कोरोना खोप सुविधासँगै दुविधा

केपी सुवेदी

कोरोना महामारीका बारेमा प्रारम्भिक अध्ययन र निकट भविष्यसम्बन्धी पूर्वानुमान गलत भएपछि यसबाट उम्किनेभन्दा पनि यससँग जुझ्दै अगाडि बढेर जीवन यापन सरल कसरी बनाउन सकिन्छ भन्नेमा वैज्ञानिकहरु आ–आफ्नो क्षेत्रबाट लागिरहेका छन् । सुरुमा कोरोनाका बारेमा जे–जति अनुसन्धान गरिएको थियो । त्यही आधारमा खोपको विकास गरेका रहेछन् भन्ने बुझ्न सकिन्छ ।

दुर्तगतिमा विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रण पनि यसरी नै हुनसक्छ भन्ने वैज्ञानिकहरुको अनुमान रहेको हुनाले जतिसक्दो चाँडो खोप दिलाउनु नै कोरोना नियन्त्रणको अचुक औषधी हो भन्ने बुझाउने प्रयास गरियो । खोपको आविस्कार गर्न एक प्रकारको प्रतिस्पर्धा चल्यो । खोपको आविस्कार कहाँ भइरहेको होला र कहिलेसम्म हामीले पाउने अवस्था आउला भनेर प्रतीक्षा गरिरहँदा एक वर्षमा विश्वका शक्तिशाली मुलुकका प्रयोगशालामा खोपको परीक्षण भएर प्रयोगमा आउन थालेछ ।

अहिलेसम्म विश्वका पाँच शक्ति सम्पन्न मुलुक अमेरिका, बेलायत, रुस, चीन र भारतले खोपको औषधी पत्ता लगाएर उत्पादन गरिरहेका छन् । खोपको औषधी पत्ता लगाउन दुई वा दुईभन्दा बढी देशहरु मिलेर अनुसन्धान गरेकाछन् र यो क्रम आज पनि जारी नै छ ।

खोप आविस्कार भई विभिन्न मुलुकमा उत्पादन भइरहँदा, खोप आविस्कार गरेर परीक्षण गर्न सम्बन्धित मुलुकले विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि अनुमति दिइसकेको हुँदा आफ्नो अनुकूलतामा खोप लगाउने काम भइरहेको छ । सम्पन्न मुलुकहरुले धेरै प्रतिशत जनतालाई खोपको आवश्यकता अनुसारको मात्रा लगाइसकेका भए पनि गरिब मुलुकहरुमा नगन्य मात्रामा लगाउनसकेका छन् । त्यसैमा नेपाल पनि परेको छ ।

सहयोग स्वरुपको खोप लगाएर सुरु गरिएको खोपको निरन्तरता जारी राख्न किनेर ल्याउन समयमा पहल गर्नुपर्ने तर सरकार जनस्वास्थ्यभन्दा पदको र पैसाको लोभमा परेर खरिद गर्ने प्रक्रिया ढिलो गरेकोले खोप अभियान सुस्त गतिमा बीच–बीचमा रोक्दै लक्षित समूहको क्रम निर्धारण गरेर सुरु गर्ने गरिएको छ ।

किनेर ल्याउन पनि पैसा जुटाउन नसकेर हो या खोप उत्पादक मुलुकसँग सम्बन्ध राम्रो बनाउन नसकेर ? खोप किनेर ल्याएको पनि उचित तापमानमा राख्न नसक्ने अवस्थामा मापदण्ड अनुसारका उपकरण जडान गरिएका छैनन् । विपन्न मुलुक र समुदायको खोपको चिन्ता विदेशी संसद्मा बोलिरहँदा नेपालमा जनप्रतिनिधिको संस्था विघटन गरिएका कारण सरकारलाई सोध्ने र जनताको गुनासो वा माग सरकार समक्ष पु¥याउने संस्थागत खबरदारी यो बीचमा हुनै सकेन ।

