कचवे मर्मत, बुधवारदेखि यातायात चल्ने

देवराज भण्डारी

दाङ, २१ असार । चौतर्फी आलोचनापछि डिभिजन सडक कार्यालय घोराहीले पत्रेखोलामा भत्केको कचवेको मर्मत गरेको छ । कचवेमा परेको खाडल उच्च गुणस्तरको मसलाले ढलान भइसकेको सडकले जनाएको छ । ढलान सेट हुन थप तीन दिन लाग्ने भएकाले कार्यालयले तीन दिनअघि नै सडकमा यातायात बन्द हुने सार्वजनिक सूचना जारी गरिसकेको थियो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गरी कचवे मर्मतका लागि तुलसीपुर–घोराही सडकखण्ड आइतबार बिहान ८ बजेदेखि मंगलवार साँझ ८ बजेसम्म बन्द हुने जानकारी दिएको थियो । क्विक सेटिङ हुनेगरी केमिकल र कडा खाले सिमेन्ट प्रयोग गरेर ढलान गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताएका छन् । सडक कार्यालयका मजदुर र आफू स्वयं लागेर अमानत प्रक्रियाबाट कचवेको खाल्डो ढलान गरेको बताउँदै उनले अब ३ दिनपछि आम नागरिकले गतहप्ता जस्तो सास्ती झेल्नुनपर्ने प्रमुख शाक्यले बताए ।

सार्वजनिक सूचना जारी गर्दागर्दै पनि मोटरसाइकललगायत दर्जनौं सवारी साधनहरु पत्रेखोला छिचोल्ने उद्देश्यले त्यहाँ पुगे पनि सडक बन्द गरिएका कारण कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सडक बन्द हुँदा घोराहीबाट तुलसीपुरसम्मको यात्रा गर्ने सवारी साधनहरु दुई चरणमा मात्र गन्तव्यसम्म पुग्ने गरेका छन् । घोराहीबाट यात्रुहरु बोकेर सार्वजनिक यातायात मज्गैसम्म आउने गरेका छन् भने तुलसीपुरबाट दूधराससम्म आएर घोराहीबाट आएका यात्रुहरुलाई लिएर फर्कने गरेका छन् ।

मोटरसाइकलको यात्रा भने जवर्जस्तरुपमा खोलाबाट तराउँदा निकै कष्टपूर्ण बनेको छ । एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीहरुले भने तुलसीपुर–अमिलिया–लमही–घोराही यात्रा गर्न बाध्य छन् । केही सवारीसाधनहरु भने घोराही–सर्रा–धर्ना हुँदै दक्षिणी वैकल्पिक मार्गको प्रयोग गरी आउजाउ गरेको बताएका छन् ।