पहिलो प्राथमिकता ग्वारखोला हाइड्याम : आयोजना प्रमुख आचार्य

  •   
  •  

दाङ उपत्यकाको खेती हुनसक्ने ५६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याई कृषि उत्पादनमा बृद्धि गर्ने उद्देश्यले वि.सं. २०७३ साल मंसिर १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बृहत दाङ सिचाई आयोजना सञ्चालन गर्ने निर्णय भयो । तात्कालीन सिचाई मन्त्री दीपक गिरीको विशेष पहलमा आर्थिक बर्ष २०७४÷०७५ देखि स्वीकृत बार्षिक कार्यक्रमबाट बजेट प्राप्त भई कार्य सुचारु गरिरहेको छ ।

आर्थिक बर्ष २०८३÷०८४ सालसम्म रहने अनुमान गरिएको यो आयोजनाले हालसम्म जलाशय सिचाई योजना, बबई करिडोर लिफ्ट सिचाई योजना, सिचाई कुलो योजना तथा थोपा र फोहोरा सिचाई आयोजना सञ्चालन गरिरहेको छ । केही योजनाहरु सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । अब आयोजनाको पहिलो प्राथमिकता महत्वाकांक्षी ग्वारखोला हाइड्याम बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने रहेको छ ।

बृहत दाङ सिचाई आयोजनाले स्थापनाकालदेखि हालसम्म गर्दै आएका काम र भावी कार्यक्रमका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले बृहत दाङ सिचाई आयोजनाका प्रमुख डिइ राजु आचार्यसँग गरेको कुराकानीको सारसंक्षेप…

सबैभन्दा पहिले त बृहत दाङ सिचाई आयोजनाको पृष्ठभूमिका विषयमा केही बताइदिनुस् न ?

विशेषगरी ५ वटा कम्पोनेन्टमा आधारित रहेर दाङका खेतीयोग्य जमिनमा सिचाई सेवा उपलव्ध गराउनका लागि यो आयोजना सञ्चालनमा आएको हो । शारदा नदीलाई डाइभर्सन गरी दाङमा ल्याएर सिचाई सुविधा उपलब्ध गराउने, माडी डाइभर्सन गरी दाङ ल्याएर सिचाई उपलब्ध गराउने, दाङ उपत्यकाको महाभारत फेदमा पूर्व–पश्चिम नहर निर्माण गर्ने र पुराना किसान व्यवस्थित सिचाई प्रणालीको आधुनिकीकरण गर्ने (जस अन्तर्गत उरहरी–जसपुर सिचाई प्रणाली र डुरुवा नहर प्रणालीको आधुनिकीकरण गर्ने काम सुरु भइसकेको छ ।

त्यसैगरी उपत्यकाभित्रका ठूला–साना खोलाहरुबाट बाँध निर्माण गरी कृतिम जलाशय बनाएर सिचाई सुविधा उपलव्ध गराउने, बबई करिडोरमा लिप्mट सिचाई सेवा उपलब्ध गराउने तथा नयाँ प्रविधिमा आधारित रहेर पहाडी भिरालो जमिनमा मुहानको पानीबाट फोहोरा सिचाई र थोपा सिचाई प्रणालीको विकास तथा ग्वारखोला हाइड्याम बहुउद्देश्यीय परियोजना सञ्चालन गरी किसानहरुलाई सिचाई सेवा उपलव्ध गराउनका लागि यो आयोजनाको स्थापना भएको स्मरण गराउन चाहन्छु ।

यी सबै योजनाहरुमा कहीँ योजना सम्पन्न भइसकेका छन् भने कहीँ प्रिफिजिविलिट अध्ययन र कतै डिपिआरको समेत तयारी भइरहेको छ । प्राथमिकताका आधारमा अब भावी कार्यक्रमहरु सञ्चालन गर्ने योजना सिचाई विभागमा प्रस्ताव गरिसकेका छौं ।

धेरै योजनाहरुका कुरा गर्नुभो, यति ठूलो उद्देश्य लिएर सञ्चालनमा आएको यो आयोजना करिब ३ बर्ष पनि पार गरिसकेको छ । आयोजनाको अबको प्राथमिकता के हो ?

