बृहत दाङ सिंचाइ आयोजना, पानी भकारीमा किसानको भरोसा …

  •   
  •  

खेमराज रिजाल

दाङ, २६ असार । ‘हामीलाई यही भकारीबाट खेतबारी सिञ्चित हुनेमा पूरा भरोसा छ, यो वर्ष बाँध निर्माणको काम अन्तिम चरणमा पुगेकाले अर्को वर्ष यही जलभकारीबाट हाम्रा खेतबारी हराभरा हुनेमा हामी विश्वस्त छौँ’–पानी भरिएको भकारी देखाउँदै तुलसीपुर उपमहानगरपालिका वडा नं १९ स्थित पृथली कुइरेसोता जलाशय सिंचाइ उपभोक्ता समितिका कोषाध्यक्ष विष्णुप्रसाद खुलालमा पलाएको आशा र भरोसा हो, यो । जलाशयमा पानी भरिँदै जाँदा उनको किसान भरोसा पनि थपिँदै गएको छ ।

नजिकै भीमकाय सिमेन्ट उद्योग स्थापना हुँदा वायु प्रदूषणको चपेटोसँगै खेतबारी सिंचाइको अभावले बाँझै हुने अवस्थामा बृहत दाङ सिंचाइ आयोजनाले सुरु गरेको जलाशय सिंचाइ परियोजनाले विष्णु जस्तै करिब १ सय ६० परिवारका खेतबारीमा सिंचाइ सुविधा पुग्नेछ । सुख्खा र मरुभूमिकरणतर्फ उन्मुख दुधरास क्षेत्रका केही बस्तीलाई जलाशयबाट उपभोक्ताहरुले सिंचाइ सुविधा मात्रै लिने छैनन्, माछापालन र बोटिङ सहितको पिक्निक स्पट बनाउने पनि उनीहरुको योजना छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ र १९ को सीमानामा एउटा २ लाख घनलिटर पानी अटाउने क्षमताको पानी भकारी निर्माणको क्रममा छ । सिंचाइ सुविधाका लागि भूमिगत सिंचाइ र सतह सिंचाइ तथा मुहान कुनैको पनि सम्भावना नरहेको सुख्खा डाँडोमा खनिएको पोखरीले सयभन्दा बढी किसानको आशा र भरोसा जगाएको छ । १ करोड ८३ लाख रुपैयाँ लागत अनुमान गरिएको दुधेगजेरी जलाशय सिंचाइ योजना नाम दिइएको सो योजनाले ५६ हेक्टर सुख्खा जग्गामा सिंचाइ सुविधा पुग्ने बृहत दाङ सिंचाइ आयोजनाको अनुमान छ । सम्भवतः अर्को आर्थिक वर्षसम्म आयोजना सञ्चालनमा आइसक्ने आयोजनाका डिइ राजु आचार्यले बताएका छन् ।

घोराही उपमहानगरपालिका–२ र ४ का स्थानीयबासीलाई लक्षित गर्दै सोही आयोजना अन्तर्गत अर्को भीमकाय बाँध सहितको पानी भकारी निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । कहिल्यै पानी नसुक्ने सरेसोतामा ठूलो ड्याम बनाएर पोखरीलाई जलाशय बनाइएको छ । यसबाट कम्तिमा ४ सय घरधुरीले सिंचाइ सुविधा पाउने उपभोक्ताहरुले बताएका छन् । कम्तिमा ३ लाख घनमिटर पानी अटाउने सो पानी भकारीबाट ३२ हेक्टर खेतबारीमा बाह्रैमहिना सिंचाइ सुविधा पुग्ने बृहत दाङ सिंचाइ परियोजनाको अनुमान छ ।

हालसम्म ८० लाख खर्च भइसकेको यो योजना कम्तिमा २ करोडको लागतमा सम्पन्न भइसक्ने सरेसोता जलाशय सिंचाइ उपभोक्ता समितिका अध्यक्ष गोविन्द भण्डारीले बताए । ‘बाँधमा पानी अटाउने अवस्था छैन, त्यसैले बाँधको हाइट बढाउन हामीले आयोजनासँग आग्रह गरेका छौँ’, उपभोक्ता समितिका अध्यक्ष भण्डारी भन्छन्, ‘जति धेरै पानी उति धेरै सिंचाइ ।’ निर्माणधीन जलाशय सिंचाइ योजना घोराहीका रामपुर र सुनपुरका स्थानीयबासीको सिंचाइको भरोसा बनेको छ । बाँध बाहेक यहाँ सिंचाइको कुनै विकल्प थिएन ।

घोराही उपमहानगरपालिकाका १ र २ वडाका स्थानीयबासीको सिंचाइ सुविधालाई लक्षित गरी घोराही उपमहानगरपालिकाले बनाएको एउटा चिटिक्क परेको पर्यटकीय कृत्रिम तालबाट पनि सिंचाइ सुविधा उपलब्ध गराउन बृहत दाङ सिंचाइ आयोजनाले लिप्mट सिंचाइ योजना अघि सारेको छ । जसका लागि लिफ्ट प्रविधिबाट दहको पानी माथि तानेर खेतबारीमा सिंचाइ सेवा उपलब्ध गराइसकेको छ । यसले पनि सुर्केडाँडाको सुख्खा बाँझा जमिनलाई हराभरा बनाउन थालेको छ । स्थानीयबासीमा यो पानी भकारीले पनि खुसी थपेको छ । अहिले सुर्केडाँगी गाउँमा बेमौसमी तरकारी खेती समेत सुरु भइसकेको छ, व्यावसायिक रुपमै ।

