कुनै कक्षा उत्तीर्ण गरेको प्रमाण पत्र थिएन त्यो, तेह्र बर्षको निरन्तर लगानीपछि तेह्रौ महाधिवेशनमा पाएको राजनीतिक प्रमाणपत्र । स्कुलको कक्षा उत्तीर्ण गर्नुभन्दा निकै बढी लगानी लागेको थियो, मलाई त्यो प्रमाणपत्र लिन । प्रमाणपत्रको नाम लेखिदिनुहोला नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रमाणपत्र । रगतमै राजनीति मिसिएको हामीजस्ता युवालाई पार्टीले सम्मान गरेर दिएको त्यो सर्टिफिकेट मेरो खुसी हो ।
नेपाली कांग्रेसको राजनीतिमा निरन्तर लागेको तेह्र बर्षपछि मात्रै मैले त्यो सदस्यता पाएको थिएँ । जुन प्रमाणपत्रलाइ‘ मैले अझै पनि जतनसाथ राखेको छु । एसएलसी, आइए र बीएका सर्टिफिकेटभन्दा पनि त्यो प्रमाणपत्र मसँग अझै सुरक्षित छ । त्यो सदस्यता पाइरहँदा मैले महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा पढ्थेँ । नेविसंघको राजनीतिमा हामी जोडिइसकेका थियौं । सर्टिफिकेट पाएलगत्तै हाम्रो क्याम्पसअघिकै चमेनाघरमा चियापार्टी समेत भएको थियो । तात्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । त्यो गहन प्रमाणपत्रलाई मैले स्तरोन्नति गर्दै लैजाने प्रण गरेको छु ।
मेरो अविस्मरणीय खुसी लेखिदिनुहोला नेपाली कांग्रेसको क्रियाशील सदस्यता । यो प्रमाणपत्रले मेरो साथीभाइहरुसँगको समिप्यता पनि निकै बढायो । हामीहरु धेरै रात त साथीभाई छुट्नुहँुदैन भनेर क्याम्पसमै बिताएका थियौं । विहान सर आएर कक्षाकोठामै हामीलाई व्युझाउनुहुन्थ्यो । हो, महेन्द्र बहुमुखी क्याम्पसको त्यो अनिदो रात पनि मेरो खुसी हो, अविस्मरणीय अनुभूति हो । जसले हामीलाई राजनीतिक रुपमा तिखारेको छ ।
त्यसो त हामी राजनीतिसँगै समाजसेवामा पनि जोडियौं । पछिल्लो घटनाक्रम मैले तपाईलाई स्मरण गराउन चाहन्छु । अर्थात कोभिड अस्पतालका विरामीलाई पोषिलो खाना । अस्पतालमा उपलब्ध हुने खानाले बिरामी सन्तुष्ट हुन्थेन भन्ने हामीलाई जानकारी पनि आइरहेको थियो । पोषिलो खानाले नै कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने पनि विश्वास हामीलाई थियो । साथीभाइहरुको सञ्जाल र चिकित्सकहरुको सल्लाहमा हामीले बेलझुण्डीको कोरोना विशेष अस्पताल र लमहीको कोरोना अस्पतालमा भर्ना भएका बिरामीहरुका लागि विहानको नास्ताको प्रबन्ध मिलायौं ।
अण्डा चना र पानी… । हो, बिरामीहरुलाई खुवाएको त्यो नास्ता पनि मेरो खुसी हो । अहिले पनि कोरोना संक्रमित भनेपछि मानिसहरु डराउने अवस्था छ । साँच्चिकै कोरोना फैलिएको समयमा कत्तिको डर थियो त्यो भन्न पर्दैन । कोरोना संक्रमित बढ्दै गएपछि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको थियो । जसका कारण सम्पूर्ण क्षेत्र बन्द थियो । मानिसहरु बाहिर हिँड्न सक्ने अवस्था थिएन ।
कोरोना संक्रमितका कारण अस्पतालहरु बिरामीले भरिभराउ थिए । अस्पतालले समेत बिरामीहरु राख्ने ठाउँ छैन भनिरहेको अवस्था थियो । त्यो अवस्थामा बिरामीको उपचारसँगै उनीहरुको शरीरमा पौष्टिक आहार बढाउने खानाको आवश्यकता थियो । त्यही अवस्थामा घोराहीका केही युवाहरु मिलेर कोरोना संक्रमितका लागि पौष्टिक आहार खुवाउन अभियान सुरु गरे । त्यो राहतले बिरामीहरुलाई ठूलो सहयोग गरेको थियो ।
त्यही अभियानका मध्यका एक युवा हुन्, कुलराज पोख्रेल । उनै पोख्रेललाई गोरक्ष दैनिकको साप्ताहिक खुशी स्तम्भका लागि खुशीका पलहरु साट्न आग्रह गर्दा पोख्रेलले संकटको समयमा बिरामीलाई खाना खुवाएर सेवा गर्दाको क्षण नै आफ्नो जीवनको पहिलो खुशीको क्षणका रुपमा लिए । ‘काम सानो भए पनि अप्ठेरो समयमा गरेको काम महत्वपूर्ण हुने रहेछ, अस्पतालमा खानासमेत नपाइरहेका अवस्थामा हाम्रो सानो सहयोगले धेरै बिरामीलाई राहत पुगेको थियो’, पोख्रेलले भने– ‘जसको अनुभूति हामीले हरेक दिन अस्पतालहरुमा पौष्टिक आहारका रुपमा अण्डा, चना र शुद्ध पानी लगेर पुग्दा अनुभव गरेका थियौँ ।’
