मानवीय अस्तित्व भित्तामा सजाइएको फूल होइन

नारायणप्रसाद श्रेष्ठ

सभ्यताको विकाससँगै अगाडि बढेको आधुनिक युगमा मानवीय आचरण र व्यवहारमा विविधता देखापरेको छ । मानवीय आचरण क्षणिक आनन्द र खुशी नै जीवनको लक्ष्य र उद्देश्य हो भन्ने ठानी त्यसैमा लिप्त भइरहेको अवस्था छ । कर्म र व्यवहारमा फरक अनुभूति हुने गरी विचारहरु सल्बलाइरहेका छन् । सेवा र समर्पणमा स्वार्थ र मोह लुकेको छ ।

विचारमा विविधता र धर्मरपन पनि छ । कोही त्यही कुरालाई सत्य ठानिरहेका छन् भने कसैले त्यही कुराले नोक्सान र क्षतिबारे वकालत गरिरहेका छन् । मुखमा राम राम बगलीमा छुरा भनेझैँ मित्रता र व्यवहारमा कटुतापन बढी छ । म अहँकार र घमण्डले परिपोषित भएको छ । कुरा र व्यवहारमा फरकपन भई बचनमा देखावटी मिठास छ । हेर्ने, बुझ्ने, सोच्ने आचरणमा भौतिकवादी चिन्तन व्याप्त छ । चहराइरहेको घाउमा मल्हमपट्टी लगाउनुको सट्टा भित्र–भित्र कुहिजा बाहिर बाहिर निको होइजा जस्तो गरी मानवीय व्यवहार बढिरहेको छ । हाम्रो पौराणिक मान्यता, संस्कृति र संस्कारले सिकाएको आचरण र व्यवहारभन्दा भौतिकवादी चिन्तनले जकडिएको विचारहरु बढी सल्बलाइरहेको छ ।

क्षणिक लोभ, स्वार्थ र अहंकारले परिपोषित भावना र विचार नै वर्तमानको आवशयकता हो भन्ने गरी मानसिकता गतिशील भइरहेको छ । म सबै र म नै जान्ने भन्ने गरी व्यक्तिवादी चिन्तनभित्र मानवीय कर्म र व्यवहार बढेको छ । सभ्यताले ल्याएको परिवर्तनलाई आत्मसात गर्न नजान्नुको प्रतिफल मानवीय सोच क्षणिक स्वार्थमा लुटपुटिएको छ । तसर्थ, यस्तो जटिल परिस्थितिमा यदि वर्तमानलाई भविष्यसँग गाँसेर हामीले बुझ्ने बुझाउने कोशिस गरेनौँ भने वा भावी पिढीलाई असल संस्कार र संस्कृतिको गोरेटो निर्माण गरेनौँ भने हाम्रो अस्तित्व कहाँ कसरी प्रदर्शन हुने हो ? यो बढी चिन्ताको विषय वर्तमानले देखाइरहेको छ ।

तसर्थ, जीवन मौका हो, यो पछि कुन र कस्तो अवस्थामा आउने हो ? यस कुरालाई मनन् गरी वर्तमानले भविष्य निर्धारण गर्दछ भन्ने सोच वृद्धि गरी साझा दायित्वबोध हुने अवधारणाको विकास अबको आवश्यकता छ । हतार मनस्थितिबाट उत्पन्न हुने परिस्थितिको आँकलन गरी सँगै बाँचौँ, सँगै कर्म गरौँ र सँगसँगै मोक्ष प्राप्त गरौँ भन्ने सिद्धान्त अँगाल्नु वर्तमानको आवश्यकता देखिन्छ ।

अहिले मानिसको सोच किताबी ज्ञान र व्यावहारिक ज्ञान अलग–अलग हो भन्ने गरी विकसित भएको छ । विचारलाई हिश्रक बनाउने वस्तु सेवन गर्नु हुँदैन भन्ने शिक्षालाई यो त किताबमा लेखिएको कुरा मात्र हो, यसको प्रवाह गर्नु हुँदैन भनी नीति र नैतिकतामा आधारित कर्म र व्यवहारलाई खुम्च्याएर किताबी पानाभित्र सीमित गर्न खोजिएको अवस्था छ । विचारमा सुद्धता छैन । नैतिकतामा आधारित विचारभन्दा शक्ति हत्याउने सोच र विचारले प्रश्रय पाइरहेको छ । सगुन साकार विचारबाट नै मानव मानव हुनसक्छ भन्ने मान्यता कमजोर भएको छ ।