तुलसीपुर उपमहानगरपालिका–१४ को भोजपुर स्थित बबई किनारामा बबईको पानी सोलारको माध्यमबाट लिप्mट गरी आफ्ना घरबारीमा पानीका फोहरा वर्षिँदा स्थानीय किसान उदीराम खत्री कम्ति खुसी छैनन् । नजिकैको बबई नदीको पानी हेरेर चित्त बुझाउने खत्रीले यसपालि लिप्mट प्रविधिबाट बारीमै पानी आएपछि चैतमै मकै फलाए, काँक्रा फलाए, अनि बजार लगेर पैसा पनि कमाए । नदी किनारामा रहेर पनि अग्लो ठाउँ भएकाले सिंचाइ सुविधाको कुनै मेसो नपाएका भोजपुरेहरुको लिप्mट सिंचाइको कुनै विकल्प थिएन । अहिले बबई किनारमै रहेर पनि पानीको समस्या खेप्दै आएको भोजपुर गाउँको कम्तिमा २५ विगाह खेतीलाई सोलार प्रविधिले सिंचाइ सुविधा पु¥याएको भोजपुर सर्सैयाका स्थानीय उपभोक्ता हुताराम केसी बताउँछन् ।

समाचारमा उल्लेख गरिएका योजनाहरु त बृहत दाङ सिंचाइ आयोजनाका प्रतिनिधिमूलक योजना मात्रै हुन् । परियोजनाले विभिन्न स्थानको भौगोलिक एवं वातावरणीय अवस्था हेरेर कतै पानी भकारी, कतै मुहान सिंचाइ त कतै लिफ्ट सिंचाइ आयोजनाका माध्यमबाट सुख्खा जमिनमा सिंचाइ सेवा पु¥याउँदै आएको छ । आयोजनाले डाइभर्सन, सतह सिंचाइ प्रणालीको विकास, जलाशय प्रणालीबाट सिंचाइ, बबई करिडोर तथा अन्य स्थानमा लिप्mट सिंचाइ र भूमिगत सिंचाइ प्रणाली तथा नयाँ प्रविधिमा आधारित सिंचाइ प्रणालीमार्फत् आफ्ना कार्यक्रमहरु सुरु गरेको छ ।

‘अब प्याकेजमा एकीकृत सिंचाइ योजनाहरु सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी आगामी वर्षका लागि कार्यक्रम सुरु गरिनेछ’–सिंचाइ आयोजनाका डिइ राजु आचार्र्य भन्छन्, ‘एकीकृत रुपमा योजनाहरु सञ्चालनमा आएपछि लक्षित समुदायमा सिंचाइको लाभ यसभन्दा बढी पुग्नेछ । त्यसका लागि बहुलाखोलाबाट कति सिंचाइ योजनाहरु सञ्चालन हुन सक्छन् ? ग्वारखोलामा आश्रित कति योजनाहरु निर्माण गर्न सकिन्छ ? वा हापुर खोलाबाट के–कस्ता एकीकृत सिंचाइ योजनाहरुको सम्भावना छ ? भनेर अध्ययन भइरहेको पनि उनको अभिव्यक्ति थियो ।

आयोजनाले दाङ उपत्यकामा मात्र सिंचाइको काम गर्दै आएको छ । यस अन्तर्गत हालसम्म दाङ उपत्यकाका विभिन्न स्थानमा गरी १४ वटा जलाशय निर्माण सम्पन्न भइसकेका छन् । लिप्mट निर्माण भइसकेपछि १ हजार ९२ हेक्टर जग्गामा सिंचाइ सेवा उपलब्ध हुने आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिएका छन् । त्यस्तै लिफ्ट सिंचाइ योजना अन्तर्गत २६ वटा योजनाहरु छन् । यी योजनाहरुबाट कम्तिमा साढे ८ सय हेक्टरभन्दा बढी जमिन सिञ्चित हुने बताइएको छ । यसैगरी ३३ वटा नयाँ प्रविधिमा आधारित सिंचाइ पोखरीहरु निर्माण भइसकेका छन् । आर्थिक बर्ष २०७७÷०७८को साउन महिनादेखि हालसम्म आयोजना अन्तर्गत विनियोजित पुँजीगततर्फको २९ करोड ३७ लाख रुपैयाँ बजेटमा शतप्रतिशत वित्तीय प्रगति भएको देखिएको छ ।

स्मरण रहोस्, दाङ जिल्लाका नेता दीपक गिरी सिंचाइमन्त्री भएका बेला वि.सं २०७३ मंसिर १२ को मन्त्रिपरिषद्को निर्णयानुसार बृहत दाङ सिंचाइ आयोजना लागू भई कार्यान्वयनमा आएको छ । जलस्रोत तथा सिंचाइ विभागको मातहतमा रहेको यो आयोजना वि.सं २०८३÷०८४ सालसम्म सञ्चालनमा आउनेछ । यसको लागत अनुमान करिब ४० अर्ब गरिएको छ । यद्यपि, समग्र आयोजनाको डिपिआर निर्माण कार्यकै चरणमा रहेको हुँदा सबै विवरण फाइनल हुन भने बाँकी रहेको आयोजनाले जनाएको छ ।