राजनीतिक गाईजात्रा

गुरुप्रसाद शर्मा रेग्मी

निश्चय पनि राजनीतिको बाटो सहज र सरल छैन । यो बाटोमा हिडेका ती नेताहरुमात्र निष्कलंकित र जनताको अन्तर्हृदयमा सम्मानित र पुज्य भएर बस्न सकेका हुन्छन् । राजनीतिक क्षेत्रमा रहँदा आफ्नो निहीत स्वार्थ पूर्णरुपमा त्याग गर्न सकेका हुन्छन् । उनको आँट र हिम्मतले राजनीतिमा सुवास फैलाउन सकेको हुन्छ ।

उनीहरुको दृढ इच्छाशक्तिको चारैतिर सुनौला विकिरणहरु फैलाइरहेको हुन्छ । यो कल्पनाको कुरा नभएर वास्तविकताको कुरा हो । यस्ता राजनेताहरु हरेक राष्ट्रमा भएको कुरालाई इतिहासको पाना–पानामा देख्न सकिन्छ । यस्ता नेताहरुको कुरा सुन्न र अनुशरण गर्न न कुनै डर र त्रास देखाउनुपर्दथ्यो । न आजको जस्तो लाखौँ खर्च गरेर गाउँ–गाउँमा बस पठाएर नेताको भाषण सुन्न मानिस भेला गराउनुपर्दथ्यो । मानिसहरु आस्था र निष्ठाले स्वतःस्फूर्तरुपमा निर्दिष्ट स्थानमा पुग्दथे । यो देशको इतिहासका पाना पल्टाएर हेर्दा राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबैलाई उछिनेर षड्यन्त्रतन्त्रमा आइपुगेको छ ।

त्यसैले यतिबेलाका देशका विभिन्न दलका नेताहरुको मानसिकता के छ भने देशका जनतालाई आफ्नो दलतर्फ आकर्षित गर्न विकास, उन्नति, प्रगति केही गर्नुपर्दैन । बन्दुकको बलमा र लाठी ढुंगामुढाको बलमा आकर्षित गरे पुग्दछ । यही सोच र मनस्थितिले गर्दा सबै राजनीतिक दलहरुले आफ्नो एजेण्डालाई थाँती राखी प्राविधिक र प्रशासनिक एजेण्डालाई मुद्दा बनाएर राजनीति गर्न खोज्दा राजनीति देश र जनताको लागि अभिषाप बन्न गएको छ । यो कुरा हेर्न अन्यत्र कहीँ जानुपर्दैन, नेपालका दलहरुलाई हेरे पुग्दछ ।

देशका दलका नेताहरुले जतिसुकै चर्को भाषामा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, जनता नै सर्वोपरि भएको, गरिबी उन्मूलन गरी जीवनस्तर उकास्ने, देशको चौतर्फी विकासको कुरा गरे पनि त्यो सबै कुरा कर्मकाण्डी कुरामात्र सिद्ध भएको छ । समग्रमा भन्नुपर्दा जे गरिरहेका छन्, त्यो देश र जनताको लागि नभएर आफ्नो, परिवारको, झोलेको लागिमात्र गरिरहेका छन् । वास्तवमा यो देशका नेताहरु र टपरे बाहुनहरुमा कुनै फरक छैन । मूल्य, मान्यता, नीति–नियम, कानुन, मर्यादा, मान, इजजत कुनै कुरालाई दुबैले आत्मसात गरेको देखिँदैन ।

लूट, झूट, फूट जे गरेर जे बोलेर भए पनि आफू सत्तामा पुग्ने या पदमा पुग्ने अनि त्यसैलाई अपुताली बनाउन खोज्ने प्रवृत्ति र प्रकृतिलाई यो देशका राजनीतिक दलका नेताहरुले राजनीतिको धर्म बनाएकाले राजनीति यति विषाक्त बन्दै गएको हो । राजनीतिक दलका नेताहरुले लौकिक र पारलौकिक दुबै किसिमको सत्ताको सञ्चालक आफैलाई ठानेर जे पायो त्यो गर्ने गर्दा बाँदरमुखे गौर, राजपुर, जलेश्वर, टीकापुरका जस्ता चर्चित मानवता विरुद्धका अपराधहरु चर्चित काण्डहरु र भ्रष्टाचारहरु यतिबेला नै दोहोरिरहेका छन् ।

