दाङ,७ साउन । सरुवा भएर आएलगत्तै दाङ जिल्लामा आफुले तीन स्थानबाट सेवा दिने उद्घोष गरेका प्रमुख जिल्ला अधिकारीले हरेक बुधवार तुलसीपुरलाइ छुट्याएका थिए ।
आजको बुधवार यद्यपि सार्वजनिक विदाको दिन भए पनि उनले अनौपचारिक अवलोकन र अनौपचारिक छलफलका क्रममा तुलसीपुरमा आयोजित ६ कार्यक्रममा सहभागी भए । भिन्न–भिन्न कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीले बुधवार विशेषगरी स्वास्थ्य र सामाजिक क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
मेट्रो अस्पतालमा भने– सबैभन्दा पहिले अक्सिजन प्लान्ट
कोरोनाको दोस्रो लहर मत्थरसँगै खोप अभियानसमेत चलिरहँदा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ भने अक्सिजन प्लान्टकै समस्या हुनसक्ने भन्दै सकेसम्म अक्सिजन प्लान्ट निर्माणमा जुट्न सरोकारवाला सबैलाइ आग्रह गरिरहेका छन् । क्रमशः बजारमा गतिविधिहरु बाक्लो हुँदै गर्दा फेरी कोरोना भाइरसको संक्रमणको तेस्रो लहर आउन सक्ने विज्ञहरुको अनुमानसँगै प्रमुख जिल्ला अधिकारी अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकतामा राख्ने अभियानमै छन् ।
‘कोरोना भाइरसको तेस्रो संक्रमण फैलियो भने, यहाँ भएका दश÷बीस वटा सिलिण्डरले पर्याप्त हुनसक्ने छैन, तत्काल अक्सिजन प्लान्टको निर्माणमा जुट्नु उपयुक्त हुनेछ’, तुलसीपुर मेट्रो अस्पतालको अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने । उनले यसअघि नेपालगन्जलगायत पश्चिम नेपालका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजनको समस्या भोगेको उल्लेख गर्दै अबको लहरमा प्राणवायुको अभाव हुन नदिन सबै पालिकाहरु गम्भीर हुनुपर्ने तर्क गरेका छन् ।
अवलोकन कार्यक्रमका अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख माया आचार्यले अक्सिजन प्लान्टको निर्माणमा उपमहानगरपालिका पनि गम्भीर रहेको भन्दै अब पहिले जस्तो अक्सिजनको सकस नहुने बताइन् । मेट्रो अस्पतालमा हाल पनि १० जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । आइसियु र एचडियु बेडसमेतको सुविधा भएको सो अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाले ३ जना कन्सल्टेन्ट फिजिसियन, २ जना मेडिकल अधिकृत, ८ जना स्थाफ नर्स, एचए, सिएमए, र कार्यालय सहयोगी गरी ४२ जना कर्मचारीको समेत व्यवस्थापन गरिसकेको छ ।
उद्योग वाणिज्य संघमा भ्याक्सिन बहस
यसैबीच प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको भ्याक्सिन बहस कार्यक्रममा पनि सहभागी भए । त्यहाँ ग्यास व्यवसायी, यातायात व्यवसायी, व्युटिसियन व्यवसायी, नाइ संघ आवद्ध व्यवसायीलगायतले आफूहरुलाई कोरोनाको खोप उपलव्ध गराउन र व्यवसायलाई सहज बनाउन आग्रह गरेका थिए ।
सबै सहभागी व्यवसायीहरुले आफूहरु पनि फ्रन्टलाइनर भएको जानकारी गराउँदै खोपमा प्राथमिकता दिन आग्रह गरेका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा ग्यास व्यवसायी सचिन पौडेल, व्युटिसियन तथा पार्लर व्यवसायी सीता अधिकारी, यातायात व्यवसायीलगायतले खोपको माग गरेसँगै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले प्राथमिकताका आधारमा सबैलाई क्रमशः खोप उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दिदीघरमा अनाथ बालबालिकासग
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले तुलसीपुर उपमहानगरपालिका डुम्रिगाउँमा सञ्चालनमा आएको अनाथ बालबालिकाको आश्रम दिदीघरको सञ्चालन प्रक्रिया र जुट्दै आएको सहयोगका विषयमा जानकारी लिए । त्यहाँ तुलसीपुर उपमहानगरपालिका महिला शाखा प्रमुख माया श्रेष्ठले तुलसीपुर उपमहानगरपालिकाले समेत दिदीघरलाइ ट्रान्जिटका रुपमा प्रयोग गरिरहेको भन्दै यसलाई नगरपालिकाले पनि अपनत्व लिनसक्ने गरी कार्यक्रम ल्याउन आवश्यक भएको बताइन् ।
