नियमविपरीत चल्ने सयौ टिप्पर होल्डिङमा

रेशम खड्का

दाङ, ३० असार । असुरक्षित तवरले क्षमताभन्दा बढी ढुंगा बोकेर नियमविपरीच सडकमा चल्दै आएका सयभन्दा बढी टिप्परहरु मंगलवार दिनभर प्रहरी होल्डिङमा रहेका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभर गरेको निगमनमा कम्तीमा १ सय ३६ भन्दा बढी यस्ता टिप्परहरुलाई होल्डिङमा लिएको छ ।

घोराही क्षेत्र र तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा होल्डिङमा रहेका ती टिप्परहरु अधिकांश रोल्पा सिमेन्ट उद्योगबाट चुनढुंगा बोकेर घोराही सिमेन्ट उद्योग जाँदै थिए भने केही देउखुरीको सिमेन्ट उद्योगमा जाने पनि रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको विशेष निर्देशनमा यसरी नियमविपरीत असुरक्षितरुपमा सञ्चालन हुँदै आएका टिप्परहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले दिएको जानकारीअनुसार यसरी नियमविपरीत ढुंगा ओसार्ने रोल्पाबाट आएका टिप्परहरुलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर–सल्यान सडकखण्डको गोटीखोलाबाट ३९ वटा टिप्परलाई नियन्त्रणमा लिएको बताएको छ ।

त्यसैगरी बीरेन्द्र चोक आसपासमा २६ वटा टिप्परहरु नियन्त्रणमा लिइएको बताइएको छ । क्षमताभन्दा बढी लोड बोक्दा दुर्घटनाको जोखिमसँगै सडकको सुरक्षा पनि कमजोर हुने भन्दै जिल्ला प्रहरी कार्यालयले यस्ता टिप्परहरुलाई नियन्त्रणमा लिएको हो । यी टिप्परहरुले टिप्परको पुरानो बोडीमा ढाला थपेर क्षमताभन्दा निकै बढी ढुंगा बोक्दै आएकाले त्यस्ता टिप्परलाई नियन्त्रणमा लिई ट्राफिक ऐनबमोजिम कारबाही गरिने जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताएका छन् । पहिलो पटकलाई नियमबमोजिम जरिवाना लिएर टिप्पर छाडिएको बताउँदै उनले केही दिनभित्रै टिप्परको बोडीभन्दा माथि ढाला थप गरिएका सबै टिप्परहरुलाई ढाला काट्नसमेत निर्देशन दिएको बताए ।

‘प्रहरीले मात्रै कारबाही गरेको होइन, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीज्यु, उद्योग वाणिज्य संघका प्रतिनिधिज्यू र सम्बन्धित टिप्पर व्यवसायीहरुबीच एकपटकलाई जरिवाना तिरेर छाड्ने निर्णय भएको हो’, प्रहरी प्रमुख काफ्लेले गोरक्षलाई भने । तत्काल थपिएको ढाला नहटाए फेरि कारबाही हुने पनि उनको चेतावनी थियो । क्षमताभन्दा बढी ढुंगा बोकेको कानुनबमोजिम ट्राफिक प्रहरीले जरिवाना काटेर पहिलो पटकलाई ती टिप्परलाई साँझदेखि छाड्न थालेको बताइएको छ । प्रचलित ऐनमा ट्राफिक प्रहरीलाई अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना काट्न सक्ने नियम छ ।

अधिकतम जरिवाना रसिद काटेर मात्र टिप्पर छाड्न जिल्ला प्रहरी कार्यालयले ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । यसअघि पनि जिल्ला ट्राफिक प्रहरीले यसरी बढी भार बोक्ने टिप्परलाई कारबाहीको थालनी गरे पनि यसले निरन्तरता पाउन सकेको छैन । प्रहरीले अघिल्लो बर्षदेखि नै थपिएका ढाला काट्न टिप्पर व्यवसायीहरुलाई निर्देशन दिए पनि व्यवसायीहरुले यसलाई कार्यान्वयन नगरी मनोमानीरुपमा चलाउँदै आएको प्रहरीले बताएको छ ।

बढी भार क्षमताका टिप्परहरु सञ्चालनमा आउँदा घोराही—होलेरी सडक, घोराही–मुर्कुटी सडक क्षतविक्षत बनेको यातायात व्यवसायी तथा स्थानीय नागरिकहरुले बताउँदै आएका छन् । त्यसैगरी तुलसीपुर–कपुरकोट सडकखण्डमा पनि यसरी सयौं टिप्परहरु दैनिकरुपमा भार क्षमताभन्दा बढी लोड बोकेर गुड्नाले सडक ध्वस्त हुन थालेको बताइएको छ ।