एकताबद्ध भएर कांग्रेसमय बनाऔं : नेता गिरी

गोरक्ष समाचारदाता

तुलसीपुर, १० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सबैलाई एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्न आह्वान गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा तुलसीपुरको वीपीचोकमा रहेको वीपीको शालिकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले अहिले पनि महामानव वीपी कोइरालले लिएको मेलमिलाप नीति सान्दर्भिक भएको भन्दै सबैलाई एकताबद्ध भएर कांग्रेसमा लाग्न आग्रह गरे ।

केन्द्रीय सदस्य गिरीले महामानव वीपीले ‘ठूलो मान्छे होइन एक असल मान्छे हुनुपर्छ’ भन्ने भनाइलाई सबैले आत्मसात गर्नुपर्ने बताए । गिरीले सबै वर्ग, जातजाति। भाषाभाषी र सबै कार्यकर्ताहरू एकताबद्ध भएर दाङलाई कांग्रेसमय बनाउन पनि आग्रह गरे ।

‘दाङ कांग्रेसको उर्वर भूमि हो, फेरि पनि एकता देखाएर दाङलाई कांग्रेसमय बनाउने बेला आएको छ’ उनले भने । पूर्व मन्त्री समेत रहेका गिरीले अहिलेको सरकारको पहिलो प्राथमिकता जनताको जीवन बचाउने भएको बताए । उनले यस अघिको सरकारले जनमतको सम्मान र कदर गर्न नसकेको पछि लोकतन्त्र र संविधान बचाउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै अब जनताले विकास र देशले निकास पाउने बताए ।

‘साम्यवादीहरूले नारा लगाएर हिजो जनतालाई झुक्याए र हामी जनमतमा असफल भएपछि हामीले जनमतको कदर गर्दै शान्तिपूर्वक प्रतिपक्षको भूमिका खेलेका थियौँ तर अब सरकारमा छौँ’ –केन्द्रीय सदस्य गिरीले भने । ‘हाम्रो पहिलो प्राथमिकता जनतालाई महामारीबाट बचाउने खोप नै हो, प्रधानमन्त्रीले पनि भनिसक्नुभएको छ’ उनले भने । गिरीले कांग्रेस दाङको विकासमा लाग्ने भन्दै दाङको विकास र बेरोजकारी युवाहरूलाई रोजगार दिनेमा आफूहरू लाग्ने बताए । उनले अहिले विकास निर्माण विभिन्न वहानामा रोकिएको भन्दै अब त्यसलाई निरन्तरता दिने बताए ।

उनले तुलसीपुर–घोराही सडकखण्डमा निर्माण गर्दा ठूलो भ्रष्टाचार भएको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए । ‘अहिले चारलेन सडक परियोजनका नाममा ठूलो भ्रष्टाचार भएको छ, यसको स्पष्ट रूपमा छानविन हुनुपर्दछ’– नेता गिरीले भने । सो अवसरमा कांग्रेस नेता गिरीलगायत अन्य नेताहरूले वीपीको शालिकमा माल्यार्पण गरेका थिए । केन्द्रीय सदस्य गिरीको स्वागतको लागि सयौँ युवा, नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरू शीलतपुर पुगेको थिए ।

यसैबीच नेपाली कांग्रेस वडा ईकाई समिति वडा नं ३ को नवनिर्मित वडा भवनको उद्घाटन गर्दै नेता गिरीले लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि कांग्रेसलाई सबैले विश्वास गरेको भन्दै देशको विकास र अब नेपालको राजनीतिलाई सही मार्गमा ल्याउन ६१ सांसद भएको कांग्रेसलाई १ सय ६५ मत पाएको बताए । ‘अब कांग्रेसको नेतृत्वले नै देशको विकास र अहिलेको राजनीतिलाई सही मार्गमा ल्याउँछ भन्नेमा सबै छन्, लोकतान्त्रिक पार्टीका सभापति शेरबहादुर देउवाले अब इतिहास रच्नुपर्छ’ –उनले भने ।

यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई अल्मल्याएको र आफ्नै पार्टी चिरा–चिरा पार्ने काम गरेको भन्दै वीपी, गिरिजाप्रसाद कोइरालले इतिहास रचेजस्तै प्रधानमन्त्री देउवाले पनि संसद्को अभिमतको कदर गर्दै इतिहास रच्नुपर्ने बताए । ‘अब प्रधानमन्त्री देउवाले पनि इतिहास रचेर इतिहासमा सुनौलो अक्षरले नाम लेखाउनेबेला आएको छ’– उनले भने । त्यस्तै उनले १४औँ महाधिवेशन नजिकिएको भन्दै अब सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले सँगसँगै स्थानीय तथा अन्य चुनावको मिति समेत नजिकिएकाले विगतका इतिहासलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताए ।

उनले दाङको विकास र सुरक्षा शिक्षा स्वास्थ्यका क्षेत्रको विकासका लागि सधैँ लागेको बताए । उनले आफू सिंचाइमन्त्री हुँदा दाङको विकास धेरै गरेको भन्दै आफूहरूले नेतृत्व नगर्दा विकास निर्माणले गति नलिएको बताए । ‘अब कांग्रेसले नै विकास र निकास दिन्छ भन्ने सबैले बुझेका छन्, कांग्रेस सधैँ जनताको दुःख–सुखमा साथ दिने’–गिरीले भने । बडा ईकाईले भवन निर्माण गरी राम्रो काम गरेको भन्दै धन्यवाद दिए ।

वडा ईकाईका सभापति विष्णु मल्लको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, प्रदेशसभा सदस्य शंकर गिरीलगायतले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्ने भन्दै नेपाली कांग्रेस वडा नं. ३ ले आप्mनो पार्टी कार्यालय निर्माण गरी नमुना कार्य गरेको भन्दै धन्यवाद दिएका थिए ।

कार्यक्रममा वडा कार्यालय भवन निर्माण समितिका संयोजक गुरुप्रुसाद तिवारीले सबैको सहयोगबाट करिव साढे ११ लाख रुपैयाँको लागतमा वडा ईकाईको भवन निर्माण गरेको बताएका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा दुई दर्जन बढीले प्रवेश गरेका थिए । भवन निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा ईकाई सचिव राजेन्द्र गुरुङले गरेका थिए ।