कोभिडका कारण बढ्दो बेरोजगारी

भूवन पोख्रेल

अहिले मुलुकमा रोजगकारी संकटको शृंखला बढ्दो छ, कोरोनाका कारण ।रोगभन्दा भयानक बन्दै छ रोजगारी संकट । आजको पहिलो चुनौती भनेको सकेसम्म कोरोना भाइरसबाट धेरैभन्दा धेरै मानव जीवनको रक्षा गर्नसक्नु हो । विश्व महाव्याधि भाइरसले जतिमात्रामा जनस्वास्थ्यमा भय बढाएको छ, त्योभन्दा बढी मात्रामा रोजीरोटीको सन्त्रास बढेको छ ।

रोजीरोटीमै स.कट देखापर्ने परिस्थितिसँग जुध्नुपर्दा रोगभन्दा भोक ठूलो भन्ने परिस्थिति सिर्जना भएको छ । ठूलो संस्थामा रोजगारीका अवसरहरु कटौती भइरका छन् । कोरोना भाइरसकै कारण समस्या सिर्जना भएको छ । कोरोना भाइरसका कारण भयानक अवस्था व्यहोर्नुपरेको छ, त्योभन्दा ठूलो असर भने हाम्रो अर्थतन्त्रले व्यहोर्न थालिसकेको छ ।

स्वदेश तथा विदेशमा औपचारिक क्षेत्रभित्र काम गर्ने कर्मचारीदेखि लिएर सडक पेटीमा पसल थाप्ने, मकै पोल्ने, इट्टा बोक्ने मज्दुरहरुका रोजगारी संकटमा परेका छन् । आंशिक ज्यालादारीमा काम गर्ने मानिसहरुदेखि लिएर अर्धरोजगारीका क्षेत्रमा काम गर्नेहरुको अवस्था अहिले विकराल बन्न पुगेको छ । यो नदेखिने अदृश्य भाइरसका कारण धेरैको घरबार उजाडिएको छ र बास र गास खोसिएको छ । रोजगारी संकटलााई राज्यले बेलैमा सम्बोधन गर्न नसक्ने हो भने रित्तो थाल ठटाउँदै अर्को अनपेक्षित विद्रोहका लागि परिस्थिति उर्बर नबन्ला भन्न सकिँदैन ।

भाइरसबाट बच्न घरमै बस्ने कि भोकभोकै मर्ने ? अझै कोरोना भाइरस नियन्त्रणमा आउनसकेको छैन । मृत्युदर रोकिनसकेको छैन । भाइरसका कारण दैनिक ज्यालादारीदेखि मासिक तलव बुझ्नेसम्म सबै व्यक्तिको जविन कष्टकर बन्न पुगेको छ । नेपालमा मात्र नभई अमेरिका, अष्ट्रेलिया, कोरिया, खाडी मुलुकका कामदार प्रभावित बन्न पुगेका छन् । धेरैजसो राष्ट्रमा लकडाउन भएकाले तलवी कर्मचारी बेतलवी भई घरमा बस्नुपरेको छ । कैयौँ व्यक्तिको कोरोना भाइरसकै कारण भएको रोजगारी गुम्न पुगेको छ । कैयौँ पेशा जोखिममा पर्न पुगेको छ ।

अमेरिका, जर्मनी, क्यानााजस्ता मुलुकका नागरिक बेरोजगार बन्न पुगे बेरोजगारी भत्तालगायत राहत प्याकेजको प्रबन्ध मिलइएको हुन्छ । व्यक्तिको रोजगारी गुमेमा सरकार उत्तरदायी र जवाफदेही बन्छ । यी विकसित मुलुकले आफ्ना नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाएर सुरक्षित गरिरहेका छन् । जसले बाहिर काममा निस्कन पनि कुनै सन्त्रास भएन । नेपालजस्तो अल्पविकसित मुुकमा न त नागरिकलाई भ्याक्सिन लगाइदिएर सुरक्षित गर्न सकिएको छ न त काम नलगाई बेरोजगार भत्ता दिन सकिएको छ ।

