कारबाही मात्रै दीर्घकालीन समाधान होइन : ट्राफिक प्रमुख जिसी

  •   
  •  

पछिल्लो समयमा दाङ जिल्ला पाँच नम्बर प्रदेशमै सम्भवतः सबैभन्दा बढी ट्राफिक चेकिङ हुने जिल्लाका रुपमा चिनिन्छ । ट्राफिककै आधिकारिक तथ्याङ्कमा जिल्लाभर कम्तिमा १९ स्थानमा नियमित चेकिङ हुन्छ भने छड्के चेकिङका स्थान अझ बढी हुनसक्छन् । लकडाउनको अवधिमा पनि ट्राफिक प्रहरीको कारवाहीको संख्या र त्यसबाट उठ्ने जरिमाना दस्तुर (जसलाई प्रहरीले राजश्व भन्छ) बढेको बढ्यै छ । तर, दुर्घटनाको दर भने घट्न सकेको छैन । यो आर्थिक वर्ष मात्रै दाङमा सडक दुर्घटनाकै कारण ७० जनाले ज्यान गुमाएका छन् । त्यसमा ७ जना त सवारी चालक नै छन् । दुर्घटनाको सबैभन्दा प्रमुख कारण चालकको लापरवाही रहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाइसकेको छ । यद्यपि महिनैपिच्छे जरिमाना राजश्व बढ्नुलाई प्रहरीले दुर्घटना न्यूनीकरणको दीर्घकालीन समाधान भने नभएको बताउँदै आएको छ । जिल्लामा ट्राफिक दुर्घटना, समग्र ट्राफिक व्यवस्थापन तथा यसमा प्रहरीले थालेका अभियानमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेकटर थम्मन जिसीसँग गरेको कुराकानीको सार संक्षेप ।

 यो वर्षको समग्र ट्राफिक कारबाही र राजश्वको अवस्थाका विषयमा केही बताइदिनुस् न ?

 हामीले ट्राफिक कारबाही र राजश्व उठेको विवरण महिनैपिच्छे सार्वजनिक गर्दै आएका छौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ट्राफिक कारबाहीमा पर्नेको संख्या तथा त्यसबाट उठेको जरिमाना राजश्व समेत बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा जम्मा राजश्व दुई करोडको हाराहारीमा उठेको थियो भने यो वर्ष जरिमाना राजश्व ३ करोड ३८ लाख रूपैयाँभन्दा बढी उठेको छ । हामीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्ष मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ सयभन्दा बढीलाई कारबाही ग¥यौ ।

यसैगरी सिटबेल्ट नबाँधेर सवारी चलाउने, सवारी चलाउँदा मोबाइल प्रयोग गर्ने, ओभरलोड भार बोक्ने, छतमा यात्रु राख्ने, लेन अनुशासन कार्यान्वयन नगरेका, तीव्र गतिमा सवारी चलाउने तथा ओभरटेक गरी सवारी चलाउनेलगायतका ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई समेत कारबाही ग¥यौँ । यी सबै कारबाहीबाट माथि उल्लिखित राजश्व उठेको जानकारी गराउन चाहन्छु ।

बस ट्रक, टेम्पो, टेक्टर, मोटरसाइकल, जिप÷कार, अटो र टिप्पर गरी जम्मा साढे ५ हजारभन्दा बढी चालकलाई कारबाही गरिएको पनि जानकारी गराउन चाहन्छु । यद्यपि, कारबाही बढाउनु मात्रै दुर्घटना न्यूनीकरणको दीर्घकालीन समाधान भने होइन । खासमा कारबाहीको संख्या घटाउनसकेको अवस्थामा मात्र सही अवस्थामा ट्राफिक नियमको पालना भएको छ भन्ने बुझ्न पनि सकिन्छ तर यस्तो तथ्याङ्क देखाउनकै लागि जाँच नै नगर्नु त भएन नि ?

 पछिल्लो समयमा सडक दुर्घटनाको अवस्था कस्तो पाउनुभएको छ ?

 दुर्घटनाको दर घट्नसकेको छैन । किनकि यो हाम्रो तथ्याङ्कले नै देखाइसकेको छ । तराईका जिल्लाहरूमा दाङ जिल्ला बढी दुर्घटना हुने जिल्लाका रूपमा चिनिन्छ । यहाँको भौगोलिक अवस्था, सडकको अवस्था, बढ्दो सहरीकरणसँगै दिनहु सडकमा गुड्ने सवारीसाधनको वृद्धि पनि यसका कारण हुन सक्छन् । हजारौँ सवारीसाधनहरू बढिरहँदा यहाँको सडकको स्तरोन्नतिमा निकै समस्या देखिएको स्पष्ट पनि हो ।

