दाङ, २५ असार । जिल्लामा बितेको ६ महिनामा १ सय वटा मानवअधिकार हनन्का घटना घटेका छन् । २०२१ जनवरीदेखि जुलाई ८ तारिकसम्ममा यो संख्यामा मानव अधिकार हनन्का घटना घटेका हुन् ।
इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ का लागि संकलित दाङ जिल्लाका घटनाका बारेमा छलफल गर्न आयोजना गरिएको कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले जिल्लामा ६ महिनाको अवधिमा १ सय वटा विभिन्न मानवअधिकार हनन्का घटना घटेको बताए ।
उनका अनुसार यो ६ महिनाका अवधिमा मानवअधिकार हनन्सम्बन्धी घटना विगतको संख्यामा कम भएको छ । अघिल्लो वर्षभन्दा करिब ५० वटा मानवअधिकार हनन्का घटना कम भएको उनले बताए । ‘कोभिड–१९ को कारण सरकारले गरेको लकडाउनको कारणले पनि घटना अभिलेखीकरण कम भएकाले तथ्याङमा घटना कम भएको हुन सक्छ’, उनले भने ।
यस अवधिमा भएका १ सय वटा घटनामा १ सय १७ जना पीडित र १ सय ६ जना पीडक छन् । मानवअधिकारसम्बन्धी घटना राज्य पक्षबाट ८ वटा गैरराज्य पक्षबाट ८९ वटा र अज्ञात पक्षबाट ३ वटा घटना भएका छन् । घटेका घटनामध्ये खाद्य अधिकारसम्बन्धी १ वटा, बालविवाहसम्वन्धी १ वटा, बहुविवाह १, बन्द–हड्ताल २ वटा, बेपत्ता १, दुव्र्यवहारसम्वन्धी २ वटा, धम्की सम्बन्धी १ वटा, कथित बोक्सी आरोप १ वटा, घरेलु हिंसासम्बन्धी ३० वटा, हत्यासम्बन्धी ४ वटा, हिरासतमा मृत्यु १ वटा घटना भएका छन् ।
त्यसैगरेर गिरफ्तारीसम्वन्धी २ वटा, कुटपिटसम्बन्धी ४ वटा, बलात्कार सम्वन्धी ३४ वटा, बलात्कार प्रयाससम्बन्धी १४ वटा, यौन दुव्र्यवहार सम्वन्धी १ वटा घटना छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समाज परिवर्तन हुन नसक्दा मानवअधिकार हनन् सम्बन्धी घटना भैराखेको बताए । ‘हामीले चाहेअनुसार समाज परिवर्तन हुन सकेको छैन’, उनले भने– ‘त्यसका लागि संस्कारमा परिवर्तन आवश्यक छ ।’ अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रमुख नेपालीले बताए ।
प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले जिल्लामा मानवअधिकार बेचविखननका घटना पनि रहेको यसको अभिलेख समावेश गर्न सुझाव दिए । कार्यक्रम मानवअधिकार सञ्जालका जिल्ला संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले गरेका थिए ।