तरकारी संकलन केन्द्रले उद्यमीलाई थपेको उर्जा

पार्वती बस्नेत

दाङ, ३ साउन । आफूहरूले उत्पादन गरेको तरकारी घरआँगनबाट विक्री हुन थालेपछि सल्यानकी नोखी बुढाथोकीको घरपरिवार अहिले खुसी छ । नोखी बुढाथोकीको घरपरिवार मात्रै होइन त्रिवेणी गाउँपालिकाका स्थानीय पनि खुसी छन्् ।

त्रिवेणी गाउँपालिका वडा नं. ६ सल्लेखोला सल्यानमा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिले तरकारी विक्रीका लागि हाटबजारको सुुरुवात गरेसँगै स्थानीयवासी तरकारी उत्पादनमा लागेका छन् । आफूहरूले उत्पादन गरेको तरकारीको लागि बजार खोज्न अन्त कतै धाउन नपर्ने बुढाथोकीले बताइन् ।

वर्षेनी १० लाख बढीको तरकारी विक्री गर्दै आएकी बुढाथोकीको परिवारले अहिले थप २ कठ्ठा जग्गा भाडामा लिएर जम्मा ५ कठा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएको छ । बुढाथोकीको परिवारजस्तै स्थानीय नन्दकली रेउलेको घरपरिवारले पनि तरकारी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएको छ । उनले पनि वर्षेनी सहकारीबाटै ७ लाख बढीको तरकारी विक्री गर्दै आएकी छन् ।

हेफर इन्टरनेशनल नेपालद्वारा वितगमा सञ्चालन भएको परियोजनाअन्तर्गत उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लिको सल्यानमा स्थापना भएको हो । त्रिवेणी गापा–५ सल्लेखोलामा स्थापना गरिएको सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्दै आइरहेको थियो ।

सहकारीको उद्देश्य अनुरूप यस सहकारीका सदस्यहरूले उत्पादन गरेको कृषि तथा पशु उपजलाई सहकारीमार्फत बजारीगरण गराउने तथा सहकारीको संस्थागत विकास गरी सहकारीबाट सदस्यहरूको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा विगत ४ वर्षदेखि ‘पशु वस्तुको मूल्य शृंखलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजना’ अन्तर्गत रहेर सहकारीलाई सहयोग गर्दै आइरहेको छ ।

परियोजनाले सहकारीको संस्थागत विकास तथा बजारीकरणमा खसी, बाख्रा, दूग्ध तथा तरकारी व्यावसायलाई विस्तार गरी बजारीकरणमा सहयोग गर्न थालेको हो । २०६८ सालमा विधिवत रूपमा दर्ता गरी स्थापना गरिएको सहकारीले समयसँगै आप्mनो व्यवसायलाई पनि विस्तार गर्दै अघि बढेको छ । उद्यमी सहकारी भएकाले सहकारीले बचत तथा ऋणको मात्रै कारोबार नगरी सहकारीमा आबद्ध महिलाहरूलाई आधार मानेर महिला सशक्तिकरण, घरपरिवारलाई पनि आर्थिक क्षेत्रमा बलियो बनाउने उद्देश्यले सहकारीले आप्mनो विनियममा आधारित रहेर व्यावसायिक कामहरूको थालनी गरेको हो ।

‘सहकारीले तरकारी विक्री गर्ने भनेपछि त्यत्तिबेला धेरैले पत्यानन् र सहकारीको आप्mनो संकलन केन्द्र पनि थिएन, विश्वास नमानेरै धेरै सदस्यले सहकारीमा तरकारी ल्याउनुभएन तर पनि हामीले हार मानेनौँ र पहिलो दिनमा ६ क्विन्टल तरकारी संकलन गरेर विक्री गरेको याद अझै पनि ताजै छ’ सहकारीका व्यवस्थापक राधा घर्तीले भनिन् ‘अहिले त वर्षेनी सहकारीले ९३ सय क्विन्टलसम्मको तरकारीे संकलन गरेर विक्री गर्ने गरेको छ ।’ तरकारी विक्री गर्नथालेको झण्डै ४ वर्ष पुग्नथालेको छ । कपुरकोटको व्यापारीसँग समन्वय गरेर बुटवल, नेपालगञ्ज र दाङमा तरकारी पठाउने गरेकोे उनले बताइन् ।

१४ मिटर लम्बाई र ८ मिटर चौडाई क्षेत्रफलमा रहेको तरकारीको लागि हाटबजार र तरकारी संकलन केन्द्रको लागि बनाइएको टहरो भाडामा लिएको हो । उक्त टहरा बनाउनका लागि भने त्रिवेणी गाउँपालिकाले सहकारीलाई ३ लाख रूपैयाँ अनुदान सहयोग गरेको छ । अर्काको जमिनलाई भाडामा लिएर २० वर्षसम्मको सम्झौता गरेर मात्रै उक्त संकलन केन्द्रको निर्माण गरिएको सहकारीका बजार व्यवस्थापक झिनबहादुर नेपालीले बताए ।

