खेमराज रिजाल
दाङ,९ साउन । यी तस्वीरमा देखिने राजमार्गका साँढे होइनन् । कतैबाट कसले त कतैबाट कसैले निरन्तर खेदिरहने राष्ट्रिय जनावर गाई हुन् । अहिले यी राष्ट्रिय जनावरको व्यवस्थापन हुन नकस्दा अपमानित मात्रै भएका छैनन् यी छाडा चौपायाकै कारण सडकमा दुर्घटनाको जोखिम र बस्तीमा बालीनाली सखाप पार्ने समस्या पनि थापिएको छ ।
अघिल्लो साता तुलसीपुर उपमहानगरपालिकाका गुमराह चोकनजिक पहेलो ज्याकेटमा सजिएका श्रमिकहरुले यी छाडा चौपायालाई खेदिरहेका थिए । सम्भवतः प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरु थिए उनीहरु । पार्क बगैचा र सडक पेटिमा झार उखेल्ने काम सकिएपछि उनीहरुले नगरको व्यस्त सडकमा छाडा चौपाया धपाइरहेका थिए ।
सडकमा तुलसी गौशालाका ट्याग लगाएका गाईहरु पनि थिए । तुलसीपुर उपमहानगरपालिकाकै अभिभावकत्वमा केही अन्य समाजसेवी युवाहरुको प्रयासले सायद तुलसी गौशाला सञ्चालनमा आएको छ । केही विना ट्यागका छाडा चौपायाहरु पनि थिए । छाडा चौपायाहरुले सडकमा दिनहुँजसो दुर्घटना गराइरहेका छन् । यातायात व्यवसायीलाई पनि सास्ती छ । सार्वजनिक सवारी साधन रोकेरै छाडा चौपाया धपाएपछि मात्र यातायात सञ्चालन गर्नुपर्ने अवस्था नौलो होइन, दिनहुँजसो देखिने परिदृश्य हो, यो ।
बजारमा सडक पेटिमा बिक्रीका लागि राखिएका सामानहरु होस् वा सडक किनारामा बेच्नका लागि राखिएका तरकारी र फलफूल सबैलाई समस्या बनाइरहेका छन् यी छाडा चौपायाहरुले । संघात्मक लोकतन्त्र आउनुभन्दा पहिले स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहमा कान्जी हाउस निर्माण गरेका थिए । सामुदायिक वन उपभोक्ता समूहहरुले पनि छाडा चौपायाबाट वन जोगाउन सामुदायिक वनमै कान्जी हाउस निर्माण गर्ने गर्थे । छाडा चौपाया कान्जी हाउसमा राखेपछि अनुसन्धान गरेर यसरी छाडा चौपाया छाड्ने नागरिकहरुलाई जरिवाना तिराएर चौपायाहरु कान्जी हाउसबाट छाडिन्थ्यो ।
तर अहिले स्थानीय सरकारले यो दिनहुँको समस्यालाई सम्बोधनमा कुनै चासो देखाएको छैन । घोराही उपमहानगरपालिका होस् वा तुलसीपुर उपमहानगरपालिका लगायत जिल्लाका दशवटै स्थानीय तहले अहिलेसम्मका नीति र कार्यक्रममा छाडा चौपाया व्यवस्थापनका लागि दीर्घकालीन योजनाका विषयमा एक शब्द पनि उल्लेख गरेका छैनन् । नत छाडा चौपाया व्यवस्थापनका लागि गैरसरकारी संस्थाहरुकै पहल देखिएको छ ।
घोराही–तुलसीपुर सडकखण्डको बेलझुण्डीमा गत साता एउटा मोटरसाइकल र छाडा गाई ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने ठक्कर खाने गाईको सडकमै मृत्यु भयो । कारण सडकैभरी छाडा चौपायालाई छिचोलेर यातायात चलाउन निकै मुस्किल थियो । तुलसी बोर्डिङ तुलसीपुरका शिक्षक शंकर रिजाल गत सोमवार साँझ सिमसिमे झरीमा सडकमा रहेको एउटा गाईसँग ठोक्किने अवस्थामा पुगे । ब्रेक लगाउँदा उनको मोटरसाइकल पल्टियो ।