सानोतिनो रोजगारी भएकाहरु पनि खुकुरीको धारमा टेकेर काममा निस्कनुपरेको छ । कतिबेला संक्रमित भइने हो थाहा छैन । जविन र मरणको दोसाँधमा जीवन दाउँमा राखेर रोजीरोटीका लागि घरबाहिर काममा निस्कनुपर्ने वाध्यता छ । कोभिड–१९ को बेला कार्यस्थलमा सुरक्षाको कडा प्रबन्ध मिलाउन नसक्दा धेरै संक्रमित बन्न पुगेका छन् । कोभिड थप प्रसारणलाई रोक्नका लागि कार्यस्थलमा साबुन–पानी, सरसफाई स्वच्छतासम्बन्धी तयारी पु¥याउन आवश्यक छ । कोरोनाको महामारीको समयमा रोजगारदाताहरुले आफ्ना कर्मचारीहरुलाई कसरी सघाउन सक्छन् ? यसबारे योजनाहरु बनाउन आवश्यक छ ।

संसारभरका बालबालिकालाई आफ्ना अभिभावकको साथ आवश्यक छ । त्यसैगरी ती अभिभावकहरुलाई तिनका रोजगारदाताको साथ आवश्यक छ । जोखिमपूर्ण परिवेशको सामना सबै जुटेर बाँच र बचाऔँ भन्ने नीति बनाई अघि बढ्न आवश्यक छ । सरकारले बेरोजगारलाई स्वरोजगार बनाउने नीति अघि सार्नुपर्छ । नागरिकलाई उदमी बनाउने नीति तथा कार्यक्रम ल्याउनुपर्छ । बेरोजगारी अन्त्य गर्न रोजगारी केन्द्रित योजना अघि सार्नुपर्छ । रोजगार केन्द्रित कार्यक्रम सरकारले ल्याउन नसकेका कारण भोकमरी र बेरोजगारीको समस्या बढ्न पुगेको हो । पर्यटनको रोजगार क्षेत्र कोरोना भाइरसका कारण धरापमा परेको छ । यस क्षेत्रको अर्थतन्त्रमा परेको भ्याङ टाल्न वर्षौं कुर्नुपर्छ । शिक्षा क्षेत्रमा पनि यसले दीर्घकालीन असर छोड्नेछ ।

स्वास्थ्य क्षेत्र त झनै दलदलमा छ, यसलाई निकास दिन नसकेर निसास्सिएको छ । पूर्वाधार निर्माणलगायतका क्षेत्रहरुको रोजगारीका अवसर पनि सुस्ताएका छन् । कोभिडको मार परेको क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुनसकेको छैन । सरकारले विदेशबाट फर्किएका युवाहरुलाई कृषिको व्यवसायीकरणमा सघाएर बेरोजगारपूर्ण स्थितिबाट स्वरोजगार बनाउने नीति तथा कार्यक्रम ल्याउन सक्नुपर्छ । कोरोनाको अन्त्य नहुँदासम्म लगानी गर्न र नयाँ रोजगारी सिर्जना गर्ने सस्या हुने भएकाले सबैलाई बेरोजगारीको पीडा झेल्नुपरेको छ ।

कोरोना भाइरसका कारण केही समय वैदेशिक रोजगारी पनि ठप्प भए । कोरोना भइरसका कारण लाखौँभन्दा बढी श्रमिक घर फर्किए । खाडी, मलेसियालगायत अन्य मुलुकबाट पनि कामदार फर्किएका छन् । कोरोनाको जोखिम बढेसँगै विदेशबाट फर्किनेको संख्या बढ्दै गएको छ । सरकारले अझै ठोस योजना ल्याउन नसक्दा स्वदेशमा खर्च धान्न धौ–धौ भएकाले रोजगारीका लागि पुनः श्रमिक छिमेकी मुलुक भारततिर अवसरको खोजीमा गइरहेका छन् । बेरोजगार ह्वात्तै बढेसँगै यसले गरिबीमा प्रत्यक्ष असर पार्छ ।

गरिबी हटाउन वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका खेलेको छ । बेरोजगार बढेसँगै सामाजिक सद्भाव बिग्रने, सामाजिक विकृति र विद्रोह निम्तिनसक्छ । गरिबी निवारणसम्बन्धी ठोस काम हुन नसकिरहेको अवस्थामा पछिल्लो समय कोभिडले बेरोजगार संख्या बढ्नुका साथै गरिबी पनि बढ्नसक्ने विज्ञहरुले बताउँछन् । कोभिडले चुनौतीसँग अवसर दिएकाले रोजगारीका कार्यक्रम ल्याएर सरकार अघि बढ्न ढिलाइ भइसकेको छ । कोरोनापछि मिटर घुमे जसरी बढ्दै छ, बेरोजगगारी समस्या । अझ कति बेरोजगार बन्न पुग्छन्, त्यसको तथ्याड्ढ आउन बाँकी नै छ । अनौपचारिक क्षेत्रमा कार्यरत अधिकांश कामदारको रोजगारीमा संकट देखापर्न थालिसकेको छ ।