३९ दिनसम्म चलेको अभियानका क्रममा समूहले कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर लमही र घोराही उपमहानगरपालिकाको होमआइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई समेत पौष्टिक आहार खुवाउने काम गरेका थिए । पोख्रेल सामाजिक सेवासँगै नेपाल विद्यार्थी संघका माध्यमबाट विद्यार्थी राजनीतिमा समेत सक्रिय युवा हुन् । उनी नेपाल विद्यार्थी संघको महेन्द्र बहुमुखी क्याम्पसको इकाई सचिवसमेत हुन् । पोख्रेल इकाई सचिव हुँदै गर्दा बन्द हड्तालका कारण शिक्षा क्षेत्र ग्रस्त थियो । त्यसको मारमा विद्यार्थीहरु परिरहेका थिए ।
विद्यालयलाई शान्ति क्षेत्र बन्द–हड्ताल गर्न पाइँदैन भन्ने तर व्यवहारमा सधै बन्द हुने अवस्था आएपछि हामीहरुले महेन्द्र क्याम्पसलाई बन्द निषेधित क्षेत्र घोषणा गरेका थियौ । राजनीतिसँगै पोख्रेल सामाजिक सेवाको कार्यमा समेत लाग्ने गरेका छन् । उनले यसक्रममा दाङमा लागूऔषध दुव्यर्सनीका विरुद्धमा समेत सचेतना अभियान चलाउने काम गरेका थिए । दाङ सोसाइटी क्लवका माध्यमबाट पोख्रेलले घोराहीमा प्रहरीसँग मिलेर लागूऔषध दुव्यर्सनीमा फसेका युवाहरुलाई सचेतनामूलक कार्यक्रमहरु गर्ने काम गरेका थिए । त्यो अभियानमा पोख्रेललाई क्लवमा लागेका युवाको साथ र सहयोग दिएका थिए । ‘त्यो समय धेरै मानिसहरु लागूऔषध दुव्यर्सनीमा फस्ने गरेका थिए ।
त्यसमा पनि भर्खरका स्कुलमा अध्ययनरत बालबालिकाहरुसमेत दुव्यर्सनीमा फस्ने गरेका थिए’, उनले भने– ‘दुव्यवर्सनीबाट बचाउनका लागि सचेतना अभियान आवश्यक थियो । त्यसका लागि हामीले क्लवबाट निर्णय गरेर प्रहरीसँग मिलेर घोराहीका विभिन्न ठाउँहरुमा सचेतनामूलक कार्यक्रमहरु गरेका थियौँ ।’ जुन कार्यले दुव्र्यसनीविरुद्ध सचेतना फैलाउन महत्वपूर्ण काम गरेको थियो ।
त्यसैगरी पोख्रेलले आफ्नो जीवनको एउटा खुशीको क्षणका रुपमा लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी दाङ बन्नुलाई पनि लिन्छन् । प्रादेशिक राजधानी प्रदेश सरकारले घोषणा गरे पनि पोख्रेलले पनि त्यसका लागि दाङमा आन्दोलनसमेत गरेको सम्झन्छन् । विद्यार्थीहरुले दाङसहित साविक राप्तीलाई एकीकृत बनाउनुपर्छ भनेर जिल्लामा हस्ताक्षर अभियान चलाएर उक्त हस्ताक्षर तत्कालिन प्रधानमन्त्री स्व.सुशील कोइरालालाई काठमाडौँ गएर बुझाउँदाको क्षण पनि जीवको एउटा खुशीको क्षणका रुपमा रहेको पोख्रेलले बताए ।
‘हाम्रो प्रयासले मात्र दाङ राजधानी भएको होइन, सबैको प्रयासले भएको छ’, उनले भने– ‘दाङ प्रादेशिक राजधानीका लागि जिल्लामा आन्दोलनदेखि हस्ताक्षर अभियान चलाएर तत्कालीन प्रधानमन्त्रीलाई भेट्नसम्म पुगेकाले अहिले प्रदेशको राजधानी दाङ बन्दा खुशी लागेको छ ।’ सामाजिक कार्यमा सक्रिय युवा हुन्, कुलराज पोख्रेल । सानैदेखि नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा लागेका पोख्रेल विभिन्न संघसस्थामा समेत आवद्ध रहेका छन् । पोख्रेल नेपाल विद्यार्थी संघको महेन्द्र बहुमुखी क्याम्पस इकाई सचिव, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १४ को सचिव, दाङ सोसाइटी युथ क्लवको महासचिव, विपद्मा हामी युवा समूहको अर्थ संयोजकलगायतका विभिन्न संघसंस्था तथा समूहमा आवद्ध रहेर काम समेत गरेका छन् ।
२०५० मंसिर ६ गते बुबा छविलाल पोख्रेल र आमा बिष्णा पोख्रेलको माइलो सन्तानका रुपमा घोराही उपमहानगरपालिका–१४ को आनन्दपुरमा जन्मिएका पोख्रेलले २०७२ सालमा बबिता पोख्रेलसँग विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुबाट अहिले नवदीप पोख्रेल मायाको चिनोका रुपमा रहेका छन् ।
पोख्रेलले आफ्नो पहिलो सन्तानलाई पनि खुशीको क्षणका रुपमा लिने गर्छन् । २०५४–०५५ सालबाट घोराही उपमहानगरपालिका–१४ को दामोदर चोकमा रहेको बालमन्दिरबाट औपचारिक पढाई सुरु गरेका पोख्रेल अहिले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा एम.बि.एस. तेस्रो सेमेष्टरमा अध्ययनरत छन् ।
प्रस्तुती : लिलाधर वली