मोटरसाइकलसँगै सडकमा पछारिएका शंकरको अनुहारमा सामान्य चोट लागेको छ । आफ्नो मोटरसाइकल पल्टिँदा उनले मोटरसाइकलको हेडलाइट समेत कन्डिशनमा रहेको पाएनन् । मर्मत गर्दा कम्तीमा ५ हजार रुपैयाँ खर्च भयो । यी त उदाहरण मात्र हुन्, सडकमा रहेका छाडा चौपायाका कारण दिनहँुजसो दुर्घटना भइरहेका छन् ।
बेलझुण्डी क्षेत्रमै सडक तथा खेतबारीमा हैरान बनाएका छाडा गाईबस्तु धपाउँदै छिल्लीकोट जंगलमा पु¥याउन तम्सिएका तुलसीपुर उपमहानगरपालिका–१७ झिंगैका युवाहरु गाई तस्करको आशंकामा प्रहरी फन्दामा परे । बारीमा छिरेको गाई धपाउँदा एक दिन आफूहरु इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा बिताउनुपरेको स्थानीय युवा खगेन्द्र डाँगीले बताए । उनीहरुले बालीनाली सखाप पार्ने गाई–गोरुलाई छिल्लीकोटको जंगलसम्म पु¥याउन चाहेका थिए, तर रातको समयमा गाई खेद्ने उनीहरुलाई स्थानीय प्रहरीले गाई तस्करको आरोपमा पक्राउ ग¥यो र कारबाहीका लागि इलाका प्रहरी कार्यालयसम्मै चलान ग¥यो ।
तुलसीपुरको बजारमा छाडा चौपाया मात्र होइन, तुलसी गौशालामा पालिएको भनिएका गाईहरु समेत सडकैभरी रजाइँ गरिरहेका छन् । गौशालाको ट्यागसमेत लगाइएका यी छाडा चौपायाहरुले सडकमा यातायात सेवालाई नै प्रभावित बनाउने गरेको गुनासो यातायात व्यवसायीहरुको छ । एकातिर छाडा चौपायाले सडक दुर्घटनाकै जोखिम बढाइरहेको तथा अर्कोतिर गाउँबस्तीमा बालीनाली समेत सखाप पारिरहेको अवस्थामा यस्ता छाडा चौपायाको नियन्त्रणमा भने स्थानीय पालिकाको कुनै योजना छैन ।
‘बीरेन्द्र चोकबाट धपाइएका गाई बाहिनी चोकमा छाडिन्छ भने यसले समाधान कस्तो देला ? एक स्थानीयबासीले प्रश्न गरे । उपमहानगरपालिकाले यस विषयमा गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव थियो । एउटा चोकबाट छाडा चौपाया धपाएर अर्को चोकमा लगेर छाड्नु तथा एउटा बारीबाट धपाएर अर्को बारीमा छाडिदिनुले छाडा चौपायाको दीर्घकालीन समाधान नहुने उनको तर्क थियो ।
तुलसी गौशालाले भने आफूहरुले थालेको छाडा चौपाया नियन्त्रण अभियानमा स्थानीय सरकारको पर्याप्त सहयोग नभएको बताएको छ । ‘हामीले जग्गा लिजमा लिएर छाडा चौपाया पालन पोषणको काम समेत सुरु गरेका छौं तर यो अभियानमा पूर्वशर्तबमोजिम उपमहानगरपालिकाले हेरालुको पारिश्रमिकसमेत भुक्तानी गर्न कञ्जुस्याइँ गरेको छ’, तुलसी गौशालाका सञ्चालक मोहन भण्डारी भन्छन् । उपमहानगरपालिकासँगको सहकार्यमा गौशाला व्यवस्थापनको काम अघि बढिरहेको बताइए पनि त्यो गौशाला विधिवत रुपमा सञ्चालनमा आउन सकेको छैन ।
बेलझुण्डीमा गौशाला रहेको विश्वास