हाम्रो पहिलो र महत्वाकांक्षी प्राथमिकता भनेकै ग्वारखोला हाइड्याम बहुउद्देश्यीय परियोजना सञ्चालनमा ल्याउनु हो । त्यसका लागि सम्भाव्यता अध्ययनको काम सम्पन्न भइसकेको छ । अब आउने आर्थिक बर्षमै डिपिआर तयार हुन्छ । ५ बर्षभित्र निर्माणको काम सकिनेगरी योजना सुरु गर्ने तयारी पनि गरिरहेका छौँ । मलाई लाग्छ, यो काम सम्पन्न गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने पूर्वानुमान गरेका छौं । यो अनुमानित लागतमा केही तलमाथि हुन सक्छ । यसलाई बहुवर्षीय र बहुउद्देश्यीय योजनाका रुपमा पनि सञ्चालन गर्ने सोंच हो ।

यस परियोजनाबाट सिचाई सुविधा मात्र नभएर तुलसीपुर उपमहानगरपालिकालाई कम्तीमा १ क्युविक घनमिटर पानी उपलव्ध गराउने तथा लघु जलविद्युत योजनासमेत सञ्चालन गर्न सकिने गरी आयोजनाको निर्माण कार्य सुरु हुने अपेक्षा गरेका छौं । त्यसैगरी दोस्रो प्राथमिकता भनेको दाङ उपत्यकाभरी कम्तीमा २ सय जलाशय निर्माण गरी सिचाई सुविधा सञ्चालनमा ल्याउने पनि हाम्रो उद्देश्य हो । यो सिचाई सपना आयोजना अवधिभरमै साकार हुन्छ भन्नेमा हामीहरु विश्वस्त छौं ।

हरेक दलका नेताहरुले चुनावी भाषणमा शारदा डाइभर्सन र माडी डाइभर्सनका कुरा अझै पनि दोहो¥याइरहेका छन् नि, के यी आयोजनाहरु सम्भव छन् ?

उत्तरः मलाइ लाग्छ, यी दुवै योजना पछिल्लो समयमा नितान्त कम प्राथमिकतामा छन् । शारदा डाइभर्सन प्राविधिकरुपले सम्भव भए पनि सामाजिक रुपले सम्भव देखिँदैन । हाम्रो प्रतिवेदनले शारदा डाइभर्सन आयोजनाका लागि असम्भव जस्तै भनिसकेको छ । किनकि शारदाबाट पानी दाङमा ल्याउनु व्यावहारिकरुपमा पनि सम्भव छैन । २ सय ६४ मिटर अग्लो बाँध निर्माण गर्नु सानो कुरा होइन । यसो गरिरहँदा सयौं परिवारलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउछ, जुन राज्यले तत्काल गर्न सक्ने अवस्था पनि छैन ।

अर्को कुरा शारदा नदीमा आवश्यक रुपमा वाह्रै महिना दाङलाई समेत पुग्ने गरी पानीकै समस्या छ । प्रादेशिक अधिकारका पनि पछिल्लो समयमा कुरा उठिरहेको हुँदा हाम्रो प्रतिवेदनले शारदा डाइभर्सन योजनालाई हालका लागि असम्भव भनिसकेको छ । अनि माडी डाइभर्सनको कुरा पनि यसैमा जोड्न चाहन्छु । मलाई लाग्छ, यो पनि त्यति सहज छैन । माडीको प्रिफिजिविलिट अध्ययन प्रतिवेदन तयार भइसकेको हो । कम्तीमा ३० किमि लामो सुरुङ बनाएर माडीको पानी दाङ उपत्यकाको हापुर खोलामा झार्ने भनिएको हो ।

तर पछि हामीले माडीको जुन विन्दुबाट पानी डाइभर्सन गरेर दाङ ल्याउने भनेका थियौं, त्यहीँ विन्दुमा रोल्पा जिल्लामा जलविद्युत आयोजना सञ्चालनको पनि सम्भाव्यता अध्ययन सुरु भइसकेको छ । चीनले यसमा लगानी गर्ने गरी एउटा सम्झौता भएको पनि बुझिएको छ । यदि त्यहाँ जलविद्युत आयोजना सञ्चालन हुने भयो भने फेरि अर्को विन्दुबाट दाङमा पानी ल्याउनका लागि पुनः सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ ।

त्यसैले यो योजना पनि मलाई लाग्छ, प्राथमिकतामा जान सक्दैन । त्यसैले हामीले गर्ने भनेको ग्वारखोला हाइड्याम र तुइखोला हाइड्यामकै निर्माण हो । तुई सोतामा निर्माण हुने ड्यामबाट पनि सुख्खाग्रस्त क्षेत्र तुई दाङको सिचाई सुविधामा महत्वपूर्ण योगदान गर्ने छ भन्ने हाम्रो अपेक्षा पनि हो । त्यसैअनुरुप तुई खोलामा डिटेल इन्जिनियरिङको काम समेत सम्पन्न भइसकेको म यहाँको पत्रिकामार्फत आम पाठकहरुलाई जानकारी गराउन चाहन्छु ।

बृहत दाङ सिचाई आयोजनाअन्तर्गत हालसम्म के–कति बजेट प्राप्त भएको छ, खर्च भइरहेको छ वा अपुग भएको अवस्था छ ?