आपराधिक, भ्रष्टाचारीहरुलाई कानुनको दायरामा ल्याउन तीन तिहाईको बहुमतको सरकार लाग्नुको साटो अपराधी र भ्रष्टाचारीको सुरक्षा र संरक्षण गर्न लागिपरेको अवस्थाले अपराध र भ्रष्टाचारलाई मलजल हाल्ने र गोड्ने काम गरिरहेकाले यो दिनप्रतिदिन झाँगिँदै गएको हो । महिला राष्ट्रपति भएको देशमा बलात्कारका घटना प्रतिदिन घट्दा पनि सरकार मूकदर्शक भएर बस्नु कस्तो राजनीतिक दुर्भाग्य हो ।

यो देशका दलका नेताहरुले आ–आफ्ना झोले कार्यकर्ताहरुलाई मात्र जनता सम्झेर अवसर सुविधा र सहयोग गर्ने तर जसले आफूले नेता बनायो र सत्ता र पदमा पठायो त्यो जनताको उपेक्षा, अनास्था, अनादर गर्ने मात्र होइन असुरक्षित बनाइदिएकाले आज राजनीति राजनीति नभएर अपराधी र भ्रष्टाचारीहरुको अखडा जस्तो बन्न गएको छ । राजनीतिकै आड र नाममा अपराधी र भ्रष्टाचार भइरहेको छ । मूल्य–मान्यताविहीन आपराधिक कार्य हुन गइरहेका छन् ।

राजनीतिक दलका नेताहरुले जतिसुकै जनताको हकहितको लागि लड्दै आएको दावी गरे पनि उनीहरु जनताको लागि लडेको नभएर आफ्नो सत्ता र सम्पन्नताको लागि लडेको देखिन्छ । यही भएकाले दलहरु एजेण्डाविहीन छन् । सबै दलहरु अनैतिक तथा अपराधीकरणलाई मूल मुद्दा बनाएर राजनैतिक अभिष्ट पूरा गर्न खोजिरहेको वास्तविकतालाई नकार्न सकिँदैन । राजनीतिक दलका नेताहरुले यिनै आफ्ना कमजोरीहरुलाई आत्मसात गर्न नसक्दा राजनीतिमा वितृष्णा बढिरहेको हो ।

ऊर्जाशील समयमा नेताहरुले दृढ इच्छाशक्ति राखेर त्यसैमा समर्पित हुने हो भने उसको लागि असम्भव बन्ने कुनै कुरा हुँदैन । आर्थिक, सामाजिक र निजी जीवनका हरेक क्षेत्रमा प्रगति, उन्नति गर्नको लागि व्यक्ति स्वयंको चाहना इच्छा, जोश जाँगर मनोविज्ञानको ठूलो भूमिका हुन्छ । चीनको सरकारले राष्ट्रसंघको दिगो विकास एजेण्डामा अघि सारेको विकासमा कसैलाई पछाडि पारिने छैन भन्ने सिद्धान्तलाई अवलम्बन गरेर गरिबी निराकरण अभियान जसरी चलायो, त्यो विश्वकै लागि एउटा प्रेरणादायी बन्न पुगेको छ ।

चीनले ऐतिहासिक सफलतालाई मानवअधिकारका क्षेत्रमा महत्वपूर्ण मानेर जनतालाई प्राथमिकतामा राखेर विकास, रणनीतिको दलमा हासिल गर्न सकेको कुरा नकार्न सकिँदैन । तर नेपालको इतिहासले के देखाउँछ भने सात दशकदेखि गरिबी निवारण मुद्दा अगाडि सारेको भए पनि गरिबी घट्नुको साटो बढ्दै गएको छ । नेपालका नेतहरु आधुनिक विकास र समृद्धिको युगमा प्रवेश गरेको भए तापनि पुरातन र परम्परागत सोच र चिन्तनबाट मुक्त हुन नसकेकाले सामाजिक, राजनैतिक, धार्मिक सबै क्षेत्रमा मानिसलाई कुनै न कुनै हिसाबले प्रभावित हुन गएकाले दृढ इच्छाशक्ति राख्न नसक्ने, जनतालाई ऊर्जाशील बनाउन नसक्ने भएकाले गरिबी बढ्दै गएको हो ।

यतिमात्र होइन, नेताहरुकै विपन्न मानसिकताले गर्दा देशका ऊर्जाशील युवाहरु जागिरे र विदेशिने मानसिकताले समृद्धि र सक्षमतालाई प्रतिकूल असर पारिरहेको छ । सरकारले ऊर्जाशील युवाहरुलाई न अवसर दिएको छ न सुविधा नै दिइरहेको छ । यो दुर्दशा हुनुको पछाडिको वास्तविकता के हो भने यो देशका नेताहरु देशका नेता नभएर चेसका गोटी भएर अर्काको चालमा चल्ने भएकाले यस्तो हुन गएको हो ।