खेमराज रिजाल
तुलसीपुर, २०असार । हिँजो मात्रै धनगढीबाट फोन आएको थियो, ‘म चारलेनको तथ्य इन्जिनियरिङ कम्पनीले खटाएको प्रतिनिधि हुँ, कोरोना सहज भएपछि आउँदै छु’ भनेर । के छ, चारलेनको प्रगति समीक्षा ? पत्रकारको जिज्ञासामा गत बुधवार चारलेन सडक परियोजनाका प्रमुख डिई पारश हमालले भनेका थिए, ‘कहिले कोरोना सहज हुन्छ अनि कहिले चारलेन सडक निर्माण कम्पनीका प्रतिनिधि काममा आउने हुन् ?’ भनेर । उनको भनाइको आशय के थियो भने तथ्य इन्जिनियरिङले सायद नयाँ प्रतिनिधि खटाएको छ, ।
‘सावधान ! यहाँ निर्माणको काम हुँदैछ’ सेतो प्लेटमा राता अक्षरले लेखिएको घोराही–तुलसीपुर सडकखण्डको पर्सेनीमा रहेको बोर्डले दाङबासीलाई विगत एक वर्षदेखि गिज्याइरहेको छ । मुख्यमन्त्रीदेखि सबै पालिकाका प्रमुखहरु दैनिक ओहोर–दोहोर गर्ने यो चारलेनको हविगत नदेखेका सायदै छन् । बीच सडकसम्मै फोडेर सिँचाइकुलो बाइपासका लागि खनिएको खाडलमा दुईवटा हिमपाइप राखेर पुर्न यति समय लागिरहँदा दाङबासी अन्योल मात्र छैनन्, पछिल्लो समयमा आक्रोशित एवं निराश पनि बनेका छन् ।
यस्तै काम हुँदै छ भनिएको अर्को बोर्ड ग्वारखोला आसपासको सडकमा छ । त्यहाँ पनि सडक खनेर विच्छ्याइएका हिमपाइप पुरिएको छैन, साँघुरो डाइभर्सन या त हिलाम्मे भएर गाडी फसिदिन्छन्, या त धुलाम्मे भएर क्रस गर्नै सास्ती हुन्छ । कार्यालय समयमा त सडक जामकै अवस्था हुन्छ । मोतीपुर कल्भर्टको अवस्था पनि सुध्रिएको छैन ।
करिब ३० किमिको दूरीमा यस्ता अनगिन्ती असहजताहरु छन् । जुन निर्माण सुरु गरिएर असरल्ल÷अलपत्र पारिएका छन् । भएको दुईलेन सडकलाई पनि दुवै किनाराबाट कटिङ गरी सिंगल लेनमा झारिएको छ । विगत एक वर्षदेखि साइडमा काम रोकिँदा एकतर्फी यातायातलाई समेत धेरै स्थानमा सकसको अवस्था छ । काम कसले गरेको हो, किन रोकिएको हो ? भन्ने आम जिल्लाबासीलाई जानकारी छैन । एउटा हात्तीखौवामा राखिएको सेतोबोर्डमा लेखिएको छ, निर्माण कम्पनी तथ्य इन्जिनियरिङको नाम र सम्झौता मिति, सम्पन्न मिति र परियोजनाको लागत । त्यो बाहेक तथ्य इन्जिनियरिङका आधिकारिक प्रतिनिधि सडकमा कहिल्यै देखिएनन् ।
कसैले ठेकेदार जनक डाँगीलाई भन्थे, ‘कसैले अनुप पाण्डे र जमिर रानाको नाम लिन्थे तर उनीहरु म कम्पनीको आधिकारिक प्रतिनिधि हुँ’ भनेर साइटमा वा सार्वजनिक रुपमा अन्यत्र कहीँकतै प्रस्तुत भएका छैनन् । अहिले बजारमा फेरि चर्चा सुरु हुनथालेको छ, ‘अनुप पाण्डे पनि कामबाट बाहिरिए ? अनि नयाँ आएका छन् रे ।’ नयाँ को हुन् ? परियोजनाको कार्यालयलाई पनि एकिन जानकारी छैन । परियोजनाका प्रमुख पारश हमाल भन्छन्–‘अहिलेसम्म अनुप पाण्डे नै हुन् निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि, उनी बाहिरिएको जानकारी कम्पनीले गराएको छैन, सायद पार्टनर थपेका हुनसक्छन् ।’
