लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र

गोरक्ष समाचारदाता
लमही, २ साउन । लमही अस्पतालमा सर्पदंश उपचर केन्द्र स्थापना गरिएको छ । शुक्रवार सर्पदंश उपचार केन्द्रको लुम्बिनी प्रदेशसभा सदस्य सांसद रेवतीरमण शर्माले उद्घाटन गरेका हुन् ।

विश्व सर्प दिवसको अवसरमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै शर्माले उपचार सेवालाई प्रभावकारी र वैज्ञानिक बनाउन अनुरोध गरे । ‘जनताको माग र समस्याको आधारमा यो सेवा सञ्चालनमा आयो’ शर्माले भने–‘उपचारलाई प्रभावकारी बनाउन जरूरी छ ।’ लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो ।

मेडिकल अधिकृत सहित चार जना स्वास्थ्यकर्मी सर्पदंश उपचार केन्द्रको लागि राखिएको छ । सर्पदंश उपचार सेवालाई थप प्रभावकारी बनाउन सर्पदंश उपचार केन्द्र स्थापना गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । ‘सर्पदंशको उपचार सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सर्पदंश उपचार केन्द्र स्थापना गरिएको हो’–नगर प्रमुख केसीले भने–‘नगरपालिकाले सर्पदंश भवन बनायो, स्वास्थ्यकर्मी भर्ना पनि गरियो, सर्पदंशको उपचारका लागि तालिम दिएर अहिले सेवा सञ्चालन गरिएको छ ।’

सर्पको डसाईबाट कसरी जोगिन सकिन्छ र टोकिहालेमा कसरी प्राथमिक उपचार गर्ने भन्ने बारेमा समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको विष विज्ञ डा छविलाल थापाले बताए ।

नगर प्रमुख केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घान कार्यक्रमलाई नगर उपप्रमुख देवका बेल्वासे, विष विज्ञ डा. छविलाल थापा, लमही नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष विमबहादुर केसी, नेकपा एमालेका दण्डिराम चौधरी, नेपाली कांग्रेसका शिवप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाका पद्मप्रसाद गोराथोकी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीका सभापति थानेश्वर गैरे, नेपाल पत्रकार महासंघका सहसचिव दशरथ घिमिरेलगायतका वक्ताले सर्पदंश उपचार केन्द्र स्थापना मात्रै भएर नहुने त्यसका लागि व्यवस्थापन पक्ष बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जिता महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख लालमणि सुवेदीले गरेका थिए ।