श्री राधेश्याम उपाध्याय
एक दिन पृथ्वीमा भएका जस्ता राक्षसहरुको अत्याचारबाट छुट्कारा पाउन देवताहरुलाई साथमा लिई ब्रह्माजी श्रीविष्णुसँग जान्छन् र पृथ्वीमा कंश, जरासन्ध, शिशुपालजस्ता राक्षसहरुको सर्वनाश गरेर पृथ्वीको भार उतार्न अनुरोध गर्दछन् । विष्णुले पनि सबै देवताको अनुरोध सुनेर स्वीकृति दिनुभयो । म पृथ्वीमा मानव रुप भई जन्मेर यी दुष्ट सबै साक्षसहरुको नाश गरी पृथ्वीको भार उतार्नेछु भनि भन्नुभयो । त्यो समूहमा शुर्यवर्चा नाम गरेको यक्षराज पनि थियो । शुर्यवर्चा विष्णुका यस्ता कुरा सुनेर खुब हाँस्छ ।
ब्रह्माजीले पनि ‘तिमी यसरी विष्णुको कुरा सुनेर यो देवसभामा अभद्र व्यवहार गरी किन हाँस्यौ ?’ भनि सोध्नुभयो । यो सुनेर शुर्यवर्चा नामको यक्षले अरु हाँस्दै भन्छ ‘ती जाबा राक्षसहरुलाई मार्न पनि विष्णु भगवान्ले आफै पृथ्वीमा जन्म लिनुपर्दछ र ? मलाई भनेको भए म गएर मारिदिने थिएँ ।’ यस्ता घमण्डी कुरा सुनेर ब्रह्माजीलाई रिस उठेर आउँछ र शुर्यवर्चा यक्षलाई ‘राक्षस बुद्धिवाला घमण्डी रहेछस् देवसभामा मानमर्यादाको कुनै ख्याल नगरी घमण्डका कुरा गरी विष्णुको अपहेलना गरिस् तेरो जन्म राक्षस कुलमा होस्’ भनि श्राप दिए । यो सुनेर शुर्यवर्चा डराउँदछ र ब्रह्माजीसँग ‘मलाई राक्षस कुलमा जन्मलिनु छैन । मलाई क्षमा गरी श्रापबाट मुक्ति दिनुहोस’ भनि ब्रह्माजीका शरणमा पर्दछ ।
तर ब्रह्माजीले ‘मुखबाट छुटिसकेको श्राप फिर्ता हुँदैन कम गर्न भने सकिन्छ’ भनि ‘तिमी राक्षस कुलमा जन्मिए पनि राम्रो राक्षस कुलमा जन्म हुनेछ । जुन विष्णुका अगाडि तिमीले घमण्डका साथ मर्यादा विपरित आफ्नो सिर ठाडो बनायौ उनै विष्णुको अवतार श्रीकृष्णलाई आफ्नो शिर दान दिएर तिम्रो मुक्ति हुनेछ ।’ यो सुनेर शुर्यवर्चा त्यहाँबाट फिर्किए ।
पण्डवको वनबासको क्रममा घनघोर जंगलमा पाण्डवहरुको बास पर्दछ । भीम चौकिदार बसी अरु भाइ तथा आमा कुन्ती सुत्दछन् । त्यहाँ हिडम्ब र हिडम्वा दुई भाइबहिनीहरुको भीमसँग युद्ध हुन्छ । भीमले हिडम्बलाई मार्दछन् र हिडम्वा भीमसँग आशक्त भएकाले एउटा सन्तान भएपछि भीमलाई छाडिदिने र कहिल्यै पनि पाण्डवसँग पछि लागेर इन्द्रप्रस्थ पनि नजाने वचनमा विवाह गर्दछन् । भीम र हिडम्वाबाट घटोत्कचको जन्म हुन्छ ।
मौरवी नामकी राक्षसी कन्या श्रीकृष्णकी भक्त हुन्छे । उसले मलाई बुद्धि र बलमा जसले जित्न सक्दछ उसैसँग विहे गर्ने भनि प्रण गरी बसेकी हुन्छे । श्रीकृष्णको भक्त भएकाले उचित समय र अवस्थामा तिमी योग्य वर पठाई विवाह गराइदिने श्रीकृष्णले मौरवीलाई वचन दिएका हुन्छन् । जब घटोत्कच वयस्क हुन्छ तब श्रीकृष्णले दुवै राक्षस भएकाले दुवैको विवाह गराई शुर्यवर्चा यक्षको श्राप मोक्ष गर्ने उद्देश्यका साथ घटोत्कचलाई मौरवीको प्रतिज्ञा समेत जानकारी गराएर मौरवीसँग विवाहका लागि पठाउँछन् । घटोत्कच पनि श्रीकृष्णको आदेशानुसार मौरवीसँग जान्छन् ।
