निर्माणशालादेखि आरोग्यशाला : निमित्त निर्देशक दाहाल

  •   
  •  

कासोको धुला बाँड्ने अस्पतालका रुपमा स्थापित बिजौरी स्थित आयुर्वेद चिकित्सालयले पछिल्लो समयमा बिरामीहरुको मन जित्दैछ । सर्ने खालका संक्रामक रोगको उपचारभन्दा धेरै नसर्ने रोगहरुको उपचारमा बढी विश्वास गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा पछिल्लो समयमा आधुनिक प्रयोगशाला, रेडियोलोजी सेवासँगै पायल्स र फिस्टुलाको क्षारसूत्रबाट शल्यक्रिया समेत गर्दै आएको प्रादेशिक आयुर्वेदीय अस्पतालमा अहिले दाङ जिल्लाका मात्र नभएर लुम्बिनी र कर्णाली प्रदेशका बिरामीहरुको समेत आकर्षण बढ्न थालेको छ ।

अस्पतालमा यो आर्थिक वर्षमा आयुर्वेद औषधी निर्माणशाला निर्माणको काम अन्तिम चरणमा पुगेर सञ्चालनको तयारीमा पुगेको छ भने निरोगी बन्नका लागि योगा र नियमित रुपमा व्यायमशाला समेत सञ्चालनको अन्तिम तयारीमा छ । यससँगै कोरोना भाइरसको संक्रमणको उपचारको प्राविधिक व्यवस्थापनमा समेत अस्पतालले अर्थपूर्ण भूमिका निर्वाह गरिसकेको बताइन्छ । वर्तमान परीपे्रक्ष्यमा आयुर्वेद चिकित्सा पद्धतिप्रतिको विश्वास र आकर्षणसँगै अस्पतालमा उपलब्ध सेवाहरुका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. गोकर्ण दाहालसँग गरेको कुराकानीको सार संक्षेप ।

 अहिले बिजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भइरहेका नयां उपचार पद्धतिका विषयमा केही बताइदिनुस् न ?

 सर्वप्रथम त मैले यो अस्पतालमा निर्देशकको भूमिकामा काम गर्न थालेको करिब एक वर्ष पुग्नैथालेको यहाँलाई अवगत गराउन चाहन्छु । यसबीचमा अस्पताललाई संघीय सरकार र प्रदेश सरकारबाट समेत उल्लेख्य सहयोग प्राप्त भएको छ । कम्तिमा २३ प्रकारका आयुर्वेदिक औषधीहरु अस्पतालले बिरामीहरुलाई आवश्यकता अनुसार निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ भने डायग्नोसिसका सवालमा पनि प्रयोगशालाको स्तरोन्नति भइसकेको छ ।

प्रयोगशालामा अत्याधुनिक मेसिनबाट सुगरको परीक्षणदेखि थाइराइड फङ्सन टेस्ट समेत भइरहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु । त्यससँगै हामीले यो वर्ष रेडियोलोजी सेवा अन्तर्गत डिजिटल एक्स–रे, मानव शरीरका हरेक अङ्गहरुको भिडिओ एक्स–रेलगायतका परीक्षणहरु गर्दै आएका छौँ । मुटुको इसिजी सेवा पनि अस्पतालमा उपलब्ध रहेको जानकारी गराउन चाहन्छु । अब हामी चाँडै नै मानव शरीरलाई स्फूर्तिलो र निरोगी बनाउन निःशुल्क रुपमा नागरिक आरोग्य शालाको निर्माण पनि गर्दै छौँ । अर्को महत्वपूर्ण उपलब्धि भनेको हामीले आयुर्वेदिक औषधीको स्थानीय स्तरमै निर्माण गरी उपयोग गर्न औषधी निर्माणशालाको समेत काम अन्तिम चरणमा पुगेको जानकारी गराउन चाहन्छु ।

 निर्माणशाला र नागरिक आरोग्यशालाको सञ्चालनको कुरा गर्नुभयो, के–कस्ता कामहरु गर्ने उद्देश्यले यी काम भइरहेका छन् ?

 हो, हामीले संघीय सरकारको ३ करोड रुपैयाँको लागतमा औषधी निर्माणशालाको निर्माण करिब–करिब सम्पन्न गरिसकेका छौँ । अब आउने आर्थिक वर्षदेखि नै यसमा औषधी निर्माणको काम सुरु हुने तयारी भइरहेको छ । स्थानीय स्तरमै उपलब्ध जडिबुटीबाट आयुर्वेदिक औषधी उत्पादन अब बिजौरीमै हुनेछ । गुड म्यानुफ्याक्टर प्राक्टिस (जिएमपी)का आधारमा यो निर्माणशालामा औषधीहरु निर्माण हुनेछन्, ता कि यसले गुणस्तरीयताको सुनिश्चितता गर्न सकोस् । यसको उद्देश्य यहाँ उत्पादन भएका औषधीहरु लुम्बिनी प्रदेश मातहतका सबै आयुर्वेद अस्पताल र चिकित्सालयहरुमा उपलब्ध गराइनेछ ।

