सल्यानमा २५ रूपैयाँको टमाटर दाङ आइपुग्दा ५०

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, २७ असार । बाटैभरि टमाटर, काउली, गोपीलगायतका तरकारीहरु क्यारेटका क्यारेट थुपारिएका छन् तर ती तरकारी भने स्थानीयले किन्न खोज्दा सहज रूपले पाउन मुस्किल छ । देउखुरीका एक जना स्थानीयलाई घरबाट फोन आएको थियो ‘सल्यानबाट आउँदा तरकारी ल्याउनु’ भनेर तर उनले सल्यानको श्रीनगरबाट बाटो वरपर थुप्रै तरकारीका क्यारेट भेटे तर आफूले खानका लागि किन्न भने पाएनन् ।

अन्ततः उनी तुलसीपुरमा आएर तरकारी लिन बाध्य भए । उनीजस्तै तुलसीपुरका आकाश वलीले पनि सल्यानमा २५ रुपैयाँ प्रतिकिलो पर्ने टमाटर दाङमा ५० रुपैयाँ प्रतिकिलो किन्न बाध्य भए । उनीजस्तै यहाँका स्थानीयले भनेको समयमा तरकारी किन्न पाउँदैनन् । सल्यानको कपुरकोटलगायत विभिन्न स्थानमा तरकारी प्रशस्त उत्पादन हुने गरेको छ । तर, ती तरकारी भने व्यवसायीहरु बाहेक फुटकरमा किन्न पाउने अवस्था छैन । गाडीका गाडी तरकारी अन्य जिल्लामा जानेगरेको छ ।

‘सल्यानमा २५ रुपैयाँ पर्ने टमाटर दाङमा ५० मा किन्न बाध्य छौँ, सल्यानमा सो तरकारी फुटकरमा पाइएन’ स्थानीय टंकप्रसाद विकले भने । तरकारी उत्पादन हुने क्षेत्रमा ठूला व्यवसायीहरु बोटमै पुगेर खरिद गर्ने र फुटकरमा आफूहरुले विक्री गर्न नमिल्ने स्थानीय कृषकले बताए ।

‘लकडाउन खुकुलो भएसँगै साना–ठूला गाडीहरु पनि सञ्चालनमा भएका छन्, भाडा उही हो तर २५ किलोमिटर परबाट वर ल्याउँदा तरकारीको भाउ ५० प्रतिशत बढी छ, यसतर्फ कसैको पनि ध्यान छैन’ एक उभापेक्ताले भने । त्यस्तै थोक व्यवसायीहरुले भने ढुवानी र तरकारीहरु अन्य जिल्लामा पु¥याउँदा धेरै खर्च हुने भएकाले महँगो पर्ने बताउँछन् । ‘यहाँ खरिद गरेको तरकारी नेपालगञ्ज पु¥याउँदा धेरै जसो सडेर खेर जान्छ, त्यसमा पनि भाडा लाग्छ– व्यवसायी अनिल गुप्ताले भने ।

यसैबीच पछिल्नो समयमा पछिल्लो पटक तरकारीको भाउ महँगो भएको छ । जसले गर्दा धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्नथालेको छ । तरकारीको माग अनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको बताइएको छ । लकडाउनको मारसँगै सर्वसाधारण नागरिकलाई महँगीले पनि ढाड सेकेको छ ।

तुलसीपुरकी बालिका खड्काले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउनथालेको बताइन् । उनले भेडेखुर्सानी प्रतिकिलो १२०, भान्टा ८०, त्यस्तै बोडी, टमाटरको फुटकर मूल्य पनि पछिलो समयमा छोई नसक्नु भएको बताइन् । ‘निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सहज भएपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगो भएको छ, गत सालभन्दा दोब्बर मूल्य वृद्धि भएको छ’–उनले भनिन् ।

यस्तै दैनिक थरि–थरिका तरकारी पाक्ने भान्सामा महँगीसँगै सस्तो तरकारी खोजेर गुजारा चलाउनुपरेको गृहिणीहरु बताउँछन् । ‘तरकारीदेखि भान्सामा आवश्यक पर्ने नून, तेल समेत महँगो छ, कसरी दैनिकी चलाउने भन्ने समस्याछ’ –गृहिणी चन्द्रीका वलीले भनिन् ।

त्यस्तै बजारमा दिन प्रतिदिन मूल्य वृद्धि हुँदा भान्सा महँगो हुने गरेको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसेकेको उपभोक्ताहरुको गुनासो छ । ‘सबै आप्mनो दुनो सोझो गर्नेमा छन्, सर्वसाधारण जनताको हितका लागि कसैले पनि पहलथालेको छैन’–एक जना उपभोक्ताले भने ।