आयोजनाको सुरुको बर्षमा आवश्यक तयारी नभएर विनियोजित बजेट खर्च हुन सकेन । त्यो बर्ष सरकारले विनियोजन गरेको ४० करोड बार्षिक बजेटमध्ये १५ करोड रुपैयाँ मात्र खर्च हुन सक्यो, दोस्रो बर्ष केही कम बजेट अर्थात ७ करोड रुपैयाँ बजेट आएको थियो, सबै खर्च भयो ।

र चालु आर्थिक बर्ष ३० करोड रुपैयाँ बजेट विनियोजित भएकोमा सबै खर्च भइसकेको छ । हामीलाई जनशक्तिको अभाव होइन, कार्यक्रमका लागि पर्याप्त बजेटकै अभाव हो । सरकारले तोकेको सिलिङले यहाँको मागअनुसारका योजनालाई सम्बोधन गर्न सक्ने अवस्था छैन । यो आर्थिक बर्षमा ९१ वटा योजनामा ५० प्रतिशत पनि काम कम्प्लीट हुन सकेको अवस्था छैन । बजेट पर्याप्त भएको भए यसै आर्थिक बर्ष सबै योजना सम्पन्न हुन सक्थे ।

हालसम्म आयोजनाको कामको स्वरुप हेर्दा, आयोजना विशेष रुपमा ठोस योजना ल्याउनुपर्नेमा टुक्रे योजनामै अल्झिएको देखिन्छ नि । स्थानीय पालिकाले तथा प्रदेश सरकारले गर्न सक्ने सामान्य योजनालाई पनि संघीय परियोजनाले समेटेको देखिन्छ ?

हो, यो हामीले पनि अनुभव गरेकै विषय हो । तर माग सबैभन्दा बढी सिचाई कुलोकै आउँछ । उपभोक्ताबाट आएका योजनालाई सम्बोधन नगरिरहन पनि सकिने रहेनछ । तर आगामी आर्थिक बर्षदेखि एकीकृत सिचाई प्याकेज बनाएर सिचाई योजनाहरु सञ्चालन गर्ने छौं ।

जस्तै ग्वारखोलाको मुहानदेखि पुछारसम्मै सम्भावित सिचाई प्याकेज बनाएर एउटा एकीकृत योजना, हापुर खोलाबाट सम्भव हुने सिचाई जतिलाई समेटेर हापुर एकीकृत सिचाई योजना अर्थात पश्चिम दाङकै बहुलाखोलाको पानीलाई उपयोग गर्नेगरी सिरानदेखि पुछारसम्म समेटेर बहुलाखोला एकीकृत सिचाई योजनाका रुपमा कार्यक्रम अघि बढाउने सोचमा छौं । अर्को आर्थिक बर्षमा यसरी नै बजेट विनियोजित हुने हाम्रो अपेक्षा छ ।

मलाई लाग्छ, सायद आगामी आर्थिक बर्षदेखि यस्ता टुक्रे योजनाहरुको संख्या उल्लेख्यरुपमा कम हुनेछ । त्यसैगरी बबई लिफ्ट योजनालाई विशेषरुपमा सञ्चालनको प्याकेज बनाउँदै छौं । बबई करिडोर लिप्mट सिचाई योजनाअन्तर्गत मात्रै धेरै खेतीयोग्य जमिनमा बाह्रै महिना सिचाई सुविधा उपलव्ध गराउने हाम्रो लक्ष्य हो ।

अन्तमा आयोजनाको वातावरणीय प्रभावका विषयमा पनि केही बताइदिनुहुन्छ कि ?

 हो, बृहत दाङ सिचाई योजना आफै बहुउद्देश्यीय आयोजना हो । किनकि यस अन्तर्गत सम्पन्न हुने योजनाबाट यहाँको जैविक विविधताको संरक्षण एउटा महत्वपूर्ण पाटो हो । अर्को भनेको यहाँको रिचार्जको अवस्थामा सुधार ल्याउनु हो ।

जब रिचार्जको अवस्था बलियो हुँदै जान्छ, त्यसले जमिनमुनी रहेको पानीको सतह बर्षेनी भासिँदै जाने खतरालाई समेत टार्न मद्दत गर्ने हामीले अपेक्षा गरेका छौं । त्यसैगरी यहाँका सिचाई जलाशयमा माछापालन तथा पर्यटकीय हिसावले पनि उपयोगी बनाउन हामीले उपभोक्तालाई प्रोत्साहन गर्ने छौं । त्यसमा स्थानीय सरकारहरुले पनि हातेमालो गर्न सक्छन् । वातावरणमैत्री योजनाको सञ्चालन हुनु भनेको दिगो विकासको लक्ष्य पनि हो ।