यसैगरी यहाँंबाट उत्पादित औषधीको व्यवसायीकरण गर्ने पनि योजना रहेको छ । जस्तो अहिले नेपाल सरकारको स्वामित्वमा रहेको सिंहदरबार वैद्यखानाले औषधी उत्पादन गरेर विक्री वितरण समेत गर्दै आएको छ नि, हो त्यसैगरी यो निर्माणशालाबाट बनेका औषधीहरु पनि व्यावसायिक रूपमा अन्यत्र विक्री वितरण गर्न सकिनेछ । बिजौरीलाई आयुर्वेद हब बनाउनका लागि पनि यो अभ्यास अत्यन्तै उपलब्धिमूलक हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । गुणस्तरको रोलमोडेलका रूपमा सञ्चालन हुने निर्माणशालामा चुर्ण, गोली, सिरफ र क्याप्सुल समेत निर्माणका लागि भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको पनि मैले जानकारी गराउन चाहन्छु ।

यसले अस्पतालमा अन्यत्रबाट औषधी आयात गर्नुपर्ने अवस्थामा धेरै हदसम्म सहज हुने छ अनि यहाँबाट अन्यत्र औषधी पठाउन समेत सकिनेछ । जुन अस्पतालका लागि आयस्रोतको समेत माध्यम बन्नेछ भन्ने हामीले आशा लिएका छौँ । मलाई विश्वास छ, नेपाल सरकारले हाल निःशुल्क गरेका २३ प्रकारका आयुर्वेदिक औषधीहरुमध्ये सबै औषधीहरु यहाँ निर्माण गरिएको औषधी निर्माणशालामा उत्पादन गर्ने हाम्रो लक्ष्य हो । अत्याधुनिक मेसिन सहितको फिजियोथेरापी सेवा समेत सञ्चालनको अन्तिम तयारी भइसकेको छ ।

फिजियोथेरापिष्ट सहित मेसिनहरु जडान समेत भइसकेका छन् । सम्भवतः साउनभित्रै यो सेवा सञ्चालनमा आउनेछ । नियमित योगा त यहाँ यस अघिदेखि नै चल्दै आएको छ । पछिल्लो प्रयास भनेको नागरिक आरोग्यशालाको सञ्चालन पनि हो । सबै नागरिकका लागि निःशुल्क रूपमा यहाँ आएर नियमित व्यायाम गरी शरीरलाई निरोगी बनाउनका लागि आरोग्यशाला निर्माण हुनथालेको हो । यसका सामानहरु समेत जडान भइरहेका छन् । पछिल्लो समयमा सर्ने रोगलेभन्दा पनि नसर्ने रोगले धेरै नागरिकलाई समस्या बनाइरहेको अवस्थामा यी अभ्यासहरु आयुर्वेद चिकित्सालयमा आवश्यक छ भन्ने महसुस गरेर सेवा सञ्चालनको तयारी गरेका हौँ ।

 हाल उपलब्ध आयुर्वेद विधाका चिकित्सा सेवाका विषयमा पनि केही बताइदिनुस् न ?

 सबैभन्दा पहिले आयुर्वेद चिकित्सा पद्धतिका विषयमा बुझ्न जरुरी छ । सर्ने खालका संक्रामक रोगहरुको उपचारका लागि भन्दा नसर्ने खालका दीर्घरोगका लागि आयुर्वेद उपचार पद्धति बढी प्रभावकारी मानिन्छ । आयुर्वेद चिकित्सा रोग निको बनाउनेभन्दा पनि रोग कहिल्यै नफर्कने गरी सन्चो बनाउने पद्धतिका रुपमा पनि विश्वास गर्न उपयुक्त हुनेछ ।

अहिले अस्पतालमा सबैभन्दा बढी आकर्शक सेवा भनेको क्षारसूत्रबाट पायल्स र फिस्टुलाको शल्यक्रिया नै हो । यस अघि क्षारसूत्रबाट शल्यक्रिया तालिमप्राप्त चिकित्सकहरुबाट हुँदै आएकोमा अहिले हाम्रो अस्पतालमा आयुर्वेद शल्यचिकित्सकको समेत व्यवस्थापन भइसकेको छ । क्षारसूत्रमा विशेषज्ञता हासिल गरेका चिकित्सकबाट क्षारसूत्रबाट शल्यक्रिया भइरहेको पनि म यहाँ सबैलाई जानकारी गराउन चाहन्छु ।

यसैगरी अस्पतालमा निःशुल्क रूपमा उपलब्ध हुन नसकेका औषधीहरु किन्नका लागि पनि आफ्नै अस्पताल फार्मेषी सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगिसकेको छ । अस्पताल फार्मेषीमा औषधी हेरेर कम्तिमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म छुट दिइने व्यवस्था समेत अस्पताल फार्मेषीमा उपलब्ध छ । ग्राहकले यो छुट सेवा मागिरहनुपर्ने छैन । बिलिङ हुँदा नै स्वतः छुट हुनेछ । साउन १ गतेदेखि आफ्नै अस्पताल फार्मेषी सञ्चालनमा आउनेछ ।

 आयुर्वेद चिकित्सा पद्धतिमा पञ्चकर्म उपचार पद्धतिका विषयमा निकै चर्चा हुन्छ, के हो पञ्चकर्म उपचार पद्धति बताइदिनुस् न ?

