कसले ग¥यो मङ्गले आफ्नै ढङ्गले

  •   
  •  

नारायणप्रसाद श्रेष्ठ

बाल्यकालमा कसैले आफ्नै कारणले गल्ती गरी चोट लागेको भए ठट्यौली पारामा खुच्चिङ ! भन्दै भन्ने गरिन्थ्यो ‘कसले ग¥यो मङ्गले आफ्नै ढङ्गले’ । हिड्दा ठेस नलागोस्, बस्दा केश नझरोस्, यो कुरा तिमीहरुले कहिल्यै नबिर्सनु । हिड्दा अगाडि काँडा छ वा छैन बुझ्नु र बस्दा थ्याच्च नबस्नु, त्यहाँ फोहर हुन्छ भनी हेक्का राख्नु, यसरी हाम्रा पुर्खाले भनेको अहिले झल्भली याद आइरहेको छ ।

वास्तवमा हामीले त्यसबेलामा यो उखानलाई मनोरञ्जन र रमाइलो गर्न तथा मन बहलाउन प्रयोग गथ्र्यौँ । त्यसको यथार्थभित्र जान्न खोजिँदैनथ्यो । तर, अहिले आएर यो उखान नभएर जीवनको गतिमा आउने उतारचढाव र आफ्नो आनीबानीले देखाउने क्रिया, प्रतिक्रियासँग सम्बन्धित रहेछ भन्ने बोध भएको छ । आफूले जिम्मेवारी निभाउन नसक्दा र शुद्ध आरणयुक्त विवेक प्रयोग गर्न नसक्दाको परिणाम भएर उक्त उखान जीवनको गतिमा प्रमाणित हुन पुगेको छ ।

कुनै पनि कर्म र व्यवहार गर्दा आफूले जिम्मेवारीबोध गर्ने कुरातर्फ यसले गम्भीर रुपले संकेत गरेको रहेछ । ‘मन ताक्छ मुढा, बञ्चरो ताक्छ घुँडा’ भनेझैँ कर्म र व्यवहारमा आउने फरकपनले दिने परिणामबारे ख्याल नगरी आफ्नो स्वेच्छाले अघि बढ्ने हो भने यसले दिने परिणाम निश्चय नै अधोगतितिर उन्मुख हुँदो रहेछ । आफूले जिम्मेवारी निभाउन नसक्ने, सही के हो गलत के हो त्यो थाहा नपाउने ।

म बाहेक अरु कोही योग्य छैन भनी अहंकारले परिपोषित विचारले आफूले काम गर्ने तथा परिणामको ख्याल नगरी दम्भ र घमण्ड प्रदर्शन गर्ने अनि यी सबै अरुकै कारणले भए गरेको भनी ‘हुट्टिट्याउँले सगर थामे’झैँ अरुलाई दोष थुपार्ने कार्य वास्तवमा स्वार्थपरक चिन्तनको उपज हुँदोरहेछ । तसर्थ, यस कुरालाई गम्भीर रुपले चिन्तन गर्नुपरेको छ । प्रत्येक व्यक्ति चाहे त्यो सामाजिक क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस्, अथवा प्रशासनिकलगायत अन्य क्षेत्रमा किन नहोस्, यदि उसले आफूले निर्वाह गर्नुपर्ने कार्य र व्यवहारले दुष्परिणाम ल्याउँछ भने त्यसले निश्चय पनि गलत विचार प्रतिपादन गरेको रहेछ भन्ने बुझिन्छ ।

तसर्थ यस सत्यलाई मनन् गरी आफूले जिम्मेवारीबोध गर्नु गराउनु पर्दछ । भोलि हुने परिणामको ख्याल गरी वर्तमानलाई प्रयोग गर्नु पर्दछ । क्षणिक लोभ, मोह र प्रपञ्चले ल्याएको परिणामको ख्याल गरी छलकपट र खरिद गरिएको विश्वासबाट प्राप्त उपलब्धि कुनै पनि बेला भत्कनसक्छ भन्ने मान्यता राखी पहिले आफूले आफैलाई विश्वासको तराजुमा खरो उतार्न जरुरी रहेछ । कर्म र व्यवहार गर्दा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गरी आफू र आफ्नो कर्म र व्यवहारलाई परिस्कृत गर्ने गराउनु पर्दछ ।

