गोरक्ष समाचारदाता
दाङ, २७ असार । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरमा ३८ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा नं. १८ ईकाई समितिले एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेस गराएको हो । दीपक पुन र विपिन केसीको नेतृत्वमा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति वीरकेशरी गौतम, क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीलगायतका नेताले टीका तथा खादा लगाएर स्वागत गरेका थिए । युवाहरुलाई अमर बुढाथोकी र सुवास पोख्रेलको पहलमा कांग्रेस पार्टीमा प्रवेश गराइएको हो । कार्यक्रम नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं १८ ईकाई सभापति मधुसूदन अधिकारीको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति वीरकेशरी गौतमको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भूपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देशको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्नसक्ने बताएका थिए । उनीहरुले जनताको भरोसा नेपाली कांग्रेसप्रति रहेको भन्दै त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्यहरु गोपालराज शर्मा, भीमप्रकाश खड्का, क्षेत्रीय सचिव बद्रीकुमार खड्का, दलित नेता बाबुराम विश्वकर्मा, महिला नेतृ निरजा पोख्रेल, नगर सचिव दिनेश अधिकारीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण दामोदर भुसालले गरेका थिए ।