विगत २५ वर्षदेखि उनी शैक्षिक क्षेत्रमा कार्यरत छन् । एउटा असल शिक्षकले असल विद्यार्थी उत्पादन कसरी गराउने भन्नेमा उनी तल्लिन छन् । मिजासिला शालीन, कर्मशील तुलसीपुर–७ गणेपुर निवासी बासुदेव रिजालले आफ्ना जीवनका उकालीओरालीमा धेरै सुख–दुःखहरू र खुसीका पलहरू रहेको सम्झिए ।
महेन्द्र माध्यमिक विद्यालयबाट शिक्षा लिएका रिजालले आइए, बिए राप्ती बबई क्याम्पस तुलसीपुरबाट र एमए विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट र बिएड नेपाल संस्कृत क्याम्पस बिजौरीबाट पूरा गरी अहिले आफूले अध्ययन गरेको राप्ती बबई क्याम्पसमा प्राध्यापकको रूपमा कार्यरत छन् । उनले जीवनमा बाल्यकालको पहिलो खुसी सम्झिए । तिथि, मिति याद नभए पनि रिजालले झोलाबाट कलम झिकेर आफ्नो बुबालाई देखाउन पाउँदको पल सम्झिए ।
‘बाल्यकालमा म सधैँ दिनमा एउटा कलम हराउँथे, बुबा बानी परिसक्नुभएको थियो । दिनदिनै एउटा कलम मलाई दिनुहुन्थ्यो, सधैँजसो त्यो दिन पनि उहाँले ‘ल यो कलम आज पनि पक्कै हराएकै होला’ भन्नुभयो । संयोगले त्यो दिन मेरो कलम हराएको थिएन । मैले मेरो झोलाबाट आफ्नो कलम झिकेर देखाउँदै भने ‘आज मेरो कलम हराएको छैन’ त्यो दिन म ज्यादै खुुसी भएको थिएँ ।
त्यो दिन मेरो दैनिकीले एउटा खराब खुड्किलो पार गरेको थियो । अर्थात् अब मेरो कलम कहिल्यै हराउने छैन । किनकि मैले कलमको महत्व बुझ्ने भएको रहेछु । त्यही दिनदेखि मेरो दैनिक कलम हराउने बानी सुधार आयो’ – रिजालले सम्झँदै भने – ‘जसरी कलम हराउनबाट म सचेत बन्दै गएँ, त्यसरी नै शिक्षा क्षेत्रका हरेक क्रियाकलापमा म सकेसम्म सचेत बन्दै जानथालेँ ।
विस. २०५३ सालमा मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कूलको स्थापनासँगै शिक्षा क्षेत्रमा जोडिएका रिजालले अर्को खुसी आफ्नो विद्यालयमा पहिलो पटक २०६८ सालमा एसएलसी मा सहभागी भई विद्यार्थीहरू विशिष्ट श्रेणीमा पास भएको दिनलाई सम्झिए । आफूहरुले पढाएका विद्यार्थीहरू विशिष्ट श्रेणीमा पास हुँदा त्यस दिन बेग्लै खुसीको अनुभूति भएको रिजाल बताउँछन् । ‘मैले पढाएका विद्यार्थीहरू विशिष्ट श्रेणीमा उत्तीर्ण हुँदा म आफै सो श्रेणीमा उत्तीर्ण भएझैँ लाग्यो’, रिजालले यसरी आफ्नो खुसी व्यक्त गरे ।
बाबुआमाले र शिक्षकहरूले पनि हार खाएर सुधार्न सकिँदैन भनेका विद्यार्थीहरूलाई उत्कृष्ट भएर आफ्नो जीवनमा सफल भएका घटनाहरू धेरै भएको भन्दै आफ्नो कारण कसैको जीवन सकारात्मक मोडमा मोडिँदा साह्रै खुसी लाग्ने गरेको उनले बताए । सयौँ विद्यार्थीहरूलाई शिक्षाको ज्योति दिएका रिजालले बालबालिकाहरूसँग दिनहरू बिताउँदै जाँदा आज आएर बालबालिकाहरूसँग छुट्टिनै नसक्ने जस्तो महशुस हुने भन्दै उनीहरूको आवाज र चलचकबिना दिन त्यसै अडिएजस्तै लाग्ने बताउँछन् । अहिले पनि उनको लगाम शिक्षा क्षेत्रमै निरन्तर चलिरहेको छ ।