सहकारीले जग्गाधनीलाई टहरो प्रयोग गरेवापत वार्षिक १० हजार रूपैयाँ भुक्तानी गर्दै आएको बजार व्यवस्थापक नेपालीले बताए । सहकारीमा आबद्ध कृषि उद्यमी महिलाहरूले उत्पादन गरेका तरकारी सहकारीले नै संकलन गरेर विक्री गर्न थालेपछि भने पछिल्लो समय सहकारीबाट बिनाधितो कर्जा लिएर होस् वा अन्य बैङ्किङ संघसंस्थाहरू (माछापुच्छ«े बैंकंबाट) सँग समन्वय गरेर भए पनि सहकारीका सदस्यले कर्जा ल्याएरै व्यावसायिक रूपमा तरकारी खेती गर्नथालेका छन् ।

सहकारीबाट तरकारी विक्री गर्ने शेयर सदस्य तथा गैरसदस्यहरूलाई समेत सहकारीले सम्मान गर्न थालेपछि सहकारीबाटै तरकारी विक्री गर्नेहरूको संख्यामा वृद्धि हुनथालेको सहकारीका अध्यक्ष प्रेमकुमारी बोहराले बताइन् । सहकारीले उत्पादित तरकारी संकलन गरी बजारीकरण गर्नथालेपछि गाउँपालिकाले पनि बिउविजन, केही प्लास्टिक र फलामको टनेल, पावर टे«लर टेक्टर तथा तालिमहरूको समेत आयोजना गरेर आफूहरूलाई सहयोग गर्दै आएको सहकारीका अध्यक्ष बोहराले बताइन् ।

गत वर्ष हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले परियोजनामार्फत् सहकारीले संकलन गर्न थालेको तरकारी व्यवसायलाई अझ व्यवस्थित गराउनका लागि १ लाख ६० हजारको तरकारी राख्ने क्यारेट र मौसमी तथा बेमौसमी तरकारी खेती तालिम दिएर सहयोग गरेको हो ।

अहिले ३५ घरधुरीले मात्रै तरकारी विक्रीको कारोबार सहकारीबाट गर्दै आएका छन् । ९ सदस्यीय सञ्चालक समिति रहेको सहकारीमा अहिले ३ सय १२ जना शेयर सदस्य छन् भने २ जना कर्मचारी छन् । सहकारीबाट त्रिवेणी गाउँपालिका क्षेत्रका धेरै घरपरिवार लाभान्वित भएका छन् भने अधिकांश घरपरिवारले अब आफूले पनि व्यावसायिक तरकारी खेतीको सुरुवात गर्ने भनेर सहकारी संस्थामा आबद्ध हुनथालेको सहकारीका व्यवस्थापक राधा घर्तीले बताइन् ।

सहकारीले तरकारी संकलन, खसी, बोका संकलन तथा बजारीकरणसँगै आप्mनो व्यवसायलाई विस्तार गर्नका लागि सल्यान ६ लुहाममै दुग्धजन्य पर्दाथ विक्री तथा बजारीकरणका लागि गाउँपालिकाको सहयोगमा डेरी व्यावसाय सञ्चालनमा ल्याइएको छ । सहकारीका अध्यक्ष बोहराले ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित परियोजनाले आफूहरूले उत्पादन गरेको व्यवसायलाई बजारीकरणका साथै सहकारीको सवलीकरणका सवालमा धेरै सहयोग गरेको बताइन् ।

तरकारी संकलन केन्द्रमा तारजाली गरेर बार लगाउन पाए तरकारी राख्ने क्यारेट, तौल मेसिन बोकेर यता र उता गराउन नपर्ने तथा सामान पनि सुरक्षित हुने अध्यक्ष बोहराले बताइन् । यसैगरी सहकारीका बजार व्यवस्थापक नेपालीले तरकारी नापतौल गर्दा कहिलेकाहीँ रात नै पर्ने भएकाले बिजुली बत्तीको सुविधा नहुनुले काम गर्न समस्या भएको बताए ।

किसानहरूले उत्पादन गरेका तरकारी संकलन केन्द्रसम्म ल्याउन दिनभर लाग्ने र डोकोमा बोकेर तरकारी ल्याउनमै धेरै समय खर्च हुने गरेको बजार व्यवस्थापक नेपालीले बताए । सहकारीले आर्थिक आय आर्जन वृद्धिका सवालमा समुदाय सँगसँगै मिलेर काम गर्दै आएको स्थानीय समाजसेवी मानबहादुर नेपालीले बताए ।