दाङका १ सय १५ विपन्न परिवारलाई राहत सहयोग

दाङ,२७ असार । दाङका १ सय १५ अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ । रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेले रोटरी क्लब अफ दाङ र दाङ महिला जेसीजको समन्वयमा घोराही उपमहानगरपालिकाका विभिन्न वडामा रहेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।

संस्थाले १ सय १५ परिवारलाई प्रति घर ३५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ किलो नुन, एक क्यारेट अण्डा, मसला र चियापत्ती एक एक प्याकेट वितरण गरेको रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार खाद्यान्न सहयोगका कार्यक्रममा प्रतिपरिवार एक क्यारेट अण्डाको व्यवस्था दाङ अण्डा उत्पादक संघले गरेको थियो ।

संयोजक पौडेलका अनुसार शनिवार घोराही–८ का ३७ घर, घोराही–११ का ५९ घर र घोराही–१५ का २० परिवारलाई राहत उपलव्ध गराएको हो । ‘लकडाउनका कारण आर्थिक रुपमा समस्यामा परेका परिवारलाई सानो सहयोग गर्ने उद्देश्यले सस्थाले विभिन्न संघसस्थको समन्वयमा राहत उपलव्ध गराएको हो’–कार्यक्रम संयोजक पौडेलले भने–‘सानो सहयोग भएपनि अप्ठेरोमा परेको परिवारले राहतको महसुश गर्नेछन् ।’

लकडाउनका कारण आर्थिक रुपमा समस्यामा परेका परिवारहरुलाई साढे पाँच लाख बराबरको राहत वितरण गरेको सस्थाले जनाएको छ । सस्थाले दाङसहित हालसम्म कंचनपुर १०५ घर, कैलालीमा १ सय ३४ घर, बर्दियामा १ सय ५ घरलाई खाद्यान्न सहयोग गरिसकेको छ । अवको केही दिनमा बाँके जिल्लामा समेत सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए ।

रेरी बाँकेका अध्यक्ष पुनितविक्रम शाहले लकडाउनका कारण आर्थिक रुपमा विपन्न परिवारलाई भोक भोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सस्थाले खाद्यान्न सहयोग गर्ने गरेको बताए । उनले बास्तविक समस्यामा परेका परिवारलाई राहतको महसुश गर्ने गरि सहयोग गर्दै आएको भन्दै आगामी दिनहरुमा समेत सहयोगको कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा रेरी बाँकेका अध्यक्ष पुनितविक्रम शाह,घोराही उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष कुलबहादुर लामिछाने, रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेल, रोटरी क्लव अफ दाङका अध्यक्ष रजिव उल्लाह खाँन, कोभिड राहत कोषका संयोजक मिनराज भाट,दाङ महिला जेसीजका अध्यक्ष ममता विष्ट,महासचिव सुनिता थापालगायतको सहभागिता रहेको थियो ।

त्यस अवसरमा खाद्यान्न सहयोग गर्ने रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेलाई रोटरी क्लव अफ दाङ र दाङ महिला जेसीजले सम्मान गरेका थिए ।

त्यसैगरी रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) बाँकेले पनि दाङमा विपन्न परिवारलाई खाद्यान्न वितरणको कार्यमा समन्वय गरेर सहजता बनाइउने काम गरेको भन्दै रोटरी क्लव अफ दाङ र दाङ महिला जेसीजलाई प्रंशसा पत्र प्रदान गरेर सम्मान गरेको थियो । रेरी बाँकेले बिगत २० वर्षदेखि पश्चिम नेपालमा सामाजिक विकास, स्वास्थ्य क्षेत्र, वातावरण संरक्षण र अपांगता हकहितका लागि अग्रणी संस्थाको रुपमा काम गर्दै आएको छ ।