कांग्रेसको प्रदेश यातायात संयोजकमा हमाल

गोरक्ष समाचारदाता

तुलसीपुर, ११ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं यातायात ब्यवसायी समन्वय विभागका प्रमुख महेन्द्र यादवले विभागको प्रदेश संयोजकहरू तोकेका छन् ।

विभागका सचिव प्रसन्नमान श्रेष्ठले ७ वटा प्रदेशमा विभागका संयोजकहरू मनोनयन गर्ने निर्णय भएको जानकारी दिए । विभागका प्रमुख यादवले लुम्बिनी प्रदेशमा सुरेश हमाललाई चयन गरेको छ ।

हमाल दुई दशकदेखि निरन्तररुपमा यातायात क्षेत्रमा सक्रिय रहँदै आएका छन् । हमाल नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सल्लाहकार छन् । तत्कालीन समयमा डाक्टर बाबुरा भट्टराई प्रधानमन्त्री भएको बेला नेपाल सरकारले कालिकोटमा भएको सडक दुर्घटनाको छानबिन समितिको कार्यदलको सदस्यमा समेत हमाललाई मनोनित गरेको थियो ।

हमाललाई नेपाली कांग्रेस यातायात ब्यबसायी कार्यदलको केन्द्रीय सदस्यमा ६ महिनाअघि नै सदस्यमा चयन गरिसकेको थियो । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्षसमेत रहेका हमाल यातायात क्षेत्रको बिज्ञका रुपमा परिचित छन् । त्यस्तै प्रदेश १ मा देवेन्द्रकुमार राई, प्रदेश २ मा ओमकृष्ण कार्की, बागमती प्रदेशमा योगेन्द्रनाथ कर्माचार्यलाई संयोजकको जिम्मेवारी दिएका छन् ।

गण्डकी प्रदेशमा केदार पौडेल, कर्णाली प्रदेशमा रमेशकुमार सापकोटा र सुदूरपश्चिम प्रदेशमा विजयबहादुर स्वाँरलाई संयोजकको जिम्मेवारी दिइएको सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।