अनुगमन नै छैन : क्षमताभन्दा धेरै यात्रु

छवि पुरी
दाङ, २० असार । नारायणपुर क्षेत्रबाट तथा घोराही बजार क्षेत्रबाट बस भरी यात्रु लिएर शुक्रवार दिउँसो करिब ३ बजे यात्रुवाहक बस काठमाडौं जाँदै थियो । घोराहीको ट्राफिक चोकमा पुगेर बस पार्किङ गरी यात्रु कुरिरहेको बेला एक जना ट्राफिक प्रहरी आएर बसका चालकसँग सोधे ‘बस कहाँ जाँदैछ ?’ बस चालकले भने ‘सर हामी काठमाडौंका लागि हिँडेको ।’

फेरि ट्राफिक प्रहरीले सोधे ‘सवारी पास त होला नि ?’ बस चालकले ‘छ ।’ भन्ने उत्तर दिए । त्यसपछि हेरौँ न भनेपछि चालकले बसको सहयोगीलाई बोलाउँदै कागजपत्र देखाउन आग्रह गरे । कागजपत्र हेर्दा घोराही उपमहानगरपालिका वडा नं. १० को वडा कार्यालयले जिल्ला प्रशासनलाई दाङबाट काठमाडौंसम्म कामका लागि जाने १४ जना चढ्ने यात्रुको नामसहित उक्त बसको नम्बरमा सवारी पास दिलाउन गरेको सिफारिस मात्रै थियो ।

‘जिल्ला प्रशासनले दिएको पास खोई ?’ भनेर सोध्दा बसका सहयोगीले घोराही उपमहानगरपालिका वडा नं. १८ ले सवारी पास दिलाइदिन भनी लेखेको अर्को सिफारिस देखाउन भ्यायो । ‘यो त वडाको सिफारिस हो, यसले हुँदैन, सवारी पासबिना त कसरी छाड्ने ?’ जवाफ प्रहरीले फर्कायो । सरकारले नै एक जिल्लाबाट अर्को जिल्ला जानपरे सवारी पास अनिवार्य गरेको छ । जिल्लाबाट बाहिरिने बसलाई पासबिना यसरी छाड्न नमिल्ने बताए । सो बसमा ३७ सिट भए पनि ४५ जनाभन्दा बढी यात्रु बसेका थिए ।

ना ६ ख २४८२ नम्बरको उक्त यात्रुवाहक बसले सवारी पास बिना दाङबाट काठमाडौंसम्म यात्रु लैजान थालेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा आएर कुरा गर्न बसका कर्मचारीलाई आग्रह गरियो । केही बेरको कुराकानीपछि उक्त बस गन्तव्यतिर लाग्यो । तर उक्त बस पासबिना कसरी गयो थाहा भएन । सो बसका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको अनुमति नै दिइएको थिएन ।

यस्ता उदाहरण दैनिक जसो हुने गरेको छ । काठमाडौंबाट दाङ आउने र दाङबाट जिल्ला बाहिर जाने बसले पनि बाटोमा ट्राफिकलाई आँखा छलेर यात्रु ओसार्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीलाई पास बिनाको बस यात्रु लिएर काठमाडौं जाने गरेकोबारे जानकारी लिँदा पास बिनाका बस जिल्ला बाहिर नगएको बताए । जब कि उक्त बस कार्यालय अगाडि करिब आधा घण्टाभन्दा धेरै समय उभिएको थियो र बसका कर्मचारी कागज–पत्रको सेटिङ मिलाउन ट्राफिक कार्यालयमा पुगेका थिए ।

घोराही–१० को वडा कार्यालयले १४ जनाको पास बनाइदिन सिफारिस गरेको वडाध्यक्ष चित्रबहादुर डाँगीले बताए । घोराही १८ का वडाध्यक्ष भरत अर्यालले पनि शुक्रवार दाङबाट काठमाडौंका लागि दुईवटा बसका लागि सवारी पासको लागि जिल्ला प्रशासनमा सिफारिस गरिएको बताए । एउटा बसमा २५ जनाभन्दा बढी यात्रु राख्न नमिल्ने भएकाले सोही आधारमा सिफारिस गरिएको उनले बताए । प्रायः सबै जिल्लामा लकडाउन खुकुलो भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय खुलेका छन् ।

