राधेश्याम उपाध्याय
केही समयपछि युधिष्ठिरलाई भेट्न व्यास मुनि आउनुभयो । व्यास मुनिलाई प्रशन्न मनले चरण पखालि उच्च आशनमा राखि स्वागत गरे । व्यास मुनिले पनि सम्झाउँदै ‘हे राजन ! पहिला दुष्ट क्रुरुहरुले तिम्रो खुब अनादर गरे । तिमीहरुलाई युद्ध गर्न वाध्य बनाइयो र दुष्टहरु पाहिलेको पापद्वारा मरे । तिम्रा भाइहरु त निमित्त मात्र बनेका हुन् । दैवाधिन भएर मरेका हुन् । यसमा तिमी दुखी हुनुपर्दैन ।
अब तिमीले मरेका राजा र अन्य वीरहरुका सन्तानहरुलाई बिना भेद्भाव राजा भएर राम्रोसँग रक्षा र पालन गर्नुपर्दछ ।’ व्यासजीबाट यस्तो अर्ति सुनेर मुनिका पाऊमा शिर राखि ‘बन्धुबान्धवको युद्ध गरी हत्या गरेको पाप लाग्ने भयो । यो सबै सम्झँदा हृदयमा सियोँले घोचेझैँ घोच्दछ । यसको प्रयाश्चित्त मैले गर्नुपर्ने केही मेरो कर्तव्यका कुरा भए गर्ने थिएँ ।’ युधिष्ठिरको यस्तो विन्ति सुनि व्यास मुनिले भन्नुभयो, ‘हे युधिष्ठिर ! तिमी निर्दोष छौँ, ती सबै आफ्ना कर्मका प्रभावले मरेका हुन् । तिमीहरु मात्र निमित्त भएका हौ । अब चिन्ता गरेर केही हुँदैन ।
तिमीले अब आफ्नो क्षेत्रीय धर्मको पालन गरी राज्य सञ्चालन गर । प्रयाश्चितका लागि अश्वमेध यज्ञ गर । श्रीरामचन्द्रले पनि धेरै राक्षसहरु मारेपछि प्रयाश्चित्तका लागि आनन्दका साथ अश्वमेध यज्ञ गर्नुभएको थियो । त्यसैले तिमीले कौरवहरुको निम्ति चित्त दुखाइ वनमा जानु वृथा छ । बरु सबै भाइ तथा बचेका बान्धव तथा राजाहरुलाई लिई हस्तिनापुर गई राज्य सञ्चालन गरी प्रजा पाल्ने काम गर’ भनी युधिष्ठिरलाई अर्ति दिई व्यास मुनि आश्रम फर्कनुभयो । यो सुनेर युधिष्ठिरका चिन्ता पनि हरायो । श्रीकृष्ण पनि हस्तिनापुर गए र शासन सञ्चालन गर्ने हुकुम दिनुभयो । यो सबै सुनेर रथ तथा पाल्की तयार गरी पहिला गान्धारी तथा धृतराष्ट्रलाई अगाडि लगाई भाइहरुलाई अगाडि पछाडि लगाइ आफू बीचमा बसी सबै राजाहरु तथा बन्धुबान्धवहरुलाई समेत लिई हस्तिनापुर आए ।
भीमले रथ हाँके, विजयले छाता ओढाए, सहदेव र नकुलले चमर डोलाय । जब नगरमा पुगे सबैले ठूलो सत्कार गरे । लावा, पुष्प, अविर आदि पानी परेझैँ छरे र सबैले दीर्घ जीवनको आशीष दिए । दरबारमा गएर पाँचै भाइले राज्य सञ्चालनका लागि धृतराष्ट्रसँग आज्ञा र आशीर्वाद मागे । धृतराष्ट्रले पनि हाँसेर ‘हे बाबु ! यो राज्य पहिला पनि तिम्रो नै थियो र अहिले पनि तिम्रो नै भयो । आफ्नो इच्छाअनुसार सञ्चालन गर, दीर्घ जीवनको आशीर्वाद दिन्छु । सदासर्वदा तिम्रो कीर्ति उज्ज्वल होस् ।’ यो सुनेर पाण्डवहरु पनि खुशी भए र अभिषेकका लागि सामग्री तयार पारी रत्न जडित एक सिंहाशन तयार पारे । माला, चामर, छत्र, तोरण ध्वजा, पताका चारैतिर टाँगेर प्रसाद बाटो र सम्पूर्ण नगर स्वर्ग समानको बनाए । जब अभिषेक गर्ने दिन आयो सिंहासनमा युधिष्ठिर बसे ।
तिनका पछाडि अर्जुन बसे, भीम अगाडि बसे, सहदेव र नकुलले चमर डोलाए । अलि वर श्रीकृष्ण योगेश्वर बसे, गान्धारी, धृतराष्ट्र, कुन्ती, द्रौपदी, युयुत्सु, विदुरहरु पनि आ–आफ्नो स्थानमा बसे । ब्राह्मण तथा गुरु धौम्यले स्वस्तिवाचन गरी धर्मकुमारलाई दीर्घजीवी होऊन् भनी आशीर्वाद दिए । राजाले युवराजमा भीमलाई, सेनापतिमा अर्जुनलाई नियुक्त गरे ।
