विनोद पोख्रेल
२०७६ असार २८
केही दिन यता फेरि दुःखद् समाचारहरु दोहोरिएका छन् । बाढी, पहिरो, डुबानका प्रभाव स्वरुप मानिस परिएर समेत मरेको, घरबार विहीन भएको, बेपत्ता भएको समाचार हाम्रो लागि वर्षको एउटा नियमित घटनाजस्तै भएका छन् । कहिलेकाहीँ मेरो मनमा एउटा प्रश्न उठ्छ ।
हामी हाम्रो देशलाई सकेजति पनि सुरक्षित राख्ने प्रयास समेत गर्दैनौँ कि, भाषण वा गफमा हामीले हाम्रो भूगोलको सुन्दरताको अति वर्णन गर्दछौा । त्यसमा विविधता समेत जोडेर यस्तो भूगोल कहीँ छैन कि जस्तरी व्याख्या गर्छौँ । साहित्यमा स्वर्गसाग समेत धेरैपल्ट तुलना गरिएको छ । हामी यिनै आत्मरतीमा हराएका छौँ । हामीले यसको गलत प्रभावबाट आफूलाई अथवा आफूजस्तै एउटा आम नेपालीलाई बचाउन सकिरहेका छैनौँ । अझ भनौँ जुन भूगोलको वर्णन गर्दा हामीले गौरवको महशुस गर्दछौा त्यो भूगोलको न त संरक्षण गर्ने प्रयासमा छौा न त यसको मौसमी प्रकोपबाट बच्न केही सुरक्षा गरिनुपर्छ भन्ने सोचमा छौँ ।
बरु कतिपल्ट त खोलाको छेउमा घर बनाएर बाढीले नबगाएपछि बाढीपीडित भनेर राहत पाउने र दिलाउनै होड गर्छौँ । सुरक्षाको बारेमा पहिले नै सोच्ने हो भने यस्ता केही समस्याबाट धेरै बच्न सकिन्थ्यो जस्तो लाग्छ । यहाँ व्यक्तिलाई खास गरेर राजनीतिकर्मीहरु सत्तासीनहरु, कति भूतपूर्वहरु भन्दा अलि कम नै सही तर अलि महत्व दिएर प्राकृतिक प्रकोप हो वा काम गर्ने, प्रकति (भूगोल) संरक्षण गर्ने काममा खर्च गर्ने हो भने केही उद्धार र केही बचाउ गर्न सकिन्छ भन्ने मेरो विश्वास हो ।
त्यसैले कहिलेकाहीँ हामीले खर्च गर्न पनि जान्दैनौँ जस्तो लाग्छ । म त त्यो नजान्ने वर्गमा पक्कै पर्छु । यस्ता कुराको आधारमा अरुको मूल्यांकन गर्नु हुँदैन । आफूले आफ्नो मूल्यांकन गर्ने हो । त्यस आधारमा म नजान्ने, नसक्ने अनि केही गर्न नसकेर छटपटी अनुभव गर्ने कतिपल्ट एक्लै बसेर रुनेमा पर्छु । खानेले खाएकै छन् । सुविधान भोग्नेले भोगेकै छन् । अझ रमाइलो भनौँ कि विरोधाभाषपूर्ण कुरो प्रकृतिको प्रकोपको शिकार भएकाहरुको लागि सोच्ने र नीति बनाउने पनि तिनै हुन् । तपाईं अथवा म जस्ताले बोलेको आवाज समेत यहाँ सुनिने होयन । हुन त म जुन भूगोलमा बस्छु त्यहाँ बाढी, पहिरोको प्रभाव पर्दैन ।
डुबानको प्रभाव पनि पर्दैन । तर डुबान प्रभावित क्षेत्रमा घुमेको एक आधा स्थानमा पहिरोको प्रभाव देखेको र बाढीको प्रभाव केही भोगेको भरमा मैले केही सोच्न सक्छु । त्यो सोचाइ मात्रैले म यति डराउँछु भने भोग्नेको के गति हुन्छ होला ? प्रकृतिलाई मानिसले आफ्नो नियन्त्रणमा राख्न सक्दैन भन्नेमा पनि विश्वस्त छु । तर, आफू सुरक्षित हुन र अरुलाई सुरक्षित बनाउन, त्यस्तै भूगोलको संरक्षण गर्न त धेरै गर्न सकिन्छ । दोहोरिने मात्रै होइन सधौ नियमित प्रक्रिया जस्तै भएका यस्ता दुःखद् कुराबाट सचेत र सतर्क भएर केही वा धेरै उपाय गर्न सकिन्छ ।
कहिले बाढी पहिरो जाला र राहतको व्यवस्था गरौँला भनेर पर्खिबस्नु भन्दा यसको नराम्रो प्रभाव पर्दै नपरोस् वा सकेसम्म कम परोस् भन्ने सोचको विकास आवश्यक छ । अहिलेसम्म जे जस्तो सहयोग भएको छ त्यो मानवीय नाताले व्यक्तिले, संस्थाहरुले र धेरै थोरै सरकारले गरिरहेका छन् ।
तर यसको लागि पहिले नै केही योजना बनाउने हो भने मानव क्षतिलगायत केही क्षति बचाउन सकिन्छ । त्यतातर्फ समयमै ध्यान दिने हो भने यी दुःखद समाचार सुन्न वाध्य हुनुपर्ने थिएन कि ? सुन्ने परे पनि यति धेरै त पक्कै हुने थिएन । एउटा प्रश्न अर्को पनि छ । के म जति सोच्न नसक्ने वा नजान्ने मात्रै सत्तामा छन् त ? यो कुरामा पनि मलाई विश्वास छैन । तर पनि उही समस्या सधैँ–सधैँ भोग्दा पनि यसबाट बच्ने उपाय किन गरिँदैन ? यो प्रश्न यथावत छ ।