श्रीकृष्णको आशीर्वादले बल र बुद्धि दुवैमा मौरवीलाई पराजित गरी ल्याउँछन् । उनीहरुको इन्द्रप्रस्थमा धुमधामका साथ पाँच पाण्डव तथा श्रीकृष्णको सामिप्यमा विवाह हुन्छ । त्यो विवाहमा घटोत्कचकी आमा हिडम्वा आफ्नो प्रणको पालना गर्दै छोराको विवाहमा जाँदिनन् । घटोत्कच र मौरवीबाट वर्वरिकको जन्म हुन्छ । वर्वरिक सानैबाट कृष्णभक्त हुन्छ र श्रीकृष्णलाई नै गुरु बनाएर शिक्षा हासिल गर्न चाहान्छ तर श्रीकृष्णले वर्वरिकलाई सम्झाएर विजयशिद्धसेनलाई गुरु बनाई शिक्षा हासिल गर्न पठाउँछन् । वर्वरिक विजयशिद्धसेनसँग जाँदैको बेला बाटोमा एकजना सन्यासी तपस्या गरिरहेका र तिनलाई केही राक्षसले आक्रमण गरी तपस्यामा विघ्न पारिरहेको देख्दछन् ।
वर्वरिकले त्यो देख्न नसकेर ती सबै राक्षसहरुलाई मारी विजयशिद्धसेनको रक्षा गर्दछन् । विजयशिद्धसेन पनि यो देखेर आसनबाट उठी तिमी को हौ ? कहाँबाट आएका हौ ? कहाँ जाने हौ ? भनि सोध्दछन् । वर्वरिकले पनि ‘म श्रीकृष्णको आदेशानुसार विजयशिद्धसेनलाई आफ्नो गुरु बनाई शिक्षा हासिल गर्नका लागि हिँडेको हुँ । हजुरलाई राक्षसहरुले आक्रमण गरी दुःख दिएको देखेर आफ्नो कर्तव्य ठानि हजुरको रक्षाका लागि राक्षसहरुको विनाश गरेँ, अब म जान्छु मलाई आशीष दिई गुरु विजयशिद्धसेनसँग जानका लागि मार्ग निर्देश दिनुहोस्, म जान्छु’ भनि जान तयार भए ।
यो सबै सुनेर र श्रीकृष्णले पठाएको र आफ्नो ज्यान समेत जोगाएकाले ‘विजयशिद्धसेन म नै हुँ भनि भन्दछन् ।’ यो थाहा पाएर वर्वरिकले आफूलाई शिष्य बनाई शिक्षा प्रदान गर्न अनुरोध गर्दछन् । यो सुनेर विजयशिद्धसेनले पनि ‘श्रीकृष्णले पठाएको र आफ्नो ज्यान समेत बचाएकाले म तिमीलाई शिष्य त बनाउने थिएँ तर मेरो आफ्नै शिद्धि प्राप्त भएको छैन । मलाई शिद्धि प्राप्त गर्न सात दिन सात रात लाग्दछ । म सात दिन सात रात तपस्यामा लीन भई शिद्धी प्राप्त गरेपछि मात्र तिमीलाई शिष्य बनाई शिक्षा प्रदान गर्न सक्दछु । त्यसैले तिमीले यो सात दिन सात रात राक्षसहरुबाट मेरो रक्षा गर्नुपर्ने छ ।’ यो सुनेर वर्वरिक खुसी हुन्छन र गुरुको रक्षाका लागि पहरा बस्दछन् ।
