Goraksha

National Daily

भ्रष्ट चरित्र समाजको लागि कलंक

नारायणप्रसाद श्रेष्ठ

अहिले समाजमा विद्यमान परिस्थिति र परिवेशले ल्याएको परिवर्तनसँगै मानवीय चिन्तन र सोचमा व्यापक परिवर्तन भइरहेको छ । भ्रष्ट र अनैतिक चरित्रको चर्चा–परिचर्चा जताततै छ । राजनीतिक क्षेत्रलगायत प्रशासनिक निकायमा व्यापक भ्रष्टाचार भइरहेको सामाजिक सञ्जालमा छताछुल्ल भएर आएको छ । आचरण र नैतिकताको बारेमा विभिन्न तर्क–कुतर्क भइरहेका छन् ।

गरिमामय सदनलगायत प्रशासनिक निकाय, विभिन्न संवैधानिक निकायमासमेत नैतिकताको खडेरी परेको कुरा प्रशस्त बाहिर आइरहेको छ । कोही भन्छन् विगतमा भए–गरेका कुरालाई छोडेर नयाँ चिराबाट जानुपर्दछ, त्यसलाई वर्तमानमा जोडेर जाँदा परिस्थिति नाजुक बन्न सक्छ । तर कोही भन्छन्, एकपटक नैतिक पतन भएको व्यक्ति पुनः इमान्दार बन्न सक्दैन । कोही भन्छन्– भ्रष्ट र नैतिक पतन भएका व्यक्तिले नै अरुलाई भ्रष्ट र नैतिकहीन ठान्दछन् । जो चोर उसैको ठूलो स्वर भनेझैँ भ्रष्ट र चरित्रहीन व्यक्तिले नै गलत दृष्टिकोण बढाउँछ ।

अनावश्यक अफवाह फैलाउँछ । यसरी भ्रष्ट र चरित्रहीन कार्यलाई विविध किसिमले व्याख्या गर्दै हेराई र दृष्टिकोणमा फरकपन भई भ्रष्टाचार भएको र नैतिकताको बारे विभिन्न कुरा उठेको अवस्था भइरहेको छ । सामाजिक कलंकको रुपमा देखापरेको भ्रष्ट र नैतिकहीन चरित्रलाई विभिन्न बहानामा साधु, चोर, फटाहा, इमान्दारको उपमा दिई जुठ्याउने, चोख्याउने कार्य भइरहेको छ । एकपटक चरित्र बिग्रिसकेपछि पुनः धोई–पखाली चरित्रवान् बनाउने संस्कारको विकास हाम्रो सामाजिक परिवेशमा भइरहेको छ । वास्तवमा यसले भावी पिढीलाई कस्तो आदर्श सिकाउन खोजेको हो ? यो वर्तमानको चुनौती समाजमा छताछुल्ल हुन थालेको छ ।

हिजोसम्म हाम्रो सामाजिक संस्कारभित्र आचरणहीन र भ्रष्ट व्यक्तिलाई अपराधीको संज्ञा दिई हदैसम्मको सजाय हुने गरेको थियो । भ्रष्टाचार गर्नु महापाप हो भन्ने अर्थ लगाई अधर्मी र पापीको उपमा दिई यस्तालाई सामाजिक बहिष्कार गरिन्थ्यो । तर वर्तमान त्यस्तो छैन । अहिले सामाजिक अपराधलाई चोख्याई उनीहरुको संरक्षण गर्नेतर्फ कानुनलाई पालन गर्नुपर्ने स्वयंले संरक्षण गरेको अवस्था छ । भ्रष्टाचार दण्डहीन कार्य हो, यसले सामाजिक पर्यावरणमा धमिलो परिस्थिति जन्माउँछ भन्ने थाहा हुँदाहुँदै पनि वर्तमान संरचनाभित्र दण्डहीनताको कारण सामाजिक बनोटमा नकारात्मक असर पु¥याइरहेको स्थिति छ ।

अहिले भ्रष्ट र आचरणहीन मानसिकताले आर्जन गरेको सम्पत्ति र त्यस सम्पत्तिको माध्यमबाट खरिद गरिएका (पाल्तु) आचरणले भ्रष्टलाई नै बढी प्रश्रय दिइरहेको स्थिति छ । धन–सम्पत्ति नै नैतिकता जाँच्ने कसी बनेको छ । उसले सम्पत्ति कसरी आर्जन ग¥यो ? रातारात ऊ कसरी धन बन्न सफल भयो ? त्यतातपट्टि बढी ध्यान केन्द्रित गर्नुको साटो त्यही सम्पत्तिमा हिस्सेदार बन्दै पानीमाथि ओभानो हुन खोजिँदैछ । अपराध गर्नु निन्दनीय कार्य हो, अपराध गरेर माफी माग्नुभन्दा अपराधै नगर्ने हिजोको सामाजिक मान्यतालाई वर्तमानले चुनौती दिँदै विश्वास र इमान्दारितालाई कमजोर मानसिकता ठान्ने प्रवृत्ति वर्तमानमा बढेको छ ।

