अन्योलमा स्थायी ल्याण्डफिल

बालाराम खड्का
तुलसीपुर, २२ असार । तुलसीपुरमा स्थायी ल्याण्डफिड साइट निर्माण गर्ने चुनावी नारा सबै दलको थियो । अब हुने स्थानीय तहको निर्वाचनमा पनि त्यो नारा फेरि त्यो घोषणापत्रमा आउने छ । ‘हाम्रो घर वरिपरि बजारको फोहरको डंगुर छ । जनप्रतिनिधि निर्वाचित भएको पनि झन्डै ४ बर्ष पूरा भएको छ तर स्थायी ल्याण्डफिल साइट अन्योलमा छ’, पातुखोलाबाट लाग्ने गौरीगाउँ कुलोमा सरसफाई गर्दै एक स्थानीयले भने ।

तुलसीपुर उपमनगरपालिकाका अधिकारीहरुले केही वर्ष अगाडि झण्डै पौने करोड मूल्यमा ल्याण्डफिल साइटको लागी भनेर तुलसीपुर–१३ को फुलवारीमा जग्गा पनि किनेका थिए । तर सो स्थानमा भने ल्याण्डफित साइट बन्न सकेको छैन् । स्थानीहरुको विरोध आएको भन्दै सो स्थानमा ल्याण्डफिल साइट निर्माणको विषयले स्थान भने पाएन । नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न ल्याण्डफिल साइटको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनकाको लागि बर्षेनी उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ बजेट पनि छुट्टाउने गरेको छ ।

तर सो नीति तथा कार्यक्रम कार्यान्वयन भने हुँदैन । गत बर्षजस्तै यो बर्ष पनि उपमहानगरले नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न ल्याण्डफिल साइटको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि १ करोड २५ लाख विनियोजन गरिएको छ । हाल उपमहानगरपालिकाले कामचलाउरुपमा फोहर बिसर्जन तुलसीपुर महेन्द्र स्कुल नजिकै शिवशक्ति टोलको खोल्सामा गर्दैै आएको छ ।

स्थायी ल्याण्डफिट साइटको अभावका कारण नगरपालिकामा बेला–बेलामा फोहर बिर्सजनमा समस्या हुने गरेको छ । त्यसैगरी आफनो स्थायी ल्याण्डफिट साइट गराउने भन्दै लिएको जग्गा भने उपमहानगरपालिकाले लिजमा दिएको छ । फूलवारीस्थित जग्गा तुलसी गौशालालाई लिजमा दिएको प्रवक्ता सूर्यप्रकास डाँगी (श्याम) ले बताए । उनले फोहरलाई मोहरमा बदल्न दीर्घकालीन ल्याण्डफिट साइटको व्यवस्थापनका लागि आफूहरु लागे पनि स्थान अभाव भएको बताए ।

‘हामीहरुले नीति तथा कार्यक्रममा र बजेट पनि ल्याएका छौं, स्थान अभावले काम हुन सकेको छैन् हामीहरु जग्गाको खोजीमै छौंँ’, डाँगीले भने । अहिले फोहर वर्गीकरण नहुँदा र स्थायी ल्याण्डफिट साइट नहुँदा विभिन्न समयमा समस्या आउने गरेको उनले बताए । अहिले तुलसीपुर उपमहानगरपालिकाले फोहर बिसर्जन गर्ने स्थायी ल्याण्डफिट साइट नहुँदा फोहरको बर्गीकरणसमेत नगरेर उठाउने गरेको छ ।

पटक–पटक तुलसीपुरमा स्थायी ल्याण्डफिट साइट निर्माणका लागि पहल थालिने भने पनि सो विषय छलफलमा मात्र सीमित भएको छ । ल्याण्डफिट साइट नहुँदा त्यसको प्रत्यक्ष मारमा बजार पुछारका जनता परेका छन् । टरिगाउँ, गोलौरा, गोलौरी, गौरीगाउँलगायतका किसानहरु तुलसीपुर बजार हुँदै बग्ने कुलाको फोहर जाँदा खेती–किसान गर्ने किसानहरुको बर्षेनी समस्या ब्यहोर्दै आएका छन् ।

तुलसीपुर बजारका वरपर रहेका कुला तथा नालामा फोहर फाल्दा त्यसको प्रत्यक्ष मारमा यहाँका किसानहरु परेका छन् । कुलो तथा नालामा पसलबाट निस्कने फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु तथा कपडाको टुक्रा जस्ता फोहरहरु जथाभावी फाल्नाले वर्षातको समयमा बाढी आएको बेला सो फोहर किसानको खेतबारीमा सोझै जाने गरेको छ । बर्षातको पानीले सबै फोहरहरु बगाएर किसानको खेत तथा घर आँगनमा थुपारेको हुन्छ ।

त्यसैगरी किसानहरु दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहर टिप्न बाध्य भएको बताउँछन् । खेतैभरि फोहरको डुंगुर जम्मा हुने समस्या रहेको छ । खेतमा कुलोले बगाएर ल्याएको प्लाष्टिकले गर्दा खेत जोत्न कठिनाई हुनुका साथै प्लाष्टिकले गर्दा खेतको माटो समेत बिग्रिएको किसानहरु बताउँछन् । त्यसैगरी फोहरले गर्दा खेतीयोग्य जमिनमा असर गर्नुका साथै नोक्सानी पु¥याएको भन्दै गुनासो गर्ने गरेका छन् । पालिकाको स्थायी ल्याण्डफिट साइट नहुँदा जैविक तथा अजैविक फोहर वर्गीकरण नहुँदा पनि यस्तो समस्या उत्पन्न हुने गरेको छ ।

बजारमा जैविक तथा घरबाट निस्कने फोहरहरु उठाउन आएको गाडीमा हाल्ने गरे पनि अन्य अजैविक वस्तुहरु जहाँ पायो त्यहीँ फाल्नाले पनि यस्तो समस्या हुने गरेको जानकारहरु बताउँछन् । ‘हाम्रो वडा पनि १२ नं. मा पनि यस्तो समस्या छ, यसको दीर्घकालीन समस्या समाधानका उपायहरु खोजिरहेको छौं’, वडा नं. १२ का वडाध्यक्षसमेत रहेको प्रवक्ता डाँगीले भने– ‘यसबाट आफ्नो वडाबासीहरु पनि अछुतो छैनन् ।’ त्यस्तै यस बर्ष उपमहानगरले अस्थायी ल्याण्डफिल साइटको मर्मत तथा व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गर्नुका साथै तुलसीपुरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्था गरिएको जनाएको छ ।

फोहरमैला संकलन केन्द्र र सरसफाई उपकरण खरिद तथा सरसफाई कर्मचारीहरुको बृति विकासका लागि आवश्यक बजेट व्यवस्था गरिएको पनि उपमहानगरालिकाको बजेट वक्तव्यमा छ । तर स्थानीय ल्याण्डफिट साइट कहाँ कसरी व्यवस्थापन गर्ने विषय भने प्राथमिकतामा परेको छैन्् ।