बृद्धबृद्धालाई दिवा केन्द्र, बालबालिकालाई फनपार्क

  •   
  •  

खेमराज रिजाल

हेमन्तपुर,७ साउन । पानी ओत्ने छानासहितको सभाहलमा ज्येष्ठ नागरिकहरु भजनकीर्तनमा रमाइरहेका हुनेछन् । हार्मोनियम, वासुरी, तवेलासहितका वाद्यवाधकले भजनका भाका बजाइरहँदा घरमा दिन काट्नै मुस्किल हुने वयोबृद्धाहरु भजनकीर्तनसँगै दिन बिताउने छन् । त्यसलाई ज्येष्ठ नागरिक दिवा केन्द्र भनिने छ । फनपार्कमा बालबालिकाहरुले चिप्लेटी खेल्न सक्नेछन्, चर्खेपिङ खेल्न सक्ने छन् अनि पानी पोखरीमा साना–साना बोट चलाउन पाउने छन् ।

सोही स्थानको तल्लोपट्टि पौडी पोखरीसहितको एउटा सुन्दर बगैचाको निर्माणको परिकल्पनासहित काम पनि सुरु भइसकेको छ । सबैभन्दा पहिलो काम सम्याइएको जग्गामा थरीथरीका विरुवाहरु रोपिएको छ । आकर्षक फूलका बेर्नाले फनपार्कको झल्को दिन सुरु गरिसकेका छन् । रंगीविरंगी चराहरुको क्रीडास्थल हुनेगरी पार्कको उत्तरपट्टिको सिमसार क्षेत्रलाई तारवारले संरक्षण पनि गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दक्षिणमा निर्माणाधीन पार्कको परिदृश्य हो, यो ।

खप्तडी बस्नेत बंशावली कुलपुजा समितिले यो पार्कको निर्माण सुरु गरिसकेको छ । ‘हामीले यसलाई एउटा बहुवर्षीय गुरुयोजना बनाएर काम सुरु गरिरहेका छौँ, सम्भवतः केही समयमै यसले एउटा निश्चित आकार ग्रहण गरिसक्ने छ’, खप्तडी बस्नेत वंशावली कुलपुजा समितिका अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले गोरक्षलाई भने । खप्तडी बस्नेतहरुको कुलपुजास्थल भनिए पनि यसमा कुनै पनि जातजाति र धर्मावलम्वीहरुलाई कुनै रोकतोक हुने छैन ।

बस्नेतका अनुसार यो एउटा बंशको कुलपुजास्थल मात्र होइन, साझा पार्क र आरामस्थल पनि हो । बस्नेत बन्धुहरुले त निर्माणमा समन्वयकारी भूमिका निर्वाह गरेको मात्रै भएको उनको अभिव्यक्ति थियो ।

सो निर्माणाधीन पार्कमा खप्तड ऋषिको गुफा निर्माण हुँदैछ । बाल उद्यान र खप्तड कुण्ड बन्दैछ, जुन कुण्डमा खप्तड ऋषिले स्नान गर्थे । सबैका लागि सधैका लागि एउटा पिक्निक स्पट र योगाहल बनाउने पनि हाम्रो योजना छ’, अध्यक्ष बस्नेतले भने । सुविधा सम्पन्न योगाहलमा स्थानीय एक सयभन्दा बढीले उपस्थित भएर योगा अभ्यास गर्न सक्नेछन् । योगाहल नजिकै एउटा शिव मन्दिर बनाउने पनि तयारी भइरहेको समितिले जनाएको छ ।

करिव दुई विगाहाभन्दा बढी जग्गामा यी सबै योजनाहरु सम्पन्न गर्ने समितिको सोचाइ रहेको छ । यो जानकारी गराइरहँदा अध्यक्ष बस्नेतले सो पार्क निर्माणस्थलको बगैचामा विभिन्न जडिबुटीजन्य विरुवाहरु रोपिरहेका थिए । ‘यो बर्ष करिब ४ सय जति विरुवा रोपिसकेका छौं, धेरैजसो औषधिजन्य बनस्पतिहरु छन् भने केही सौन्दर्यताका लागि थरीथरीका फुलहरु पनि छन्’, बस्नेतले भने । यी सबै कामका लागि भू तथा जलाधार संरक्षण कार्यालयको केही आर्थिक सहयोग र तुलसीपुर उपमहानगरपालिकाको पार्कस्थलसम्म ग्रावेल बाटो निर्माणमा मात्र सहयोग प्राप्त भएको समितिले जनाएको छ ।

खप्तडी बस्नेत कुलपुजा समितिले बनाएको सो पुजास्थलमा जिल्लाभर एवं बाहिरी जिल्लाबाट पनि बस्नेत बन्धुहरु आउन थालेका छन् । हाल करिब ३ सय परिवार बस्नेत बन्धुहरु कुलपुजामा समावेश हुने गरेको बताइन्छ । वि.सं. २०६४ सालदेखि मात्र बस्नेत बन्धुहरु एकीकृत भएर यहाँ पुजाआजा गर्न थालेपछि बस्नेत बंशावली समितिले एउटा गुरुयोजना बनाएरै हेमन्तपुरमा एउटा सुन्दर पार्क निर्माणको काम थालेको थियो ।

‘तयार भइसकेको योजना तात्कालीन पर्यटनमन्त्रीलाई बुझाउन पाएनौं, किनकि हामी पर्यटन मन्त्रालयमा गुरुयोजना बुझाउन प्रतिक्षा गर्दाकै क्षण पर्यटन मन्त्री रविन्द्र अधिकारी जहाज दुर्घटनामा परी निधन भएको थियो’, अध्यक्ष बस्नेतले भने । यो अधुरो अभियानलाई फेरि पूरा गर्ने लक्ष्य समितिले लिएको छ ।