बिनोद पोख्रेल
२०७६ असार ३०
मेरो नियमित लेखाईले मलाई आफ्नै तर्कहरुमा केही संशोधन गर्न बाध्य बनाएको छ भने केही अझ बढी पुष्टि पनि गरेको छ । त्योभन्दा पनि अभिव्यक्ति स्वतन्त्रताको महत्व अलि बढी बुझेकोजस्तो लागेको छ । यत्ति लेखाई मात्रैले पनि मन धेरै हलुको भएको र मस्तिष्क पनि केही हलुको भएको जस्तो अनुभव गरेको छु ।
एउटा कुरा स्वीकार गर्छु कहिले काहीँ के लेखूँजस्तो पनि लाग्छ तर मन भन्ने भाँडो गजबको हुने रैछ । यो कहिल्यै खाली नहुने रैछ । राम्रा–नराम्रा, मतलबका, बेमतलबका, आफ्ना, अरुका, नयाँ–पुराना, केही न केही विषयवस्तुले स्थान बनाइरहेको, अथवा पाइरहेको हुन्छ । एकजनाले गफैगफमा लेख्न भनेको प्रमाण जुटाउन हो भनेको सम्झन्छु । आजभोलि त त्यो कुरा पनि ठीक होजस्तो लाग्छ । मैले डायरीहरुमा जे लेखेँ त्यो मेरो चिन्तनको, मेरो सोच्ने शैलीको, मेरो कमजोरीको, मेरो सबलताको देखि केही विषय त समाज तथा राष्ट्रसँग सम्बन्धित घटनाको प्रमाण पनि बन्न सक्छन् ।
त्यसकारण पनि यो लेखाईको आफ्नै महत्व हुने गर्छ । कहिलेकाहीँ गम्भीर विषयहरुबारे लेख्दा जति सन्तुष्टि पाउँछु त्यति सन्तुष्टि सधै पाउँछु भन्न त मिल्दैन तर आफ्नो प्रतिबद्धता पूरा गर्न यति लामो समयसम्म सकेकोमा र लेखाईमा पनि इमान्दारिता निभाउन सकेकोमा भने पक्कै पनि सन्तुष्टि पाउँछु । धेरैपटक अब त लेखेर सकियोजस्तो पनि लाग्छ । कतिपटक विषय दोहोरिएको जस्तो पनि लाग्छ । कसैले पढे भने यी कुरालाई मेरो कमजोरीको रुपमा आलोचना वा समालोचना गर्लान् । यी कमजोरी मैले स्वीकारेकै छु । म कमजोरीरहित छँदै छैन ।
मैले यहाँ जति कमजोरी देखाएको छु, त्योभन्दा पनि बढी कमजोरीहरु ममा छन् । त्यसकारण मेरो बारेमा प्रशंगवश हुने आलोचनाहरुमा यस्ता विषयहरुले महत्वपूर्ण स्थान पाउन स्वाभाविक हुन्छ । अझ आवश्यक पनि हुन्छ । त्यसैले मैले कमजोरीलाई लुकाउने उद्देश्य कहिल्यै बनाइनँ । मलाई थाहा छ म आफू अध्ययनको विषय बन्न सक्दैन । मैले समाजलाई त्यति प्रभावित गर्न सकेजस्तो नै लाग्दैन । सामान्य जीवन बिताउने मानिसमै पर्छु । यस्ताको मूल्यांकन जीवन छँदै जति हुन्छ, त्यतिमा सीमित हुन्छ । जीवन पछाडि एकथरि आफ्ना अत्यन्त नजिककाहरुले केही दिन सम्म प्रशंसाका पुल बाँध्ने गरेको देखेको छु ।
