्दा वा गरिखाने माध्यम बनाउने होइन तर देश विकास गर्ने माध्यम बनाउनुपर्छ । अब पुरानो पुस्ताले राजनीतिबाट सन्यास लिई नयाँ युवा पुस्ताको काँधमा जिम्मेवारी दिनुपर्छ । युवा वर्गले मुलुक सम्हाल्नुपर्छ र नयाँ आउने पुस्ताले समृद्ध नेपाल देख्न पाउनुपर्छ । युवा मुलुकको रक्षाकवज र मेरुदण्ड बन्न सक्नुपर्दछ । नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिवर्तनका संवाह हुन् । राजनीतिप्रति नेपाली समाजको बुझाई सकारात्मक बन्न नसकेका कारण शिक्षित नयाँ पुस्ता राजनीतिमा आउने चाहना राख्दैनन् । युवाप्रति राजनीतिक आकर्षण र झुकाव कम हुनुको कारण राजनैतिक दल र नेतृत्व वर्गका क्रियाकलाप हुन् ।

नेपाली युवाको महत्वपूर्ण समस्या बेरोजगार हो । लाखौँ युवा स्वदेशमा रोजगारी नपाएर रोजगारीको लागि विदेशिन विवश भएका छन् । अझै लाखौँ युवा कामको खोजीमा स्वदेशमै भौतारिएका छन् । सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर हजारौँ ऊर्जाशील, गतिशील र श्रमशील युवा विना काम बस्न बाध्य छन् । राज्यले युवालाई रोजगारी दिने अग्रसरता देखाउनुको साटो बेरोजगार युवालाई आफ्नो पार्टीमा प्रवेश गराई देशमा अस्थिरता उत्पन्न गर्न लागिपरेका छन् ।

राजनीतिका नाममा हुने विभिन्न उच्छृंखल गतिविधिमा निर्दोष युवाहरुलाई प्रयोग गरिरहेका छन् । सिर्जनशील युवा पार्टीमा शक्ति प्रदर्शन गर्ने ढाल बनेका छन् । युवाहरुको अर्को समस्या भनेको कुलत तथा लागूऔषध दुव्र्यसन हो । यही दुव्र्यसनका कारण युवाहरु आपराधिक गतिविधिमा पनि संलग्न भएका छन् । हत्या, हिंसा, बलात्कार, लुटपाट, चारी, डकैती, अपहरणजस्ता घटनामासमेत युवा मुछिन थालेका छन् । युवा राजनीतिसँग जोडिएर मात्र देश विकास हुन्छ ।

आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् । राजनीतिमा युवा पुस्ता किन आउन सकिरहेका छैनन् ? राजनीतिमा लहैलहैमा लागेर जाने युवाको संख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको संख्या भने निकै कम छ । राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त विरलै भेटिन्छन् ।

राजनीतिमा युवा नेतृत्व स्थापित हुन नसक्नुको मुख्य कारणमा युवा वर्गको स्रोत–साधनको पहुँच कमी हुनु हो । राजनीतिलाई सेवामूलक बनाउने व्यक्ति हराउँदै जान्छन् र राजनीतिलाई जागिर बनाउने युवा राजनीतिमा टिक्दछन् । चुनावमा उठ्न पैसा चाहिने, चुनाव जित्न पैसा चाहिने, भएपछि एउटा युवा कसरी पेशा, व्यवसाय छोडेर राजनीतिमा होमिन सक्छ ? पढाइको तनाव, करिअरको तनाव झेलिरहेको युवा आर्थिक अभावमा राजनीतिकमा होमिन त्यति सजिलो कहाँ छ र ?

हामीले कुनै बालकलाई भविष्यमा तिमी के बन्न चाहन्छौँ ? भनी सोच्यौँ भने डक्टर, इन्जिनियर आदि भन्छ तर नेता कदापि भन्दैन । किनभने समाजमा नेताको दृष्टिकोण सकारात्मक छैन । राजनीतिप्रति समाजको दृष्टिकोण पनि सकारात्मक छैन । नेताकै नजरमा नेता सम्मानित छैनन् । सक्षम युवा आएर आफ्नो बागडोर खोस्ने हुन् कि भन्ने डर पालेर नेतृत्व वर्ग संकीर्ण बनेको छ । नयाँ पुस्तालाई नेतृत्व दिन चाहँदैन र नयाँ पुस्ताले नेतृत्व लिन चाहेको पनि देख्न रुचाउँदैनन् ।