‘विचार मित्र हो र यही विचार गलत दिशातर्फ केन्द्रित भयो भने यही सत्रु हो, यही विचार मानिसको अस्तित्व पनि हो’ भनी जान्दाजान्दै पनि सामूहिक विचार र चिन्तनको खडेरी परेको छ । निहित स्वार्थ केन्द्रित विचार नै सबै ठान्ने प्रवृत्ति र क्षणिक आनन्द र खुशी नै सबै हो भन्दै अरुप्रति कुनै मतलव नराखिएको अवस्था वर्तमानमा छ । आफ्नो स्वार्थ सबैको स्वार्थ भन्ने गरी मानिसको व्यवहार बढेको छ । जन्मँदा नाङ्गै जन्मिएको, मर्दा पनि नाङ्गै हुने संसकार देखिएको मानवीय चेतनाले सबै कुरालाई यो केही होइन भन्ने अवस्था देखाउँदै गरेको छ ।

सामाजिक मूल्य र मान्यतामा रहेको संस्कृति र संस्कारलाई चुनौती दिँदै मानिस सधैँ नाङ्गो हुँदै अगाडि बढ्न खोजिरहेको छ । मर्यादा र शिष्टता एवं जिम्मेवारीबोध नगरी निहित स्वार्थमा लिप्त हुँदै क्षणिक आनन्दलाई जीवनको खुशी बनाइँदै छ । शिकारीले रुखको डालीमा बसी प्रेमको मीठो धुन गाइरहेका ढुकुरको जोडीमा एउटालाई गोली हानी मारी अर्कोलाई टुहुरो बनाएको परिस्थिति भुली मैले शिकार मारे भनी शक्तिशाली ठान्ने प्रवृत्ति अहिले बढेको जस्तो देखिन्छ । आरामसँग रुखको डालीमा बसी प्रेमालाप गरिरहेका जोडीलाई छुटाएर उनमा परेको पीर, मर्का र व्यथालाई बुझ्दै नबुझी शिकारीले आफ्नो निसानाको तारिफ गर्नु के यो पनि मानवीय चेतना हो ?

हिंश्रक जनावरझैँ एकअर्काको अस्तित्वमाथि धावा बोल्नु के यो पनि आचरण हो ? भाइभाइबीच एकबित्ता आँठो मिचियो भनी झगडा गरी तेस्रोलाई फाइदा दिनुको साटो आपसी सौहार्दता बढाई मेलमिलाप गर्न कसले छेकेको छ ? दूध पोखियो भागमा भन्ने गरी आपसी समझदारी बढाई एउटै आमाको गर्भबाट जन्मिएको भाइ–भाइबीच सत्रुता बढाउन कसले सिकायो ? के यो पनि हाम्रो संस्कृति र संस्कारले सिकाएको व्यवहार हो ? वकिलको कानुनी दलिलमा आ–आफूबीच सत्रुता बढाउनुमा को जिम्मेवार ? अहिले मानवीय चेतना तीर्खाएको बटुवालाई पानीको जोहो गर्नुको साटो कुवाँ नै मासिदिने आचरणतर्फ दौडिन थालेको छ ।

विचारमा साँघुरो चिन्तन गर्न लालायित छ । सामूहिक चिन्तनको माध्यम विचारमा सकारात्मक भाव तथा एकले अर्कालाई हेर्ने बुझ्ने सद्भाव कायम गर्ने समयमा आफ्नै डम्फुलाई मात्र प्रश्रय दिनु कति औचित्य ? शारीरिक बल शक्तिको माध्यम मेरो त सबै आसेपासे छन् भन्दै विवेकलाई कमजोर बनाउने कार्य किन भइरहेको छ ? शारीरिक बल भएको व्यक्ति बुद्धिमान् नहुनसक्छ र बुद्धिमान शारीरिक रुपले कमजोर हुनसक्छ भनी जान्दाजान्दै पनि सामाजिक पर्यावरणमा शारीरिक सुसंगठन देखाउने र दादागिरि गर्ने प्रवत्ति हामी किन देखाइरहेका छौँ ? बुद्धि र विवेकलाई पन्छाउने अनर्थक प्रयास हामी स्वयम्ले देखाइरहेका त छैनौ ?

