लागूऔषध ट्रान्जिट बन्दै दाङ : नौ किलो बढी चरेश बरामद

  •   
  •  

दाङ, ८ साउन । पछिल्लो समयमा दाङ जिल्ला लागु औषध कारोवारीको व्यापारीक ट्रान्जिटका रुपमा स्थापित हुन थालेको छ । पक्राउको श्रृंखला बढिरहेपनि कारोवारका अभियुक्तहरु फितलो मुद्दाका कारण विना धरौटी छुट्नेसमेत गरेको अवस्थाले कारोबारमा कुनै कमी आउन नसकेको विश्लेषणसमेत हुन थालेको छ ।

अधिकांश लागूऔषधहरु विशेष सुराकीका आधारमा धमाधम पक्राउ परिरहेका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी लागूऔषधको ओसारपसार गर्नेहरुलाई पक्राउ गरेको जानकारी पत्रकार सम्मेलनमार्फत दिने गरे पनि उनीहरु भरिया हुन् वा लागूऔषधका खास व्यापारी नै हुन् भनेर निक्र्यौल गर्न भने सकेको छैन ।

अधिकांश यस्ता कारोबारीहरु भरियाका रुपमा आफूलाई फसाइएको भन्दै अदालतबाट समेत उन्मुक्ति पाउन सक्ने गरेको पनि बताइएको छ । यद्यपि वास्तविक कारोबारीहरुको गिरोह नै पक्राउ परेको भनेर प्रहरीले अझै पनि सफलता पाउनेगरी जानकारी भने गराएको छैन । हरेक पक्राउका श्रृंखलामा अनुसन्धान जारी रहेको भन्ने जानकारी मात्रै प्रहरीले दिने गरेको छ ।

लागूऔषध पक्राउकै श्रृंखलामा दाङमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएसँगै लागूऔषध कारोबारमा संलग्नहरु पक्राउ पर्ने क्रम बढ्दै गएको छ । लागूऔषध कारोवार र प्रयोगका दृष्टिले दाङ जोखिमयुक्त जिल्लाका रुपमा देखिएपछि प्रहरीले विशेष अभियान चलाएर लागूऔषध नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले सक्रियता बढाएसँगै जिल्लामा लागूऔषध कारोवारमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको छ ।

यसैक्रममा प्रहरीले लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा बुधवार जिल्लाका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले धानखोलाबाट करिब दश किलो लागूऔषध चरेससहित दुई र तुलसीपुर–१३ का विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । देउखुरीको गढवा गाउँपालिका–१ धानखोलास्थित हुम्ला रलिङ्ग होटलबाट ९ किलो ९३० ग्राम चरेसकोसहित उनीहरुलाई पक्राउ प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाग्लुङ निसीखोला गाउँपालिका–१ निवासी २१ बर्षीय सुदीप सिंजालीमगर र बाग्लुङ जिल्ला बरिगाड गाउँपालिका–२ घर भई हाल लमही बजारमा बस्दै आएका ३० बर्र्षीय रेमबहादुर भुजेल रहेका छन् । प्रहरीले धानखोलामा रहेको हुम्ला रलिङग होटलमा लागूऔषध चरेस कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कारोवार गरिरहेको अवस्थामा सुदीप सिंजारीमगरलाई र उनकै बयान अनुसार रेमबहादुर भुजेललाई लमहीबाट पक्राउ गरिएको प्रहरीले उनले बताए ।

‘प्रहरीले विशेष सूचनाका आधारमा धानखोलाको होटलमा लागूऔषध चरेस कारोवार गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको थियो’, प्रवक्ता रिजालले भने– ‘उनैको बयानका आधारमा उक्त घटनामा संलग्न थप एकजनालाई लमहीबाट पक्राउ गरेका हौँ ।’ उनले पछिल्लो समय जिल्लामा लागूऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएसँगै लागूऔषधको कारोवारमा संलग्नहरु पक्राउ पर्ने क्रम बढेको समेत बताए । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना लागूऔषध कारोवारी रहेको समेत बताए ।

पक्राउ परेकाहरुमाथि प्रहरीले लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ खण्ड (घ)को ४ मा भएको व्यवस्था बमोजिम मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धानलाई अघि बढाएको बताएको छ । प्रहरीका अनुसार उनीहरुलाई एक बर्षदेखि ३ बर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रिजालले बताए । यसअघि बुधवार साँझ प्रहरीले मास्कमा छिपाएर ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई किशोर पक्राउ परेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैंयाखोरेका १८ बर्षीय प्रकाश बिक र तुलसीपुर–५ का १४ बर्षीय किरण बिक पक्राउ परेका छन् । बाँकेको नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरु चेकजाँचका क्रममा तुलसीपुर १३ दमारगाउँबाट बुधबार बेलुका पक्राउ परेका हुन् ।

प्रकाशले चलाएको मोटरसाइकलको पछाडि सवार किरणले आफूले लगाएको मास्कभित्र लुकाई छिपाई राखेको अवस्थामा ३ पुरियाको २ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको साधा पोशाकका प्रहरी उनीहरुलाई बेलुका साढे ६ बजेतिर पक्राउ गरेका थिए ।

त्यस्तै बुधबार बेलुका साढे ७ बजेतिर तुलसीपुरको दमारगाउँबाटै तुलसीपुर ६ भिआईपी टोल बस्ने ४५ बर्षीया चामुकुमारी बिश्वकर्मा ब्राउन सुगरसहित पक्राउ परेकी छन् । बिश्वकर्माले बोकेको झोलाभित्र कालो प्लाष्टिकमा छिपाई राखेको ७ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता रिजालले बताए । नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको बसमा सवार उनलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।