कामको प्रगति मुस्किलले ६ प्रतिशत मात्र पुगेको छ । अहिलेसम्म परियोजनाले अपेक्षा गरेको कम्तिमा ३० प्रतिशत प्रगति हो । तीन वर्षमा सक्ने भनिएको काम अढाई वर्ष बित्दासम्म यो प्रगतिले के सम्भव होला, दाङमा तोकिएको समयमा चारलेन ? ‘काममा यो कारणले ढिलाइ भइरहेको छ, यात्रु तथा यातायात सेवामा पर्नगएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ’ भन्न निर्माण कम्पनीले कहिल्यै उचित ठानेन न त निर्माण कम्पनीका आधिकारिक सञ्चालक परियोजनाको लमही स्थित कार्यालयको सम्पर्कमा नै आएका छन् । काम नहुनुको कारण कोरोना भाइरसको संक्रमणले जारी लकडाउन ।
मुम्बईको कम्पनी, त्यहीँकै एक्जिम बैंकको लगानी । नेपाल सरकारको परियोजना कार्यालय लमहीमा छ । तर, काम रोकिएकोमा जिल्लाबासी वेखबर छन् । मोटरसाइकलमा अफिस गएको छोरो सकुशल फर्कने हो वा होइन ? भन्नेमा अभिभाव ढुक्क हुने अवस्था छैन । एकलेनको कटिङमा कहाँनेर गाडी जम्प गरेर खाडलमा दुर्घटना हुने हुन् भन्ने जोखिमले चालक परिवारलाई पनि सताइरहेको छ । तर, कटिङ गरी साइड–वाल लगाएर पनि माटो हालेर विधिवत रुपमा कहीँकतै पनि पुर्ने काम निर्माण कम्पनीको तर्फबाट हुन सकेन । परियोजना कार्यालयले कोरोना सहज भएपछि काम सुचारु हुने भनेको छ तर सरकारले गौरवका विकास निर्माण योजनाका काम नरोक्ने भनेको छ । ‘के कोरोना नसकिँदै बन्दैन चारलेन ?’, दुधरासका स्थानीयबासी बसन्त वलीले भने ।
घोराही–तुलसीपुर सडकको स्तरोन्नति हुने भनिएको जिल्लाको चारलेन सडक स्तरोन्नति परियोजना पहिलो गासमै ढुङ्गाजस्तै भएको छ । अहिले बजारमा एउटा चर्चा छ, ‘पोहोर साल जनक डागी निर्माण कम्पनीको प्रतिनिधिबाट हटाइए, यसपालि अनुप पाण्डेको टिमले पनि काम नगर्नेमा जोडघटाउ गरीरहेको छ, अहिले कम्पनीका प्रतिनिधि तथा केही कर्मचारी पनि सम्पर्कमा छैनन्, साइट इन्जिनियर पनि यहाँ सम्पर्कमा छैनन् ।’
तर सडक परियोजनाका डिई पारश हमालले भने परियोजनाले स्थानीय प्रतिनिधि अनुप पाण्डेलाई हटाएको आधिकारिक पत्र नआएको दाबी गरे । ‘अहिलेसम्म आधिकारिक प्रतिनिधि अनुप पाण्डे नै हुन्’–परियोजनाका डिई हमालले भने ।
‘हेल्मेटवाला श्रमिक पनि छैनन्’
न स्तरोन्नति हुन सकेको छ न त बिग्रे–भत्केको छेउकुनामा माटो हाल्ने सडक श्रमिकहरु नै देखिन्छन्, अहिले घोराही–तुलसीपुर सडकखण्डमा । यसअघि मध्यपश्चिम डिभिजन सडक कार्यालय घोराहीको संरक्षकत्वमा रहेको सो सडक पछिल्लो समयमा चारलेन सडक परियोजनाको मातहतमा गएको बताइन्छ ।
डिभिजन सडक कार्यालय घोराहीका डिई निरज शाक्य भन्छन्, ‘सडक स्तरोन्नतिसँगै मर्मतसम्भारको सम्पूर्ण दायित्व अब चारलेन परियोजनाको हातमा गइसकेको छ, बाँकी कुरा उतै बुझ्नुहोला ।’ डिभिजन सडक कार्यालयले करारमा राखेका सडक मर्मत श्रमिकहरु अहिले चारलेन परियोजनाको मातहतमा गइसकेको पनि डिई साक्यको भनाइ थियो । हाते ठेला र बेल्चा बोकेर सडक किनारामा माटो भर्ने श्रमिकहरु अचेल देखिँदैनन् ।
‘छेउछाउमा परेको खाडल माटोले पुर्दा पनि यातायातमा निकै राहत हुन्थ्यो तर अचेल त ती श्रमिकहरु पनि देखिँदैनन्’– सवारी चालक भीमबहादुर डाँगीले भने, ‘यात्रा निकै जोखिमपुर्ण छ ।’ चारलेन सडक परियोजनाबाट भएको ढिलासुस्तीको विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरु के बोल्न सक्लान् ? यही प्रश्नको उत्तर खोजिरहेका छन्, दाङबासी ।