बजारमा फोहर व्यवस्थापन :घोराहीमा खरिद, तुलसीपुरमा कूलामा

  •   
  •  

अमरराज÷बालाराम

दाङ, १ साउन । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा २१ हजार ७ सय २४ रूपैयाँको फोहर नगरबासीबाट खरिद गरिरहेको अवस्थामा आर्थिक वर्षको अन्तिम दिन असार मसान्तमा तुलसीपुर उपमहानगरपालिकाले भने किसानका खेतमा असरल्ल फोहर उठाइरहेको थियो ।

घोराही उपमहानगरपालिकाले फोहरको पुनः प्रयोगका लागि नगरबासीलाई आग्रह गर्दै फोहर खरिद गर्न थालेको छ भने तुलसीपुर उपमहानगरपालिकामा नगरबासीले निकै हारगुहार गरेपछि मात्रै उपमहानगरपालिकाको सरसफाई शाखाले नगरबासीको खेतबारीमा पुगेर फोहर उठाउने गर्दै आएको छ ।

‘कटाहाबाट स्थानीय गणेश बस्नेतले खेतभरि फोहर थुपारिएकोले लिन आउन आग्रह गरेपछि बजारमा फोहर उठाउन एक दिन थाँती राखेर टेक्टर सहित फोहर संकलन गर्न विहीवार बिहानै कटाहा पुग्यौँ’—तुलसीपुर उपमहानगरपालिकाका सरसफाई शाखाका खेमकान्त पाण्डेले गोरक्षलाई भने । त्यसो त सरसफाई शाखाले अघिल्लो दिन पनि राइखल्यानमा पुगेर स्काभेटरबाटै फोहर उठाएको थियो ।

पाण्डे भन्छन्, ‘खासगरी बसपार्कको पशुबधशाला तथा निजी मेडिकलहरूबाट उत्पादित फोहरहरू कूलामा बगाइदिँदा फोहर किसानका खेतबारीमा जाने गरेको हो ।’ बरुवागाउँ कुलो र गौरीगाउँ कुलो दुवैमा यसरी नै नगरबासीले फोहर बगाइदिने प्रवृत्तिले वर्षेनी यो समस्या खेप्दै आएको उनको अभिव्यक्ति थियो ।

‘अस्पताल तथा स्वास्थ्य संस्थाबाट सिरिन्जजन्य फोहर कुलोमा फाल्न बन्द गरिए पनि प्लास्टिकजन्य तथा अन्य फोहर भने अझै पनि पातुखोला तथा कुलोमा बगाउने गरिएको छ’—पाण्डेले भने ‘अझै पनि फोहर व्यवस्थापनमा पर्याप्त सचेतना हुनसकेको छैन ।’ खोला तथा कुलो क्षेत्रमा दैनिक रूपमा थुप्रै फोहर संकलन हुने भए पनि वर्षातको समयमा फोहर थुपार्ने स्थानमा नगन्य मात्र फोहर हुने गरेको उनको अभिव्यक्ति थियो । सबै फोहर नजिकैको कुलामा फ्याँक्ने गरेकाले नियमित रूपमा थुपार्ने स्थानमा फोहरको कमी भएको हो ।

उता घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षबाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद गर्ने कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा २१ हजार ७ सय २४ रूपैयाँको फोहर खरिद गरिएको घोराही उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरेको थियो । बजेट भए पनि सबै रकमको फोहर खरिद गर्न नसकिएको उनको भनाइ छ ।

नगरवासीले फोहर जम्मा गरेर राख्ने नगरेको उनले बताए । ‘फोहर जम्मा गरेर नराखेर गाडीमा हालिदिने गर्नुभएको छ’ उनले भने । यसको बारेमा जनचेतना जगाउन आवश्यक रहेको अधिकारी बताउँछन् । टोल–टोलसम्म सचेतना पु¥याउनुपर्ने उनी बताउँछन् । यस वर्ष घोराहीको बसपार्क, दह तथा रामपुर क्षेत्रमाबाट फोहर खरिद गरिएको अधिकारी बताउँछन् । उपमहानगरपालिकाले गत बैशाख महिनादेखि फोहर खरिद सुरु गरेको हो । कोभिड–१९ को कारण पनि केही समस्या भएको उनले बताए । फोहरलाई मोहर बनाउने अभियान अन्तर्गत फोहर वस्तु खरिद गर्न सुरु गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले प्लास्टिकको बोत्तल सहित नरम पोलेथिन एक किलोलाई १० रूपैयाँ, कपडा प्रतिकेजी ५ रूपैयाँ, सुर्तीजन्य प्लास्टिको फोहर प्रति केजी २ रूपैयाँ, गत्ता, कार्पी सहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रूपैयाँप्रति किलोमा खरिद गर्ने गरिएको छ । यसरी खरिद गरिएको गल्ने फोहरलाई ल्याण्ड फिल साइटमा रहेको बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहलाई उद्योगहरूसँग समन्वय गरेर विक्री गरिने बताइएको छ ।

नगल्ने फोहरहरू विशेष गरी प्लास्टिक र सीसाका वस्तुहरू उद्योगमा पठाइने छ । उपमहानगरले फोहर खरिद गरिदिएपछि फोहर व्यववस्थापनमा समेत सहयोग मिल्ने अपेक्षा लिइएको छ भने नगरवासीले आफैले फोहर व्यवस्थापन गरेमा सरसफाईको लागि तिर्दै आएको शुल्क पनि घट्ने सरसफाई शाखा प्रमुख अधिकारीले भने । दैनिक रूपमा फोहर उठाउन जानु परेन भने सरसफाई शुल्क पनि कम हुने उपमहानगरपालिकाको भनाइ छ