बेलझुण्डी विश्वविद्यालयको मातहतको जग्गामा गौशाला छ वा त्यहाँको स्वामित्वमा रहेको धेरै जग्गा चरणका रुपमा प्रयोग भएको भन्ने धेरै दाङबासीहरुलाई विश्वास छ वा हल्लाकै कारण बेलझुण्डी क्षेत्रमा दैनिकजसो नयाँ–नयाँ अनुहारका गाई–गोरुका हुलहरु ल्याइएको देखिन्छ ।
जसले पनि आफ्नो बस्तीमा छाडा चौपायाले हैरान पारे भने बेलझुण्डी विश्वविद्यालयका रत्न उद्यान र रंगशालामा ल्याएर छाडिदिने अभ्यासले बेलझुण्डी आसपासका स्थानीयबासीहरु समेत हैरानीमा परेका छन् । तर नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको मातहत वा स्वामित्वको जग्गामा गौशाला भने छैन ।
विशेषगरी रातिमा बेलझुण्डीभन्दा टाढा–टाढाबाट चौपाया खेदेर ल्याउने गरेको स्थानीयबासी विपिन स्टोरका सञ्चालक विपिन शर्माले बताएका छन् । तर समग्रमा बेलझुण्डी विश्वविद्यालयको स्वामित्वमा त्यति धेरै खालि गौचरणको जग्गा भने छैन । जसका कारण बेलझुण्डीको रंगशाला आसपासमा छाडिएका छाडा चौपायाहरुले नजिकका स्थानीयहरुको बालीनाली नोक्सान गर्ने गरेको स्थानीय जेनी शर्माले बताएकी छिन् । खैरा, ढिकपुर, नारायणपुर तथा तुलसीपुर क्षेत्रबाट समेत छाडा चौपायाहरु खेद्दै ल्याएर बेलझुण्डी छाड्ने गरिएको पनि उनको अभिव्यक्ति थियो ।
बेलझुण्डी आसपासका क्षेत्रका चौरहरुमा अत्यधिकरुपमा छाडा चौपायाहरु देखिने गरेका छन् भने बजार क्षेत्रमा राजमार्ग क्षेत्रमै छाडा चौपायाहरुको बिगबिगी रहेको देखिन्छ । ‘दिनभरजसो छाडा चौपाया धपाउँदै व्यस्त हुनुपर्ने अवस्था छ अरु चेकजाँचका लागि समय मिलाउनै मुस्किल’, तुलसीपुरको बीरेन्द्र चोकमा खटिएका एक ट्राफिक प्रहरीले भने ।
छाडा चौपायाको व्यवस्थापनमा स्थानीय पालिकाले विशेष योजना कार्यान्वयनमा नल्याएसम्म यो समस्याको दीर्घकालीन समाधान हुन नसक्ने नगरबासीहरुले बताएका छन् । तर स्थानीय पालिकाका अधिकारीहरु यो विषयमा बोल्न चाहदैनन् । गाई धपाएर धेरै टाढा पु¥याउन खोजे गाई तस्करको बिल्ला बन्ने डर एकातिर छ भने अर्कातिर सडक दुर्घटनाको जोखिमसमेत छाडा चौपायाका कारण उच्च बनेको छ ।
धार्मिक कार्यमा किन्न थालियो गहुत
राष्ट्रिय जनावर गाई नेपालको राष्ट्रियतासँग मात्र जोडिएको छैन, आयुर्वेद चिकित्सा विधामा गाईको शुद्ध गहुतको औषधिका रुपमा पनि प्रयोग हुन्छ । हिन्दु धर्मावलम्वीका विभिन्न धार्मिक कार्यमा पनि गाईको गहुत र गाईको दूधको पञ्चामृत नभई हुँदैन । तर यो पछिल्लो समयमा निकै दुर्लभजस्तै हुन थालेको छ ।
हरेक गाउँ–गाउँमा गाई संरक्षण नहुँदा अहिले गहुत पनि किनेर ल्याउने अवस्था आएको फोर्टिनाइन चोक मनीकापुरका स्थानीयबासी नारायण अर्यालले बताएका छन् । स्थानीय गाईको संरक्षण हुन नसक्दा पतञ्जलीको गहुत किनेर समेत धार्मिक अनुष्ठान चलाउनुपर्ने अवस्था आएको अर्यालको अभिव्यक्ति थियो ।
फाइल फोटो