युवाको राजनीतिमा सहभागिताको समस्या आउनमा हाम्रो पार्टी संरचना र राजनीतिक संस्कारमा ठूलो समस्या छ । अहिलेका पार्टी नयाँ नेतृत्व जन्माउने भन्दा पनि आफूले गरेको निर्णयमा सहीछाप ठोक्ने जमात बनाउने रुचि राख्दछन् । राजनीतिमा युवा लागेर पदमा पुगेर योगदान गर्ने संरचनाको विकास गर्न सकेका छैनौँ । योग्यता, क्षमता, विचार, नेतृत्व गर्ने क्षमता आजको राजनीतिक दलको संरचनामा कहाँ अटाउँछ ? युवा भएर अघि बढ्न कि त शीर्ष नेतृत्वको सन्तान हुनुपर्ने, कि त धेरै स्रोतसाधन चाहिने परिपाटीले पनि निष्ठावान् युवा राजनीतिमा आकर्षित छैनन् ।

युवालाई युवा संगठन अनि विद्यार्थी संगठनको नाममा राजनीतिक दुरुपयोग गरेर युवाको जिन्दगी बर्बाद पार्ने गरिपाटीले पनि युवामा राजनीतिक मोह घट्दैछ । आजका पार्टीको दलीय संरचना युवामैत्री छैन । एउटा सक्षम युवालाई राजनीतिमा जोडिन त्यति सजिलो छैन । आफूभन्दा क्षमता नभएको, नेतृत्व कौशल नभएको, चाकरी गरेर नेता बनेका मानिसलाई नेता मानेर एउटा निष्ठावान् युवा कसरी राजनीति गर्न सक्छ ?

राजनीतिलाई कमाइखाने भाँडो बनाउने होयन । आफ्नो खुट्टामा उभिनसक्ने युवा नेतृत्व देशले खोजिरहेको छ । दलीय संरचना, नीति तथा कार्यक्रमले नै युवालाई राजनीतिप्रति आकर्षण गराउन जरुरी छ । युवालाई दुरुपयोग गर्ने संस्कार भन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्र बन्नुपर्छ । संगठनले युवामा जति बढी लगानी गर्छ, देशले त्यति नै राम्रो नेतृत्व पाउँछ । अब राजनीति र नेतृत्वप्रतिको नकारात्मक सोचलार्य बदलेर सकारात्मक सोच बनाउनुपर्छ । यो दृष्टिकोणलाई बदल्न सक्षम युवा पुस्ताले नेतृत्व लिन आवश्यक छ ।

राजनीतिमा नयाँ अध्याय सुरु गर्ने र परिवर्तन गर्ने हो भने सक्षम युवा राजनीतिमा आउनुको विकल्प छैन । अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने हाम्रो राजनीति अघि बढ्न सक्दैन । नेपाली राजनीति सधै युवाविहीन बन्न पुग्यो । नेतृत्व भनेको आफूपछिको नेता जन्माउनु हो । अहिले हाम्रो राजनीति सही दिशामा छैन । किनकि हाम्रो राजनीतिमा युवाको भूमिका सशक्त छैन । अब नेपालको सुसंस्कृत, समृद्ध र शुद्धीकरणका लागि सक्षम युवा राजनैतिक मैदानमा उत्रनुको विकल्प छैन ।

हालको राजनीति गुण्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले आम नागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन् भन्ने बुझाईले पनि धेरै युवामा निराशा छाएको छ । राजनीतिप्रति समाजको दृष्टिकोण सकारात्मक छैन ।

इतिहासका हरेक परिवर्तन युवाहरुको जोश, सुझबुझ र नेतृत्वबाट मात्र सम्भव भएका छन् । निरंकुश जहानियाँ राणा शासन ढाल्न, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न दशवर्षे सशस्त्र द्वन्द्व, पहिलो र दोस्रो जनआन्दोलनजस्ता थुप्रै आन्दोलनमा युवाहरुको अग्रपंक्तिमा रहेका छन् । यी आन्दोलन युवाहरुको रगत र पसिना बगेर सफल भए । युवाहरु चलायमान भएको युगले मात्र यथास्थितिबाट अग्रगामी छलाङ मारेको विश्वव्यापी उदाहरणहरु छन् । युवा जागे देश ब्यूझन्छ । राजनीतिक व्यवस्था फेरिए तर युवाहरुको अवस्था फेरिएन ।