शिव राज खनाल
लमही,२० असार । लमही नगरपालिकाकी उपप्रमुख देवका बेल्बासेको नेतृत्व र जिल्ला प्रशासन कार्यलय, उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले लमही बजार अनुगमन गरेको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, लमही नगरपालिका, वडा प्रहरी कार्यालय लमही र देउखुरी उद्योग वाणिज्य संघ लमही संयुक्त टोलीले नगरपालिकाको वडा नं. ५ स्थित पाँचवटा किराना पसल र एउटा शृङ्गार पसलमा अनुगमन गरिएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।
‘विभिन्न पसलहरुबाट प्रिमियम आटा, अजम्मरी मैदा, चक्लेट, केसमा लगाउने तेललगायतका म्याद गुज्रिएका सामानहरु बरामद गरेर स्थानीय सरकार सरोकारवाला निकाय, विभिन्न संघसंस्थाको रोहबरमा नष्ट गर्ने काम भयो’–उनले भने । बजार अनुगमनका क्रममा नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले नगरपालिकाले नियमित रुपमा बजार अनुगमन गरिरहेको बताइन् । ‘उपभोक्ताहरुलाई ठगिनबाट जोगाउन समय–समयमा बजार अनुगमन गरिरहेका छौँ, पहिलेको भन्दा अहिले उपभोक्ता धेरै सचेत छन्’–उपप्रमुख बेल्वासेले भनिन् ।
सामानको म्याद छ÷छैन भनि ख्याल गर्न र कोभिड संक्रमणको जोखिमबाट बच्न अनिवार्य सुरक्षा मापदण्ड अपनाउन नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठले अनुरोध गरे । अवसरमा बजार अनुगमनको लागि नगरपालिकालाई सहज होस् भनेर बजार अनुगमन वार्षिक कार्यतालिका समेत बनाएरको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।
टोलीले वडा नं. ५ को सृष्टि किराना पसलमा म्याद गएको ५ केजीको २० थान आटा पीठो, असोतोस नरिवल मिठाइ ३ बट्टा, खनाल स्ट्रोरबाट ५ किलोको ३५ प्याकेट आटा र प्रिमियम ५० केजीको ७ बोरा आटा, ५० केजीको अजम्बरी मैदा १९ बोरा, २० केजीको ७५ बोराबाट एक लाख ४४ हजार ५ सय ५० रुपैयाँ बराबरको खाद्य सामाग्री बरामद गरेका थिए ।
पवन किराना स्टोरबाट १ हजार रुपैयाँ बराबरको चार डिब्बा मिठाई र अब्दुल कस्मेटिक पसलबाट १० वटा १४० एमएलको शान्ती अमला केस तेल, ३ वटा सेभिङ जेल गरेर ८ सय ९५ रुपैयाँ गरेर एक लाख ५१ हजार १ सय ३५ रुपैयाँ बराबरका म्याद गुज्रिएका सामाग्री बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । लमही नगरपालिकाका प्रशासन अधिकृत लोकनाथ उपाध्यायले मूल्य सूचि दैनिनक अपडेट नगरेको पाइएको बताए ।अनुगमनका क्रममा पसल नवीकरण, दर्ता प्रक्रिया, सरसफाईको कमीकमजोरीलाई सुधार गर्न व्यापारीहरुलाई अनुरोध गरिएको छ ।
अनुगमन कार्यक्रममा लमही नगरपालिकाको उपप्रमुख बेल्बासे, दाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जीवी राना, ईलाका प्रशासन कार्यालय देउखुरीका प्रमुख प्रेम खवास, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठ, वडा प्रहरी कार्यलयका लमहीका सहायक निरीक्षक पुरण मल्ल, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशव राज पोख्रेल, कोषाध्यक्ष जागेश्वर बसेल, सदस्य लुमाकान्त बोहरा, सहना श्रेष्ठ, हरि थापा, भेषराज भट्टराई, सल्लाहकार डिल्लीराज खनाल, सुरक्षाकर्मी र पत्रकार सहितको उपस्थित थियो ।