त्यस्तै रिजालले आफूले पढेको राप्ती बबई क्याम्पसमा २०६५ सालमा प्राध्यापक भएर जाँदा अर्को खुसी प्राप्त गरेको बताए । उनले क्याम्पसमा प्राध्यापक भएर उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई शिक्षा दिन पाउँदा निकै खुसी भएको सम्झिए । ‘मैले पढाएका विद्यार्थीहरू विभिन्न क्षेत्रमा लागि आफूलाई स्थापित गराएको देख्दा र सुन्दा छुट्टै किसिमको आनन्द हुन्छ’ –रिजालले भने । आफूले चिन्न नसक्दा उनीहरूले आफूलाई चिनाउँदै कक्षा कोठाको स्मरण गराउँदा यो क्षेत्र भन्दा
राम्रो र प्रतिष्ठित क्षेत्र अर्को छैन जस्तो पनि लाग्ने गरेको उनले बताए ।
‘आज मैले पढाएका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा छरिएका छन्, तिनीहरूले सामाजिक सञ्जालबाट म यहाँ टाढा भएँ र हजुरको कक्षा मिस गरेको छु भन्नुहुन्छ’ अनि हजुर पढाउने बेलामा जीवनको बारेमा जे भन्नुभएको थियो आज सबै ती कुराहरू यथार्थमा परिणत भइरहेका छन् भन्नुहुन्छ’ रिजालले भने । आज मलाई यो ठाउँमा समस्यासँग जुझ्न हजुरको शिक्षा सहयोगी भएको छ भन्दा जीवनमा अरु केही बनु नबनूँ असल शिक्षक भने बनूँ भन्ने कुरा मनमा लागिरहन्छ’ रिजाल मुस्कुराउँदै खुसी भएको बताउँछन् ।
रिजालले एउटा शिक्षक खराब भयो भने, उसले दिने शिक्षा खराब भयो भने एउटा पिढी बिग्रन्छ र देश पछाडि धकेलिने भन्दै शिक्षालाई व्यावहारिकता र ंसंस्कारसँग जोडेर सँगसँगै अगाडि लैजाने आफूले पढाउँदा पाढय पुस्तक घोकाउनु र रटाउने मात्र नभई जीवनसँग जोडिएका हरेक चुनौतीसँग साक्षात्कार गराउनु वास्तविक शिक्षा हो भनेर रिजाल बताउँछन् । ‘मेरो जीवनको प्रत्येक दिन कसैको शिक्षा र उत्प्रेरणामा बिताउन पाउँ, मेरो लागि खुसी त्यही हुनेछ जहाँ सिकाइ केन्द्रको रूपमा आफ्ना शिक्षालयहरूलाई स्थापित गर्न सकूँ’ –रिजालले भने ।
प्यूठानको नौबहिनी गाउँपालिका सिउरीकोटमा श्यामलाल शर्मा र विष्णा रिजालका माइलो सन्तानको रूपमा २०३५ सालमा जन्मिएका बासुदेव रिजालका अन्य दाइभाइहरू कृषि, स्वास्थ्य र व्यापार व्यवसायमा लागेर काम गरे पनि उनी भने शिक्षाको उज्यालो दिन लागेका छन् । अन्य पढेलेखेका व्यक्तिहरूले बाहिरी देश र अन्य पेशा व्यवसाय रोजे पनि आफूले भने आप्mनै कर्मथलोमा क्षिक्षाको ज्योति बाँड्न पाएको भन्दै खुसी व्यक्त गरे ।
विसं २०६१ सालमा वैवाहिक जीवनमा बाँधिएका रिजालले आफ्नो सफलताको पछाडि घरपरिवार, श्रीमतीको पनि साथ सहयोग पाएकोमा खुसी व्यक्त गरे । परिवारको साथ र सहयोग नभइदिएको भए आफू यो क्षेत्रमा सफल र सन्तुष्ट हुन नसक्ने पनि उनले बताए । शिक्षासँगै अन्य सामाजिक काममा समेत अरूलाई सहयोग गर्न पाउँदा खुसी भएको सुनाए । सधै कर्ममा विश्वास गर्ने मिहिनेती रिजालले सबै साथीभाइ र घरपरिवारको साथ र सहयोगबाट आफू यहाँसम्म आएको भन्दै खुसी व्यक्त गरे ।
‘मानिसको जीवनमा सुख र दुःखहरू आउँछन्, जान्छन् तर आफूले गरेका सत्कर्महरूले मलाई सधैँ खुसी तुल्याउँछ । जब कुनै विद्यार्थीले हजुरले त्यतिबेला त्यो नगरेको भए आज म यो स्थानमा हुने थिइन भनेर शिर झुकाएर धन्यवाद दिन्छन, छाती गर्वले चौडा हुन्छ’ –रिजालले भने । बासुदेव रिजाल, राप्ती बबई क्याम्पसका सहायक प्राध्याक, राप्ती लाइफ केयर हस्पिटल नर्सिङ कलेजका शिक्षक तथा मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल हुन् ।
प्रस्तुती : बालाराम खड्का