 हो, हामीकहाँ पनि पञ्चकर्म उपचार पद्धति सुरु भइसकेको यसै पत्रिकामार्फत् आम पाठक तथा नागरिकलाई जानकारी गराउन चाहन्छु । पञ्चकर्मलाई व्यवस्थित गर्न आधुनिक उपकरणहरु आइसकेका छन्, जुन स्टलको प्रक्रियामा छन् । पञ्चकर्म सेवालाई व्यवस्थित गर्नका लागि पञ्चकर्म विज्ञलाई पनि करारमा नियुक्त गर्ने प्रक्रिया चाँडै अगाडि बढ्नेछ । मलाई लाग्छ, साउनदेखि नै पञ्चकर्म विज्ञ नियुक्त भई सेवा सञ्चालनमा आउनेछ ।

पूर्वकर्म पद्धतिमा औषधीको वाफबाट सेक्ने र मालिस गरेर रोग निको पार्ने अभ्यास गरिन्छ । त्यसैगरी प्रधानकर्म पद्धतिमा बिरामीलाई आवश्यकताअनुसार बान्ता गर्ने जडिबुटी खुवाएर शरीरभित्र रहेका विकारहरुलाई बाहिर निकालिन्छ । यसैगरी पखाला लगाएर पनि शरीरमा रहेका विजातीय पदार्थलाई बाहिर निकालेर रोगबाट मुक्ति दिलाउन सकिन्छ । त्यसरी नै नाकबाट औषधियुक्त तेलको वाफ पठाएर शरीरमा रहेको विकारलाई बाहिर निकाल्ने अभ्यास पनि पञ्चकर्म पद्धतिमा सफल उपचार मानिन्छ ।

अर्को आधुनिक आयुर्वेद चिकित्सा पद्धतिमै पर्ने रक्तमोक्षण पद्धति पनि सुरु भइसकेको यसै पत्रिकामार्फत् आम नागरिकलाई जानकारी गराउन चाहन्छु । मानव शरीरको जुन भागमा विकार छ, त्यहाँ एउटा प्रजातिको जुकालाई टोकाएर त्यहाँको विकार बाहिर निकालिन्छ । आयुर्वेद चिकित्सा पद्धतिमा रक्तमोक्षण प्रविधि पनि सफल उपचार पद्धति मानिँदै आएको छ । त्यसका लागि जुकाखेती पनि अस्पताल परिसरमा सुरु भइसकेको छ । यहाँ सञ्चालनमा आएको अर्को पद्धति भनेको मलद्वारमा जडिबुटीजन्य औषधी राखेर पनि शरीरमा रहेका विभिन्न विकारहरुलाई बाहिर निकाल्न सकिन्छ ।

जसले गर्दा रोग निको भएर कहिल्यै फेरि फर्कन नसक्ने अवस्था पनि हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु । पञ्चकर्मका यी सबै विधि र पद्धतिहरु आयुर्वेद चिकित्सालय बिजौरीमा सञ्चालनमा आइसकेका छन् । यसैगरी आगामी आर्थिक वर्षका लागि पनि संघीय सरकारबाट सेवा सुदृढीकरणका लागि एक करोड ४२ लाख रुपैयाँ आइसकेको छ भने प्रदेश सरकारबाट पनि १ करोड बजेट निनियोजन भइसकेको छ । यसकारण पनि बिजौरी आयुर्वेद अस्पतालमा आउने बिरामीले अब नेपाल सरकारले निःशुल्क गरेका २३ प्रकारका आयुर्वेद औषधीहरु निःशुल्क रुपमा ढुक्कसँग पाउनेछन् । औषधी किन्नुपर्ने अवस्था अब अत्यन्तै न्यून हुनेछ ।

 अन्त्यमा समस्याका विषयमा पनि केही बताइदिनुस् न ?

 हो, समस्या पनि धेरै छन् तर पछिल्लो समयमा खड्किएको समस्या भनेको बिजौरी स्थित आयुर्वेद अस्पतालले अहिलेसम्म दरबन्दी अनुसार चिकित्सक पाएको छैन । विशेषज्ञ चिकित्सकको एकदमै आवश्यकता खड्केको अवस्था छ भने कार्यालय सहयोगीको आवश्यकता पनि उत्तिकै खड्केको अवस्था हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ तथा कार्याचिकित्सकको पनि दरबन्दी अनुसार व्यवस्थापन हुनसकेको छैन । अझै दुर्भाग्यको कुरा के भने अस्पतालले स्थापनाकालदेखि नै फुल निर्देशक पाउनसकेको छैन । निमित्त निर्देशककै भरमा चलाउनुभन्दा दरबन्दी अनुसार ११औँ तहको निर्देशक अस्पतालमा आउनसके सेवामा थप प्रभावकारी हुने पनि हामीले अपेक्षा गरेका छौँ ।