विपन्नहरुलाई खोप पु¥याउन सहयोग गर्ने उद्देश्यले कोभ्याक अर्थात् खोपको सहयोगार्थ अभियानका लागि गठन भएको अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई सहयोग गर्नसक्छ । अहिलेसम्म भारत, चीन, जापान र अमेरिकाले खोप अनुदान सहयोग उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको विरुद्ध खोप अभियान चलिरहे पनि कोरोना भाइरसको संक्रमणको जोखिम कम भएको छैन । मानिसहरुले सोचेजस्तो खोप लगाउँदैमा कोरोनाले बिरामी हुँदैन भन्ने होइन । किनभने कोरोनाको पहिलेको प्रजातिका विरुद्ध रोग प्रतिरोधक क्षमता विकास गर्ने खोपको बारेमा गरिएको अध्ययन अनुसारको खोप अहिलेको विश्व बजारमा उपलब्ध छ । जुन हामीले अहिले लगाउन पाएका छौँ । ती खोपहरु कुनै एक मात्रा लगाए पुग्ने छन् त कुनै दुई मात्रा लगाउनुपर्ने जातका छन् ।

ती सबै खोप कोरोनाको विकसित रुपसँग लड्ने प्रतिरोधी क्षमता निर्माण गर्नसक्छ भन्ने सम्बन्धमा वैज्ञानिकहरु पनि ढुक्क भइसकेका छैनन् । पाटन अस्पतालका चिकित्सा विशेषज्ञसँग सहकार्य गरिरहेका एकजना बेलायती वैज्ञानिकले भनेअनुसार अहिलेका खोपहरुसले कोरोना भाइरसको कुन–कुन प्रकार (भेरियन्ट)विरुद्ध काम गर्छ ? भन्ने पूरा परिणाम सहितको अनुसन्धान भई नसकेको बताएका छन् ।

उनीहरुको भनाइ अनुसार गत वर्षको पहिलो र यो वर्ष नेपालमा महामारी फैलिएर दशौँ हजारको ज्यान लिने दोस्रो प्रकारको विकसित रुप हो । अब फेरि तेस्रो प्रकार जसलाई डेल्टा भाइरसको नाम दिइएको छ । पहिलो भन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो बढी असर गर्ने र अङ्गभङ्ग समेत गर्नसक्ने विज्ञहरुले खबरदारी गरिरहेका छन् । पहिलो मात्रा दाताको दयाले लगाएको खोपको दोस्रो मात्रा लगाउने कसरी हो भन्ने हाम्रो दयनीय अवस्थामा सरकारको मुख हेरेर बस्नुको विकल्प रहेन ।

भारतमा अहिले कोरोना खोप औषधी पसलमा किन्न पाइन्छ तर यहाँ निःशुल्क भए पनि पहिलो मात्रा लगाएको चार महिना हुनथाल्दासम्म दोश्रोको ठेगान छैन । पहिलो जुन खोप लगाइएको हो दोस्रो पनि त्यही नै लगाउनुपर्ने हुनाले सहयोग लिइएको पनि बिराएको जस्तो हुन पुग्यो । सकसले ल्याइपु¥याएको खोपको वितरण व्यवस्थित गर्न नसकेर खोपकेन्द्र कोरोना सार्ने स्रोत केन्द्र बन्ने हो कि भन्ने अवस्था छ र केही दिन यता खोप केन्द्रबाट फर्केका मानिसमा संक्रमण बढेको देखियो भनेर स्वास्थ्य मन्त्रालयले भनिरहेको छ ।

केन्द्र व्यवस्थित गर्न के गरिरहेको छ भन्ने सुन्न पाइएको छैन । खोप प्रमाणिकता कागज लिन गएकाहरु खेपको सास्तीको समाचार बनिरहँदा त्यसलाई व्यवस्थित गरेर सजिलै उपलब्ध गराउन सकिने कुरा पनि असम्भव जस्तो गराइरहनु सम्बन्धित निकायको गैरजिम्मेवारीपन हो ।

कोरोनाबाट लाग्ने महामारीसम्बन्धी विज्ञहरुले यो भाइरसले रुप बदलेर आइरहेकोले यसबाट सजिलै छुटकारा नपाइनेतर्फ सचेत गराउने र विभिन्न जटिलताहरु देखिँदै जाने, लामो समयसम्म रहिरहने, कुनै पनि खोपले शतप्रतिशत सुरक्षा गर्न नसक्ने, खोप लगाउँदैमा पूर्ण सुरक्षित हुन नसक्ने बताएका छन् ।