म लाई दम्भ र घमण्डी, अहंकारीको पगरी गुथाइ त्यही भूमरीमा हामी आफै फँसिरहेका त छैनौ ? ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने जान्दजान्दै विभेदकारी नीति हामी आफैले उल्झाइरहेका छौँ । अनर्गल प्रचार र गलत कार्यमा हामी आफै अल्मल्याइरहेका छौँ । जो हुने त्यही बढी रुनेझैँ गरी विचारलाई रकममा सटही गरी दशैँको बोकाको मूल्यझैँ मानवीय संस्कार र परम्परागत संस्कृतिलाई सुक्रीविक्री गरिरहेका छौँ । तसर्थ, यस्तो जटिल परिस्थितिमा यदि हामीले बुझ्ने बुझाउने कोशिस गरेनौँ भने हाम्रो अस्तित्व गमलामा सजाइएको प्लास्टिकको फूलझैँ नहोला भन्न सकिन्न ।

आधुनिक सभ्यतासँग बढेको महत्वाकांक्षाले मानिसको मन, विचार, सुख, सुविधा र सम्पन्नता जान्न खोज्नु कुनै नौलो विषय होइन । जीवनभर कति दुःख मात्रै गरिरहने ? कहिलेकाहीँ खुशी र आनन्द पनि पाउनु पर्छ । आदर्शले न त खान दिन्छ न त यो आदर्शले सुख नै दिन सक्छ भनिएला । तर सोच्नुपर्ने कुरा के हो भने मानवीय इच्छाले चाहेको सबै पुग्ने भए यो विचारको गति कुन परिस्थितिमा गतिशील हुने थियो आफै कल्पना गरौँ ।

आधुनिक सभ्यताको विकाससँगै बढेको चाहनाले आफूले आफैलाई नङ्ग्याउनु, आफैमाथि प्रश्नचिह्न खडा गर्नु, आफ्नो अस्तित्वलाई अरुको पोल्टामा पार्ने गरी आचरण गर्नु के त्यो पनि असल संस्कृति र आचरण हुनसक्छ ? त्यसैले वर्तमान समयमा मानवीय आचरण र व्यवहारमा देखिएको विकृति र विसंगतिलाई हटाउन स्वयम् जिम्मेवार भई म र मेरो अस्तित्व र पहिचानलाई बुझ्नुपरेको छ । अगुवा भएर यदि आफूले आफैलाई आफ्नै निजी स्वार्थमा लिप्त गराइरहने र अरुको अस्तित्वलाई नस्वीकार्ने हो भने यो मानव जीवन जन्म र मरणको इतिहासभित्र मात्र सीमित हुन पुग्छ । इतिहासले यस्तालाई कहिल्यै खोज्ने चेष्टा गर्ने छैन ।

तसर्थ, जीवनको डुङ्गलाई एक किनारबाट अर्को किनारमा सहजै अवतरण गर्न मानिसले प्रथमतः आफूलाई र आफ्नो अस्तित्वलाई पहिचान गर्नुपरेको छ । सामाजिक मर्यादा र प्रतिष्ठा कायम गर्न मैले के गर्नुपर्छ भनि सोच्नुपर्छ । म स्वयम् अहंकारी नभई सबैको साझा दर्पण कसरी बन्नसक्छु ? भनी आफूलाई विवेकशील बनाउनुपर्छ । लोभ, लालच र प्रपञ्चमा होइन जिम्मेवारीबोध गर्ने साहस आफूमा हुनुपर्छ ।

म कलाकारले भित्तामा कोरिएको सुन्दर बगैँचाको फूल होइन प्रकृतिमा उदाएको सुवासयुक्त सुन्दर फूल हुँ भनी दृढसंकल्प राखेर आफूलाई प्रसतुत गर्नुपर्छ । आफूले आफैलाई गर्वको महशुस हुने गरी इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम दर्ज गराउने कोशिस गर्नु पर्छ । समयले यही खोजिरहेको छ, चेतना भया ।