२०६६ असार २९ गते
लकडाउन नभएको भए आज केही कार्यक्रम हुने थियो होला । आज भानुजयन्ती हो । लेखक संघले केही कार्यक्रम राख्ने गथ्र्यो । तर कतै केही चर्चा छैन । अब त मनमा अनेक प्रशनहरु पनि उठ्न थालेका छन् । हामी भावनात्मक रुपले डरको शिकार भएका हौँ कि नियम पालन गर्न औपचारिकता पूरा गरेका हौँ ? हाम्रो सुरक्षा हामीले गर्न सक्छौँ भन्ने विश्वास हामीमा छैन जस्तो लाग्छ । हिड्नेहरु हिंडेकै छन् ।
उपायहरु निस्केकै छन् । एक दिन घरबाट बिजौरीसम्म पुग्दा म अचम्म परेँ । बाटोमा बसहरु थिएनन् । तर अरु सवारी साधनको भीड सामान्य समयकोभन्दा धेरै थियो । कस्तो लकडाउन हो भन्ने सोचे । एउटा परिवर्तन नै भनौँ मुख छोप्ने चलन भने देखेँ । ९५ प्रतिशतभन्दा बढीले मुख छोपेका थिए । सायद यो सचेतनाको परिणाम हो । हुन त यो सोचतनाको परिणाम हो भने मैले आफूलाई सचेत भन्नु मिल्दैन । मैले अहिलेसम्म मुख छोपेर हिडेकै छैन । तर पनि सम्पर्क एकदमै नियन्त्रित छ ।
कुनै औपचारिक अनौपचारिक कार्यक्रमहरुमा म कमै जान्छु । यो बेला त्यस्तो केही परेको पनि छैन । म व्यक्तिगत हुन खोजेँ । मेरो आशय लकडाउन छ भनिदिएर मात्रै कोरोना वा अन्य सरुवा रोगहरु नियन्त्रित हुने पक्कै होइन । बजार क्षेत्रमा र मुख्य सडकहरुमा जति भीड देखे त्यसको आधारमा लकडाउनले थुनिएका मजस्ता थोरै मात्रै छन् जस्तो लाग्यो । यस्तोलाई के लकडाउन भन्ने ? फेरि यो लकडाउनले कतिलाई सुरक्षित राख्न सकेको छ । कोरोनाबाट मर्नेको संख्या चालिस पनि पुगेको छैन । जति मरेका छन् उनीहरुमा कोरोना भेटिए पनि धेरै जसो किड्नीका, सुगरका वा टिबीका बिरामी भैको पनि पुष्टि भएको छ ।
यस्ता बिरामीले यदि लकडाउनकै कारणले उचित उपचार नपाएर मरेको पनि त हुनसक्छ । उपचार नपाएर क्वारेन्टाइनमै पनि मरेको समाचार आएको छ भने खान नपाएर सडकमै मरेको समाचार पनि आएको छ । यो गएको चैत ११ गतेबाटको स्थिति हो । बितेका एक वा दुई दिनमा पहिरोले पुरिएर, बाढीले बगाएर ८० जनाभन्दा बढीले ज्यान गुमएको समाचार पनि सँगसँगै आएको छ । त्यसको लागि केही सोच्ने कि नसोच्ने ? कोरोनाको लागि लकडाउन त्यो पनि महिनौँसम्म लगाइँदा पनि सफलता कति प्रतिशतमा प्राप्त भयो ? थाहा छैन ।
लकडाउन कति प्रतिशत सफल भयो ? त्यसको मूल्यांकन पनि छैन । अनि यही समयमा वर्षामा हुने धनजनको क्षति एउटा स्थायी घटनाक्रम जस्तै भएको बेला त्यसबाट बच्ने उपायको लागि केही सोच भए जस्तो लाग्दैन । एउटा व्यक्ति कोरोनाबाट जोगिन घरमै बस्ने कि सलहको आक्रमणबाट बाली बचाउन खेतबारीमा जाने कि पहिरो, बाढीबाट बच्न बचाउन लाग्ने कि ? मेरो प्रष्ट आशय भनेको हामीले सचेतनाको विकास गर्ने पर्छ र उपचार उपलब्ध गराउन सक्नु पर्छ । मानिसलार्य घरमा थुनेर रोग निनको पर्ने सोच केही दिनको लागि भए ठिक होला । धेरै भयो भने त्यो लागू पनि हुन सक्दैन । फेरि समस्या एउटा मात्रै पनि हुँदैन ।
कति त एउटा समस्याको रोकथाम गर्दा अर्को समस्या थपिएको पनि हुने गर्छ । लकडाउनले पनि धेरै समस्या थपेकै छ । त्यसकारण उपचारमा र सचेतनामा जोड दिएर लकडाउन खुकुलो बनाउन आवश्यक छ । यहाँको स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरु त्यति सक्षम हुनु पर्छ । मेरो विचारमा छन् पनि । बरु यसको सदुपयोग गर्न सकिएको छैन ।
जिम्मेवार निकायले यसबारे सोच्ने बेला भएको छ । लकडाउन न त लागू छ न त यो रोग निदान नै हो । अब त यो समाजमा समस्याको रुपमा मात्रै छ । यसको मोडेल फेर्न जरुरी छ । यसरी लकडाउनको घोषणा गरिदिएर सबै ठिक छ भन्ने र जाँचको दायरा घटाएर बिरामी कम भएका छन् भन्ने प्रचारले कुनै समस्या समाधान हुँदैन ।