चारलेनमा चरम भ्रष्टाचार : नेता गिरी

खेमराज रिजाल

तुलसीपुर, ११ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमन्त्री दीपक गिरीले घोराही–तुलसीपुर जोड्ने मुख्य राजमार्ग स्तरोन्नतिका क्रममा चरम भ्रष्टाचार भएको बताएका छन् । दुई लेन सडकको स्तरोन्नति गरी चारलेन बनाउने प्रक्रियामा गलत व्यक्तिलाई ठेकेदार बनाइएका कारण ठूलो समस्या भएको उनको अभिव्यक्ति थियो ।

भारतको एउटा निर्माण कम्पनीका नाममा यहाँका स्थानीय प्रतिनिधिले सडक स्तरोन्नतिका कामहरु गरिरहँदा चरम भ्रष्टाचार एवं लापरबाही भएको भन्दै उनले सम्बन्धित सडक परियोजनाले तत्काल ठेकेदारलाई कालोसूचिमा राखेर कारबाही अगाडि बढाउनुपर्ने बताए । ‘तीन बर्षमा काम सक्ने गरी ठेक्का भएको सडकमा अहिले ६ प्रतिशत पनि कार्यप्रगति हुन सकेको छैन’, आइतवार विहान तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेता गिरीले भने ।

सो सडकमा चारलेन बनाउने क्रममा अलपत्र छाडिएका खाडलहरु अहिले तुलसीपुर उपमहानगरपालिकाका स्रोत साधन लगाएर पुर्ने अभ्यास गरिनु अर्को अनियमितताको प्रसंग भएको उल्लेख गर्दै उनले संघीय सरकारको योजनामा स्थानीय पालिकाले कुन शीर्षकअन्तर्गत स्थानीय तहको स्रोत साधन खर्च गरिरहेको छ भन्दै प्रतिप्रश्न गरे ।

‘तात्कालीन प्रधानमन्त्री केपी ओलीसमेतको संरक्षण नभएको भए उहिल्यै यो कम्पनी कालो सुचिमा पथ्र्यो, तर राजनीतिक बलका आधारमा ठेकेदारलाई काम नगर्दा पनि उन्मुक्ति दिइरहनु चरम भ्रष्टाचारको नमुना हो’, नेता गिरीले भने– ‘अब यस्ता काम नगर्ने ठेकेदारलाई कारबाही हुनेछ । विकास निर्माणका काम नगर्ने कुनै पनि निर्माण व्यवसायीलाई सरकारले संरक्षण गर्न नहुने भन्दै चारलेनको काम तत्काल सुचारु गर्न पनि उनले परियोजना कार्यालयलाई चेतावनी दिए । ‘स्तरोन्नतिका नाममा सडकको अवस्था बेहाल भएको छ, दिनहुँजसो सो सडकखण्डमा दुर्घटना बढेको बढ्यै छन्’, नेता गिरीले भने– ‘राजनितिको आडमा विकास निर्माणको काम गञ्जागोल हुनुहुँदैन ।’

उनले यस विषयमा परियोजनाको लमहीस्थित कार्यालय तथा केन्द्रीय कार्यालयमा समेत जानकारी गराइसकेको भन्दै सडक निर्माणको काम तत्काल सुरु गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । साथै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई समेत भेटेर नेता गिरीले चारलेन सडक स्तरोन्नतिको काम तत्काल सञ्चालनको समन्वय गर्न आग्रह गरिसकेको बताएका छन् ।

अहिले सडक स्तरोन्नतिका नाममा विभिन्न स्थानमा सिचाई कुला वाइपास बनाउने क्रममा खनिएका खाडलहरु पुरिएका छैनन् । ह्युमपाइप बिच्छाइएका खाडलहरु समेत नपुरी थप दुर्घटनाको जोखिम बढाइएको छ । त्यसैगरी कटिङ गरी चौडा बनाइएका क्षेत्रमा पनि फिलिङको काम हुन सकेको छैन । जसका कारण अधिकांश सडक एकतर्फीरुपमा मात्रै सञ्चालन हुनसक्ने अवस्था छ । भारत सरकारको आर्थिक सहयोगमा करिब दुई बर्षअघि भारतको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्टक्टर प्रालिलाई घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म चारलेन सडक निर्माणको ठेक्का दिइएको थियो ।

