मिजासिला, हँसिलो मुहार, मिलन्सार, कर्ममा विश्वास गर्ने एउटा असल स्वास्थ्यकर्मी हुन्, तुलसीपुर–५ निवासी खुमप्रसाद न्यौपाने । मध्यम परिवार भमके गाउँमा जन्मिएका न्यौपाने विगत दुई दशकदेखि स्वास्थ्यकर्मी पेशामा लागेर जनताको सेवामा दिनरात ततल्लीन छन् । हालको तुलसीपुर–१ भमकेमा वि.स २०३४ सालमा बुबा तुलसीराम र आमा दुर्गी न्यौपानेको पहिलो सन्तानका रूपमा जन्मिएका न्यौपानेले आप्mनो पहिलो खुसी लोकसेवा आयोगमा नाम निकाल्दाको सुनाए ।
उनको बुबाको सपना एउटा कुशल स्वाथ्यर्मी बनाउने नै थियो । तर उनी धेरै पढेर कुनै विशेषज्ञ डाक्टर नभएता पनि एक कुशल स्वाथ्यर्मी भएर जनताको सेवा गर्न पाउँदा खुसी भएको बताउँछन् । विसं २०५६ सालमा पहिलो पटक लोकसेवा आयोगमा अहेव पदमा नाम निकाल्दा आफू त्यस दिन जीवनकै पहिलो खुसी प्राप्त गरेको न्यौपाने बताउँछन् । ‘त्यतिबेला सरकारी जागिरको ठूलो महत्व थियो, त्यसमाथि स्वास्थ्यकर्मी, त्यसको छुट्टै महत्वथियो’–न्यौपानेले भने ।
आफूले नेपालगञ्जमा बागेश्वरी टेक्निकल इन्सिच्यूटमा सिएमए पास गरेको र पहिलो व्याचको पहिलो पटक नै लोकसेवा आयोगमा नाम निकालेर सरकारी जागिरमा प्रवेश गर्दा आफूलाई निकै खुशी लागेको सम्झिए । द्वन्द्वकालमा पढ्न र जागिर खान त्यति सहज भने थिएन । तर, उनले ती सबै आरोह अवरोहलाई सामना गर्दै लोकसेवा आयोगमा नाम निकालेर रोल्पामा सेवाका लागि पोस्टिङ हुँदा अर्को खुसी प्राप्त भएको बताए । न्यौपानेले आफू पहिलो पटक नाम निकालेर रोल्पाको जेलवाङ उपस्वास्थ्य चौकीमा जागिर सुरु गरेको बताए ।
रोल्पाको विकट क्षेत्रमा त्यो अवस्थामा जनतालाई सेवा गर्न पाउँदा आफूलाई निकै खुसी मिलेको बताए । ‘लोकसेवा आयोगमा नाम निकालियो त्यो सँगै विकटमा सेवा गर्न पाएँ, मैले त्यही समयमा त्योभन्दा अर्को खुसी मेरा लागि के हुनसक्छ’ उनले भने । एकातिर द्वन्द्व चर्किएको र अर्कोतिर त्यही समयमा रोल्पाको विकट क्षेत्रमा सेवा सुरु गरे पनि मनमा डर भए पनि जनतालाई सहज सेवा दिँदा डर पनि हराएको सुनाए । ‘मनमा चिसो भने थियो कतिबेला के हुने हो भन्ने तर त्यो मनको चिसोलाई सम्हाल्दै जनताको सेवामा गर्न पाउँदा गर्व पनि लाग्ने गरेको थियो’–उनले भने ।
दुई वर्ष रोल्पामा सेवा गरेका न्यौपानेले त्यसपछि २०५८ सालमा आफू जन्मे हुर्केेको गाउँ पवननगर उपस्वास्थ्य चौकीमा प्रमुखको जिम्मेवारी सम्हाल्दा अर्को खुसी मिलेको सुनाए । न्यौपानेले आफ्नै घरआँगनमा आएर जनताको दिन रात सेवा गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । उनले करिब ४ वर्ष पवननगरमा सेवा गरेको बताए । ‘त्यतिबेला अहिलेजस्तो स्वास्थ्य सेवा सहज थिएन, आप्mनै घरआँगनमा आएर विपन्न स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानमा सेवा गर्न पाएँ, त्यो मेरो नै मेरो लागि खुसीको कुरा हो’–उनले भने । त्यससँगै २०६३ सालमा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरमा सरुवा भएर आएको बताए । त्यहाँ पनि आफूले दिनरात सेवा गरेको बताए ।
न्यौपानेले त्यससँगै २०६५ सालमा विधिवत रुपमा राप्ती अञ्चल अस्पताल स्थापना भएको र त्यो अस्पताल स्थापनका लागि आफूले पनि भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे । उनले लगातार तुलसीपुरमा बसेर १३ वर्षसम्म अञ्चल अस्पताल त्यसपछि राप्ती प्रादेशिक अस्पतालमा सेवा गर्न पाउँदा खुसी मिलेको सुनाए । उनले दशैँ–तिहारमा पनि आफूले घरमा नगएर सेवा गरेको भन्दै आफूले गरेको काम र जनताको सेवामा तल्लीन हुँदा खुसी मिल्ने गरेको सुनाए ।
