विनोद पोख्रेल
२०७६ असार २६ गते
स्वाभाविकरुप्मा म नेपाली हुँ र नेपालकै पक्षमा बोल्छु । यहाँसम्म कि राष्ट्रको प्रतिनिधित्व गर्ने पदहरु खास गरेर राष्ट्रपति र प्रधानमन्त्री पदमा जोसुकै भए पनि उसको चरित्र हत्या गरेको मलाई मन पर्दैन । चरित्र हत्याको प्रयासको क्रम ०४८ को निर्वाचनपछिका सरकारकाहरु निर्माण भएपछि नै सुरु भएको हो । कुनै उच्च समूहमा पहिले पनि थियो भने त्यो मलाई थाहा छैन । आम नागरिकको अगाडि त्यस्तो गर्न ०४८ पछि सुरु भयो ।
पहिलेका कुरा छाडौंँ, अहिले पनि प्रधानमन्त्री र राष्ट्रपतिबारे सामान्य कानले सुन्न मन नपराउने कुराहरु लेखिने गरेको छ, भनिने गरेको छ । कहिलेकाहीँ त आफूलाई विश्लेषक ठान्नेहरुले पनि यस्ता विषयलाई छुने भनौँ वा कोट्याउने प्रयास गरेको समेत पाएको छु । त्यस्तो नभए हुन्थ्यो जस्तो मलाई लाग्छ । योभन्दा यी पदहरुमा जस्ता व्यक्ति आए पनि हुन्छ भन्ने मेरो आशय होइन ।
पदीय गुरुत्व धान्न सक्ने क्षमता भएको व्यक्ति नै पठाउनुपर्छ भन्नेमा म दृढ छु तर राष्ट्रको प्रतिनिधित्व गर्न थालेपछि मैले खोलेको भन्दा कम क्षमताको भए पनि उसको चरित्रलाई उदांगो पारेर ल्याउँदा कताकता आफैले आफ्नो देशको बेइज्जती गरेको जस्तो लाग्छ । धारणाकै कुरा गर्दा त्यतिबेलाको एमालेका जिम्मेवार व्यक्तिहरुसँग राष्ट्रपति छानिएकी व्यक्तिको गुरुत्व कम भयो कि भनेर मैले पनि भनेको हुँ । तर भैसकेपछि मलाई केही भन्नु छैन । जे–जस्तो भए पनि अहिले उनी नेपालकै राष्ट्रपति पनि हुन् ।
त्यस हैसियतले नेपालकै प्रथम नागरिक हुन् । उनको सम्मान र बेइज्जतीसँग राष्ट्रकै सम्मान र बेइज्जती जोडिएको हुन्छ । त्यस्तै प्रधानमन्त्री पनि राष्ट्रकै सबैभन्दा बढी जिम्मेवार व्यक्ति हो । उसका गतिविधि र व्यवहारको प्रत्यक्ष असर पूरै राष्ट्रलाई पर्छ । उसले राष्ट्रकै नेतृत्व गरेको हुन्छ ।
मेरो राष्ट्रको नेतृत्व गर्नेलाई मैले नै नंग्याउन थालेपछि अन्यत्र उसको सम्मान कति रहला ? यो मैले सोच्ने विषय हो । काम गर्न नसक्नुका धेरै कारण हुने गर्छन्, त्यता नजाऔं । काम गर्न नसक्नेलाई प्रधानमन्त्री बनाउने म पनि त केही जिम्मेवारी लिन सक्ने हुनुपर्छ । प्रधानमन्त्रीलाई नांगो पारेर केही आवेश कम होला अथवा क्षणिक मनोरञ्जन पाइएला । त्यसबाहेक कमजोर बनाएर हटाउनेले आफू त्यो पदमा पुग्न सफल पनि होला तर चरित्र फेरिएन भने उ पनि नांगिने हो । प्रक्रिया दोहोरिरहने हो ।