चारलेन सडक स्तरोन्नति परियोजनाको कार्यालय लमहीमा रहेको छ । निर्माण कम्पनीले भने दाङकै स्थानीयबासी अनुप पाण्डेलाई आफ्नो आधिकारिक प्रतिनिधिका रुपमा खटाएर सडक स्तरोन्नतिको काम हुँदै आएको थियो । हालको करिब ७ मिटर चौडाइलाई बढाएर चारलेन बनाइने भनिएको सडक कम्तीमा दुवैतर्फ गरी १४ मिटर चौडा हुनेछ । बीचमा ग्रिनवेल्ट निर्माण र दुवै साइडमा फुटपाथ निर्माणसहित सडकको चौडाई कम्तीमा २१ मिटर कायम हुनेछ । अर्थात हालको सडकको केन्द्रविन्दुबाट दुवैतर्फ १५÷१५ मिटर स्पेश खाली छाड्नुपर्ने पनि सडकले जनाएको छ ।

सडक स्तरोन्नतिको सुरुताका द्रुत गतिमा काम भएको देखाउन जहाँतँिह सडक भत्काइए पनि हाल काम कछुवाको गतिमा पनि सञ्चालन हुन सकेको छैन । यससँगै पछिल्लो समयमा फैलिएको विश्वव्यापी कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै निर्माण कम्पनीले काममा ढिलाइ भएको बताउँदै आएको छ । करिब १ अर्ब ३५ करोडभन्दा बढी लागतको उक्त चारलेन सडकको निर्माण तीन बर्षमा सक्ने गरी सम्झौता भएको थियो ।

एकपटक विद्युतका तार हटाउन ढिला भएको भन्दै परियोजनाको कार्यालयले ठेक्का सम्झौताको म्याद थप गरेको थियो । फेरि अर्कोपटक कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउनको समस्या देखाएपछि फेरि म्याद थप भएको थियो तर विगत एक बर्षदेखि सडकमा एकजना मजदुर पनि काममा खटाइएको पाइँदैन ।

सडक परियोजनाको कार्यालयले पनि सबै कारणले निर्माण कम्पनी कारबाही गर्न लायक भनेको थियो । तर अहिलेसम्म पनि परियोजनाको कार्यालय यो विषयमा केही बोलेको छैन । ‘हामीले सबै कारणले कारबाही गर्नुपर्छ भनेर केन्द्रमा जानकारी पनि गराएका थियौं, तर कोरोना भाइरसका कारण तत्कालै कारबाही गर्न सकिएन’, चारलेन सडक परियोजनाको कार्यालय लमहीका प्रमुख डिई पारश हमालले भनेका छन् ।

तथ्य इन्जिनियरिङले सन्तोषजनकरुपमा कार्यसम्पादन गर्न नसकेको भन्दै परियोजनाले अघिल्लो आर्थिक बर्ष निर्माण कम्पनीलाई कम्तीमा ३ करोड पेनाल्टीसमेत तिराएको थियो । तर यो बर्ष तथ्य इन्जिनियरिङले अहिलेसम्म गरेका कामको बिलसमेत परियोजनाको कार्यालयमा पेस गर्न नसकेको पनि परियोजना प्रमुख हमालले बताए । सडकको स्तरोन्नतिको काम सुरु भएसँगै मर्मतको जिम्मा पनि डिभिजन सडकको मातहतबाट परियोजनाको कार्यालयमै गएको छ । अहिले चारलेन परियोजनामा गाभिएको सो सडकखण्डमा सयौं स्थानमा सडक क्षतविक्षत भएको छ ।

सडकका किनारामा महिनैपिच्छे माटो भर्ने सडक विभाग मातहतका श्रमिकहरु पनि परियोजनाको मातहतमा गाभिएपछि किनारामा माटो भर्ने काम समेत हुन सकेको छैन । जसले गर्दा साँघुरो सडकमा सवारी साधन चलाउने चालकहरुलाई निकै समस्या पर्न थालेको छ ।