विजयशिद्धसेन पनि शिद्धि प्राप्तिका लागि तपस्यामा लीन हुन्छन् । सात दिन सात रातसम्म वर्वरिक गुरुको रक्षाका लागि बिना खाना, बिना विश्राम गुरुको सुरक्षा गर्दछन् । यो बीचमा वर्वरिकको धेरै राक्षससँग युद्ध हुन्छ । नथाकेर सबै राक्षसहरुलाई मारी गुरुको रक्षा गरी गुरुको तपस्यामा सहयोग पु¥याउँछन् । सात दिन सात रातपछि विजयशिद्धसेनलाई शिद्धि प्राप्त भई तपस्या पूरा हुन्छ । वर्वरिक भोक, प्यास, अनिद्रा, युद्धले थकित र दुर्बल देखिन्छन् । यो देखेर विजयशिद्धसेन खुसी भई वर्वरिकलाई आफ्नो शिष्य बनाई आफूसँग भएको सम्पूर्ण ज्ञान प्रदान गर्दछन् । उनले शिष्य वर्वरिकलाई एउटा मन्त्र दिएर गंगाको पानीमा तीन दिन तीन रात उक्त मन्त्र जप गर्न अह्राउँछन् ।
उक्त पानीमा जलचर, निसाचर राक्षसी शक्तिले आक्रमण गर्नसक्ने भएकाले कुनै पनि हालतमा आफ्नो ध्यान भङ्ग नगरी विचलित नभई दुर्गा शक्तिको मन्त्र उच्चारणमा विराम नदिई कामाक्षादेवीको आराधना गर्न मार्गदर्शन दिन्छन् । गुरुको आदेश अनुसार वर्वरिकले पनि गंगा नदीमा गई गुरुले दिएको मन्त्र उच्चारणका साथ कामाक्षादेवीको आराधना गर्न लागे । वर्वरिकको आराधनाबाट कामाक्षादेवी प्रशन्न भई प्रत्यक्ष दर्शन दिई वरदान स्वरुप तीन गोटा वाण दिन्छिन् र विजय तथा अजेयको आशीर्वाद समेत दिई कामाक्षादेवी अन्तरध्यान हुन्छिन् ।
यो देखेर गुरु विजयशिद्धसेन खुसी भई शिष्यलाई अनगिन्ति आशीर्वाद दिई ‘आफ्नो व्यक्तिगत युद्धमा यी वाण प्रयोग नगर्नु जगतको भलाईमा मात्र वाण प्रहार गर्नु । युद्ध गर्दा कमजोर र असहायको पक्ष लिई युद्धमा सहयोग गर्नु’ भनि वचन लिन्छन् । तीन वाणको अर्थ खुलाउँदै पहिलो वाणले भएका सबै शत्रु पक्षको मृत्युको स्थान पहिचान गरी दोस्रो वाणले सबैलाई एकैपल्ट मार्नसक्ने र तेस्रो वाण जगेडामा रहिरहने समेत बुझाउँछन् । यसरी वर्वरिकले श्रीकृष्णको आदेश अनुसार विजयशिद्धसेनलाई गुरु बनाई विद्या आर्जन गरी घर फर्कन्छन् ।
त्यही समयमा महाभारत युद्धको अन्तिम तयारी भइरहेको थियो । वर्वरिक पनि गुरुको आज्ञा र आफ्नो वचनअनुसार निर्बल पक्षको सहायता गर्न युद्ध मैदानमा आउँछन् । वर्वरिकको शक्ति र सामथ्र्य सबै श्रीकृष्णलाई थाहा थियो । श्रीकृष्णले तुरुन्तै भेष बदलेर ब्राह्मणको रुप लिई वर्वरिकलाई एउटा पिपलको रूखमा सबै पातलाई वाणले छोई आफ्नो शक्तिको परिचय दिन भन्दछन् । वर्वरिकले पनि आफूले प्रथम वाण प्रहार गरी शत्रु पक्षको प्रणमा चिह्न लगाई दोस्रो वाणले यी कौरव पाण्डवका सबै योद्धालाई मार्नसक्ने सामथ्र्य रहेको जानकारी गराउँदै पिपलको रूखका सबै पातमा छिद्र पारी चिह्न लगाउन प्रथम वाण छोड्दछन् ।
