खुल्यो बजार, उड्यो जहाज, गुडे गाडी

  •   
  •  

बालाराम खड्का

तुलसीपुर, २५ असार । खुल्यो बजार, चल्यो जहाज, गुडे गाडी । यो अवस्थाले कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन खुकुलो भएपछि नागरिकहरुको दैनिकी लयमा फर्कन थालेको छ ।

लकडाउन खुकुलो भएसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ । लामो समयको लकडाउनसँगै बन्द भएका बजार तथा यातायााका साधनहरु सञ्चालन भएका छन् । होटल व्यवसाय र उद्योग कलकारखानाहरु समेत सञ्चालनमा आएसँगै आम नागरिकहरुको दैनिकी लयमा फर्र्कन थालेको हो ।

कोरोना भाइरसको संक्रमण दर केही कम भए पनि जोखिम भने कायमै रहेको छ । जोखिमका बीच पनि जिल्लामा बिहानदेखि साँझ ६ बजेसम्म बजार खुलेपछि बजारमा चहल–पहल बढेको छ । बजारमा पहिलेजस्तै भरिभराउ हुन थालेको छ भने लामोदेखि छोटो दूरीका यातायातका साधनहरु सञ्चालन भएपछि केही सहज भएको छ । स्वास्थ्य सतकर्ता अपनाउँदै व्यापार व्यवसायदेखि यातायातका साधनहरु सञ्चालन गर्ने पछिल्लो निर्णयसँगै जिल्लाका बजारहरु भरिभराउ हुने गरेका छन् ।

बजारमा किनमेल गर्नेहरुको पनि भीड बाक्लो नै रहेको छ । यसले गर्दा एकातिर सहज भएको छ भने संक्रमणको जोखिम भने कायमै रहेको जानकारहरु बताउँछन् । स्थानीय रुटदेखि दाङ–काठमाडौँसम्म यातायातका सधानहरु पनि सञ्चालन भएका छन् । असार २२ गतेदेखि अब दैनिक ६ वटा बसहरु लामो रुटमा चल्ने भएका छन् । सामान्य नागरिकहरु निजी गाडीमा चर्को भाडा तिरेर काठमाडौँ जान र आउन बाध्य भएको भन्दै व्यापक गुनासो आएपछि जोखिम मोलेर सवारी सञ्चालनमा ल्याएको बताएको छ ।

यातायात व्यवसायी महासंघका सल्लाहकार तथा व्यवसायी सुरेश हमालका अनुसार दैनिक बिहान ३ वटा र साँझ ३ वटा गरेर ६ वटा बस दाङ काठमाडौँ चल्नेछन् । जिल्लामा भने आवश्यक मात्रामा यातायातका साधनहरु सञ्चालन गरिएको छ । ‘प्रशासन र हामीहरुको सहमतिमा अहिले लामो दूरी काठमाडौँका लागि नागरिकहरुलाई सहजताका लागि गाडी सञ्चालन गरेका छौं’, उनले भने ।

दैनिक बस काठमाडौँ पठाउनका लागि साहयक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनेको छ । सोही समितिले दैनिक ६ वटा बसलाई पास दिने छ भने सुरक्षा मापदण्ड अपनाएको छ÷छैन भन्ने कुरा ट्राफिक प्रहरीलेले हेर्नेछ । जिल्लामा थप एक हप्ता लकडाउन थपे पनि बजार र छोटो तथा लामो दूरीका यातायातहरु भने सञ्चालन भएका छन् ।

त्यस्तै नेपालगञ्ज वुटवल लगायतका स्थानमा भने छिटफुट मात्रामा यातायातका साधनहरु छुटेको हमालले बताए । ‘डायलमा गाडीहरु सञ्चालन भएका छैनन् यात्रुहरुको आवश्यकता र माग अनुसार केही थोरै मात्रमा यातायातका साधनहरु चलाएका छौँ, उनले भने । यसैबीच दाङको टरिगाउँ एयरपोर्टले हवाई उडान पनि सुरु गरेको छ । काठमाडौं–दाङ, दाङ–काठमाडौं उडान सुरु भएको विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए ।

आइतवारदेखि विमानस्थल सञ्चालन भए पनि बुधवार र बिहीवार भने मौसमका कारण उठान हुन नसेको उनले बताए । दोस्रो चरणको कोरोना महामारी सुरु भएपछि लकडाउनको समयमा आन्तरिक हवाई सेवा पनि सञ्चालन हुन सकेको थिएन । अब विस्तारै अबस्था सामान्य हुँदै गएपछि आन्तरिक उडान सुरु भएको छ ।

पहिलो चरणमा ५ वटा मात्रै उडान हुने उनले बताए । शुक्रवार र अब सोमबारबाहेक उडान उडान हुने छैन । उडान सुरु भएसँगै यात्रुहरुको चाप भने बढेको छ । ‘यात्रुहरुको चाप निकै छ, दुई दिन भने मौसमका कारण उठान हुन सकेन’, शर्माले भने ।