हामीले बुझेअनुसार विसं २०५४ सालमा बनेको लमही–तुलसीपुर मुख्य सडक नै अहिलेसम्म थप चौडा बनाउने काम भएको छैन । सडकमा खाल्टाखुल्टीको अवस्था त यहाँ सामान्यजस्तै भइसकेको छ । अझ पछिल्लो समयमा विगत दुई वर्षदेखि घोराही तुलसीपुर सडकको अवस्था दयनीय बनेको छ । चारलेन बनाउनुपर्ने सडक साविकको दुईलेनबाट पनि घटेर सिंगललेन जस्तै भएको छ । आजै मात्रको घटना सुनाउन चाहन्छु– घोराही–तुलसीपुर सडकखण्डको पर्सेनीमा बीच सडकमै हिमपाइप राख्न खनिएको खाडल वर्षदिनदेखि वेवारिसे हुँदा त्यसमा परेर एक सवारीचालकको निधन भएको छ ।

यो वर्ष मात्रै जिल्लाका विभिन्न सडकहरूमा गरी कम्तिमा २ सयभन्दा बढी दुर्घटनाहरू भए । त्यसमा ७७ जनाको असामयिक निधन पनि भयो । दुर्घटनामा ७ जना त सवारी चालक नै मृत्यु वरण गरे । दुर्घटनाको मुख्य कारण तीव्र गति र मापसे गरी सवारी चलाउनेहरू नै बढि देखिन्छ । यसैगरी सवारी साधनको स्वास्थ्य खराब भएका कारण पनि दुर्घटना भएको पाइन्छ । सडकको दूरावस्थाका कारण पनि दुर्घटना भएको हाम्रो प्रतिवेदनले देखाएको छ । दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल चालक नै रहेका छन् ।

 वर्षेनी दुर्घटना बढिरहँदा कारबाहीको दायरा बढाउने मात्रै हो वा दुर्घटना न्यूनीकरणतर्फ पनि केही प्रयास थाल्नुभयो ?

 कारबाही गर्नु मात्रै महत्वपूर्ण कुरा होइन । मैले अघि नै भनिसके– यो दीर्घकालीन समाधान होइन भनेर । यसैले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्कूलहरूमा ट्राफिक सचेतना अभियान सञ्चालन पनि ग¥यौँ । चालकहरू तथा यातायात मज्दुरहरूलाई विभिन्न समयमा प्रशिक्षण समेत दियौँ । सवारी साधनको अवस्थाका विषयमा पनि सवारी चालकलाई प्रशिक्षण दिँदै आएका छौँ ।

तर, यसले केही सकारात्मक अभ्यासको वातावरण पनि नबनेको होइन तर पनि लापरवाहीको क्रम भने घट्नसकेको छैन । लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउने, आफ्नो सवारी साधनको स्वास्थ्यका विषयमा जानकार भएर पनि केही हुँदैन भनेर जबर्जस्त रूपमा सवारी चलाउने सडकको अवस्था अनुसार तोकिएको गतिमा सवारी नचलाउनेजस्ता कारणले दुर्घटना न्यूनीकरण हुनसकेको छैन । हो, हामीले दुर्घटना न्यूनीकरणकै क्रममा यो वर्ष कम्तिमा ६ हजार नागरिकलाई सचेतना अभियानमा तालिम समेत दिइसकेको जानकारी गराउन चाहन्छु ।

 दुई साता अघि मात्रै जिल्ला प्रहरी कार्यालयकै निर्देशनमा कम्तिमा डेढ सयभन्दा बढी टिप्परलाई ढाला थपेर माल बोकेको भन्दै कारबाही गर्नुभयो, ओभरलोड मापन गर्ने कुनै प्रविधि पनि त छैन नि, यहाँ ?

 ओभरलोडको मापदन गर्ने स्पष्ट आधार हामीसँग छैन । पूर्व–पश्चिम राजमार्गको लमहीमा एउटा धर्मकाँटा छ भन्ने सुनेको छु तर यहाँ त जिल्लाका पहाडी भू–भाग तथा रोल्पा र सल्यानबाट समेत सयौँ टिप्परहरूले चुनढुङ्गा बोकिरहेका हुन्छन् । हामीले अहिले गरेको कारबाही त साविकको टिप्परमा ढाला थप गरेर मोडिफाइ गरी सामान बोकेका टिप्परलाई मात्र हो ।

कुन टिप्परले कति टन माल बोकेको छ भनेर होलेरी सडक र मुर्कुटी सडकमा मापन गर्ने कुनै प्रविधि छैन । यद्यपि दुर्घटना न्यूनीकरणकै क्रममा छतमा यात्रु बोक्ने परम्परा भने यहाँ पूर्णरूपमा बन्द गराइसकेका छौँ । अहिले तपाईं राजमार्गलगायत अन्य ग्रामीण बस्तीमा चल्ने सार्वजनिक यातायातमा पनि देख्नुहुन्छ कि त्यहाँ कुनै पनि बस वा टेक्सीले छतमा यात्रु राखेर यात्रा गराउने क्रम रोकिएको छ ।

त्यस्तै हामीले अघिल्लो साता गरेको कारबाहीपछि सडकमा चल्ने सबै टिप्परले ढाला काटिसकेका छन् । पछि थपेको ढाला नकाटेका टिप्पर अब एक किमि पनि सडकमा गुड्न पाउने छैनन् । अर्को कुरा यसैमा जोड्न चाहन्छु, दुर्घटना न्यूनीकरणकै लागि सवारी साधनलाई मोडिफाइ गर्नेलाई पनि कारबाही गरेको मैले यसै पत्रिकामार्फत् सबैलाई जानकारी गराउन चाहन्छु ।

 अब तपाईंहरूको जनशक्ति र स्रोतसाधनका विषयमा पनि बताइदिनुस् न ?