‘हाम्रो लागि के दशैँ के तिहार, अस्पतालमा स्थानीय भएकाले दिनरात सेवा गरेको थिएँ, अहिले पनि सबैले सम्झनुहुन्छ, मलाई खोज्नुहुन्छ, त्यही त हो नि खुशीको कुरा’, उनले भने । २०७६ साल कार्तिकमा कर्मचारी समायोजन भई तुलसीपुर उपमहानगरपालिका वडा नंं ३ रानागाउँ नगर स्वास्थ्य केन्द्रमा प्रमुखको रूपमा सेवा गर्दै आएका न्यौपानेले त्यहाँ प्रमुखको जिम्मेवारी सम्हाल्दा पनि निकै खुसी लागेको सुनाए । आफूले नै त्यहाँका जनतालाई सेवा गर्नुपर्छ भनेर त्यहाँ गएको भन्दै खुसी व्यक्त गरे ।
त्योसँगै न्यौपानेले नगर स्वास्थ्य केन्द्र रानागाउँको भवन निर्माणका लागि ६३ लाख बजेट आएको र भवन निर्माण भइरहेको भन्दै खुसी व्यक्त गरे । उनले वडा र आप्mनो पहलकदमीले भवन निर्माण हुनलागेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै स्थानीय दुई जना जग्गा दानवीर स्व महानन्द घिमिरे र भुपबहादुर वलीले १५÷१५ धुर जग्गा दिएको भन्दै जग्गा प्राप्तिका लागि पनि आफूले पहलकदमी गरेको र अहिले भवन निर्माण हुन लागेकोमा खुसी व्यक्त गरे । ‘यो पनि मेरो उपलब्धि नै हो, म त्यहाँ भएर जग्गाको व्यवस्थापन र भवन निर्माणमा सहजकर्ताको भूमिका खेलेँ, यसमा पनि म खुसी छु’ न्यौपानेले भने ।
सिअहेव अधिकृत न्यौपानेले हाल कोभिड –१९ को महामारीको द्रूत प्रतिकार्य समूह शव व्यवस्थापन (कोभिडका कारण मृत्यु वरण) गरेको पालिका स्तरीय संयोजकको जिम्मेवारी समेत पाएको भन्दै खुसी व्यक्त गरे । उनले बैशाख ९ गतेदेखि हालसम्म १०२ जना कोभिडका कारण मृत्यु भएकाहरुको शव सहज रूपले व्यवस्थापन गरेको बताए । उनले आफन्त नभएका र भएकाहरुलाई पनि रातविरात नभनी शव व्यवस्थापन गराएको भन्दै मानवीय धर्म निभाएको भन्दै खुसी व्यक्त गरे । ‘कोही कसैको पनि कोभिडका कारण मृत्यु नहोस् भन्ने हो तर मृत्यु पश्चात पनि कसैले पनि शव व्यवस्थापनमा समस्या नहोस् भनेर हामी दिनरात लागेका छौँ, यसमा सहयोग गर्न पाउँदा पनि खुसी लाग्छ’ न्यौपानेले भने ।
उनले अर्को खुसी वि.सं. २०६६ सालदेखि २०७६ सालसम्म तत्कालीन राप्ती यातायात व्यवसायी समितिमा मेडिकल सल्लाहकारको रुपमा रहेर सेवा गर्न पाउँदा पनि खुसी भएको सुनाए । दुर्घटनामा घाइते, अपाङ्गलाई सहजीकरण गरी बिमा कम्पनीदेखि अन्य उपचार सेवामा सहयोग गर्न पाउँदा र साथीभाइले जिम्मेवारी दिएकोमा पनि आफूलाई खुशी लागेको सुनाए । वि.सं २०५८ सालमा विवाहबन्धनमा बाँधिएका न्यौपानेले छोराछोरीले राम्रो शिक्षा आर्जन गरेको र आफनो सफलताको पछि श्रीमती, घरपरिवारको पनि ठूलो हात रहेकोमा खुसी व्यक्त गरे ।
‘मेरो बुबाले जहिल्यै पनि अनैतिक काम नगर्नु बरु मागेर खानु भन्ने गर्नुहुन्थ्यो, मैले त्यही भनाइका साथ सत्कर्म र असल स्वास्थ्यकर्मी भएर काम गर्न पाएको छु, यसमा म खुसी छु’ उनले भने । त्यस्तै विसं. २०५५ सालमा आफूले लोकसेवा पढ्दै गर्दा एकजना बाघमारेको आगोले जलेका बालकलाई १० दिनसम्म उपचारमा सहयोग गरी उनको जीवन बचाएको र २० वर्षपछि राप्ती अञ्चाल अस्पतालमा भेट भएपछि सो परिवारले धन्यवाद दिँदा आफू खुशीले भावविभोर भएको सुनाए । त्यस्तै नेपाल स्वास्थ्य प्राविधिक संघ दाङ जिल्लाको अध्यक्षको जिम्मेवारी पाउँदा पनि खुसी भएको उनले बताए ।
स्वास्थ्य प्राविधिक संघको नेतृत्व गरी विभिन्न पेशागत हकहितका लागि काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै न्यौपानेले नेपाल निजामति कर्मचारी संगठन दाङ जिल्ला सदस्य भएर काम गरेको र केन्द्रीय आवासका निम्ति रकम सहयोग गरेको र भवन निर्माण भएकोमा पनि खुसी व्यक्त गरे । तुलसीपुर–५ पिपलबोट निवासी खुमप्रसाद न्यौपाने तुलसीपुर उपमहानगरपालिका वडा नं. १ रानागाउँ नगर स्वास्थ्य केन्द्र प्रमुख, नेपाल स्वास्थ्य प्राविधिक संघ दाङ जिल्लाका अध्यक्ष हुन् ।
प्रस्तुती : बालाराम खड्का