नदीजन्य पदाथ तीन महिना मात्र हाम्रो जिम्मा : प्रहरी प्रमुख

  •   
  •  

दाङ, २५ असार । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्ले नदीजन्य पदार्थ उत्खन्न व्यवस्थापनको जिम्मा नेपाल प्रहरीलाई तीन महिना मात्र भएको बताउँदै बाँकी समयमा स्थानीय सरकारलाई सुरक्षा प्रदान गर्ने भएको बताएका छन् । स्थानिय स्वायत्त ऐनले नदिजन्य पदार्थको उत्खनन्, उपभोग र व्यवस्थापन लगायतका संपुर्ण अधिकार संबन्धित स्थानिय पालिकालाइ दिएको पनि उनले स्पष्ट पारे ।

‘असार, साउन र भदौ महिनामा मात्र नदीजन्य पदार्थको पूर्णरुपमा रोक्ने हाम्रो जिम्मा हो, बाँकी महिनामा ठेक्का लगाएर स्थानीय पालिकाले व्यवस्थापन गर्ने हो’, जिल्ला प्रहरी कार्यालयले बिहीवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी काफ्लेले भने । समग्रमा ठेक्का नलाग्ने समयमा भन्दा निकै बढी समस्या स्थानीय पालिकाले ठेक्का लगाएको समयमा हुने पनि उनको अभिव्यक्ति थियो ।

सोही अवसरमा बोल्दै प्रहरी प्रमुख काफ्लेले अबैध उत्खनन् र क्रसर सञ्चालनका सन्दर्भमा कानुनविपरीत कुनै पनि मिलेभगत नहुने पनि स्पष्ट पारे । असार साउन र भदौ महिनामा कुनै पनि खोलानाला तथा नदीबाट उत्खनन् गर्न मिल्दैन, त्यसलाइ प्रहरीले रोक्ने छ । ‘दाङमा मात्र नभएर देशभर नै प्राकृतिक स्रोत साधनमाथिको दोहनको विषय उठ्ने गरेको छ’, प्रहरी प्रमुख काफ्लेले भने– ‘दाङमा यो समस्या समाधानका लागि कानुन अनुसार नै काम गर्छ । कतै अवैध उत्खनन् भएको रहिछ भने टुलुटुलु हेरेर बस्दैन ।’ उलने आफूले भनेको अनुसार काम गर्ने भन्दै बाँकी काम परिणाममा देखिने समेत बताए । ‘सबै कुरा मैले यो गर्छु, त्यो गर्छु भन्नु पर्दैन । काम गरेर देखाउने हो’, उनले भने– ‘त्यो काम आगामी दिनहरुमा तपाईहरुले अवश्य देख्नुहुनेछ ।’ उनले कानुनको बर्खिलापमा जाने जोही पनि कानुनी दायरामा आउने बताए ।

त्यसैगरी प्रहरी प्रमुख काफ्लेले जिल्लामा शान्ति सुरक्षा कायमसँगै अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले आफ्नो कार्ययोजना अनुसार काम गर्ने बताए । ‘प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नेदेखि आपराधिक गविविधि नियन्त्रणका लागि काम गर्ने आफ्नै कार्ययोजना छ । प्रहरी कार्यालयमा कमाण्ड गर्न म आउँदैमा भिन्नै काम हुने, अर्को आउँदा फरक काम हुने होइन, कानुनले हामीहरुलाई दिएको कानुनी दायित्वभित्र रहेर काम गर्ने हो’, प्रहरी प्रमुख काफ्लेले भने । उनले सहज रुपमा सूचना सञ्चार माध्यमसम्म पु¥याउन आफूहरु तयार रहेको बताए ।

सहजमा सकारात्मक प्रभावका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रहरी प्रमुख काफ्लेले त्यसका लागि प्रहरीले सहयोग गर्ने बताएका थिए । ‘एकद्वार सूचना प्रणालीलाई जिल्ला प्रहरी कार्यालयले व्यवस्थापन गरिसकेको छ, त्यसका लागि जिल्ला प्रहरी प्रवक्ताले आधिकारिकरुपमा सूचना दिनेछन्’, काफ्लेले भने ।
त्यसैगरी प्रहरीले जनतासँगको सहकार्यबाटै समाजमा शान्ति सुरक्षा कायम गर्नदेखि आपराधिक गतिविधि नियन्त्रण गर्ने भन्दै त्यसका लागि सम्पूर्ण प्रहरीलाई जनमैत्री व्यवहार गर्न आग्रह गरेका थिए ।

प्रहरी प्रमुख काफ्लेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदा कुनै पनि शुल्क नलाग्ने बताएका छन् । ‘न्यायका लागि प्रहरी कहाँ आउने पीडितहरुलाई विभिन्न बहानामा शुल्क उठाउने गरिएको पाइयो, यो राम्रो काम होइन’, उनले भने–‘ पीडितलाई निःशुल्क सेवा दिने प्रहरीको कर्तव्य हो । त्यसैले उजुरी दिँदा कसैले पैसा खर्च गर्नुपर्दैन ।’ कार्यक्रममा सहभागी पत्रकारहरुले नागरिकमैत्री व्यवहारसँगै प्राकृतिक श्रोतको दोहन रोक्नुपर्ने, जिल्ला प्रहरी कार्यालय दाङबाट प्राप्त सूचनाहरु सहजरुपमा छिटो पठाउने व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु प्रहरीलाई दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले समाचारलाई गहन तरिकाले बुझ्नेगरी पत्रकारहरुलाई सूचना उपलव्ध गराउन आग्रह गर्दै त्यसमा आवश्यक परे प्रहरीसँग समीक्षात्मक कार्यक्रम गर्न महासंघ तयार रहेको अभिव्यक्ति दिए ।

साथै बन्द र हड्तालका क्रममा समाचार संकलनका लागि आवागमनमा सञ्चारकर्मीहरुलाई सहयोग गर्न पनि प्रहरी प्रमुखलाई आग्रह गरे । कहिँकतै प्रेस लेखिएको मोटरसाइकलमा चढ्ने र प्रेस अंकित ज्याकेट लगाएर गैरपत्रकारहरुले पनि समस्या बनाउन सक्नेमा पनि सचेत रहन पनि प्रहरीलाई सुझाव दिएका थिए ।