अहंकार र घमण्डले परिपोषित विचार र त्यही विचारबाट उत्पन्न दम्भ वास्तवमा प्रतित्पादक बन्नसक्छ भन्ने मान्यता राखी पछि हुने परिणामको समयमै ख्याल गर्न जरुरी छ । ‘बुद्धियस्य बलम् तस्य, निर्बुद्धिस्य कुतोबलम्’ तसर्थ बुद्धि र विवेकशील कर्म र व्यवहार नै जीवनको उत्तम गतिशील सत्य भएकोले यसकुरालाई प्रत्येकले हृदयंगम गर्नु जरुरी छ ।

हुन त कतिपय विद्वान्हरुले कर्म गर्ने हो परिणामको ख्याल गर्नु हुँदैन भनी भन्ने गरेको पनि पाइन्छ । उहाँहरुको चिन्तनमा कर्म नगरी फल पाइँदैन र फलबिनाको कर्मको कुनै महत्व र सार्थकता हुँदैन । उहाँहरुको भनाइमा केही सत्यता पनि छ । कर्म नगरेर परिणामलाई मात्र ख्याल गर्ने हो भने जीवन सधैँ अधुरो हुन्छ । यति मात्र होइन २१औँ शताब्दीको चमत्कार पनि अधुरै रहनसक्छ । त्यसबेला मानिस न त सुखी बन्न सक्छ न त उसको जीवनले सहज गति नै लिन सक्छ । वास्तवमा यो तर्क मनासीव पनि हो ।

किनकि उहाँहरुले जीवनले निर्वाह गर्नुपर्ने कर्म र व्यवहार पवित्र र सकारात्मक हुन्छ भन्ने विश्वासको जगमा यो भन्न खोजिएको हो । विचारमा बदलाको भावना लुकाई म बाहेक अरु कोही पनि योग्य हुनसक्दैन भनी दम्भ गरेर विचार प्रतिपादन गर्ने, विचारमा स्वार्थपरक चिन्तन राखी कर्म र व्यवहार गर्ने तथा राम्रो भए यो मेरो विवेकको सफलता हो भन्ने, नभए यो त फलानोको कारणले भएको हो भनी दोषारोपण गर्ने । यस्तो चरित्र र कर्मप्रति विद्वान्हरुको सोचाई थिएन । तसर्थ, यहाँ भनाइ र गराइमा देखिने भिन्नता र एकले अर्कालाई हेर्ने दृष्टिकोणमा यदि दोष छ भने त्यो कहिल्यै पनि सार्थक हुन सक्दैन र त्यसको परिणाम पनि कहिल्यै सकारात्मक हुन सक्दैन ।

समय बितिरहन्छ यो फर्कँदैन । त्यस्तै जीवन पनि यस्तै गतिशील छ । यो पनि बाल, युवा, बृद्ध हुँदै जान्छ र पुनः पहिलेकै अवस्थामा फर्कंदैन । तर विचारले ल्याउने परिणामले पुनः जागृत हुनसक्छ । यति मात्र होइन, विचारले लादिएको परिश्रमले पुनः टकराव लिनसक्छ । जसरी कसैलाई हेपिएर मौकाको फाइदा उठाइ गाली गलौज गरिन्छ भने यो एकदिन आफैतिर फर्कन्छ । आफूलाई जतिसुकै शक्तिशाली चिन्तक बनाए पनि यसले एकदिन ओरालो लाग्नै पर्छ । यति मात्र होइन, जतिसुकै अहंकार र घमण्ड गरे पनि ऊ त्यसको भागिदार हुनै पर्दछ ।

एकातिर यो सत्य छँदैछ भने अर्कोतर्फ यदि कसैलाई आफ्नो स्वार्थ सिद्ध गरी गाली, बेइजती गरिन्छ भने त्यो एक दिन आफूतिर फर्कन्छ, अरुलाई सराप दिनु भनेको आफैलाई दिनु हो । तनको सुन्दरता खत्तम हुनसक्छ तर मनको सुन्दरता कहिल्यै सकिँदैन । केही समयको दूर्बलतालाई देखेर दण्ड दिनु कतै आफ्नो पुरुषार्थ गलत दिशातर्फ उन्मुख भएको त छैन ? एकपटक सबैले सोच्नै पर्छ । मन सफा छ भने विचार पनि सफा हुन्छ । यदि मनै फोहर छ भने विचार मात्र होइन विचारबाट परिचालित कर्म र व्यवहार पनि फोहर हुनसक्छ । यस्तो कार्यलाई इतिहासले कहिल्यै पनि स्वीकार्दैन ।