कतिपल्ट ती भाषा देख्दा म आफैमा पनि मिच्छिएको अनुभव पनि छ । त्यसकारण एउटा सोच म कसैको मिच्छाहटको कारण नै बन्नु परोस् भन्ने छ । म अलिकति बाटो बिराएर हिँडे । मैले मेरो लेखाईको बारेमा लेख्दा लेख्दै फेरि आफ्नै बारेमा लेख्न पुगेँ । यो पनि त कमजोरी नै हो । लेखाईलाई प्रमाण मान्ने लेखाई प्रमाण बन्ने कुरा मैले माथि उठाएको छु । मेरो यो लेखाई पनि केही कुराको लागि प्रमाण बन्न सक्छ भन्नेमा म आशावादी छु । यो सन्तोषको एउटा पाटो हो । कतिपल्ट अलि बढी निजी कुराहरु नलेखेको भए हुने जस्तो लागेको हो तर मेरो भावनाप्रति इमान्दार हुने प्रतिबद्धताले मलाई निजी विषयबाट टाढा हुन दिएन । भावनाहरु निजी नै हुन्छन् ।
मलाई प्रभाव पार्ने त पक्कै निजी विषय नै बढी हुन्छन् । बाहिरको विषय पनि मलाई प्रभाव पार्न थालेपछि मेरो निजी बन्न सक्छन् । सोच निजी नै हुन्छ । अनि म कसरी निजीबाट अलग हुन सक्छु ! जे गरेको छु इमान्दारीसँग गरेको छु । मलाई थाहा छैन मेरो यो लेखाई सार्वजनिक पनि हुन्छ वा हुँदैन । सार्वजनिक भए पनि यति निजी कुरा त पक्कै सार्वजनिक हुँदैन ।
कविता संग्रह निस्कन लागेकोले विचार संग्रह पनि निस्कन सक्छ भन्ने आशा गर्न सकिन्छ तर त्यो विचार संग्रहमा पनि समाजसँग, राष्ट्रसँग सम्बन्धित विषयले अथवा यिनैमा आधारित लेखहरुले स्थान पाउने हुन् । त्यसकारण मेरो निजी भावना यिनै पन्नामा सीमित रहने हुन् भन्ने पनि थाहा छ । तर यत्तिले पनि मलाई सन्तुष्टि दिन्छ ।
२०७६ असार ३१
आज असार महिनाको अन्तिम दिन । यसको पनि अलि महत्व हुने गथ्र्यो, कुनै समयमा । आजको दिन झरी गर्नैपर्ने । आजबाट सुरु भएको भरी कम्तीमा भोलिसम्म लाग्नुपर्ने । असारी–साउनी दुई बहिनीको भेट हुने र आफ्ना दुःख–सुखबारे कुरा गर्दै रुने । त्यस्तै भोलि विदाईको लागि रुने भन्ने व्याख्या गरिन्थ्यो ।
आज र भोलि पानी नपर्ने हो भने त्यसलाई उचित बर्षा नहुने संकेतको रुपमा व्याख्या गरिन्थ्यो । तर अहिले यी सब कुरा सम्झनामा मात्र छन् र कहिलेकाहीँ यही दिनमा सम्झनामा आउँछन् । यो खाली कल्पना हुनसक्छ अथवा एक प्रकारको अन्धविश्वस पनि हुनसक्छ । त्यस्तै बर्षामा पानी पर्नु वा पानी पर्ने कल्पना गर्नुलाई स्वाभाविक नै मान्नुपर्छ । नपर्नुलाई नै अचम्म मान्ने हो ।
त्यसैले यस्ता कल्पनालाई अन्य सोचले जित्दै गए । फेरि खेतीभन्दा अन्य पेशाको आकर्षण पनि यति बढ्यो कि अब कति मानिस त हिलो, बर्षादेखि तर्सिने वा चाँडै मिच्छिनेसम्म पनि गर्छन् । यसपटकको परिवेशले फेरि एकपल्ट कृषिको महत्वलाई अलि उजागर त पारेको छ तर धेरै सोच र कार्यहरु एकोहोरो भइसकेकोले पहिलेकै जस्तो होला भन्ने त मलाई लाग्दैन ।
