सामथ्र्यवाला जगतपाल

  •   
  •  

युवराज शर्मा

महाभारत लेकमा पुर्खौँदेखि रामलाल बस्दै आएका थिए । त्यो पुरानो समयमा त्यहाँ पढ्ने वातावरण थिएन । ब्राह्मण भएकै कारण उनका पिता श्यामलालले यिनलार्य घरैमा सामान्य पठनपाठन गराएका थिए । पछि रामलाल भारत गएर केही कर्मकाण्डहरु सिकेका थिए । रामलालको गाउँको नम रामपुर थियो । आफ्नो गाउँको वरपर कर्मकाण्ड गराउने मानिस पाइँदैनथे । अलि–अलि तिनै रामलालले कर्मकाड गराउने गर्थे ।

आफ्नो जग्गाजमिन थोरै भए पनि कर्मकाण्डले गर्दा थोरबहुत आम्दानी हुने गथ्र्यो । त्यै आम्दानीका भरमा गुजारा चलेको थियो । रामलालको एउटा छोरा थियो । उसको नाम जगत थियो । जगतलाई घरमै पढाएर व्यवहार चलाउनसक्ने रामलालले गराए । जगतको पढ्ने चाहना भएकोले भारतको वनारस गएर कर्मकाण्ड सिके अनि फर्केर घर आए । जगत कर्मकाण्ड पढेर सिपालु भएर आएका छन् भन्ने हल्ला चारैतिर फैलियो । २÷४ ठाउँमा कर्मकाड गराउँदा कथा वाचन गर्दा त्यहाँका मानिसहरु ज्यादै प्रभावित भए ।

पहाड्मा त्यो समयमा पढेका कर्मकाण्डका साथै पुराण पनि वाचन गर्नसक्ने व्यक्ति त्यो क्षेत्रमा जगतपाल मात्र थिए । साथै उनी चतुर पनि थिए । जनैपूर्णिमाका दिन सबै यजमानका घर रक्षाबन्धन बाँध्न जानुपर्ने हो तर धेरै यजमान भएकाले सबैका घर एकै दिन जान वा भ्याउन सकिँदैनथ्यो । त्यसैले जगतपालले सबै यजमानहरुलाई बोलाएर भने – जनैपूर्णिमाको पूजेको धाको सबैका घरमा गएर रक्षाबन्धन बाँधिदिन मैले भ्याउँदिन । यो पुजेको महिना दिनसम्म जहिले बाँधे पनि हुन्छ । त्यसैले म आफै समय मिलाएर आएर बाँधिदिउँला । सबै यजमानले यो कुरा स्वीकार गरे ।

आफ्नो अनुकूलले जगतपाल डोरा बाँध्न जान्थे । यजमानसँग दक्षिणा र सिधा पनि लिने गर्थे । नगद गोजामा हाल्थे । सिधा गाउँभरिको संकलन गराएर गाउँलेलाई बोकाएर घर ल्याउँथे । सिधा बोक्नेको पालो मिलाएका थिए । गाउँको सिरानबाट सुरु गरेर पुच्छारसम्मका व्यक्तिको पालो लाग्ने गथ्र्यो । केही समयपछि पिता रामलालले जगतपालको विवाह गरिदिए । चार वर्षपछि रामलालकी पत्नी जगतपालकी आमाको स्वर्गारोहण भयो । रामलालको घरमा ठूलो विघ्न बाधा प¥यो । यो परिवारको विचल्ली भयो ।

रामलाललाई के गरुँ कसो गरुँ भयो । आफैले खुलेर विवाह गर्छु भन्न सकेनन् । चाहनालाई त्यसै मनमा दबाइराखे । बरखी सकिएपछि गाउँघरका बूढापाका र इष्टमित्रहरुले पनि भने अझै जीवन बाँकी छ, एक्लो जीवन चल्दैन विवाह गर । खै के विवाह गर्ने हो ? कहिलेकाहीँ त दिक्क लाग्छ । बूढाहरुले भने सधैँ एकनास हुँदैन । जोडा चाहिन्छ, केही नभए पनि गफगाफ गर्नुपर्छ, श्रीमती भए तातो, न्यानोको ख्याल बढी गर्छन् । भनेको मान पछि पछुताउने पनि हुनसक्छ । बूढापाका गाउँलेहरुको कुरा रामलाललाई ठिकै लाग्यो ।

रामलालले जातमिल्दी कन्या रीतालाई विवाह गरे । पहिले त राम्रैसँग दिन बिते । गृहस्थी चलेकै थियो । केही समयपछि रीताले पछिबाट आए पनि म त सासू हुँ भनेर व्यवहार गर्न थालिन् । जगतपालकी श्रीमतीले म त यो घरमा पहिले आएकी हुँ, यो परिवारको विषयमा मलाई बढी थाहा छ भन्न थालिन् । रीताले रामलाललाई भए नभएका कुरा लाउन थालिन् । क्रमशः रामलालले पनि सौतेलो बुबाको जस्तो व्यवहार सुरु गरे । परिवारमा फाटो प¥यो । यस्तै मौकामा जगतकी पत्नी सीतालाई माइतीले बोलाए । सीता सल्लाहले माइत गइन् । दुई दिनपछि जगतपाल बिरामी भए । ज्वरो आयो । रामलाल र रीताले केही मतलव गरेनन् । पारि लेकको गाउँमा पूजा थियो । निमन्त्रणा आयो ।