काम गर्नेहरु गन्तव्यमा पुग्नुपर्ने पनि भएको छ । तर, बस व्यवसायीहरुले सेटिङका आधारमा सरकारले जारी गरेको मापदण्ड उल्लङ्घन गर्दै बसभरि यात्रु राखेर निर्वाध बस देशैभर गुडाइरहेका छन् । पूर्व–पश्चिम राजमार्गमा अहिले प्रशस्तै यात्रुवाह बसहरु निर्वाध रुपमा गुडेको देखिन्छ । यसतर्फ यातायात व्यवसायीहरुको अभिभावक संस्था पनि मौन देखिन्छ । दाङबाट नेपालगञ्ज जाने यात्रुवाहक सवारी त झन सामान्य अवस्थामा जस्तै दैनिक बिहानदेखि साँझसम्म गुडिरहेका छन् । तर, ट्राफिक प्रहरीले जिल्ला बाहिर पासबिना त्यसरी सवारी नजाने गरेको दाबी गर्दै आएको छ । जब कि ती सबै सवारी पासबिना दाङबाट नेपालगञ्ज पुग्नेगरेका छन् ।

जिल्लाभित्र सञ्चालनमा रहेका यात्रुवाहक बसले साविककै भाडा दरमा यात्रु बोक्ने गरे पनि अहिले दाङबाट काठमाडौंको यात्रु भाडा दोब्बर लिने गरेका छन् । डिलक्स बसमा साविकको भाडा दर १ हजार भए पनि अहिले बसभरि यात्रु पनि राख्ने तर भाडा भने एक जनाबाट २ हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म लिने गरेका छन् । एक यात्रुले भने ‘आफूलाई जानैपर्ने अवस्था हुन्छ, बसले जति भने पनि तिर्नैप¥यो, के गर्नु, बसभरि यात्रु हालेका हुन्छन्, कोरोनाको जोखिम छ तर बसमा स्वास्थ्य सुरक्षाका केही सुविधा पनि छैन ।’

 वडा प्रहरी कार्यालय लमहीले पूर्व–पश्चिम राजमार्ग भएर जिल्ला बाहिरबाट आएका सार्वजनिक सवारीको सवारी पास नियमित जाँच हुने गरेको बताए । कतिपय सार्वजनिक बसले बिनापास पनि चलाएको भेटिएको उनको भनाइ छ । सम्बन्धित स्थानबाट छुटेका बसलाई त्यहीँको प्रहरी प्रशासनले रोक्न नसक्दा बीच बाटोमा यात्रु अलपत्र पार्न पनि नसकिने भन्दै व्यावहारिकता हेरेर चेतावनी दिँदै छाड्ने गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले बताए । ‘समस्या छ, लामो बाटो तय गरेर यात्रु लिएर आएका बसहरुलाई के गर्नु व्यावहारिकता हेरेर छाड्नुपर्छ, नियम नमान्ने परिपाटीले समस्या भएको छ’, उनले भने ।

उता, जिल्ला प्रशासन कार्यालय दाङको सवारी पास वितरण शाखाले प्रशासनबाट शुक्रवार १२ वटा मात्रै पास जारी भएको जनाएको छ । पास वितरण शाखाका अधिकृत नवराज शर्माले १२ वटा सवारी पासमध्ये ३ वटा ठूला बसको र ९ वटा साना सवारीको मात्रै रहेको बताए । प्रशासनका अनुसार हेटौडा, धादिङ र रुकुमका लागि मात्रै यात्रुवाहक बसको सवारी पास जारी भएको छ । उनले काठमाडौं जाने बसका लागि पास नदिइएको प्रष्ट पारे । शुक्रवार ३ बजे कार्यालय बन्द भइसकेको थियो । बसका कर्मचारीले पनि काठमाडौंका लागि ललितपुरबाट पनि पास बनाएका थिएनन् ।

कोरोना महामारीका बेलामा सार्वजनिक यातायात जिल्ला बाहिर सञ्चालनको अनुमति दिइएको छैन । तर, पास लिएर सीमित यात्रु बोक्न सकिने प्रावधान भए पनि यसको पालना हुनसकेको छैन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाबाट जारी हुने पास र अनुगमनको विषय प्रभावकारी रुपमा भइरहेको बताए । तर, कार्यान्वयन तहमा यो अभ्यास भने प्रभावकारी रुपमा भएको पाइएको छैन ।

बसभरि सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग दोब्बर भाडा अशुल्ने काम हुँदा पनि प्रहरी प्रशासनले यातायात व्यवसायीसँग साँठगाँठ गर्दै आवागमनमा सहयोग गरिरहेको देखिएको छ । दाङमा जिल्ला बाहिरबाट दैनिक कम्तिमा ८ वटाभन्दा बढी सार्वजनिक सवारी आउने गरेका छन् । मापदण्ड अपनाउन नसक्दा र मनलाग्दो जिल्ला बाहिरबाट यसरी यात्रु बोक्दा कोरोनाको जोखिम उच्च रहेकाले बेलैमा स्थानीय प्रशासन र सरोकारवाला निकायले गम्भीर रुपमा यसको नियमन गर्नुपर्ने नागरिकको आग्रह छ ।