कार्यक्रममा दिदीघरकी सञ्चालिका स्यानी चौधरीले आफूले सञ्चालन गरिरहेको अनाथ बालगृहको स्वामित्व समेत संस्थालाई नै हस्तान्तरण गर्न चाहेको बताउँदै यसलाई थप व्यवस्थितरुपमा सञ्चालनको व्यवस्थापन मिलाउन सहयोगको याचना गरिन् ।
मानव सेवा आश्रममा बेसहाराहरुसग
मानवता प्रवद्र्धन महाअभियानअन्तर्गत तुलसीपुरमा सञ्चालित मानव सेवा आश्रमको पनि प्रमुख जिल्ला अधिकारीले स्थलगत अनुगमन गरेका छन् । सहयोगीहरुको मानो र मुठी सहयोगले चल्दै आएको सो आश्रममा सुत्केरी महिलादेखि मानसिक समस्या भएका सडक मानवहरु आश्रित थिए । त्यहाँ १९ जना सडक मानवहरुले आश्रय लिइरहेका छन् ।
विदेशी नागरिकबाट सहयोग नलिने सो संस्थाले नेपालीहरुकै सहयोगबाट संस्था सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश सरकारले त्यहाँ स्वास्थ्यकर्मी पनि खटाएको छ । औषधिउपचारसहित सडक मानवलाई आवश्यकता अनुसार आश्रय दिने र सम्भव भएसम्म परिवारमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको आश्रम सञ्चालकले बताएका छन् ।
बालबालिकाका आखामा विशेष ध्यान दिनुस्
यसैबीच प्रमुख जिल्ला अधिकारी बुधवारै रक्षाचौरको राप्ती आँखा अस्पतालमा पुगे । पछिल्लो समयमा विकास भएको सूचना प्रविधि र मोवाइल फोनको अधिकतम प्रयोगको प्रशंग उठाउँदै बालबालिकाहरुमा अहिले स्क्रीन लत लागेको भन्दै उनीहरुको आँखा स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।
राप्ती आँखा अस्पताल तथा नवनिर्मित ओपीडी भवनको निरीक्षण तथा आँखा स्वास्थ्य सेवाको विषयमा छलफल समेत गरेका छन् । उनले अन्य अस्पतालभन्दा आँखा अस्पताल परिसरमा सरसफाई देखि सबै व्यवस्थापन राम्रो भएको बताए । ‘अन्य अस्पताल त यस्तो देखिन त ? आँखा अस्पताल भएर होला आँखाले देख्ने सवै सफा छ’, उनले भने ।
उनले अस्पतालले दिएका सेवाहरुको बारेमा जानकारी लिँदै पछिल्लो समयमा बालबालिकाहरुमा आँखासम्वन्धी समस्याहरु धेरै देखिएको भन्दै त्यसतर्फ सचेतना दिन आग्रह गरे । त्यसैगरी उनले गैरनाफामुखी सेवामूलक आँखा अस्पतालको विकासमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आफूहरुले यहाँ रहेका स्वास्थ्य संस्थाको विकासका लागि सहयोग गरिरहेको बताइन् । ‘यहाँका आँखा अस्पताल, स्वास्थ्य संस्थाहरुको विकासका लागि हामीहरुले सहयोग गरिरहेका छौँ, आगामी दिनमा पनि सहयोग मिल्नेछ’, उनले भनिन् ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संघले विभिन्न दातृनिकाय, स्थानीय प्रदेश सरकारको समन्वयमा अस्पतालको भौतिक विकासका साथै सर्वसुलभ सेवा दिएको बताएका थिए । कार्यक्रममा संघका सचिव तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्र खड्का, चिफमेडिकल डाईरेक्टर डा. सुलक्ष्मी कटुवाल, अस्पतालका प्रशासक किरण पौडेलले आँखा स्वास्थ्य सेवाको विषयमा जानकारी गराएका थिए ।
जयगुरुदेवको “भोकालाई भोजन”को शुभारम्भ
यसैबीच प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले तुलसीपुरमा आयोजित भोकालाई भोजन अभियानको समेत शुभारम्भ गर्न भ्याए । जयगुरुदेव अध्यात्मिक संगत दाङले बुधवारदेखि तुलसीपुरको समीक्षालयमा भोकालाई भोजन अभियानको सुरु गरेको छ ।
विशेषगरी प्रादेशिक अस्पताल तुलसीपुरका बिरामी र कुरुवालाई लक्षित गरी शुद्ध साकाहारी भोजन व्यवस्थापनसँगै सडकमा हिँड्ने जुनसुकै भोकालाई पनि प्रसादका रुपमा ग्रहण गर्न आग्रह गरे । साकाहारी बनौ, दुव्र्यसनी त्यागौँ भन्ने मूल नाराका साथ सुरु भएको यो अभियान जयगुरुदेवका अभियन्ताहरुले मुठी सहयोग गरी सञ्चालनमा ल्याएका हुन् ।
हरेकले आफ्नो आम्दानीको १० प्रतिशतमात्र संकलन गर्न सके यो अभियान निरन्तर सञ्चालन हुनसक्ने अपेक्षा अभियन्ताहरुले गरेका छन् । भारतको उज्ययनमा रहेका बाबा उमाकान्तजी महाराजको निर्देशनमा यो अभियान सञ्चालन गरिएको हो ।