आम्दानीको अवसर गुमाउनु पनि भएन । यही वहानामा रामलाल र रीता उतै गए । दुई तीन दिन उतै पूजाको कम सकेर फर्किए । विभिन्न वहाना झिकेर जगतपालसँग रिसाए । घरको कामकाज केही गर्नु छैन, यस्ता छोरा हुनुभन्दा नहुनु राम्रो भन्न थाले । जगतले बिरामए भए, ज्वरो आयो, औषधी कविराजले दिएको खाँदै छु भन्दा पनि मानेनन् । यो सबै काम ठग्ने वहाना हो भने । जगतलाई पनि रिस उठ्यो । अब म यहाँ बस्दैन भने । रामलालले जहाँ जान्छस जा भनेर दम्काए । जगतले श्रीमती सीतालाई बोलाई पठाए । कोठाको सामान ठिकठाक पारे, यजमानहरुले नजानुस् भनेर आग्रह गरे तर लागेन ।

जगतपाल र सीता आफ्नो सामान बोकेर मधेस झरे । उता रामलाल र रीता कुचोले बढार्ने कसिंगर, हावाले लग्यो भनेर खुसी भए । मधेसको सुन्दरपुरमा जगत बसे । त्यो क्षेत्रमा कर्मकाण्ड गराउने ब्राह्मणको कमी रहेछ । टाढाबाट ब्राह्मण ल्याएर कर्मकाण्ड गराउनुपर्दोरहेछ । त्यसैले त्यहाँका मनिसले जगतको गुणलाई देखे । विद्वान् ब्राह्मण आएका छन्, अब हामीलाई सजिलो हुने भयो भन्न थाले । जगतपाल पनि कर्मकाण्डका साथसाथै सप्ताह पुराण भन्ने सामथ्र्य राख्थे । जगतलाई पनि दिन दुगुणा रात चौगुणा फाइदा हुँदै गयो । समाजमा प्रतिष्ठा पनि बढ्दै गयो ।

जग्गा जमिन किन्दै आफ्नो हैसियत बढाउँदै गए । केही समयको अन्तरालपछि पहाडका केही जगतपालका यजमानहरु सुन्दरपुरको आसपासमा जग्गा किनेर बसे । उनीहरुले जगतलाई पहाडमा आफ्नो अंश लिन जानुस् भने तर जगतले म जाँदैन यहीँ पुगिराखेको छ भने । यसरी आफ्नै बलबुँतामा जगतपालले आरामका साथ प्रतिष्ठा आर्जन गर्दै धनसम्पत्ति कमाउँदै बालबच्चा पढाएर बसे । उता रामलालकी कान्छी श्रीमतीबाट ५ काइ छोराहरु भए । खाने मुख धेरै भए । आम्दानीको स्रोत भएन । त्यसैले सबैले पढ्न पनि सकेनन् । त्यही पैतृक सम्पत्ति बाँडेर मुस्किलले आफ्नो गुजारा गर्दै दिन बिताए ।

आकासमा कालो बादल लागेको थियो । चराहरु पनि आफ्ना गुँडमा फर्किसकेका थिए । रामलाल केही समयदेखि बिरामी थिए । साँझको बेला रामलालको मृत्यु भयो । गाउँले र यजमानहरुले दुःख व्यक्त गरे । जगतपाल पिताको मृत्युको खबर पाएर आए । क्रियाक्रम गरे । सबै भाइहरुसँग यही मौकामा राम्रो चिनाजानी पनि भयो । यही चिनाजानीको कारणले भाइहरु जगतका घर सुन्दरपुरमा आउँथे । हामीलाई पनि यतै ल्याउनुहोस् दाइ भन्थे । तर त्यो समयमा मधेसमा महँगी बढिसकेको थियो । पहाडको जमिन बेच्दा आउने रकमले मधेसमा जमिन किन्दा ज्यादै थोरै आउँथ्यो ।

यसबाट गुजारा गर्न सकिँदैनथ्यो । के गर्ने आ–आफ्नो भोगभागको कुरा हो । कर्मकाण्ड गराउन र सप्ताह पुराण समेत बाँच्न सक्ने क्षमता भएका जगतपाल पहाडको घरबाट केही नल्याएर मधेसके सुन्दरपुरमा आफ्नै सीप र क्षमताले धनसम्पत्तिका साथ मान, प्रतिष्ठा पनि आर्जन गर्न सफल भए । सुन्दरपुरको आसपासका सबैले जगतलाई गुरु भनेर आदरसम्मान गर्दथे । रामलालका कान्छीपट्टिका छोराहरु भने छुट्टीभिन्न हुँदै गए ।पढ्न सकेनन् । पाएको अंश बेच्दै खाँदै गरे ।

रामलालले आफ्नो अन्तिम दिनमा मैले जगतप्रति अन्याय गरेकै हुँ भनेर स्वीकारे । के गर्ने त्यो बेला त्यस्तै बुद्धि आयो । अहिले पछुताएर के गर्ने भन्दै थिए । संयोगको कुरा जगतका एक पुत्र एक पुत्री भए । दुवैलाई जगतले पढाए, लेखाए । आफ्नै बलबुतामा बाँच्नसक्ने गराए । छोराछोरीलाई जागिर लगाए । छोरी पूर्णिमा जागिरे केटासँग विवाह गरिदिए । छोरीज्वाइँको व्यवहार देखेर जगतपाल सन्तोषमा छन् । मधेसको सहरमा जगतले राम्रो घर किनेका छन् । यसैले उनले जीवनमा पूर्णताको अनुभव गरेका छन् । आउँदो साल छोरा कमलको विवाह गरिदिने सोचमा छन् । हेरोँ कस्तो हून्छ ।