अपराधीलाई क्षमा र प्रोत्साहन दिँदै विश्वासलाई कागजको पानाभित्र सीमित गरिँदैछ । अनुशासित र मर्यादित जीवनपद्धतिले स्वीकार गरेको इमान्दारितालाई रकममा सटही गरी आदर्श चरित्रलाई भ्रष्टउन्मुख बनाइँदैछ । समाजलाई आदर्शउन्मुख गति दिई एकअर्काबीच आपसी विश्वास र इमान्दारिता बढाउनु हाम्रो संस्कारगत मान्यता हो । न्याय, अन्याय, धर्म र पापजस्ता कुराहरुलाई सामाजिक संस्कारभित्र परिभाषित गरी गतिशील भएको हाम्रो समाज (जहाँ स्वच्छ र स्वतन्त्र न्यायपालिका छ, विश्व रंगमञ्चमा नेपालीको इमान्दारीपनप्रति भरोसा छ) यस्तो हाम्रो सामाजिक सुसंस्कृतिले सुसज्जित समाजमा नैतिक पतन हुने कार्य किमार्थ स्वीकारयोग्य होइन ।

कसैले कसैमाथि अन्याय गर्नुहुँदैन, गरे–गराएमा उसको आचरण राम्रो मानिँदैन । यो सामाजिक कलंक हो भनी स्थापित संस्कार र मान्यतामा वर्तमानको अपरिपक्व तथा गतिछाडा निर्णयका कारण समाजमा बढ्दै गरेको विकृति कति जायज ? अरुलाई ढाँट्नु, छल्नु, ठग्नु हुँदैन भनी विकसित हुँदै आएको परम्परागत मान्यतामा आँच आउने कर्म कति सुहाउने विषय हो ? सामाजिक अपराधलाई ढाकछोप गरी थाहा नपाएजस्तो गरी माफी र क्षमा दिँदै जाने हो भने अपराध प्रवृत्तिले प्रश्रय पाउला–नपाउला ? म र मेरो जिम्मेवारी के हो भन्ने नबुझी स्वच्छ र पवित्र विचारलाई रकमले सुक्री–बिक्री गर्ने परम्परा के हाम्रो समाजका लागि सुहाउने विषय हो ? विचार र भावनामा दाग लगाउनु कति उचित ? तसर्थ वर्तमानले देखाएको परिस्थितिलाई मूल्यांकन गरी आचरणहीन कार्य कसैले गर्नु–गराउनु हुँदैन ।

विश्वास र इमान्दारिताको कसौटीमा माझिएर निखारिएको मानिस स्वच्छ र पवित्र विचारको हुन्छ । स्वच्छ र पारदर्शी आचरण र चरित्रले नै मानिस महान बन्न सक्छ । निखारिएको स्वच्छ र पवित्र आचरणबाट सुशोभित व्यक्तित्वबाट नै समाज डोरिँदै जाने, समृद्धि हुँदै जाने हुँदा यसतर्फ गम्भीररुपले सबैको ध्यान केन्द्रित हुनुपर्दछ । मानिसको मन, वचन र कर्मबाट नै उसको विद्धताको परिचय हुने हुँदा जसले सही र अस्पष्टरुपले पारदर्शी ढंगबाट आफ्नो आचरण र व्यवहारलाई परिस्कृत गर्न सक्षम हुन्छ, ऊ नै बुद्धिमान कहलाउने हुँदा यस्ता व्यक्तिबाट गतिशील रहने समाज निश्चय नै स्वच्छ र समुन्नत बन्न सक्छ । तर यत्ति कुरा जानकारी हुँदाहुँदै पनि मानिस पुनः आफ्नै निहीत स्वार्थमा आफूलाई लगाइरहेको छ ।