सबैलाई योग्यताअनुसार राज्यको काममा राखे । राज्यको प्रबन्ध राम्रोसँग पहिलाभन्दा अझ राम्रो योग्य रीतसँग शासन सञ्चालन गर्न थाले । राजा युधिष्ठिरले धृतराष्ट्रको सेवा गर्दै उनैको आदेशअनुसार शासन सञ्चालन गरिरहेका थिए । एक दिन गुरु कृपाचार्य पनि युधिष्ठिरलाई भेट्न आए । गुरुलाई पहिलेका सरी नै यथोचित आशनमा बसालि आदर गरे ।
एक दिन पाण्डवहरु श्रीकृष्णलाई लिई भीष्म पितामहलाई भेट्न कुरूक्षेत्र गए । भीष्मका चारैतर्फ नारद, व्यास, तुम्बुरु, शाण्डिल्य, जैमिनी, विश्वामित्र, वशिष्ठ, दक्ष, क्रतु, मौङ्गल्य, गौतम र यस्तै ज्ञानी गुणी ब्राह्मणहरु बसेर श्रीकृष्णको चिन्तन गरिरहेका थिए । ब्राह्मणहरुले वेद पाठ र भीष्मले प्रशन्न मनले योगेश्वर श्रीकृष्णको स्तुति गरिरहेका थिए । त्यही समयमा श्रीकृष्ण पनि पाण्डवहरु सहित त्यहाँ पुग्नुभयो । ममा ठूलो स्नेह भएको जानेर नै हजुरलाई भेट्न आएँ । शरीरमा शस्त्रास्त्रको घाउले दिएको कष्ट कस्तो छ ? हजुरले मेत्युलाई पनि वसमा राख्नुभएको छ ।
हजुरले पनि यो शरीर त्याग्नुहुने छ भनेर हामी सन्तापमा छौँ । धर्मकुमारले पनि सबै बन्धु र राजाहरु मरे भनी दुःखी छन् । तिनलाई कल्याण हुने उत्तम उपदेशहरु दिनुहोस् । हरिको यस्तो आज्ञा सुनेर मनमा आनन्द मानी हात जोडी बारम्बार देवकी नन्दन श्रीकृष्णको स्तुति गर्न लागे । ‘हे योगेश्वर ! अगाडिको जस्तो इन्द्रीयमा शक्ति छैन, शस्त्रहरुको घाउले इन्द्रीय शिथिल छन् सुद्धि छैन । त्यसैले मैले भर्माथको उपदेश दिन सक्दैन । हजुरको शक्ति र तेजले नै यो ब्रह्माण्ड सञ्चालित छ । तिम्रा अगाडि शिक्षा दिने म को हुँ ? अतः स्वयं अजुरले नै पाण्डवहरुलाई भर्माथको शिक्षा दिनुहोस ।’
भीष्मको यस्ता विन्ति सुनेर श्रीकृष्णले भन्नुभयो ‘हे गांगापुत्र ! हजुरले भनेका सबै कुरा सत्य हुन् तर पनि आफ्ना बान्धवहरुलाई यो समयमा हजुरले शिक्षा दिँदा लोकको मंगल र हजुरको कीर्ति बढ्नेछ । अब हजुरले यो देह छपन्न दिन मात्र बाँकी छ । त्यसपछि हजुर खुशी साथ स्वर्गपुरीमा बस्नुहुनेछ । जसरी सूर्य अस्ताउँदा नभमा अन्धकार बढ्दछ त्यसरी नै हजुरले आफूसँग भएको ज्ञान प्रकाश नपारी देह त्यागिदिँदा हजुरसँग भएको ज्ञान त्यसै लुप्त हुनेछ । अब हजुरलाई मुर्छा, ग्लानि, भोक, प्यासले देहमा बाधा गर्ने छैन । पीडा नाश हुनेछ, चिन्ता शान्ति रहने छ । ज्ञान निर्मल, रविको तेज पृथ्वीमा फैलिय सरी फैलने छ ।
पृथ्वीलोकमा कीर्ति बढ्नेछ र लोकहरुले प्रशन्न भएर जलाञ्जलि दिनेछन् । लोक कल्याणका लागि उपदेश दिनुहोस् । हजुरको दिव्यदृष्टि सुन्दर हुनेछ । यति वरदान दिएँ’ भन्नुभयो । श्रीकृष्णबाट यसरी वरदान पाई भीष्म अत्यन्त खुसी भई ‘श्रीकृष्णको वरदानले मेरा दुवै दिव्य नयन खुले सन्ताप हट्यो । हे युधिष्ठिर ! बन्धु बधको सन्ताप नमानि मनमा भएका शङ्का हटाई लोक कल्याणका लागि शिक्षा माग ।