‘चारलेन परियोजना बिरामी भाँछ’

खेमराज रिजाल

तुलसीपुर, २२ असार । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यहाँ सञ्चालनमा आएको गौरवको विकास योजना चारलेन सडक स्तरोन्नति परियोजना बिरामी भएको बताएका छन् । आफू सरुवा भएर यहाँ आएलगत्तै दाङ जिल्लाकै महत्वपूर्ण बजार घोराही–तुलसीपुर जोड्ने सडकको अवस्था बेहाल देख्दा अचम्म लागेको पनि बताएका छन् ।

‘चारलेन सडक परियोजना बिरामी भा देखेर तत्काल परियोजना प्रमुखलाई फोन गरेँ, उहाँ काठमाडौँमा हुनुहुँदोरहेछ, आएपछि यसलाई कसरी अगाडि बढाउने छलफल गरौँला भनेको छु’, तुलसीपुर उद्योग वाणिज्य संघले सोमवार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने । पत्रेखोलाको समस्या पनि यसैले उब्जाएको उनको अभिव्यक्ति थियो ।

‘अनि हेर्नुस् पत्रेखोलामा पनि खासै ठूलो समस्या थिएन, डिभिजन सडकको मातहतको सडक चारलेनमा गएपछि समस्या भएको थियो, समयमै समन्वय हुन सकेको भए त बर्षातमा यस्तो समस्या हुने थिएन नि !’, प्रजिअ कुरुम्बाङले भने– ‘समाधान त हुँदैछ नि !’ पत्रेखोलामा काम कसले गर्ने भन्ने जिम्मेवारी लिन नसक्दा यो समस्या देखिएको बताउँदै उनले बेरुजु आए पनि काम गरौँ न भनेपछि कचवेको खाडल पुर्ने काम भएको जिकिर गरे । पत्रेखोलाको सानो समस्या समाधान भएलगत्तै अब चारलेन सडक परियोजना किन बिरामी भएको हो भन्ने सन्दर्भमा पनि आफ्नो विशेष ध्यान केन्द्रित हुने पनि उनको अभिव्यक्ति थियो ।

प्रजिअ कुरुम्बाङले आफूले जिल्लामा जंगी, प्रहरी र निजामती सबैको नेतृत्व गर्ने बताउँदै राजनेताहरुले ल्याएका परियोजनाहरुलाई पारदर्शी र छरितोरुपमा कार्यान्वयनमा ल्याउन सबै पक्षबाट काम गर्ने बताए । राजनीतिक संस्थाले त परियोजना र त्यसमा बजेट ल्याउने मात्र हो, कार्यान्वयन त हामीले गर्ने हो नि’, कुरुम्बाङले भने– ‘चारलेन परियोजना पनि अब चाँडै तदारुकताका साथ अघि बढ्ने छ ।’

आफू प्रशासक मात्र नभएर राष्ट्रसेवकसमेत भएकाले विकास, समृद्धि र सुशासनमा प्रतिवद्ध रहेको पनि उनको अभिव्यक्ति थियो । दाङ ठूला योजनाहरु पर्नेमा भाग्यमानी जिल्ला भएको बताउँदै यी सबै आयोजनाहरुलाई कार्यान्वयनमा ल्याउन सके यहाँको समृद्धिको ढोका खुल्ने पनि उनको अभिव्यक्ति थियो । ‘मैले करिब तेह्र जिल्लामा सिडिओ भएर काम गरेँ, यहाँ आउनेवित्तिकै मैले देखेको समस्या भनेको आयोजना आउने र काम नहुने हो’, कुरुम्बाङले भने– ‘विकास निर्माणका साझा मुद्दामा सबैको सहकार्य र हातेमालोको आवश्यक छ ।’