समाजले पचाउन नसक्ने कुनै पनि कार्य वा अरुलाई पीडाबोध हुने कुनै पनि कार्य जसले अरुको मान–मर्यादा र आचरणमा धक्का पु¥याउने कार्य हुन्छ, न्याय के हो ? अन्याय के हो ? त्यो छुट्याउन नसकी एकतर्फी चिन्तन गर्ने कार्य अथवा कुनै पनि कार्य गर्दा वा गराउँदा रिसवत दिने कार्य हुनु वास्तवमा यी सबै अनैतिक र भ्रष्ट कार्य हुन् । यस्तो किसिमको कार्य गर्ने वा छलकपट गर्ने, झुठको सहारा लिएर एकले अर्कालाई ठग्ने प्रवृत्ति भनेकै भ्रष्ट आचरण हो । कुरा ठूला गर्ने तर उत्तराधिकारी स्वयंलाई व्यभिचारी र अनैतिक कार्यमा लगाउने प्रवृत्ति महाअपराध मानिन्छ ।

यस्तो अवस्थामा असल शासन र स्वच्छ आचरण प्रतिबिम्ब हुनै सक्दैन । यस्तो जवर्जस्ती स्थापित मान्यता र संस्कार सामाजिक कलंक मानिन्छ । तसर्थ भ्रष्ट आचरणले समाजलाई पु¥याउने क्षतिको आँकलन गरी मानिसले आफूलाई अगुवा बनाउनुपर्दछ । आफू भलो त सबै भलो भनी आफू निष्कलंकित भएर प्रस्तुत हुनुपर्दछ । अहिले एकथरि मानिस अरु कसैलाई विश्वास गर्दैनन् । अर्कोथरि मानिस आफूप्रति विश्वास गर्दैनन्, अरुको लहलहैमा लाग्दछन् । तेस्रोथरि मानिस न आफू गर्छन् नत अरुलाई नै गर्न दिन्छन् । कोही मानिस आफू र सबैलाई विश्वास गर्छन् ।

उनीहरुको तर्कमा विश्वास र इमान्दारिता नै जीवनको उत्कृष्ट चरित्र हो भनी मान्दछन् तर केही मानिस भने आफूले गरेको काममा सबैले विश्वास गरुन् तर मैले अरुको विश्वास आफूअनुकूल गर्न पाउनुपर्छ, यसरी आफ्नो आचरण र व्यवहार गरिरहेको अवस्था छ । सामाजिक मूल्य र मान्यतामा स्थापित भएर आउने संस्कारमा यदि यस्तै आचरण र व्यवहारमा विविधता र गतिछाडा देखिनु, सबै अझै आफ्नै स्वार्थमा लुटपुटिनु तथा स्वार्थकेन्द्रित आचरणले प्रश्रय पाउँदै जाने परिस्थिति बढ्दै जाने हो भने कालान्तरमा सामाजिक बनोट कस्तो हुने हो ? गम्भीर प्रश्न उठेको छ ।

त्यसैले सामाजिक कसिंगरको रुपमा देखापर्ने अनैतिक कार्यबाट नै सामाजिक अपराध बढ्ने र भ्रष्टाचार मौलाउने हुनसक्छ भन्ने यथार्थलाई पहिचान गरी त्याग र समर्पणमा हुने आदर्श समाज र जीवनपद्धति निर्माण गर्न हरेक व्यक्तिले आफूलाई समर्पित गर्नुपरेको छ । कुनै पनि गलत कार्य हुन नदिन र अनुशासित र मर्यादित जीवनशैली बनाउन प्रत्येकले आफूलाई सच्याउनुपर्दछ ।

समाज र राष्ट्र हामी र हाम्रै लागि हाम्रै पौरख र पसिनाले निर्माण भएका हुन् । अब पनि हामीबाटै समाज र राष्ट्र समृद्ध बन्न सक्छ । तसर्थ नयाँ पिढीलाई नयाँ संस्कृतिको नाममा कुसंस्कृतितर्फ नधकेली प्रत्येक व्यक्ति आफू जिम्मेवार हुनुपर्दछ । अनुशासित र मर्यादाहीन कार्य गर्ने–गराउने अरु केही होइनन् भनी तुच्छ सम्झने चरित्र भनेको भ्रष्टाचार मौलाउन गरिने गलत चरित्र हुन् । यस्ता व्यक्तिले जुनसुकै बेला समाजलाई दुषित बनाउन सक्दछ ।

त्यसैले गतिशील समाजलाई आदर्शोन्मुख गराउने कुनै पनि कार्य सुरु गर्नुपूर्व यसले निम्त्याउने परिस्थितिको गाम्भीर्यतालाई बुझी सही र स्पष्ट दिशा–निर्देश गर्न सक्ने क्षमतालाई प्रोत्साहन दिई अनुशासित र मर्यादित आचरण गर्न सबैले आफूलाई संकलित गर्नुपर्दछ । भ्रष्ट चरित्र समाज, राष्ट्रको कलंक हो । त्यस्तो कार्यलाई इतिहासले कहिल्यै माफी गर्दैन । वर्तमान यही खोजिरहेछ ।