पर्यटन, यातायत, होटल, साना तथा मझौला उदोगमा कार्यरत धेरै कामदारले रोजगारी गुमएका छन् । नेपालमा होटल क्षेत्रका मात्र सातदेखि आठ लाख कामदारले रोजगारी गुमाएर कामविहीन बन्न पुगेका छन् । अझ अनौपचारिक क्षेत्रमा कार्यरत मज्दुरहरुको रोजगारी धरामा पर्ने सम्भावना छ । असंगठित क्षेत्रका मज्दुर पीडित हुने सवाल नै रहेन । अहिले कृषि क्षेत्रमा काम गर्ने मज्दुरहरु अन्यभन्दा तुलनात्मक रुपमा कम प्रभावित छन् ।

बेरोजगारी समस्या समाधान गर्न सरकारले श्रम बैंक स्थापना गर्ने अवधारणा अघि सारेर मात्र हुँदैन । यसलाई तीव्रता दिनुपर्छ । जीवन निर्वाहका लागि गरिने काम, इलम, पेशा, व्यवसायलई रोजगारी भनिन्छ । यही रोजगारी नभएको अवस्थालाई बेरोजगारी भनिन्छ । नेपालमा बेरोजगारी बढ्नुको कारण काम सानो, ठूलो जस्तोसुकै होस् गर्नु पर्दछ भनी श्रमको सम्मान नहुनु हो । सीपयुक्त शिक्षाको कमी छ । तालिमबाट दक्ष जनशक्ति आपूर्ति गर्ने क्षमता कमी छ । बेरोजगारी एक त्यस्तो समस्या हो जसमा व्यक्ति एक ठूलो आर्थिक क्षति हो । जसबाट धेरै नराम्रो परिणाम निस्कन्छ । इच्छा, योग्यता र काम खौजने प्रयास गर्दागर्दै पनि मानिसले काम नपाएर बस्नु बेरोजगार हो ।

नेपालको संविधान २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने छ भन्ने उल्लेख गरिएको छ तर रोजगारीका प्रशस्त अवसर राज्यले सिर्जना गर्नसकेको छैन । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम जारी छ । देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो गुणस्तर र सीपयुक्त बनाई स्वदेश तथा विदेशमा प्रतिस्पर्धी बनाउन सक्नुपर्छ । नेपालमा बेरोजगारी समस्या समाधानका क्षेत्रमा व्यावसायिक कृषि महत्वपूर्ण क्षेत्र हो । हाम्रो मुुकको ठूलो जनसंख्या कृषिमा निर्भर छ । आर्थिक वृद्धिमा पनि कृषि क्षेत्रकै योगदान महत्वपूर्ण देखिन्छ । तर हाम्रो कृषि निर्वाहमुखी मात्रै छ । व्यावसायिक कृषि छैन । ठूलो संख्यामा पशुपालन, चाक्लाबन्दी खेती प्र्रणाली, मानिसको प्रयोग, खाद्य तथा जडिबुटी प्रशोधन, उद्योगतर्फ अघि बढ्नुपर्ने देखिन्छ ।

सरकारले कृषिलाई व्यावसायिक बनाउन र युवा आकर्षित गर्न अनुदान र संरक्षणको व्यवस्था गर्नुपर्छ । किसानले राम्रो मिहिनेत गर्दागर्दै पनि राम्रो प्रतिफल लिन सकेनन् भने सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने हुन्छ । विदेशका मुलुकमा यस्तो अभ्यास भएको देखिन्छ । अर्कोतर्फ बिचौलियाका कारण कृषकले उचित मूल्य पाउनसकेका छैनन् । हामीले त्यसलाई तोड्न आवश्यक छ । यति हुनसके हामीले कृषि क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्छौँ । साना तथा मझौला उद्यम विकास र प्रबद्र्धन पनि अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यसमा ठूलो पुँजी चाहिँदैन ।

