घोराहीको न्यायिक समिति : ‘जग्गा र खाता रोक्का’को उजुरीको चाङ

अमरराज आचार्य

दाङ, २५ असार । घोराही क्षेत्रमा पछिल्नो समयमा जग्गा र खाता रोक्काका मुद्दा बढ्दै गएका छन् । घोराही उपमहानगरपालिकाको न्यायिक समितिको पछिल्ला ४ वर्षको अवधिको त्यो तथ्यांकको ग्राफ उकालो छ ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा २०७४÷०७५ देखि ०७७÷०७८ को हाल सम्ममा जग्गा तथा खाता रोक्काका १ सय १० वटा मुद्दा परेका छन् । परेका मुद्दाहरुमध्ये २४ वटा मात्र फच्र्यौट भएका छन् । ६ वटा मुद्दा विचाराधीन अवस्थामा भएको घोराही उपमहानगरपालिकाका न्यायिक समितिका संयोजक तथा उपप्रमुख सिता सिग्देल न्यौपानेले बताइन् ।

समितिमा आर्थिक वर्ष २०७४÷०७५ मा जग्गा तथा खाता रोक्काका ६ वटा मुद्दा परेका थिए । आर्थिक वर्ष २०७५÷०७६ मा १७ वटा मुद्दा परेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा ४१ वटा मुद्दा परेका थिए भने यो आर्थिक वर्ष २०७७÷०७ मा ४६ वटा जग्गा तथा खाता रोक्काका मुद्दा परेको न्यायिक समितिका संयोजक न्यौपानेले बताइन् ।

पारिवारिक विवादको कारण जग्गा तथा खाता रोक्का मुद्दा बढी पर्ने गरेको उनको दाबी छ । ‘पारिवारिक रुपमा विवाद भएपछि जग्गा तथा खाता रोक्का भएपछि बिक्री गर्न नपाइने भएकाले त्यो संख्या बढेको छ’, उनले भनिन्– ‘एकले अर्कालाई अविश्वास गर्ने, पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोग, पारिवारिक कलह, मदिरा सेवन, पारिवारिक बेमेल नै मुद्दाका कारण हुन् ।’

न्यायिक समितिमा ४ वर्षको अवधिमा ७ सय ५७ वटा मुद्दा परेको थिए । ती मुद्दामध्ये ६ सय ५८ वटा मुद्दा फच्र्यौट भैसकेका छन् । अब ९९ वटा मुद्दाहरु प्रक्रियामा छन् । समितिमा ४ वर्षको अवधिमा लेनदेनका १ सय ३६ वटा मुद्दा परेकोमा १ सय ३५ वटा मुद्दा फच्र्यौट भएका छन् भने १ वटा बाँकी छ । जग्गा बिवादका २ सय ४४ वटा मुद्दा परेका थिए, त्यसमा २ सय ३७ वटा फच्र्याैट भएका छन् भने ७ वटा मुद्दा बाँकी छन् ।

त्यसैगरेर कुलो नालापानी सम्बन्धी १८ वटा मुद्दा परेकोमा १५ वटा फच्र्यौट भएका छन् भने ३ वटा बाँकी रहेका छन् । घर भाडासम्बन्धी ११ वटा मुद्दा परेकोमा १० वटा फच्र्यौट भइसकेका छन् भने १ वटा बाँकी छ । अन्य मुद्दा ९३ वटा परेकोमा ९२ वटा फच्र्यौट भएका छन् भने १ वटा बाँकी छ । बातावरणसम्वन्धी ८ वटा मुद्दा परेकोमा ८ वटा नै फच्र्यौट भइसकेको संयोजक न्यौपानेले बताइन् ।

त्यसैगरेर घरेलु हिंसासम्बन्धी ९९ वटा मुद्दा परेकोमा सबै फच्र्याैट भैसकेका छन् । गाली बेइज्जती सम्बन्धी ४ वटा मुद्दा परेकोमा ४ वटा नै फच्र्यौट भएका छन् । कुटपिटसम्बन्धी ४ वटा मुद्दा परेकोमा ४ वटा नै फच्र्याैट भैसकेका छन् । माना चामलसम्बन्धी ३० वटा मुद्दा परेकोमा ३० वटा नै फच्र्यौट भइसकेको संयोजक न्यौपानेले बताइन् ।

न्यायिक समितिमा परेका मुद्दाहरु मिलापत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने गरेको उनको भनाइ छ । ‘हामी दुवैलाई जित हुने गरेर मुद्दा मिलाउने गरेका छौँ’, उनले भनिन्– ‘त्यो भएमा समाज र परिवार विभाजित हुन नसक्ने हाम्रो विश्वास छ ।’ न्यायिक समितिमा पनि विगतको तुलनामा मुद्दा घट्दै गएको छ । सुरुका वर्षमा धेरै मुद्दा परे पनि पछिल्ला वर्षहरुमा कम मुद्दा परेको तथ्यांकले देखाएको छ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा पछिल्ला वर्षमा मुद्दा घट्दै गएको पाइएको छ ।

समितिमा आर्थिक वर्ष २०७४÷०७५ मा २ सय ५६ वटा मुद्दा परेका छन् । २०७५÷०७६ मा २ सय ६ वटा मुदा परेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ९० वटा र आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ४१ वटा मुद्दा परेको न्यायिक समितिले जनाएको छ । सुरुका वर्षमा सबै मुद्दाहरु न्यायिक समितिमा मुद्दा दर्ता गर्ने भएकाले बढी भएको न्यायिक समितिका संयोजक न्यौपानेले बताइन् । पछिल्लो समय न्यायिक समितिले हेर्ने मुुुद्दा मात्र दर्ता हुने भएकाले कम भएको उनले बताइन् ।

स–सना विवादहरु मेलमिलापकर्र्ताबाट समुदायमा नै मिलाप गराउने भएकाले पनि तथ्यांकमा कम भएको उनले बताइन् । त्यस अवसरमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले समाजमा चेतनाको विकाससँगै मुद्दाहरु पनि कम हँुदै गएको बताए । ‘सभ्य समाजमा विवाद कम हुन्छ’, नगर प्रमुख चौधरीले भने– ‘जनप्रतिनिधिहरु आएदेखि नै सभ्य समाज निर्माण गर्न लागि परेको छौँ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले न्यायिक समितिले गरेका कार्यहरु बाहिर ल्याएर सबैमा जानकारी दिने राम्रो पक्ष भएको बताए । पत्रकार सम्मेलनको सहजीकरण घोराही उपमहानगरपालिका कानुन मामिला शाखाका प्रतला देवकोटाले गरेकी थिइन् ।