 जति जनशक्ति उपलब्ध छौँ त्यत्तिलाई परिचालन गरी हाल काम चलाइरहेका छौँ । यथार्थमा भन्नुपर्दा दाङमा हाल कार्यरत रहेका जम्मा ५६ जना ट्राफिक प्रहरीले सडक सुरक्षा एवं व्यवस्थापनको पाटो थेग्नसक्ने अवस्था छैन । पूर्वी धानखोलादेखि पश्चिम हंशपुरसम्मको सडकमा यति थोरै जनशक्तिले थाम्न असहज नै हुँदोरहेछ ।

पछिल्लो समयमा दाङ लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी बनेसँगै बजारीकरण पनि वृद्धि भएको छ । यसले सडकमा ट्राफिक चाँप बढ्नु स्वाभाविक पनि हो । हामीले प्रदेश ट्राफिक प्रहरी कार्यालयमा जनशक्ति थप गर्नका लागि निवेदन पनि गरेका छौँ । अर्को कुरा स्रोत, साधनको प्रशङ्ग उठाउनुभो । हामीसँग कुनै पनि सडकमा भारी लोडको सवारी साधन फँस्यो भने त्यसलाई तत्काल सडकबाट हटाउनका लागि सरकारी निकायका ठूला मेसिन पनि उपलब्ध हुने अवस्था छैन ।

जिल्ला ट्राफिककै स्रोत साधनको कुरा गर्ने हो भने हामीसँग फसेको सवारी तान्ने एउटा टोचन समेत छैन । क्रेन, डोजर आवश्यक प¥यो भने निर्माण व्यवसायीहरूको सहयोग लिनुको कुनै विकल्प छैन । यही अवस्थाले सडकमा गाडी फसेका बेला केही बढी समयसम्म जाम नखुल्ने समस्या पनि दोहोरिँदै आएको छ ।

 पछिल्लो समयमा अटो व्यवस्थापन पनि एउटा टाउकोदुखाइको विषय बनेको भनिन्छ नि ?

 हो, अटो व्यवस्थापन दाङलगायतका अन्य जिल्लाहरूमा पनि समस्याकै रूपमा आएको छ । हरेक जिल्लाका सरोकारवाला निकायले आफू अनुकूल व्यवस्थापनको नियम बनाएर सञ्चालनमा ल्याएका छन् । तर यहाँ त अटो व्यवस्थापनका विषयमा सबै सरोकारवाला गम्भीर हुनसकेको अवस्था छैन ।

यहाँको सडकमा कति अटो आवश्यक छ, अटोलाई रूट परमिट दिने कसले ? कहाँ–कहाँ सञ्चालन हुन पाउने ? लाइसेन्स अनिवार्य हो वा होइन ? भाडा दर कहाँको कति उठाउन सकिनेलगायतका धेरै समस्याहरू छन् । अझ भन्नुपर्दा यहाँ सञ्चालन हुने अटोहरूमध्ये कम्तिमा ७० प्रतिशत चालकहरूसँग सवारी चालक अनुमति–पत्र समेत छैन ।

यो अवस्थामा अटो व्यवस्थापन ट्राफिक एक्लैले नभएर यहाँका स्थानीय सरकार, यातायात व्यवस्था कार्यालयलगायत सबैले हातेमालो गरी अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो विषयमा म स्वयम्ले पनि स्थानीय सरकार प्रमुखलाई पटक–पटक ध्यानाकर्षण पनि गराइसकेको छु ।

 अन्त्यमा दुर्घटना न्यूनीकरणका विषयमा आम नागरिकलाई केही भन्नुहुन्छ कि ?

 सडक दुर्घटना न्यूनीकरण सबै नागरिकको सामूहिक दायित्व हो । बीच सडकमा सवारी चलाउने चालकदेखि फुटपाथमा हिंड्ने सर्वसाधारण नागरिक र सडक पार गर्ने बटुवाहरू सबैले सडक अनुशासन र ट्राफिक नियम पालना गर्नसके दुर्घटना न्यूनीकरणको अभियानमा थप सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा हो ।

यसैगरी विशेष गरेर सवारी चालकहरूलाई पनि विशेष अनुरोध गर्न चाहन्छु कि सबैले लेन अनुशासन कायम गरी ट्राफिक नियम एवं चिह्नहरूको पूर्ण पालना गरी सवारी चलाऔँ । दुर्घटनाबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ ।