बालाराम खड्का
तुलसीपुर, ११ साउन । तुलसीपुरका निश्चल डिसी केही दिनअघि डेरीमा दूध लिन जाँदा मागअनुसार दूध पाएनन् । उनले घरमा खिर खानका लागि दूध लिन एक डेरी पसलमा जाँदा दूध सकिएको थियो । त्यस्तै गाउँमा डेरी सञ्चालन गरेकी चन्द्रकला वलीले पनि आवश्यक दूध पाउन नसकेको गुनासो गरिन् । तुलसीपुरको एक डेरीबाट दैनिक दूध लिने गरे पनि उनले आफूलाई आवश्यक पर्ने दूध पाउन नसकेको बताइन् ।
विशेषगरी असार, साउन भदौमा दूधको माग धेरै हुने गरेको छ । तर सो समयमा मागअनुसार दूधको उत्पादन भने कम हुने भएकाले यहाँका डेरी पसलहरुले भने जति दूध पु¥याउन नसकेको बताउँछन् । तुलसीपुर स्थित किसान डेरी उद्योग सञ्चालन गरेका डेरी सञ्चालकले दूधको अभाव हुँदा ग्राहकहरुलाई मागअनुसार दूध पु¥याउन नसकेको बताए । हाल बजारमा दूध र दही मागअनुसार उपभोक्ताहरुले पाउन सकेका छैनन् ।
उनले अहिले दूध लिन अन्य डेरी तथा उपभोक्ताहरु आउने गरेको र हिउँदमा दूध कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने समस्या हुने गरेको बताए । तुलसीपुर क्षेत्रमा मात्र करिब हाल १० देखि १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । बजारमा भने ३० हजार लिटर आवश्यक पर्ने अनुमान गरिएको छ ।
व्यावसायिक किसानहरुले मात्र अहिले बजारमा दूधको माग धानेका छन् । गाउँघरबाट कम दूध आउने गरेको बताएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूधउत्पादक किसान नेपाल तुलसीपुर नगरका कोषाध्यक्ष चन्द्र डाँगीले यो समयमा माग धेरै उत्पादन कम हुने भएकाले दूधको अभाव हुने गरेको बताए ।उनले हाल व्यवसायीक किसानहरु तथा गाउँघरबाट फाटफुट दूध आउने गरेको बताउँदै पुस माघमा भने दूध धेरै उत्पादन हुने बताए ।
उनले हाल गाउँघरमा किसानहरुले पालेका गाई भैसीहरु गाभिना रहेका कारण दूध बजारमा आउन नसकेको बताए । ‘अहिले सबै किसानहरुको गाई–भैसी गाभिना छन् भदौ असोजमा मात्र दूध दिन सुरु हुन्छ, व्यावसायिक किसानहरुबाट मात्र बजारमा दूध आउँछ’, डाँगीले भने । उनले अहिले बर्षातको समयमा दूधको अभाव हुने र हिउँद लागेपछि कहाँ लैजाने भन्ने समस्या हुने गरेको बताए । ‘जाडो याममा दूध धेरै उत्पादन हुन्छ खपत हुन अहिले कम उत्पादन हुन्छ खपत धेरै छ’, उनले भने ।
व्यावसायिक पशुपालन गर्नेहरु नभएका कारण पनि यस्तो समस्या आउने गरेको बताएको छ । व्यावसायिक पशुपालनलाई बढवा दिने स्थानीय सरकारले नीति ल्याए पनि गाउँघरमा भने परम्परागत पशुपालन हँुदै आएको छ । हाल तुलसीपुर क्षेत्रमा दर्ता भएका करिब ६२ वटा डेरी र ठूला डेरीहरु हाम्रो पहुँच सहकारी संस्था र गौमाता दूध उत्पादन सहकारी संस्थाले सञ्चालन गरेका छन् ।
त्यस्तै हिँउदमा दूधको खपत कम हुँदा ती डेरीहरुलाई दूध कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या हुने गरेको छ । हिउँदमा गाउँघरमा पनि प्रशस्त मात्रामा दूध उत्पादन हुने गरेको छ । त्यस्तै सहकारी स्वामित्वको डिडिसीको दूध–दही दाङमा आउने गरेको छ । मागअनुसार सधै बजारमा दूध आपूर्तिका लागि व्यावसायिक पशुपालनलाई बढवा दिनुपर्ने किसानहरु बताउँछन् । ‘व्यावसायिक किसानहरुलाई उत्पादन वृद्धिका लागि सरकारले अनुदान दिनुपर्छ अनिमात्र पशुपालनतिर सबै आकर्षित हुन्छन्’, एक किसानले भने ।
पशुपंक्षीको नश्लसुधारका लागि कृतिम गर्भाधारण कार्यक्रम प्रभावकारी बनाउन तथा पशु उपचारका लागि आबश्यक औषधिहरु निःशुल्करुपमा उपलब्ध गराउन तुलसीपुर उपमहानगरपालिकाले भने यस बर्ष बजेट व्यवस्था गरेको छ । कृषकले उत्पादन गरेको दूधको बजार व्यवस्थापन हुन नसक्ने अवस्थामा उक्त दूध नगरपालिकाले खरिद गरी बिद्यालयका बालबालिका र बृद्धबृद्धालाई वितरण गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । यो नीति तथा कार्यक्रम सहीरुपमा कार्यान्वयन हुन सके हिउँदमा पनि दूधको खपत हुने किसानहरुको अपेक्षा रहेको छ ।