होलेरीको सडक होस् वा मुर्कुटी–घोराही सडक, गुणस्तरहीन निर्माणका कारण समस्या हुने गरेको बताउँदै उनले सडक स्तरोन्नतिकै चरणमा सबै प्राविधिक विश्लेषण हुनुपर्ने उनको आग्रह थियो । ‘टिप्पर गुड्ने सडकमा अक्सपाल प्रविधिको कालोपत्रेको काम छैन, त्यहाँ त आरसिसी ढलान चाहिन्छ भनेर सडकका इन्जिनियरले बुझ्नुपर्ने होइन र ?’, प्रजिअ कुरुम्बाङले भने । समस्या यहीँनेरबाट सुरु भएको हुन्छ । आफूले मिडियामैत्री भएर काम गर्न रुचाउने भन्दै उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे– ‘हामीलाई मिडिया मोटिभेशन पनि चाहिएको छ ।’

“जिरो टलरेन्स, फ्रि अफ कस्ट”

त्यसैगरी स्वागत कार्यक्रममा दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामु काफ्लेले आफूले जिल्लाको समग्र शान्ति सुरक्षाका सन्दर्भमा शून्य सहनशीलता र निःशुल्करुपमा जनतालाई सेवा प्रवाह गर्ने बताए । न्यायालयमा मुद्दा जाहेरी गर्दा पनि १५ रुपैयाँको टिकट र वकिलहरुलाई पन्ध्र सय÷दुई हजार रुपैयाँ तिरेर जाहेरी लेखाउने बाध्यता रहेको उल्लेख गर्दै उनले प्रहरीले भने कुनै पनि आवेदन आफैले लेखिदिने र हुलाक टिकट टाँस्ने अवधारणा पनि खारेज गरिसकेको बताए ।

‘हामी जिरो टलरेन्समा फ्रि अफ कष्टमा जनतालाई सेवा दिने प्रण गर्दछौं, हामीलाई अपराध नियन्त्रणमा तपाईहरुको सूचना मात्रै चाहिएको छ’, प्रहरी उपरीक्षक काफ्लेले भने । सूचना दिने नागरिकको नाम सुरक्षा निकायले सधै गोप्य राख्नेमा विश्वस्त हुन पनि उनले उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा व्यवसायीहरुले व्यावसायिक सुरक्षाका अलावा तुलसीपुरको समग्र सुरक्षाका विषयमा पनि सुरक्षा निकायलाई गम्भीर रहन आग्रह गरेका थिए ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार अनुपकुमार श्रेष्ठले पछिल्लो समयमा तुलसीपुर क्षेत्रमा गैरआवासीय मुस्लिमहरुको चहल–पहल बढिरहेको उल्लेख गर्दै उनीहरुबाट हुनसक्ने आपराधिक गतिविधिमा विशेष निगरानी गर्न सुरक्षा निकायलाई आग्रह गरेका थिए । प्रतिउत्तरमा प्रहरी प्रमुख काफ्लेले गैरआवासीय मुस्लिमहरुको चहल–पहल बढेको आफूले पहिलोपटक जानकारी पाएको बताउँदै त्यसमा शूक्ष्मरुपमा सुरक्षा अनुसन्धान गर्ने बताएका थिए ।

कार्यक्रममा विषयप्रवेश गराउँदै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले तुलसीपुर क्षेत्रमा आपराधिक गतिविधिका अवशेषहरु अझै पनि देखिने गरेको बताउँदै व्यावसायिक सुरक्षा एवं सम्पूर्ण नागरिकहरुको शान्ति सुरक्षाका सन्दर्भमा सुरक्षा अधिकारीहरु गम्भीर भएर काम गर्न सुझाव समेत दिएका थिए । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख यहाँ काम गर्दासम्म आफै पनि यहाँको उपभोक्ता भएको अर्थमा काम गर्न सुझाव दिएका थिए ।

‘हामी जघन्य अपराधीलाई छुटाउनका लागि कहिल्यै प्रहरीलाई दबाव दिने छैनौं, सामान्य विवाद र मेलमिलापका विषयमा भने सुरक्षा निकायका अधिकारीहरुसँग संवादको अवस्था आउन सक्नेछ’, अध्यक्ष चालिसेको अभिव्यक्ति थियो । स्वागत कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार मीनराज वली, पत्रकार नारायणी रजौरेलगायतले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।