यहाँ भएको सम्पत्ति बेचेर अथवा छोडेर सम्पत्तिमात्रै होइन आफ्नो समाज, परिवार, बाबुआमासमेत छोडेर अन्यत्र गएर शून्यबाट जीवन सुरु गर्न समेत तयार हुने सोचले ग्रस्त भएका हामीहरु र यहाँका मानिस विदेशमा गएर काम गरेपछि आउने रेमिट्यान्सकै लागि ¥याल काढेर बस्ने हाम्रा नेताहरु भएको देशमा वर्तमान परिवेशले पूर्ण परिवर्तन ल्याउँछ भन्ने विश्वासमा त म पटक्कै छैन । जिम्मेवारी उठाउन नपरोस् भन्ने सबैको उद्देश्य भएको जस्तो लाग्छ ।
बुढा बाबुआमाको जिम्मेवारी लिन उसकै सन्तान तयार छैन, आम नागरिकको जिम्मेवारी बहन गर्न सरकार तयार छैन, बरु युवाशक्ति विदेश गए शक्ति कमजोर पनि हुने र आफू सुरक्षित हुने अर्कोतर्फ रेमिट्यान्स पनि आउने सोच पालेर सरकार चलाउनेहरुले काम गरेको जस्तो लाग्छ । त्यहाँ बर्षाको बारेमा वा असार साउनको बारेमा सकारात्मक रुपमा, भावनात्मक रुपमा कसले बुझ्ने ? साहित्यमा पनि बर्षाको प्रभाव प्रशस्त छ । त्यहाँ पनि बर्षा भन्नाले असार र साउनलाई नै बढी प्रयोग गरिएको पाइन्छ ।
त्यो पनि अलि पुरानो साहित्य, लोकसाहित्यमा । अब त बर्षा भन्नाले बाढी, पहिरो, डुबान आदिजस्ता समस्याको कारणको रुपमा बढी बुझिन्छ । कति घरवारविहीन हुने हुन्, कति हराउने हुन्, कति डुब्ने हुन्, कति बग्ने हुन्, जस्तो कुरालाई बढी बुझिन्छ । बुझाई आफ्नो–आफ्नो हो । मैले लेखिरहेको छु । झ्यालबाट छिरेका मसिना पानीको थोपाले एकछिन रमाइलो अनुभव गराए तर कपडा नै झिज्न थालेपछि झ्यालको सिसा बन्द गरेँ । तर पानी खसेको देरिहेको छु । आवाज पनि एकतारको झिमझिम सुनिरहेको छु, मसिनो झरीको आवाज । त्यही त्यति अँध्यारो वातावरण पनि छैन । अलि परसम्म प्रष्ट देखिन्छ । मानिस अपवादकै रुपमा देखिन्छन् । यो लकडाउनले पनि हो ।
धेरैजस्सो साधनामा हिँड्ने भएकाले पनि होजस्तो लाग्छ । साधनमा हिँड्नेलाई लकडाउनको नियम पनि मान्नुपर्दैन सायद । मकैको विरुवा अग्लो भएर पनि अलिलि मात्रै भए पनि छेक्ने काम गरेको छ कि जस्तो पनि लाग्छ । तर म अहिले जुन ठाउँमा बसेको छु, त्यति अग्लो मकैको विरुवा हुँदैन । म एक्लै छु । बगाल बनाएर पानीका थोपाहरु एकनासले खसिरहेका छन् । उनीहरु त्यही मकैको पातमा खस्दाको आवाज सुनेर मैले आफूलाई एकाग्र बनाएकोजस्तो लाग्छ ।
अरुमा बर्सेको पानीको आवाजले त्यति आकर्षण गर्न सक्दैन सायद र मकैको पातमा खसेको पानीले निकालेको आवाजमा केही विशेष स्वर छ । अहिले मैले यस्तै अनुभव गरेको छु तर मकै र बर्षामा कुन चाहिँ संगीतको साधन हो र कुन चाहिँ साधक हो त्यो कहिल्यै छुट्याउन नसक्ने जस्तो अनुभव गरिरहेको छु ।