यही कमजोरीले नेपाली राजनीति ग्रस्त छ । अहिले केही भारतीय सञ्चार माध्यमले समेत नेपालको टिका–टिप्पणी गर्दा प्रधानमन्त्रीको अलि बढी हलुको चरित्र प्रस्तुत गरेका छन् । त्यसै कारणले हिजोबाट भारतीय समाचार च्यानलहरु यहाँ बन्द गरिएको छ । यसको मैले विरोध गर्दैन । केही जानकारी र केही मनोरञ्जनसमेत दिने केही च्यानलहरु बन्द गर्नुपरे गर्दा हुन्छ तर त्यसले हाम्रो सोच र हाम्रो चरित्रमा केही परिवर्तन आउँछ कि आउँदैन ? हामीले राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धदेखि उनीहरुका निजी व्यवहार र चरित्रबारे गैरजिम्मेवार तरिकाले बोल्न वा लेख्न छाड्छौँ कि छाड्दैनौँ ? यो ठूलो कुरो हो । सबैका आफ्ना व्यक्तिगत जिम्मेवारी पनि हुन्छन् ।
सामूहिक जिम्मेवारी पनि हुन्छन् । त्यो जिम्मेवारी हामीले बुझ्न सक्यौँ वा सकेनौँ ? यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । हामी आफूले आफै राष्ट्र र राष्ट्रको प्रतिनिधित्व गर्नेहरुलाई नांगेझार पार्दै जाने हो भने विदेशी च्यानलहरु बन्द गर्दैमा केही फरक पर्दैन । वर्तमान प्रधानमन्त्रीलाई भारतीय उपज भारत परस्त भनेर सिद्ध गरेको जसरी प्रमाणित गर्नेहरु पनि छन् । उता भारतले पनि उनको चरित्रसमेतको भरमा नांगो पार्न केही कसर नछाड्ने स्थिति आएको छ । यस्तोमा केही व्यत्तिःहरुरले केही शहरहरुमा उनको समर्थनमा नारा लगाउनुलाई व्यक्ति पूजाको सोच अथवा प्रायोजित कार्यक्रमभन्दा बढी केही मानिँदैन । यस प्रकारका गतिविधिले प्रधानमन्त्री अझ धेरै कमजोर हुने निश्चित छ ।
२०७६ असार २७ गते
मन अन्यत्र ब्यालिन पाएन भने कुनै तरिकाले भए पनि घरमै ब्यालिनुपर्छ । त्यसो गरे आफूले गर्न सक्ने केही काम गर्न रहर र जाँगर पनि लाग्ने रैछ । आफूले नभए पनि अरुबाट पनि केही काम गराउन सकिने रैछ । सायद यसैलाई रेखदेख भन्छन् । पूरै भए पनि केही रेखदेख पुग्ने रैछ । जनै बनाउने काम सकिएको छ । फेसबुकमा फोटो हालेको भरमा भन्ने हो भने धेरैले यो काम सकेका छन् ।
ब्यालिने एउटा राम्रो र सजिलो उपायको रुपमा यो कामलाई लिनेहरु धेरै भएजस्तो लाग्छ । मैले यो वर्ष त्यति मेहनत पनि गर्नुपर्ने थिएन । विक्रम र विपुल घरमै थिए । सम्लिने काम सुरु गरेँ । अनि केही केही गरेर उनीहरुले पनि गरे । बाँट्ने काम सबै विक्रमले ग¥यो । ग्रन्थी पार्ने काममा अलिकति विपुलले सहायता ग¥यो । धेरै दिनहरु बाँकी छँदै जनै तयार भए । यति वर्ष विपुल प्रायः काठमाडौँ हुन्थ्यो । विक्रम लमही हुन्थ्यो । लमहीमा पनि काममा व्यस्त हुन्थ्यो ।
