खेमराज रिजाल
दाङ, ३ साउन । चुस्त व्यवस्थापन अझै नदेखिए पनि दाङ जिल्लामा ५५ वर्षभन्दा माथि उमेरका सबै नागरिक तथा नेपाल सरकारले तोकेका अन्य क्षेत्रका केही नागरिकलाई कोरोना भाइरस विरूद्धको पहिलो चरणको खोप आज ९आइतवार० देखि लगाइने भएको छ । चीन सरकारको अनुदानमा प्राप्त भेरोसिल खोप लगाउने अन्तिम तयारी स्थानीय पालिकाहरूले गरिरहेका छन् ।
यस अघि सरकारले ६२ वर्षदेखि ६४ वर्षसम्म र ६६ वर्षभन्दा माथिकालाई खोप लगाउँदा कारणवस छुटेका यो उमेर समूहका सबै नागरिकलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । फागुन महिनामै पहिलो डोज कोभिसिल्ड खोप लगाएका नागरिकका लागि भने अझैसम्म पनि दोस्रो डोज खोप आइसकेको छैन ।
खोप डिस्प्याचको तयारी जिल्ला स्वास्थ्य कार्यालयमा भइरहेको बताइएको छ । शनिवार दिउँसो प्रदेश सरकारमार्फत् खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले कार्यालयमा धमाधम खोपहरू आइसप्याक खोप क्यारियरमा लोड भइरहेको छ । केही पालिकाहरूमा शनिवार साँझै खोप पु¥याइनेछ भने केही पालिकाहरूमा आइतवार बिहान १० बजेसम्म खोप पु¥याउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ ।
यो चरणमा ५५ वर्ष माथिका उमेर समूहसँगै अग्रपंक्तिमा खटिने यातायात मजदुरहरू, सरकारी कार्यालयका कर्मचारीहरू तथा शिक्षकहरूलाई पनि खोप उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ । शिक्षकहरूको हकमा सम्बन्धित पालिकाका शिक्षा समितिहरूले तथ्याङ्क उपलब्ध गराइ आधिकारिकता प्रमाणित गराएर खोप लगाउन सकिने बताइएको छ । यसैगरी अग्रपंक्तिमा खट्ने यातायात मजदुरहरूका हकमा सम्बन्धित यातायात प्रालिको सिफारिसमा गाडी नम्बर समेत खुल्ने गरी त्यसमा काम गर्ने मजदुरहरूलाई खोप लगाइने छ ।
यद्यपि यातायात प्रालिहरूले भने यसलाई असहज व्यवस्थापन भएको बताएका छन् । आफ्नो प्रालि मातहतमा रहेका कम्तिमा २५ प्रतिशत मजदुरलाई पनि अहिले उपलब्ध गराउने भनिएको कोटाले नपुग्ने त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका प्रशासनिक इञ्चार्ज प्रकाश भट्टले बताएका छन् । यद्यपि यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भइरहेको उनको अभिव्यक्ति थियो । वैदेशिक रोजगारीमा जाने नागरिकका लागि भने विदेश जाने पासपोर्ट र भिसाको आधारमा खोप उपलब्ध गराइने बताइएको छ ।
यसैगरी शिक्षकहरू पनि अन्योलमा छन् । परिचयपत्रका आधारमै खोप पाउनुपर्ने उनीहरूको माग रहे पनि स्थानीय पालिकाहरूले भने शिक्षा समितिको सिफारिसमा खोप उपलब्ध गराउने भनेपछि थप झन्झटिलो भएको एक जना निजी विद्यालयका प्राचार्यले बताएका छन् । अहिले सरकारी तथा निजी विद्यालयहरू पनि धमाधम आफ्ना विद्यालयमा कार्यरत शिक्षकहरूको विवरण शिक्षा समितिमा पठाउने क्रममा रहेका छन् । फ्रन्टलाइनमा खटिने अन्य नागरिक तथा सरकारी कार्यालयका प्रतिनिधिलाई भने जिल्ला प्रशासन कार्यालयको समन्वयका आधारमा खोप उपलब्ध गराइने छ ।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार शनिवार दाङ जिल्लाका लागि ३८ हजार डोज खोप आएको थियो । जिल्लामा आएका सबै डोज खोपको स्टोर गर्नसक्ने क्षमता नभएपछि शनिवार १० हजार डोज खोप मात्रै झरेको छ । बाँकी २८ हजार खोप प्रदेशको मेडिकल स्टोरमा फिर्ता भएको छ । पहिलो चरणमा झरेको खोप लगाइसकेपछि फिर्ता भएको खोप आउनेछ ।
घोराही उपमहानगरपालिकाले साउन ४ गतेदेखि मात्रै खोप लगाउन सुरु गर्ने जनाएको छ । यसैगरी राजपुर गाउपालिकाले भने साउन ५ गतेदेखि खोप लगाउने तयारी गरेको बताइएको छ । त्यस बाहेक तुलसीपुर उपमहानगरपालिका सहित अन्य ७ पालिकाहरूले भने साउन ३ गतेदेखि नै खोप गाउनेछन् । घोराही उपमहानगरपालिकाको आफ्नै स्टोर नभएका कारण खोप जिल्ला स्वास्थ्य कार्यालयकै स्टोरमा राखिनेछ । तुलसीपुर उपमहानगरपालिकामा भने प्रादेशिक अस्पतालमा स्टोर हुनेछ । यसैगरी लमही, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शान्तिनगर गाउँपालिकामा पनि आफ्नै खोप स्टोरहरू रहेका छन् । अन्य पालिकामा भने आइसप्याक सहितको भ्याक्सिन क्यारियरमार्फत् खोप उपलब्ध गराइँदै आएको छ ।
करिब–करिब हरेक वडामा एउटा खोप केन्द्र रहने गरी खोपको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत तथा कोरोना फोकल पर्शन कमल चन्दले बताएका छन् । राजधानी काठमाडौँमा ५० वर्ष माथिका नागरिकलाई खोप लगाइने भने पनि काठमाडौँ बाहिर भने ५५ वर्ष माथिकालाइ खोप लगाइन लागेको हो । काठमाडौँमा जोन्सोन एण्ड जोन्सोन अमेरिकी खोप लगाउन सुरु भएकाले ५५ वर्ष माथिकालाई खोप लगाउन सुरु भएको हो । दाङ जिल्लामा भने अहिले जोन्सोन एण्ड जोन्सोन खोप आइपुगेको छैन । सो कम्पनीको खोप आएपछि ५० वर्षभन्दा माथिका उमेरका नागरिकलाई खोप लगाइने बताइएको छ ।
३८ हजार खोपमध्ये जिल्लाका दश पालिकामा आवश्यकताअनुसार ३५ हजार खोप लक्षित उमेर समूहका नागरिकलाई लगाइनेछ भने बाँकी ३ हजार खोप शिक्षक, यातायात श्रमिक, वैदेशिक रोजगारमा जाने नागरिकलगायत यस अघि छुटेका अग्रपंक्तिमा खटिने कर्मचारीहरूका लागि उपलब्ध गराइने छ ।