उच्च व्यावसायिक क्षमताको पनि जरुरत पर्दैन । दक्ष, सीप पनि नचाहिने र ठूलो जनशक्तिलाई रोजगार दिन सकिने हुन्छ । उद्यमशीलता विकासलाई पुँजीसँग जोडेर लैजान आवश्यक छ । कोभिडका कारण साना तथा मझौला उद्योग विस्थापित बन्न पुगेका छन् । नेपालको श्रमबजारमा वर्षेनी कामका लागि तयार हुने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख युवा विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्व खासै जागरुक देखिँदैन ।

राजनीतिक अस्थिरता, भएका उद्योगधन्दा बन्द हुँदै जानु, बन्द हड्ताल, कोरोना संक्रमणका कारण भएको लकडाउन वा बन्दाबन्दी जस्ता कारणहरुले भएका रोजगारी समेत गुम्ने र नयाँ अवसर सिर्जना हुनसकेका छैनन् । यस विकराल समस्यातर्फ सरकार तथा राजनैतिक नेतृत्व बेलैमा गम्भीर भई नसोच्ने हो भने यो अवस्था झन डरलाग्दो स्थितिमा बढ्दै गई थप चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । पछिल्लो समय शिक्षित बेरोजगारी अझ भयावह रुपमा बढेको छ र यो चिन्ताको विषय हो । मुलुकको शिक्षा नीतिले सीपमूलक र उद्यमशीलभन्दा सैद्धान्तिक ज्ञान दिने शिक्षालाई बढी जोड दिएका कारण शिक्षित बेरोजगारको संख्या बढेको हो ।

लोकसेवा आयोग, शिक्षक सेवा आयोग, कोरियन भाषा परीक्षा, अन्य संस्थान र प्रतिष्ठान, विश्वविद्यालय सेवा आयोगमा थोरै संख्यामा खुल्ने रोजगारी अवसरका लागि युवाको भीडलाई नियाल्दा शिक्षित बेरोजगारको भयावह स्थिति सहजै अनुमान लगाउन सकिन्छ । थोरै संख्याको सिटमा लाखौँ, हजारौँ युवाहरको तछाडमछाड देखिन्छ । अझ कोरोना महामारीका कारण पढेर बसेका युवा जाँच दिन नपाउँदा निराश बन्नपुगेका छन् ।

शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेशागत अनुभव अथवा सीपका आधारमा स्वरोजगार बन्न सकिने प्रशस्त आधार हुँदाहुँदै पनि सरकारी वा गैह्रसरकारी क्षेत्रमा जागिर खाने प्रवृत्तिले युवा बेरोजगारीको स्थितिले भयावह रुप लिन पुगेको हो । बेरोजगारका धेरै कारणहरुमध्ये बेरोजगारहरुको जागिरे मनोवृत्ति एउता मूल कारण हो । शिक्षित युवाहरुको पहिलो प्राथमिकता नै जागिरे बन्ने हुँदा स्वरोजगार बन्नतर्फ बेवास्ता गरेका छन् । शिक्षित युवाले हलो, कोदालो छुन नहुने संस्कार विकास भएकाले एकातिर कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै गउको छ भने सेवा क्षेत्रमा रोजगारी खोजने जनशक्तिको चाँप बढ्न गई बेरोजगारीको स्थिति भयावह बन्न पुगेको छ ।

अन्त्यमा बेरोजगारी समस्या समाधानका लागि कृषि क्षेत्रमा जोड र मूल्य सहित बजार व्यवस्थापन गर्ने, प्राविधिक, व्यावसायिक र गुणस्तरीय, सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिने शिक्षा नीनि, ग्रामीण क्षेत्रको विकास, उद्योगधन्दा र कलकारखानाको विकास, स्थिर राजनैतिक व्यवस्था, कुशल नेतृत्वकर्ता, जनसंख्या नियन्त्रण, गरिबी नियन्त्रण, भ्रष्टाचार रोक्ने, जनतालाई स्वरोजगार र उद्यमशीलतातर्फ उत्प्रेरित गर्ने । आत्मनिर्भरतातर्फ अग्रसर पनि बनाउनुपर्छ । केरोनाको महामरीमा भएका रोजगारीलाई गुम्न नदिन सबै जुटौँ ।