विचारमा शुद्धता ल्याई आफूलाई प्रधानमन्त्री पद प्राप्त हुँदा पनि स्वीकार नगरी जसरी गणेशमानले त्याग गरे यो कुरा अहिले सबैको पथप्रदर्शक भएर इतिहासले देखाइरहेको छ । वास्तवमा त्यागी र समर्पित नेतृत्वले यसै अनुरुप आफूलाई प्रस्तुत गर्न सक्नु पर्दछ । शक्ति हत्याउने नाममा चाहिँदो, नचाहिँदो काम गरिन्छ भने त्यसको परिणाम एक दिन अवश्य भोग्नु पर्छ । ‘नाच्न नजान्ने आँगन टेडो’ भनेझैँ काम र व्यवहार गर्न नजान्ने अरुलाई दोष दिई आफूलाई पानीमाथिको ओभानो बनाउनु कति जायज ? असन्तोषले विचारमा विचलन ल्याउँछ, ‘छोरी कुटी बुहारी तर्साउँछु’ भनेर गरिने कार्य सबै स्वार्थ र अभिमान हो । यसले मनमा भ्रान्ति पैदा गर्दछ ।

यही भ्रान्ति झाँगिँदै हरेक कर्म र व्यवहारमा एकाकार हुन गई नतिजा नकारात्म उन्मुख हुन पुग्छ । ‘जसका लाठी उसका भैँस’ भन्ने हो भने यो पनि सधैँ सार्थक हुँदैन । यस्तो चरित्रले एक दिन पतनको बाटो रोज्न सक्छ । त्यसैले समय र परिस्थिति अनुकूल आचरण र व्यवहार मानव जीवनले निर्वाह गर्नुपर्छ भनी समयले मानिसलाई पटक–पटक झकझक्याइरहेको छ । तसर्थ, अरुलाई दोष दिई आफूलाई कहिल्यै पनि सर्वशक्तिमान सक्झनु हुँदैन । गुण र द्वेष आफूभित्रै भएकोले यसलाई गम्भीर भएर पहिचान गर्नुपर्छ ।

जीवनको हरेक गोरेटो तराजुमा तौलिएर अगाडि बढेको हुन्छ । कुन बेला तराजु घटबढ हुने हो यो कसैलाई थाहा हुँदैन । समयले यसको निराकरण गरिरहेको हुन्छ । त्यसैले कमलपुष्प समान पवित्र बनेर आफू परिवर्तन भई अरुको लागि मार्ग दर्शक बन्नु पर्छ । तमो प्रधान मानसिकतालाई शुद्धिकरण गर्दै सताप्रधान बन्नु पर्छ । विचार र व्यवहारमा पछि आउने परिणामको ख्यला गरी निष्पक्ष र सेवाधारी बनी सेवा र सद्भावमा समर्पण हुने बानीको विकास गर्नु पर्छ । जन्म, मरणको सत्यलाई स्मृतिमा राखी प्राप्ति र अप्राप्तिभित्र परिभाषित हुने मानवीय चाहनालाई सुदृढीकरण र परिवर्तन गर्न सक्नुपर्छ ।

विकर्मको खाता हटाई सुकर्मको खाता बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । जीवनलाई अरुको प्रेणाको स्रोत बनाउने गरी सच्चा कूल दीपक बन्न सक्नुपर्छ । तसर्थ, आफूले आफैलाई आफ्नो कर्म र व्यवहारमा परिस्किृत गरी पछि आउने परिणामलाई सोची वर्तमानलाई प्रयोग गर्नुपर्छ । अन्यथा ‘कसले ग¥यो मङ्गले आफ्नै ढङ्गले’ भन्ने उखान चरितार्थ हुन बेर लाग्ने छैन । चेतना भया ।