वाण्ले पनि पिपलको प्रत्यक पातमा चिह्न स्वरुप छिद्र पारी ब्राह्मणको खुट्टा नजिक आउँछ । जहाँ ब्राह्मणले एउटा पिपलको पात लुकाउने उद्देश्यले खुट्टाले कुल्चेर राखेका हुन्छन् । वाण ब्राह्मणको खुट्टा नजिक आएको देखेर वर्वरिकले ‘हे ब्राह्मण ! हजुरको खुट्टा हटाउनुहोस् । त्यहाँ पिपलको पात छ नत्र वाणले हजुरलाई क्षति पु¥याउन सक्छ ।’ यो सुुनेर श्रीकृष्णले खुट्टा हटाउँछन् र वाणले पिपलको पातमा छिद्र बनाउँछ । अब रुखका कुनै पनि पात छिद्रविहीन हुँदैनन् । यो देखेर श्रीकृष्ण छक्क पर्नुका साथै यसले चाहेमा कौरव पाण्डव दुवै सेनालाई एकै क्षणमा दुई वाण प्रहार गरी मार्न सक्छन् भनि दुर्बलको पक्षबाट युद्ध गर्दा पापी कौरवको पक्षबाट युद्ध गरेर पाण्डवहरुको विनाश गर्न सक्दछ भन्ने ठानी कल, बल, छल गरी वर्वरिकसँग दान स्वरुप उनको शिर माग्दछन् । वर्वरिकले पनि तुरुन्तै आफ्नो शिर काटी विष्णु अवतार श्रीकृष्णलाई दिन्छन् र ब्रह्माको श्रापबाट मुक्ति पाउँछन् ।
त्यही समयमा वर्वरिककी आमा मौरवी आउँछिन् र श्रीकृष्णसँग आफ्नो छोराको शिर राहुका जसरी जीवित गराइदिन अनुरोध गर्दछिन् । श्रीकृष्णले पनि वर्वरिकको शिर जीवित गराई अब तिम्रो के इच्छा छ भनि सोध्दछन् । वर्वरिकले पनि ‘मलाई महाभारत युद्ध हेर्ने इच्छा छ’ भन्दा सबै युद्ध देखिने गरी सबैभन्दा उच्च स्थानमा वर्वरिकको शिर राखिदिन्छन् । यसरी वर्वरिकले महाभारतको सम्पूर्ण युद्ध प्रत्यक्ष आफ्नै आँखाले हेर्दछन् । युद्धको समाप्तिपछि पाण्डवहरुमा युद्धमा ‘सबैभन्दा ठूलो योद्धा म हु अरुले त केही गरेका छैनन् म नै सर्वेसर्वा हु भन्ने विवाद आउँछ’ र श्रीकृष्णले यो सबै देख्ने प्रत्यक्षदर्शी वर्वरिक भएकाले सबै पाण्डव तथा द्रौपदीलाई समेत लिई वर्वरिककहाँ आउँछन् ।
श्रीकृष्णले ‘यो युद्धमा तिमीले के देख्यौ ? पाण्डवहरुमा को सर्वश्रेष्ठ रहेछ ?’ भनि सोधे । यो सुनेर वर्वरिकले ‘मैले त श्रीकृष्णको सुदर्शनले सबैलाई मारेको र युद्ध मौदानमा द्रौपदीले ताण्डव नृत्य गरेको मात्र देखेँ । यी पाण्डवहरुले त खालि खेलौना स्वरुप शस्त्र चलाउँथे । सबै गर्ने गराउने त श्रीकृष्ण नै रहेछन्’ भनि पाण्डवहरुको घमण्ड तोडिदिए । यो सुनेर सबै पाण्डवहरु नतमस्तक भई लज्जाबोध गरी श्रीकृष्णका पाउमा परी माफी मागे ।
श्रीकृष्णले वर्वरिकलाई ‘अब तिम्रो के इच्छा छ ?’ भनि सोध्नुभयो र वर्वरिकले ‘अब म ब्रह्माजीले दिएको श्रापबाट भुक्त भइसकेकाले म आफ्नो पहिलेको स्वरुप शुर्यवर्चा यक्ष भई स्वर्गमा जाने इच्छा छ । मेरो यो शिरलाई हजुरले स्पर्ष गरी सत्गति गरिदिए म खुसी साथ स्वर्ग प्रस्थान गर्ने थिएँ ।’ भन्दा श्रीकृष्णले वर्वरिकको त्यो शिर पृथ्वीमा खाडल खनि दफन गरी वर्वरिकलाई स्वर्ग पठाउनुभयो । पाण्डवहरु त्यसपछि आफ्नो भुल स्वीकर गरी शिविर फर्किए ।