त्यसकारण कहिले सानेको र कहिले उसकी बज्यैको सहयोग लिएर यो काम गर्नुपथ्र्यो । काम पनि भयो र ब्यालिने विषय पनि भयो । अब के गर्ने भन्ने कुरो आयो फेरि । समयसीमा नै नभएको यो अलग–अलगको बसाईले कहिलेकाहीँ के होला, कस्तो होला भनेर मन आत्तिएको जस्तो पनि अनुभव हुन्छ । अब त बानी पर्न थालियो कि जस्तो पनि लाग्छ । जति भए पनि समाजमा आफूले चाहे जति र सके जति घुलमिल गर्न नपाएपछि नियन्त्रित वा बन्दी जीवनको अनुभव हुन्छ ।
अकअपमा त बसेको तर लकडाउनको अनुभव नभएको यो जीवनमा अब यी दुईमा के कति फरक छ भनेर तुलना गर्न मन लाग्ने भएको छ । अकअपमा बस्दा साँघुरो ठाउँ, पुलिसका ताना, कतिपल्ट गाली, कहिलेकाहीँ पिटाई, अनि खाने समयसमेतको ठेगाना नभएको अनुभव छ भने लकडाउनमा घर परिवारमा सीमित भएर बस्ने मात्रै हो । त्यसकारण यी दुईवटामा त्यति धेरै समानता त छैन । तर पनि दुबैमा नियन्त्रण सहनु बाध्यता भने हुने रैछ । मानिसको एउटा कमजोरी नै हो यो । नियन्त्रणलाई सहजरुपमा लिनसक्ने भए यस्तो सोच्नुपर्ने पनि थिएन, यस्तो भोग्नुपर्ने पनि थिएन । तर नियन्त्रणलाई सहजरुपमा लिन सकिँदैन ।
नियन्त्रण सहजरुपमा लिने भए परिवारमा बिग्रह, आपसी असमझदारी आदिजस्ता कुरा पनि हुने थिएनन् कि ! तर यो कल्पनाको विषयमात्र हो । बढी नियन्त्रणको परिणाम विद्रोह नै हुन्छ । यो जुनसुकै इकाईमा लाग्ने शाश्वत नियम हो । अहिले पनि त्यही नियमले काम गरेको हो । नत्र वर्तमान परिवेश नभएको भए पनि मैले दिन बिताउने उपाय भनेको करिब आधा घण्टाको पैदल यात्रा र त्यो समयसमेत तीन वा साढे तीन घण्टाको घोराही बसाई हो । तर यति बसाईमा ८–१० जनासँगको भेटघाट, गफ, मजाक, भावना साटासाट आदिले मन हलुंगो बनाउने रैछ । दिन सजिलोसँग बितेको अनुभव हुने रैछ । चौबीस घण्टामध्येको त्यही तीन वा साढे तीन घण्टाबाहेक अरु त यस्तै न हो । यही अनुभवको आधारमा भन्दा मानिस भौतिकरुपले भन्दा धेरै बढी मानसिकरुपले नै प्रभावित, त्रसित, हर्षित हुने रैछ । भावना नियन्त्रित हुन मान्दै मान्दैन । अति सामान्य विषयमा आधारित गफदेखि सामाजिक, राजनीतिक विषयप्रतिको धारणा सुन्न र व्यक्त गर्न पाए एकप्रकारको सन्तुष्टि प्राप्त हुनसक्छ ।
अहिले व्यक्ति कसैको घरमा जाने–आउने नगर्ने भएकोले मात्रै यस्तो स्थिति खासगरेर यस्तो मनस्थितिमा बाँच्नुपरेको हो । वास्तवमा मानिस सामाजिक प्राणी नै हो । परिवारबाट पाइने सन्तुष्टिले मात्रै पनि उसलाई पुग्दैन । समाजबाट पनि उसले फाइदा मात्रै खोज्दैन । उसका भावना अभिव्यक्त गर्न र अरुका भावना बुझ्नसमेत उसलाई समाज चाहिन्छ । त्यो नपाएपछि ऊ मानसिक रुपमा कमजोर हुने गर्छ । यही स्थितिको परिणाम वा प्रभाव हो तनाव, अत्याहट, डिप्रेसन आदि । यो कुराको विकल्प पनि हुँदैन कि अथवा हामीले पहिचान गर्न नसकेको हो कि ?